site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हाम्रो बिमा पोलिसी ‘युनिक’ र मौलिक छ

पवन कुमार खड्का सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत हुन् । बिमा बजारमा प्रतिस्पर्धी १९ वटा कम्पनीमध्ये पुरानो जीवन बिमा कम्पनीको रूपमा सूर्या लाइफलाई लिइन्छ । बिमा बजारमा आफ्नो उपस्थिति जनाएको डेढ दशक भन्दा बढी भइसकेको सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत खड्का कम्पनीको बिमा पोलिसी ‘युनिक’ र मौलिक भएकाले बिमितले सूर्या लाइफ इन्स्योरेनस रोज्नुपर्ने बताउँछन् ।

कम्पनीको ८४ पूजा जीवन बिमा योजना र सुरक्षा कवज जीवन बिमा योजना नेपाली बिमा क्षेत्रकै ‘युनिक’ र मौलिक बिमा पोलिसी भएको उनको दाबी छ । नेपालमा समग्र बिमा क्षेत्रको अवस्था, बिमाप्रति नागरिकको विश्वासमा आएको कमीको कारण, जीवन बिमाको महत्वलगायतका विषयमा केन्द्रित रहेर बाह्रखरीले सम्वाद गरेको छ । प्रस्तुत छ, उनीसँगको सम्पादको सम्पादित अंश :

जीवन बिमा किन गर्ने ?

निर्जीवन बिमाबाट सुरु भएको बिमा विस्तारै जनरल इन्सोरेन्समात्र होइन, व्यक्तिको पनि बिमा जरुरी छ र परिवार सुरक्षित हुन जरुरी छ भन्ने दृष्टिकोणमा इन्भेस्टमेन्टको पोर्टफोलियोका साथै पारिवारिक सुरक्षा पनि हुनुपर्छ भनेर सुरु भएको देखिन्छ । परिवारको स्थिति तथा भविष्यको योजनाका लागि पनि फरक दृष्टिकोणबाट जीवन बिमालाई लिन सक्छौँ ।

कानुनी रूपमा बिमक र बिमितको बिचमा भएको एउटा सम्झौता बिमा हो । जुन सम्झौताले एउटा निश्चित बिमा शुल्क बिमितले बिमकलाई तिर्छ । त्यसबापत बिमकले कुनैपनि भवितव्य दुर्घटनाको वा अरू कुनै कारणले अंगभंग भएमा त्यसको कम्पनसेसन दिन्छ । त्यस्तै उक्त सम्झौता अवधि समाप्तिमा केही भएन भने उसको लगानी फिर्ता दिने एउटा प्रतिवद्धताको पाटोलाई बिमाको रूपमा लिइन्छ । तर, यसलाई फरक औजारको रूपमा लिन सकिन्छ । ‘रिस्क फ्री’ नभनौँ तर, न्यून जोखिम भएको इन्भेस्टभेन्ट पोर्टफोलियोको रूपमा पनि जीवन बिमालाई लिन सकिन्छ । जसले प्रतिफलको ग्यारेन्टी गर्छ ।

त्यस्तै भविष्यको योजनाका लागि लगानी व्यवस्थानको राम्रो माध्यमको रूपमा पनि लिन सकिन्छ । जसले आफ्नो भविष्यमा आवश्यक पर्ने आर्थिक सहयोग अथवा आफूले सोचको योजनाहरूका लागि आवश्यक स्रोतको फोर्स सेभिङ भन्दा पनि हुन्छ ।

लगानीको स्रोत भन्दा फरक खालको आफ्नो सुरक्षाका लागि पनि हुने र भविष्यका लागि आवश्यक पनि एउटा बचत गर्ने माध्यमको रूपमा पनि जीवन बिमालाई लिन सक्छौँ ।

सरकारको दृष्टिकोणबाट हेर्न हो भने जीवन बिमालाई राम्रो स्रोत संकलनको माध्यमको रूपमा पनि लिन सकिन्छ । जीवन बिमालाई अर्थतन्त्रमा योगदानको हिसाबले मुख्य योगदान गर्ने क्षेत्रको रूपमा पनि लिन सकिन्छ । कानुनको रूपमा, सम्झौताको रूपमा लगानीको माध्यमकासाथै आफ्नो भविष्य सुरक्षित गर्ने दृष्णिकोणको रूपमा पनि जीवन बिमालाई हेर्न सकिन्छ । अर्थतन्त्रमा योगदान दिने प्रमुख क्षेत्रको रूपमा जीवन बिमालाई फरक कोणबाट पनि परिभाषित गर्न सक्छौँ । 

बिमालाई बचत भनेर बुझ्ने कि सुरक्षा भनेर बुझ्ने ?

