site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अर्थतन्त्रमा सुधार हुँदै छ भनेर जनतालाई गुमराहमा राखियो : ज्ञवाली 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले सरकारको नीति तथा कार्यक्रमले मुलुक आर्थिक संकटमा छ भन्ने देखाउन नसकेको बताएका छन् ।

बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले अर्थतन्त्र सुधार हुँदै गएको भन्ने सरकारको टिप्पणी गलत भएको बताए ।

Argakhachi Cement Island Ad

“मुलुक गम्भीर संकटमा छ भन्ने सामान्य बोध पनि यो नीति, कार्यक्रमले कहीँ पनि गर्दैन । मुलुक आर्थिक हिसाबले एकदमै गम्भीर संकटमा छ । संसद्मा पटक–पटक उठेका छन् । तर, दस्ताबेज पढ्दै जाँदा एकदमै नर्मल छ जस्तो लाग्छ । अर्थतन्त्रका सबै सूचक सामान्य अवस्थामा छन् जस्तो । बुँदा नम्बर–११ मा अर्थतन्त्रमा सुधार हुँदै गरेको टिप्पणी गरिएको छ, जुन नितान्त गलत हो,” उनले भने ।

उनले सरकारले जनतालाई गुमराहमा राख्ने काम गरेको आरोप पनि लगाए । “संकट छ भनेर स्वीकार गरेर समाधानतिर जानुपर्नेमा दस्ताबेज त्योप्रति पूर्ण बेखबर छ । नेपाली जनतालाई गुमराहमा राख्ने, गतल सन्देश दिने काम गरेको छ कि अर्थतन्त्र विस्तारै सुुधार हुँदै राम्रो हुँदै गइरहेको छ । नर्मल अवस्थामा भएकाले कुनै नीति लिनु पर्दैन जसरी प्रस्तुत भएको छ । गलत कुरा हो,”  ज्ञवालीले भने ।

उनले इन्धनको मूल्यप्रति सरकार नबोलेको आरोप लगाए । भारतसँगको सीमा समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा किन नबोलेको ? भन्दै प्रश्न गरे ।

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्