site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
किस्मीले लेखेकी थिइन्– यादहरूसँग मर्ने लक्ष्य छ

पोखरा । यती एयरलाइन्सले १६ जुन २०१७ मा आफ्नो फेसबुक पेजमा एयर होस्टेसको मुस्कानसहितको तस्बिर राखेर लेखेको थियो, “मुस्कान हाम्रो भाषा हो ।”

तस्बिरमा मुस्काइरहेकी युवती चाहिँ किस्मी थापा थिइन् ।

उनको सामाजिक सञ्जाल नियाल्दा मुस्काइरहेका तस्बिर देखिन्छन् अनि देखिन्छन्, उनको एयरलाइन्स लक्ष्य र सपना ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फुटबल खेलाडी रोनाल्डोको फ्यान रहेकी थापाले दुई दिनअघि पनि उनै फुटबलरको तस्बिर सेयर गरेकी थिइन्, जुन सामाजिक सञ्जालमा उनको अन्तिम पोस्ट बन्न पुग्यो ।

‘योर लाइफ इज योर रोड, अन्ली यू क्यान वाक अन इट’, ‘आई मिस फ्लाइङ इन द स्काई, कोरोना गो सुन...’ ।

सामाजिक सञ्जालमा कुनैबेला थापाले सेयर गरेका क्याप्सन हुन् यी । यी दुई वाक्यले नै उनको विगतको संघर्ष र सफलतालाई पुष्टि गर्छ । तर, अब उनी नै इतिहास भइसकिन् ।

आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर विमान सोमबार बिहान भेटिँदा विमानमा सवार २२ जनाकै निधन भएको छ । तिनै २२ मध्येकी एक हुन् किस्मी । उनी यात्रु नभई क्याबिन क्रू मेम्बर हुन् ।

साथीहरूका लागि उनी मनिषा हुन् । परिवारको लागि अविभावक । ‘म हावासँग सम्बन्धित छु,’ कुनैबेला उनले लेखेका यी शब्दसँगै उनी पनि हावामै उडिरहँदा सदाका लागि संसार छाडेकी छन् ।

पोखरा विमानस्थलमा आइतबार विमान हराएको थाहा पाउनासाथ किस्मीका आफन्त र साथीहरू प्रार्थना गर्दै थिए । विमान भेटिएको थिएन र उनीहरूको आशा पनि मरेको थिएन ।

दिनभरको खोजतलासपछि पनि मौसमी खराबीका कारण सुरक्षाकर्मीसहित स्थानीयले आइतबार साँझसम्म पनि विमान भेटाउन सकेनन् ।

तर, सोमबार बिहानै खबर आयो, ‘मानापाथी हिमालको फेदतिर पर्ने सानोसोरे भिरमा विमान क्षतविक्षत अवस्थामा भेटियो ।’
विमानमात्रै होइन, यात्रु सबैको निधन भएको खबर पनि सँगै आयो ।

किस्मीको प्रार्थना गरिरहेका साथीहरू, पर्खिरहेका आफन्तहरू सबैको आशा निराशा भयो, सन्नाटा छायो अनि देखियो, पर्खी बसेकाहरूको कारुणिक र हृदयविदारक दृश्य ।

किस्मी अब स्मृतिमा मात्र रहिन् । यादहरू दिएर गइन् । उनैले लेखेकी थिइन्, ‘यादहरूसँग मर्ने लक्ष्य छ, सपनासँग होइन ।’

००० ०००
उनी एकल आमाकी एक्ली छोरी थिइन् । स्याङ्जाको चापाकोट नगरपालिका ४ मल्याङकोट हो उनी जन्मेको घर । मगर बुवा र दलित समुदायकी आमाबाट जन्मिएकी किस्मीले सानोमा बुवाको माया पाउन सकिनन् ।

उनी जन्मेको केही समयमा नै बुवा आमासँग अलग्गिएका थिए । त्यसपछि आमासँगै उनी मामाघरमा हुर्किइन् । त्यहीँबाटै उनले आफ्नो अध्ययनलाई अगाडि बढाइन् ।

कक्षा १० सम्म मल्याङकोटकै स्कुलमा पढेकी उनले प्लस टू स्याङ्जाको वालिङबाट पूरा गरिन् । 

कक्षा १२ पछि नै हो, उनी एयर होस्टेस बन्ने सपना लिएर पोखरा आएको । यसबीचमा उनले नागरिकता पाउनका लागि पनि ठूलै संघर्ष गर्नुपर्‍यो । आमाछोरीसँग टाढिएका बुवाले धेरैपछि मात्रै उनको नागरिकता बनाइदिन मानेका थिए ।