जीवन बिमाको मूल सिद्धान्त सुरक्षा हो । सामान्य अवस्थामा रहेको जीवनमा यदि परिवारको आम्दानीमा मुख्य अथवा परिवार पूर्ण रूपमा जसमा निर्भर छ, यदि ऊ नै भएन भने परिवार कहाँ पुग्छ ? सामान्य रूपमा हेर्न हो भने पनि जहाँ योजना छैन, त्यहाँ एउटा पुस्ता पछाडि त्यो परिवार धकेलिन्छ । त्यसैल सुरक्षित जोखिम बहनको रूपमा जीवन बिमालाई लिनुपर्छ ।

त्यसपछि आफूसँग भएको सीमित आयस्रोत कहीँ लगानी गर्दा त्यसले आफ्नो रक्षावरण पनि हुन्छ र त्यो लगानीको प्रतिफल पनि पाउने सोचमा लगानी गर्ने एउटा क्षेत्र जीवन बिमा हो । बिमाले निश्चित बचत गराउँछ । तर, जीनव बिमाको आधारभूत सिद्धान्त भनेको सुरक्षा हो ।

हाम्रो मृत्युदर ४ प्रति हजार भन्दा कम देखिन्छ । एक हजार बिमितमा चार जनामा दुर्घटना वा भवितव्य देखिन्छ । ९९६ बिमितले बिमा अवधिमा स्वस्थ जीवन जिउँछन् । त्यसलाई हेर्ने हो भने सुरक्षाका साथै बचत गर्नु पनि गरुरी देखियो। बैंकमा एकमुस्ट बचत गर्नुपर्ने हुन्छ भने जीवन बिमामा सानो सानो सो रकममा बचत गर्दै जाँदा ठुलो रकम बचत हुन्छ । त्यसले पनि भविष्य सुरक्षित रहन्छ । भविष्य सुरक्षित गर्ने माध्यमको रूपमा जीवन बिमालाई बुझ्नु थप राम्रो हुन्छ ।

बजारमा अहिले १९ वटा जीवन बिमा कम्पनी छन् । यति धेरै प्रतिस्पर्धी कम्पनीमा सर्वसाधारणले सूर्या लाइफ नै रोज्नुपर्ने कारण के हो ?

१९ वटा कम्पनी नै बिमा समितिबाट लाइसेन्सप्राप्त कम्पनी हुन् । उनीहरूले सरकारको नियम कानुनको दायराभित्र बसेर काम गर्छन् । तर, यसो भन्दै गर्दा बिमा कम्पनी कति वर्षदेखि सञ्चालनमा छ, दायित्व भुक्तानी गर्नसक्ने क्षमतामा पुगेको छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ । सूर्या लाइफ अप्रेसनमा आएको १५ वर्ष भइसक्यो । हामीले दायित्व भुक्तानी सुरु गरिसक्यौँ । यो अवधिमा आशंका नै राखेर बिमा गरेको पक्कै पनि छैन होला । हामीले एउटा लेभलको विश्वास आर्जन गरिसकेका छौँ ।

अर्को हेनुपर्ने कुरा प्रोडक्ट हो । हाम्रो प्रोडक्ड युनिक र मौलिक छ भन्ने कुरामा गर्व गर्छौं । बिमा शुल्कको दर पनि तुलनात्मक रूपमा धेरै प्रतिस्पर्धी छ । हामीले नयाँ प्रोडक्ट पनि सबैको पहुँचमा होस्, सबैले प्रयोग गर्न सकून भन्ने प्रयोजनसहित ल्याएका छौँ ।

हामीले ल्याएको सुरक्षा कवज बिमा पोलिसी छ, जुन मासिक १,२१२ रुपैयाँमा एक करोडसम्मको बिमा गर्न सकिन्छ । त्यसैले जीवन बिमा गरी परिवारलाई सुरक्षित गर्ने हो भने ठुलो पैसा पनि चाहिँदैन, थोरै पैसाले पनि ठुलो रक्षावरण हुन्छ भन्ने उदाहरण पेस गर्न पनि चाहेको हो ।

