
स्थानीय तह निर्वाचनअन्तर्गत चुनाव चिह्न लौरो लिएर सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदमा उठेका हर्क साम्पाङ राम्रो जनमत र जनसमर्थनसहित विजयी भए ।
धरानको विकासका सवाललाई एक अभियन्ताको रुपम मुखरित गर्दै आएका साम्पाङ अब स्थानीय सरकार संचालन गर्ने जिम्मेवारीमा पुगेका छन् ।
धेरै पहिलेदेखिको धरानको खानेपानी समस्या समाधान गर्ने मुख्य एजेन्डा लिएर चुनावमा उठेका साम्पाङ अहिले मतदान गर्ने मतदाताले आयोजना गरेका सम्मान कार्यक्रमहरूमा व्यस्त छन् । उपमहानगरको गाडी नचढ्ने घोषणा गरेका उनी मोटरसाइकलमै जनताको घरदैलो पुगिरहेका छन् ।
यही सिलसिलामा धरानको सामाजिक संस्थाको रुपमा निकै राम्रो पहिचान बनाउन सफल जन सरोकार मञ्चको कार्यक्रममा भेट भएका साम्पाङले आफ्नो विगतको संघर्ष, वर्तमान र धरान बनाउने भविष्यको योजनाबारे बाह्रखरीकर्मी कुमार लुइँटेलसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, साम्पाङसँग गरिएको कुराकानीको :–
सानदार रुपमा चुनाव जित्नुभयो ? यसबारे के भन्नुहुन्छ ? अहिले केमा ब्यस्त हुनुहन्छ ?
धराने जनताले मलाई विश्वास गरेर जीवनकै अमूल्य मतदान गर्नुभयो । विभिन्न ठूला राजनीतिक दलका नेता उमेदवार भएको ठाउँमा मलाई नै रोज्नुभयो ।
म सबै मतदातालाई धन्यवाद भन्छु । अहिले सम्मान र बधाईका कार्यक्रमहमा ब्यस्त छु । खासमा जीवनकै अमूल्य मत दिएर विजयी गराउनु हुने जनतालाई मैले सम्मान गर्नुपर्ने हो । तर, उहाँहरूले मलाई सम्मान गरिरहनु भएको छ । मत दिनुभयो, जिताउनु भयो फेरि मलाई नै सम्मानित गर्नुहुन्छ ।
अरु केही दिन यो क्रम चलिरहन्छ । योसँगै समस्यामा परेका जनताले भेटघाट गर्न थाल्नु भएको छ । शनिबार पनि कार्यालयमै एक डेढसय जनता आउनु भयो । मैले सबैलाई भेटेर समस्या सुनेँ ।
खानेपानीको समस्या समाधान पहिलो प्राथमिकता भन्नु भएको छ, ३० वर्षसम्म समाधान नभएको समस्या पाँच वर्षमा कसरी गर्ने योजना बनाउनु भएको छ ?
अब चुनावमा उठ्ने उमेदवारले धरानको खानेपानी समस्या समाधान गर्नेछु भनेर आफ्नो एजेन्डा बनाउन पाउने छैनन्, किनकी मेरो कार्यकाल सकिँदानसक्दै यो समस्या दीर्घकालीन रुपमा समाधान भइसकेको हुनेछ ।
सानातिना खोला खोल्सीबाट ल्याएर पिउने पानीको समस्या समाधान हुनेवाला छैन । सप्तकोसीबाट नै हो पानी ल्याउने । ३२ इन्चको पाइपमा सप्तकोसीबाट धरानमा पानी ल्याएर धराने जनतालाई चाहिनेजति वितरण गर्ने मेरो लक्ष्य छ । बजेटका लागि संघीय र प्रदेश सरकारसँग जान्छु । बजेट माग्छु ।
स्पष्ट योजना बनाएर काम थाल्छु । अहिले खानेपानीमा भइरहेको चुवाहट, मर्मतसम्भारमा भएको लापरवाहीलाई रोक्ने र वितरण प्रणालीलाई ठिक ढंगले संचालन गर्ने काम सुरु गरिसकेको छु । तल चारकोसे झाडीमा पानी तान्न व्यवस्थापन गरिएको मोटर मर्मत गर्न निर्देशन दिइसकेको छु ।
एउटा त मर्मत पनि भइसक्यो । मास्तिरका पानीको मूलको मर्मत, संरक्षण, सम्वद्र्धन र त्यसको उचित व्यवस्थपनमा आफै दौडिएर काम गरिरहेको छु ।
खानेपानी समस्या हाम्रो पनि एजेन्डा हो भन्ने राजनीतिक दलहरू पनि छन्, कार्यपालिकामा तपाइँको वहुमत छैन, यस्तोमा कसरी काम अघि बढाउनु हुन्छ ?
चुनाव अघिसम्म एउटा प्रतिस्पर्धा थियो । मैले पनि राजनीतिक दलहलाई गाली गरेँ होला । उहाँहरुले पनि गर्नुभयो होला । तर, अब चुनावको परिणाम नै आइसकेको छ ।
हामी सबै जनताको सेवा गर्नकै लागि चुनावी प्रक्रियामा गएका थियौं । मेरो उहाँहरूसँग कुनै गुनासो छैन । अब धरानको विकासमा सहकार्य गरेर, समन्वय गरेर अघि बढ्नुपर्छ । मलाई थाहा छ मैले एक्लैले काम गर्न सक्तिन् । तर, मसँग धराने जनताको ठूलो साथ र समर्थन छ ।
त्यही भएर हामी सबै सहकार्य गरेर अघि बढ्नुपर्छ । मलाई रोक्ने काम भयो भने यस्तो भयो भनेर म फेरि जनतामाझ नै जानेछु । म जनताको बीचमै हुनेछु । तर, म कर्तव्यबाट विमुख हुने छैन । म संसारभरका धराने जनतालाई गुहारेर भए पनि सप्तकोसीबाट पानी ल्याउने परियोजना पूरा गराउन पहल गर्नेछु । उहाँहरूलाई पनि यो अभियानमा सहभागी गराउने छु । अरुअरु काम नगरुँला तर यो काम त म पूरा गरेरै छाड्छु ।
वडाहरूमा पनि तपाईं एक्लै हुनुहुन्छ ? त्यहाँको विकास प्रतिको चाहना र जनताको भावनालाई कसरी समेट्नु हुन्छ ?
