धनगढी । कञ्चनपुरका लोकेन्द्र भण्डारी प्रदेश ०१–२३–च ६०२१ नम्बरको कारमा कार्यथलो डडेल्धुरा जाँदै थिए । महेन्द्रनगरमा तीनजना भारतीय नागरिकले खानीडाँडासम्मका लागि भनेर उनीसँग लिफ्ट मागे । हेर्दा सोझा देखिने युवाहरूले आग्रह गरेपछि उनी लिफ्ट दिन तयार भए ।
कार गन्तव्यतर्फ हुँकियो । तर, बुढीतोला क्षेत्रमा पुगेपछि लिफ्ट मागेका युवाहरूले 'फोटो खिचौँ' भनेर भण्डारीलाई कार रोक्न लगाए ।
कारबाट झर्न बित्तिकै उनले कल्पनै नगरेको नियति भोगे । अर्थात् जसलाई उनले लिफ्ट दिएका थिए उनीहरूले नै भण्डारीमाथि अचानक कुटपिट गर्न थाले ।
चक्कु प्रहार गरे । टाउकोमा ढुङ्गाले बजारे । सख्त घाइते बनाए । प्लास्टिकको डोरीले भण्डारीका हातखुट्टा र मुख बाँधिदिए । सडकदेखि करिब १०० मिटर तल भिर नजिकै छोडिदिए । उनीसँग भएको कारसहित सबै लुटेर फरार भए ।
जसलाई उनले सोझा र साँच्चिकै अप्ठेरोमा परेको ठानेर लिफ्ट दिएका थिए । उनीहरू लुटेर निस्किए ।
हात बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरी अनुसन्धान अगाडि बढायो । लुटिएको कार कैलालीको गोदावरी–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडकखण्डमा बेवारिसे अवस्थामा भेटियो । तर, लुटेराहरू भेटिएनन् ।
प्रहरीले खोजिकार्य जारी राख्यो । र, गोदावरी–१ स्थित जंगलबाट उनीहरूलाई नियन्त्रणमा लियो ।
प्रहरी नायव उपरीक्षक वेदप्रकश जोशीकाअनुसार पक्राउ पर्नेमा भारतको हरियाण प्रदेश सोनीपथ बस्ने २१ वर्षीय भगत सिंह, १८ वर्षीय हिल बिदलिसे र २० वर्षीय सन्नी जौट रहेका छन् ।
उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरको दैजी घर भएका भण्डारी कम्प्युटर अपरेटर हुन् । उनको अत्तरियाको पदमा अस्पतालमा उपचार भइरहेको छ ।