सूर्या लाइफले ल्याएको ८४ पुजा जीवन बिमा योजना आफैँमा मौलिक छ । उक्त बिमा योजना हाम्रो दर्शनशास्त्र अथवा संस्कृतिसँग जोडिएको छ । जसले जीवन बिमा मृत्युका लागि वा बिमितलाई केही भइहाल्यो भने परिवारका लागि मात्र होइन । अहिले मिहेनत गरेर बचत गरेको रकम भविष्यमा आफू आर्थिक रूपमा सक्षम हुनुपर्छ भन्नका लागि पनि हो ।

हाम्रो औसत आयु नै ७१ वर्ष पुगेको छ । ५० वर्ष अगाडिको तुलनामा नेपालीको औसत आयु धेरै बढेको छ । आागामी दिनमा पनि बढ्न सक्छ । हाम्रो औसत आयु ८०/८१ वर्ष पुग्न सक्छ । त्यो उमेरमा पनि ‘फाइनान्सियल इन्डिपेन्डन्ट’ हुनुपर्छ है भन्ने अवधारणामा रहेर उक्त बिमा योजना ल्याएको हो । परिवारका लागि त छँदैछ अब आफ्ना लागि पनि बिमा चाहिन्छ भन्ने कन्सेप्टको साथमा नयाँ ‘इनोभेसन’ गरेका छौँ ।

एउटा सेवा दिन लागेको कति समय भयो र ग्राहकले कति विश्वास गरेका छन् भनेर हेनुपर्छ । अर्को प्रोडक्टमा नयाँपन र बिमितका लागि उक्त पोलिसी कत्तिको सरल र सहज छ भन्ने हेर्नुपर्ने हुन्छ । यी तीनवटा कारणले सूर्या लाइफ नै बिमितको रोजाइमा पर्छ र पर्नुपर्छ भन्ने लाग्छ ।

हामीकहाँ विदेशका पोलिसीहरू 'कपीपेस्ट'को आरोप लाग्छ । हाम्रो माटो सुहाउँदो पोलिसी नहँदा बिमामा विश्वसनीयता हुन सकेन भनिन्छ । तर, तपाईंले हाम्रो पोलिसी मौलिक छ भनेर दाबी गर्नुको आधार के हो ?

पक्कै पनि हामी विदेशी विमाङ्कीमा निर्भर छौँ । हामी सबै जसो कम्पनीले उक्त क्षेत्रमा १०/१५ वर्ष काम गरेकै बिमाङ्की प्रयोग गर्छौं । उनीहरूले धेरैजसो कम्पनीहरूलाई प्रमाणित भइसकेको लोकप्रिय पोलिसीहरू छ भने किन जोखिम लिने भनेर चलेको हाम्रोमा पनि चल्छ भनेर सिफारिस गरेको र त्यही पोलिसी बजारमा ल्याएको कुरा हो ।

यसो भन्दै गर्दा मौलिकता कसरी र त्यसको आवश्यकता के ? बिमा बचत या लगानीको स्रोत हो कि एउटा जोखिम बहन गर्ने माध्यम हो भन्दै गर्दा नेपालमा अहिले पनि बिमालाई बिमितले बुझेर आवश्यकता महसुस गरेर होइन 'फोर्सफुल' गरिन्छ भन्ने दृष्टिकोण छ । परिस्थिति त्यस्तै छ । यस्तो अवस्थामा आम नगारिकलाई बिमाप्रति आकर्षण गराउने माध्यम के भन्दा लागतको पाटो आउँछ । बिमितले जहिले पनि त्यो पोलिसी कतिको सरल छ, बिमा शुल्क तिर्न सक्ने छ कि छैन भनेर हेर्ने गर्छ ।

दोस्रो रिर्टनको दृष्टिकोणबाट हेर्छ । रिर्टनको दृष्टिकोणबाट हेर्दा बाहिर कसरी चलिरहेको छ र हाम्रो अर्थतन्त्र कुन अवस्थामा गइरहेको छ ? हाम्रो बैंकिङ क्षेत्रदेखि स्टक मार्केट र बिमा समितिले तोकेको लगानीको पोर्टफोलियोबाट आउने प्रतिफल बिमितलाई कतिको फलदायी छ भन्ने दृष्टिकोणबाट पनि बिमितले हेर्छ । त्यसले पनि हाम्रो स्थानीय बजारमा स्थानीयकरण भएको छ ।