लक्ष्य पूरा गर्न उनी एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा नाम निकाल्न सफल भइन् र २०१५ मा भर्ना भइन् । ६ महिना लामो एयर होस्टेस कोर्स पूरा गरेपछि उनले पोखराकै एभिया क्लबमा काम पनि गरिन् ।

त्यही क्रममा यती एयरलाइन्सले एयर होस्टेसका लागि विज्ञापन खुलायो । एयर होस्टेसको सपना लिएकी उनले फर्म भरिन्, परीक्षा दिइन र सफल पनि भइन् । 

त्यो कामसँगै उनले परिवार पनि सम्हालिन्, उनी जुन उचाइ लिन चाहन्थिन् त्यो पूरा हुँदै थियो ।

सन् २०१७ मा यती एयरलाइन्सले उनलाई तारा एयरमा पठाइदियो । पाँच वर्षदेखि उनी तारा एयरमा एयर होस्टेसका रूपमा काम गर्दै आएकी थिइन् । तारा एयरअन्तर्गत जोमसोम, लुक्ला र नेपालगञ्ज उडानमा उनले काम गर्दै आएकी थिइन् । मुस्ताङबाट फर्किएर आइतबार नै काठमाडौं फर्किने सोमबार अर्कै रुटमा उनलाई खटाइएको थियो ।

तर, उनको जीवनमा त्यो दिन आएन । आफन्त र साथीहरूका लागि शोक आयो ।

गत स्थानीय चुनावमा जनप्रतिनिधि बनेकी आमाले छोरी गुमाइन्, छोरीले आमाको जितको खुसीयाली मनाउन पाइनन् ।

किस्मीले वर्षदिनअघि सामाजिक सञ्जालमा आफ्नो प्रेरणाको स्रोत हजुरआमा रहेको भनेर लेखेकी थिइन् । 

हजुरआमाले गाएको गीतको भिडियोसँगै उनले लेखेकी थिइन्, “हजुरले जीवनमा धेरै कुराको अनुभव गर्दै आउनुभएको छ । त्यही अनुभवबाट हामीलाई सिकाउँदै, बुझाउँदै आउनुभएको छ, हजुरजस्तो आमा, सासुआमा र हजुरआमा (बूढीमम्मी) पाउनु हामी सबै परिवारको सौभाग्य हो । विशेषगरी म आफूले आफूलाई एकदम भाग्यशाली सम्झिएकी छु, म सानो हुँदा हजुरको काखमा हुर्किन पाएँ । हजुरको स्याहार पाएँ । जब ठुलो भएँ, एउटा नारी भएँ । कसरी निडर भएर जीवनमा संघर्ष, आत्मविश्वास, आत्मबल र हिम्मतका साथ अगाडि बढ्न सक्नुपर्छ । समय चलिराख्ने चिज हो, हरेक औँसीपछि पूर्णिमा आउँछ ।  त्यसैले हरेस कहिले नखानू । म कुनै दिन कमजोर भएँ भने हजुरको कुरालाई याद गर्छु ! मेरो प्रेरणा र हिम्मतको स्रोत हो हजुर सधैँभरि यसरी हाँसेको देख्न पाम, हजुरको सेवा गर्न पाम र हजुरले जति खुसी माया दिनुभएको छ, त्यसको हजार गुना दिन सकूँ । यही मेरो जीवनको लक्ष्य हो ।”

आइतबार मात्रै होइन, सोमबार पनि पोखरा विमानस्थलमा आफन्तहरूको करुणामय रोदन दिनभर देखियो । विमान हराएको र यात्रु सबैको निधन भएको पुष्टि भएपछि किस्मीकी आफन्तहरूको रोदनले सोमबार पोखरा विमानस्थल नै आँशुमय बन्यो ।

नेपाली सेनाको जहाजबाट ल्याइएका १० वटा शव डीएनए परीक्षणका लागि काठमाडौं लग्दैगर्दा किस्मीकी आमा छोरी खोज्दै थिइन् । तर, तारा एयरको जहाजसँगै उनकी छोरी पनि ताराजस्तै टाढा भइसकेकी थिइन् ।

श्रीमान्ले छाडिसकेपछि एक्ली छोरीको हेरचाहमा खटिएकी उनै एक्ली आमाले आफ्नो टेक्ने सहारा पनि मेटियो ।

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्