म स्वतन्त्र उमेदवारको रुपमा खडा भएको थिएँ । जनताले पनि त्यसरी नै मलाई समर्थन गरेर रोज्नुभयो अनि जिताउनु भयो ।
राजनीतिक दलको नभएकाले अब वडामा पनि एउटा स्वतन्त्र किसिमको कार्यदलको संरचना बनाएर जनताको चाहना, आवश्यकता र समस्यालाई बुझेर मलाई जानकारी गराउने प्रबन्धन गर्ने योजना छ । योबाहेक जनताले सोझै मेरो टेलिफोन अनि अनलाइन पेज तथा सामाजिक संजालमार्फत पनि जोडिन सक्ने व्यवस्था हुनेछ ।
खानेपानी समस्याबाहेक अरू पनि धेरै एजेन्डा उठाउनु भएको थियो, तिनको सम्बोधन कसरी गर्नुहुन्छ ?
मेरो पहिलो प्राथमिकता खानेपानी नै हुनेछ । त्योबाहेक सर्दुजलाधार क्षेत्र संरक्षणमा मेरो ध्यान जानेछ । त्यहाँ बसोबासका लागि बनाइएका टहराहरू छन् । तिनको व्यवस्थापन गर्नुपर्नेछ ।
अब हरेक वर्षायाममा एक हजारका दरले त्यो क्षेत्रमा वृक्षारोपण हुन्छ । मेरो कार्यकाल सकिँदा पाँच हजार बिरुवा रोपिने छन् ।
रोप्नेमात्र होइन तिनको संरक्षण गरी हुर्काउनु पर्नेछ । प्राकृतिक साधनको अनधिकृत दोहन नियन्त्रणमा पनि मेरो प्राथमिकता हो । त्यसमा पनि काम गर्नेछु ।
तपाईं विद्रोही अभियानकर्मीको रुपमा उदाउनु भयो, अब स्थानीय सरकारको प्रमुख बन्नु भएको छ, अब फेरिएको भूमिकामा आफूलाई कसरी अगाडि बढाउनु हुन्छ ?
अब मेरो भूमिका परवर्तन भइसकेको छ । पहिले म जनताको समस्या लिएर सरकारी निकायदेखि टोलटोलमा पुगेर कराइरहेको हुन्थेँ । अब जिम्मेवारी वहन गर्ने ठाउँमा पुगेको छु ।
मेरो काम, कर्तव्य र अधिकारबारे जानकार छु । अब म काम गर्ने तहमा पुगेको छु । गलत काम गरेँ भने तपाईंहरूले खबरदारी गर्नुपर्छ ।
मिडियाकर्मीले धेरै सहयोग गर्नुभयो अब गलत काम गरेँ र बाटो बिराए भनेँ खैरो खनेर लेख्नुपर्छ । अब एउटा ठोस योजना, रणनीति बनाएर त्यसलाई व्यवहारिक रुपमै कार्यान्वयन गराउने छु ।
जस्तो मैले घोषणा गरेको टेलिफोनका तार व्यवस्थापन गर्ने कामका लागि मैले निर्देशन दिएको छैन । तर, नगर प्रहरीले काम सुरु गरिसकेको छ ।
फोहोर व्यवस्थापनमा पनि त्यसरी नै काम गर्नेछु । फोहोर राख्न ठाउँठाउँमा भाँडा राखिने छ । त्यसमा विर्सजन गर्न उपमहानगरले सम्झाउने पनि छ । तर, अटेरी गर्नेले जरिबाना तिर्नुपर्नेछ । सफा धरान हाम्रो चाहना हो ।
उपमहानगर कार्यालयभित्रै पनि बेथिति छन्, त्यसको व्यवस्थापन कसरी गर्नुहुन्छ ? बेथिति छन्, यसबारे म जानकार छु । विगतमा अभियन्ता थिएँ, अब कार्यकारी पदमा पुगेको छु । मेरै भूमिका अब फेरिएको छ । कर्मचारीतन्त्रले विकासलाई सफल बनाउने कर्तव्य निर्वाह गर्नुहुन्छ । काम नगर्ने र अनियमितता गर्ने सोच भएकालाई बिदा लिएर घर जानुहोस् भन्दिन्छु ।
तपाईंले गरेका कामबारे जनतालाई कसरी जानकारी गराउनु हुन्छ ?
म सामाजिक संजालमा जोडिएको मानिस हुँ । म फेसबुकमार्फत पनि जनतासँग जोडिन्छु । मैले गरेको काम मोबाइलमै टेक्स्ट गरेर पनि जानकारी गराइदिनेछु ।
धराने जनताको स्थान भनेको मैले लगाएको टोपीमा हो । त्यहाँ स्थान दिएको छु । म धराने जनताको मौलिक र सूचनाको हकलाई पनि सम्मान गर्नेछु । उपमहानगर सबै जनताको हो ।
सबै मतदाता मेयर हुन् । सबैको उत्तिकै जिम्मेवारी छ । धेरै बोलियो अब गरेर पनि देखाउनु छ । यसमा मलाई सबैको साथ सहयोग चाहिएको छ ।