हाम्रो कल्चरमा सुहाउँदो ‘८४ पुजा जीवन बिमा योजना’ छ । मौलिकताको हिसाबले ‘८४ पूजा’को कन्सेप्ट हाम्रो हिन्दु कल्चरमा नेवारीमा ७७ वर्ष पुगेपछि हजारवटा पूर्णचन्द्र देखिन्छ भनेजस्तै यता ८४ पूजाको कन्सेप्ट पनि त्यही हो । हजारवटा पूर्णचन्द्र देखिएपछि देवत्व प्राप्त गर्दछ भन्ने हो । ८४ पूजा गर्दा आफ्नै अथवा आफैँले कमाएको पैसाले गर्नुपर्छ भन्ने कन्सेप्टबाट हामीले ‘८४ पूजा जीवन बिमा योजना’ ल्यायौँ ।

केही फरक धारको प्रोडक्ट ल्याउँदा विदेशी एक्चुअरी र नियामकलाई पनि बुझाउन केही गाह्रो भने हुने रहेछ । केही कपी पेस्ट भएका पोलिसी पनि आयो होला । तर, हामीले बजारमा प्रस्तुत गरेको नयाँ प्रोडक्टलाई बिक्रीमा फोकस गरेका छौँ, जुन मौलिकतामा आधारित छ । त्यसको कुल पोर्टफोलियोमा ६/७ प्रतिशत हिस्सा भइसकेको छ । अन्य देशमामा रहेको भन्दा हाम्रो प्रोडक्ट युनिक छ ।

अझैपनि बिमामाथि आम नागरिकमा विश्वसनीयताको कमी देखिन्छ । बिमाप्रति आम नागरिकले विश्वास गर्ने वातावरण बन्न नसक्नुको कारण तपाईंलाई के लाग्छ ?

सामान्य रूपमा नै हेर्ने हो भने पनि कुनै पनि विषयवस्तुमा जागरुकता जरुरी हुन्छ । विश्वसनीयता भन्दा पनि त्यसबारेमा ज्ञान छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । अहिले विभिन्न माध्यमबाट जागरुकता र जनचेतना बढ्दै गएको छ । २०१६/०१७ मा बिमा पहुँच एकल अंकमा थियो । अहिले ३० प्रतिशत भन्दा बढी अथवा कुल जनसंख्याको एक तिहाइ बिमा भइसकेको आँकडा आइरहेको छ ।

यसले बिमामा प्रतिस्पर्धी कम्पनी जति बढ्दै गए त्यसले बिमा चेतना अथवा साक्षरता पनि बढ्दै गयो भन्ने देखाउँछ । बिमा साक्षरताको कमी नै अहिले पनि बिमामा विश्वसनीयतामा कमी हुनु हो । तर, बिमा साक्षरता बढ्दै गर्दा यसको आवश्यकता, महत्व बुझ्दै जाँदा बिमाप्रति नकारात्मक खालको भ्रम हट्छ । सबै क्षेत्रमा शिक्षाको असर पर्छ । स्कुलदेखि नै बिमाको बारेमा महत्व दर्साउने, कलेजहरूले विस्तारै बैंकिङ इन्स्योरेन्स विषय विश्वविद्यालयले ल्याएर पढाउन थालेका छन् । यसले पनि सर्टेन लेबलमा साक्षरता बढेको छ र बिमा गर्नुपर्छ भन्ने जागरण आइसकेको छ ।

यति हुँदा पनि विश्वसनीयता कम हुनु भनेको अपवाद हो । आवश्यकता महसुस भएर बिमा गराउनु भन्दा पनि बिमाको वास्तविक ‘फिचर्स’सहित बिमा किन भनेर बुझाउनुपर्छ । बिमित विश्वस्त भए पनि नभए पनि बिमा गरौँ भन्ने सोचलाई अलि फरक तरिकाले सोच्ने हो भने सबै नेपालीहरूमा बिमा गराउनुपर्छ भन्ने चेताना र बिमाप्रतिको सकारात्मक धारणा पैदा हुनका लागि धेरै समय लाग्दैन भन्ने लाग्छ ।

सपना देखाउने खालको वातावरण बन्न नदिने र बिमामा विश्वासको वातावरण तयार गर्ने दायित्व त बिमा कम्पनीहरूको होला नि ?

पक्कै पनि यसमा कम्पनीको भूमिका हुन्छ । कम्पनीसँगै अभिकर्ता र नियामक निकाय सबैको भूमिका हुन्छ । बिमालाई कसरी व्याख्या गर्ने भन्ने कुरामा तालिमको भूमिका रहन्छ । अभिकर्ता बनाउनेदेखि लिएर यसलाई कसरी परिचालन गर्ने भन्नेमा सबै कम्पनीहरूमा प्रतिस्पर्धा पनि छ । सबै कम्पनीमा तालिमको मापदण्ड पनि छ । कुनै पनि कम्पनीका मापदण्डले सपना देखाएर फोर्स बिमा गर भन्दैन । यो भनिरहँदा धेरै कम्पनी भएपछि प्रतिस्पर्धा उच्च हुदाँ प्रतिस्पर्धा गर्ने क्रममा त्यसको सूचकलाई जनाउने क्रममा सबैले प्रेसरमा काम गरिरहेका हुन्छन् । यो कुरा सत्य हो । आफ्नो अर्निङ र आफ्नो पेसालाई निरन्तरता दिने क्रममा व्यवसायमा संख्यामा ध्यान दिँदा चेतनाको आधारमा बिमा आवश्यकता महसुस भएर हुने बिमामा केही न केही कमी कमजोरी भइरहेको पाउँछौँ ।

यसो भन्दैमा अभिकर्तालाई दिने तालिम र बिमा साक्षरतामा विशेष जोड दिन जरुरी छ । त्यसमा धेरै उच्च अपेक्षा देखाउनेभन्दा पनि अधारभूत सिद्धान्तलाई लिएर जनचेतना दिने क्रममा अबको केही समयपछि बिमा भनेको डबल गर्नका लागि नभई मेरो आर्थिक स्रोतले भ्याएसम्म यतिको बिमा गर्नुपर्छ र त्यसले मेरो परिवारको यति वर्षसम्मको जोखिम बहन गर्न सक्यो भने अर्को पुस्ता अगाडि बढ्न सक्छ भन्ने सोचको विकास विस्तारै आउने देख्छु ।

बिमाको पोलिसी ल्याप्स र सरेन्डर दर उच्च देखिन्छ । यो उच्च हुनुमा मिस सेलिङ र फोर्स सेलिङ नै कारण त होइन ?

फोर्सफुल सेलिङ र मिस सेलिङ फरक कुरा छन् । यसलाई दुई कुराले हेर्न सकिन्छ । बिमा गराउनुपर्छ भनेर उसको प्राथमिकतामा बिमा राख्न फोर्स सेलिङ हो । मिस सेलिङ भनेको त्यसको प्रतिफल, त्यसबाट हुने फाइदालाई तोडमोड गरेर भन्ने कुरा हो । फोर्स सेलिङ पक्कै छ, तर मिस सेलिङ मलाई जहाँसम्म लाग्छ, ०.५ प्रतिशत भन्दा पनि न्यून छ । त्यसलाई लिएर सबै सेल्स फोर्सलाई त्यसको ट्याग लगाउन मिल्दैन ।

ल्याप्स र सरेन्डर दरको रेसियो विगतमा धेरै देखिन्थ्यो । अहिले नियाल्न थालियो । पहिला नभएको होइन तर अब यसलाई प्राथमिकता दिन थालियो, अनि नम्बरमा देखिन थालेको हो । संख्यामा देखिन थालेपछि त्यसको नियन्त्रण गर्ने माध्यमको कुरा गर्न थालियो । कम्पनीको पर्फमेन्सको एउटा सूचकको रूपमा हेर्न थालियो ।

बिमाको सूचकहरू अब एफपीआई, बोनस 'प्रोफिटेबिलिटी’ मात्रै नभएर अब मुख्य सूचकमा यसलाई पनि लिएर सूचक देखिन थाल्यो । पहिला त्यसलाई तुलनात्मक गणना गरिँदैन थियो भने अहिले त्यसलाई गणना गरिन थाल्यो । फरक यति मात्र हो ।

अहिले अधिकतम् ५ प्रतिशत हुनपर्‍यो भनेर विस्तारै नियामक निकायबाट पनि यसलाई विशेष रूपमा हेर्न थालिएको छ । त्यही कारणले अब पोलिसी सरेन्डर र ल्याप्स दरलाई हेरेर अगाडि बढ्नुपर्छ भन्ने संकेत आएको हो ।

यसो भन्दैमा पोलिसी ल्याप्स र सरेन्डर बढेको होइन । सरेन्डर र पोलिसी ल्याप्स हुनुको प्रमुख कारण जनचेतनाको कमी हो । यस्तै बिमित र बिमा कम्पनीबीच ग्याप छ । त्यो ग्यापका कारण समयमा पेमेन्ट गर्नुपर्छ भन्ने जानकारी हुँदैन । बिमक र बिमित बिचको ग्याप कम हुन जरुरी छ । त्यो ग्याप हुदाँ ल्याप्स र सरेन्डर दर उच्च भएको हो ।

बिमा क्षेत्रमा जनचेता बढ्दै जादाँ घट्दै जानुपर्ने ठाउँमा रेसियो उही रहिरहँदा केही कमजोरी त अवश्य छ होला नि ?

जुन कुराको मापन हुन्छ, त्यो कुरामा सबै फोकस हुन्छन् । भ्यालुएसनको मापन हुन्छ, पोलिसीको शुल्कमा मापन हुन्छ भन्ने बुझाइ हुन्छ । त्यसमा फोकस हुन्छ । नियामक निकायबाट पनि पोलिसी ल्याप्स सरेन्डरलाई फोकस भएर हेरिन्छ भन्ने संकेत भएको छ ।

पहिलो एउटा लेबलमा थियो अब, त्यसको कन्ट्रोलले घट्दोक्रममा लिएर आउँछ भन्ने हिसाबले बुझ्नुपर्‍यो । यसमा सबैभन्दा ठुलो कमजोरी बिमक र बिमितबीचको ग्याप हो । कतिखेर बिमा शुल्क बुझाउनुपर्छ भन्ने बिमितमा सूचना नपुगेको कारण पनि हो । आफ्नो हैसियतभन्दा बढीको बिमा गर्दा पेमेन्ट गर्न अलिकति असहज परिस्थिति सिर्जना भएर आएको हुनसक्ने सम्भावना हुन सक्छ । कतिपय चाहिँ छुट कुरेर बस्नुभएको हुन्छ । यो वर्ष छुट्यो अर्को वर्ष छुट आउँछ भनेर पनि प्रिमियम भुक्तानी नहुने गरेको देखिन्छ ।

अहिले २–३ वर्ष अघिको नवीकरण प्रिमियम पनि उठ्दै छ । त्यसले आफ्नो क्षमता भन्दा धेरैको बिमा गरेर होइन जनचेतनाको कमी, पोलिसी बिक्रीमा भएको कमजोरीले पनि अहिलेको नवीकरण प्रिमियममा २–३ वर्ष अघिको नवीकरण प्रिमियम पनि उठ्दै छ । त्यसले आफ्नो क्षमता भन्दा धेरैको बिमा गरेर होइन जनचेतनाको कमी, पोलिसी बिक्रीमा भएको कमजोरीले पनि ल्याप्स र सरेन्डर दर बढेको भन्ने देखाउँछ ।

बिमा समितिले हालै जोखिममा आधारित पुँजीको व्यवस्था गरेको छ । सँगै २०८० चैत मसान्तसम्म न्यूनतम पुँजी बढाएर पाँच अर्ब पुर्‍याउन निर्देशन दिएको छ । पुँजी वृद्धि योजना समितिमा पेस गर्न दिएको समय पनि सकिएको छ । एकातिर जोखिममा आधारित पुँजी कार्यान्वयनमा लगिसकेको अवस्थामा पुँजी वृद्धि थियो कि थिएन ? थियो भने सूर्या लाइफले अब बिमा समितिले तोकेको न्यूनतम पुँजी कसरी पुर्‍याउँदै छ ?

जोखिममा आधारित पुँजी सबैजसो विकसित देशमा कार्यान्वयनमा गइसकेको छ । श्रीलंकामा त्यसलाई कार्यान्वयन गर्न ९ वर्ष लागेको थियो । जति आफ्नो पुँजी छ, त्यसको आधारमा हामीले रिस्क बहन गरेका छौँ कि छैनौँ ? व्यवसायको आधारमा पुँजी पुगेको छ कि छैन भनेर परीक्षण गर्न पनि त्यो आवश्यक छ ।

जोखिमको आधारमा पुँजी भएपछि प्रतिस्पर्धा ‘एफपीआई’मा पुँजीले धान्नेसम्मको मात्रै जोखिम लिने भए । बिमा कम्पनी भनेको ५–१० वर्षका लागि होइन, यो निरन्तर रहनुपर्ने क्षेत्र हो । त्यसले पनि जोखिममा आधारित पुँजी लागु गर्नु राम्रो हो भन्ने लाग्छ ।

अब जोखिममा आधारित पुँजी भनिसकेको अवस्थामा पुँजी वृद्धि किन भन्ने कुरा पनि छ । अहिले औसतमा बिमा कम्पनीहरूको शाखा  १५० देखि २०० सम्म पुगिसकेको छ । यति धेरै शाखामा सामान्य पूवार्धार, उपकरण, कर्मचारीको लागत हेर्दा पुँजीबाट पनि त्यसलाई सपोर्ट छ कि छैन भनेर हेर्नुपर्छ ।

सबै कुरालाई हेर्दा पाँच अर्ब पुँजीको माग हुन अनौठो कुरा हैन । जोखिमा आधारित पुँजी छँदै छ त्यो साथै सञ्चालको दृष्टिकोणबाट पनि त्यति धेरै शाखा र कर्मचारी, त्यसमा हुने सञ्चालन जोखिम र अन्य अन्य जोखिमलाई हेर्दा पनि पाँच अर्ब पुँजी तोक्नु ठिक हो भन्ने देखिन्छ ।

यस्तै जुन हिसाबले बिमाको जनचेतनासँगै व्यवसायको साइज बढेको छ, ७–८ प्रतिशतबाट बिमाको पहुँच ३३ प्रतिशतमा पुगेको छ । ७–८ प्रतिशत पहुँच हुँदा दुई अर्बको पुँजी थियो, अहिले पाचौँ गुणाले मार्केटको आकार बढ्दा पुँजीको साइज पनि बढ्नुपर्छ भन्ने नियामक निकायको सोच सकारात्मक हो जस्तो लाग्छ ।

जहाँसम्म सूर्या लाइफले पाँच अर्ब पुँजी कसरी पुर्‍याउँछ भन्ने छ, यसका लागि हामीले योजना समितिमा पेस गरिसकेका छौँ । हामीले पेस गरेको योजनामा बोनस सेयर, हकप्रद सेयर र आवश्यकता भएमा रणनीति साझेदार वा विदेशी लगानी पनि हुन सक्छ । पुँजी वृद्धि गर्ने समय छ । हामीले योजना पनि बुझाइसकेपछि नियामक निकायबाट आधिकारिक रूपमा कुनैपनि प्रतिक्रिया आएको छैन ।

बिमा समितिले फ्युचर बोनस प्रोभिजनिङको समयतालिका नै तोकेर पाँच वर्षभित्र  शतप्रतिशत प्रोभिजिन गर्न भनेको छ । फ्युचर बोनस प्रोभिजनले ले सेयर होल्डरले पाउने लाभांशमा प्रभाव पर्छ कि पर्दैन ?

फ्युचर बोनस प्रोभिजनको साधारण सिद्धान्त आज जुन बोनस भनिरहेका छौँ, त्यसको निरन्तरता होस् भन्ने हो । कुनै वर्ष बजारमा रिटर्न उच्च होला त्यो बेलामा उच्च बोनस घोषणा गर्ने कुनै बेलमा न्यून हुँदा पोलिसी होल्डरको बोनस पनि घट्ने हुन हुँदैन भन्ने हो । नेपालमा रिभिजेनरी बोनस कन्सेप्ट प्रचलनमा छ । रिभिजेनरी भनेको ठुलो उताचढाव हुन्छ, कुनै बेला रिर्टन उच्च भए बढी र मार्केटको रिर्टन कम हुँदा घट्ने हुन्छ । यसले गर्दा बिमितमा विश्वसनीयता घट्दै जान्छ ।

तत्कालका लागि फ्युचर बोनस प्रोभिजनिङको कारण सेयरधनीको लाभांश घट्यो, सेयर होल्डरको फन्ड प्रभाव पर्‍यो भनिरहँदा फ्युचर बोनसको कन्सेप्टले समग्र बिमा क्षेत्रमा बिमितको विश्वास बढ्छ भन्न लाग्छ । अहिले जुन बोनसदर घोषणा हुन्छ, भविष्यमा पनि त्यो ग्यारेन्टी हुने भएपछि बिमालाई शून्य जोखिको लगानी वा बचतको रूपमा समाजले हेर्छ ।

यस लगानीमा धेरै सोच्नु पनि नपर्ने, आफू पनि सुरक्षित र आफ्नो लगानी पनि सुरक्षित हुने भएपछि बिमा क्षेत्र अझ विश्वसनीय हुन्छ । नेपालमा फ्युचर बोनस प्रोभिजन हुँदै नभएको भने होइन, प्रोडक्ट बन्दा बिमाङ्कीय मान्यताअनुसार निश्चित फ्युचर बोनस प्रोभिजन गरेको हुन्छ । सूर्या लाइफले ५६/५० प्रतिशत पहिले नै प्रोभिजन गर्ने गरेको थियो । कुनै कम्पनीले १० प्रतिशत भन्दा कम प्रोभिजन गरेर पनि काम गरेका थिए । सूर्या लाइफको कुनै प्रोडक्टमा ९५ प्रतिशतसम्म फ्युचर बोनस प्रानेभिजन गरेका छौँ ।

विगतमा त्यो अभ्यास नभएको होइन । तर, त्यसको रेसियो न्यून थियो । अहिले बिमा समितिले त्यसलाई १०० प्रतिशतसम्म लानुपर्छ, त्यसका लागि पाँच वर्षको समय तोकेको छ । जसले २०–२५ प्रतिशत फ्युचर बोनस प्रोभिजनिङ गरेका थिए । ती कम्पनीलाई बोनसमा त्यसले प्रभाव पार्न सक्छ । तर, त्यो एउटा निश्चित लेबलमा पुगेपछि भने स्थिर हुन्छ ।

नयाँ बजेटले 'एक घर, एक बिमा' योजना अगाडि बढाउँदैगर्दा सूर्या लाइफले यसलाई कसरी कार्यान्वयन गर्छ ? आगामी योजनाहरू के छन् ?

बिमाको महत्वको बारेमा जतिको जागरुक समाज र जनता हुन्छन् त्यति नै बिमा गराउनुपर्छ भन्ने सोच आउँछ । त्यही बिमाको बजार बढ्दै जान्छ । देशवासी सुरक्षित रहने रेसियो बढ्दै जान्छ ।

बिमा पोलिसी बिक्री गर्ने अहिले पनि मुख्य सोर्स अभिकर्ता हो । उनीहरूको तालिमको गुणस्तरले पनि बिमा कसरी अगाडि बढ्छ भन्ने निर्क्यौल गर्छ । सूर्या लाइफले तालिमको गुणस्तरमा ध्यान दिएको छ । अहिले नै तालिम लिइसकेको अभिकर्तालाई रिफ्रेसमेन्ट तालिम भनेर समय सापेक्ष स्किलको तालिम, जनचेतना तालिम हामीले गराउँदै आइरहेका छौँ ।

जीवन बिमा गर्दा ४० हजार रुपैयााँसमम कर छुट पाइन्छ । त्यसले शिक्षित वर्गले बिमा गराउनुपर्छ भन्ने कुरा गरिरहँदा अरू पनि त्यसले सचेत भइरहेको हुन्छ । हाम्रो फोकस अहिलेको बिमित, अभिकर्ता र बढ्दै गएको अभिकर्ता र स्थानीय तहमा हुने जनचेतना कार्यक्रमले सरकारको अहिलेको नीतिलाई कार्यान्वयन गर्न सकिन्छ भन्ने विश्वास लिएका छौँ ।

डिजिटल प्ल्याटफर्म सुरु गरेका छौँ । डिजिटल प्ल्याटफर्मबाट घरमै बसेर बिमा लिन सकिन्छ । जसमा एप र वेब दुवैबाट हामीले डिजिटल प्ल्याटफर्मलाई अगाडि बढाएका छौँ । बिमित र कम्पनीबीचको दुरी कम गर्नका लागि सूचनाहरू एपमार्फत जानकारी दिने गरेका छौँ । यस्तै प्रत्यक्ष रूपमा ‘एक्जेस्टिङ’ बिमितहरूलाई विश्वास दिलाएर उनीहरूको सिफारिसमा बिज्नेस लिन सक्छौँ भन्ने विश्वास लिएका छौँ ।

त्यसका साथै भुक्तानी सेवा प्रदायकसँग सहकार्य गरेका छौँ । नवीकरण बिमा शुल्क र नयाँ बिमा लिनका लागि पनि उनीहरूसँग सहकार्य गरेको छौँ । समग्रमा अहिलेको प्रविधि र पुरानो जुन अभ्यास दुवैलाई सँगै लगेर सरकारको एक घर एक बिमा नीति कार्यान्वयन गर्न प्रतिवद्ध छौँ ।

तस्बिर ः सुनिल प्रधान

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro