
रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भएका छन् । २०२६ फागुनमा स्याङ्जाको कालीगण्डकी-२ मा जन्मिएका पाण्डे पछिल्लो तीन दशकदेखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न छन् । २०३९ सालमा स्याङ्जाकै आदर्श माविमा नेपाल विद्यार्थी संघको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । रुपन्देहीमा २०५२ सालमा नेवि संघको सचिव, २०५९ मा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै २०६० मा तरुण दलको केन्द्रीय सदस्य भएका पाण्डे २०६७ मा नेपाली काँग्रेस बुटवल नगर सभापति निर्वाचित भएका थिए । गत मंसिरमा सम्पन्न कांग्रेसको महाधिवेशनबाट उनी पुनः नेपाली कांग्रेस बुटवल नगर सभापतिमा निर्वाचित भएका थिए ।
प्रस्तुत छ, बुटवल उपमहानगरपालिका प्रमुखमा निर्वाचित भएका खेलराज पाण्डेसँग बाह्रखरीकर्मी पूजा पन्थीले गरेको कुराकानीको सम्पादित अंश :
बुटवलमा भारी मतान्तरले जित हासिल गर्नुभयो, यहाँलाई बधाई छ । तत्काल केकस्ता काम गर्ने योजना बनाउनुभएको छ ?
मलाई मत दिएर विजयी बनाउनुहुने बुटवलका सम्पूर्ण बासिन्दालाई धेरै धेरै धन्यवाद र बधाई भन्न चाहन्छु । यो जित मेरो मात्रै जित होइन, यो जनताको जित हो । मलाई मत दिने र मलाई मत नदिनेहरूको पनि जित हो यो ।
बुटवलको विकास, समृद्धिका लागि बुटवलका बासिन्दाले मलाई जुन रूपमा प्रतिनिधि बनाएर उपमहानगरपालिकामा पठाउनुभएको छ त्यसलाई मैले पाँच वर्षसम्म जनताकै प्रतिनिधि बनेर काम गर्नेछु । म कहिले पनि नगरको शासकको रूपमा काम गर्ने छैन । म जसरी यो ५ वर्ष जनतामाझ थिएँ, जनताका समस्याहरू सुनिरहेको थिएँ, समाधानको प्रयत्न गरिरहेको थिएँ, त्यसबाट मलाई जनताले निर्णय गर्नसक्ने स्थानमा पुर्याउनुभएको छ । त्यसको भरपुर सदुपयोग गरेर जनताका समस्यालाई आवश्यकता र प्राथमिकताका आधारमा क्रमैसँग समाधान गर्दै अघि बढ्नेछु ।
बुटवललाई कुनै एउटा दल विशेष या गठबन्धन विशेषको कार्यालय बनाउने छैन । सबैको साझा फूलबारी बनाउन मेरो भूमिका रहनेछ । घोषणापत्रमा उल्लेख भएका योजनाहरू स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य, समन्वय गरेर कुन ठाउँबाट अघि बढ्दा प्रभावकारी हुन्छ त्यसैगरी नै अघि बढाइनेछ ।
तपाईं निर्णय गर्ने स्थानमा पुगेपछि चरणबद्ध रूपमा गर्ने काम के-के हुन् ?
सुरुमा त मैले बुटवललाई सबै नागरिकको, सबै दलको, बुटवलवासीको साझा थलो बनाउनेछु । नागरिकले बुटवललाई आफ्नो कार्यालय हो भन्ने महसुस गर्नेछन् । दलहरूलाई त्यसको महसुस गराउन मिलन केन्द्र बनाउनेछु । हाम्रा नेताहरू वीपी कोइराला, पुष्पलाल, बुटवलका मेयर स्वर्गीय सूर्यप्रसाद प्रधानको शालिक बनाउनेछु । यसअघिका मेयरहरूलाई आउने, सल्लाह लिने, दिने थलो बनाउनेछु ।
विकासका हिसाबले मैले यसअघि जनतामाझ पुगेर भन्दै आएको कुराहरू चरणबद्ध रूपमा पूरा गर्दै जानेछौँ । बुटवलको मुख्य समस्या राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडकको समस्या समाधान गर्नेछौँ । ज्योतिनगरको पहिरोबाट समस्या भोगिरहेका बासिन्दाको समस्या समाधान गर्नेछौँ । तिनाउ दानव करिडोरमा पर्ने बासिन्दाको समस्या पहिल्याएर जनताको पक्षमा हुनेगरी समाधान गर्नेछौँ । मोतीपूर औद्योगिक क्षेत्रमा स्थानीयको माग पूरा हुने गरी औद्योगिक क्षेत्रको काम अघि बढाउन भूमिका निर्वाह गर्नेछौँ । सुकुम्बासी र अव्यवस्थित बसोबासलाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान खोजिनेछ । यसबारे मैले त्यहाँका जनतासँग जे भनेको छु त्यसैअनुसार गर्नेछु । बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्साको पानी ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु र वडास्तरमा भूमिगत श्रोतबाट पानी निकालेर स्वच्छ खानेपानी वितरण हुनेछ । फोहोरमैला व्यवस्थापनमा दीर्घकालीन समाधानको योजना छ । त्यसलाई पूरा गर्नेछु । घोषणापत्रमा भनेका कामहरूलाई चरणबद्ध रूपमा पूरा गर्न म प्रतिबद्ध छु ।
साना व्यवसायी, हाटबजार व्यवसायीलगायतको करमा छुट दिने, घटाउने कुरा गर्नुभएको थियो, यो पूरा गर्ने के योजना छ ?
व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिँदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबैठकी करलगायत करका दर एवं सिफारिस शुल्क घटाउने काम अघि बढाउनेछु । घरेलु फोहोर संकलन बापत लिइँदै आएको दस्तुर घटाइनेछ । घोषणापत्रमा पनि हामीले भनेका थियौँ, त्यसअनुसारले नै काम अघि बढ्छन् । केही तत्काल गर्न सकिने कामहरू छन् भने केही कामहरू चरणबद्ध रूपमा गर्दै जाने खालका छन् । ती कामलाई त्यसरी नै अघि बढाइनेछ ।
अन्त्यमा, बुटवलवासीलाई के भन्न चाहनुहुन्छ ?
म बुटवलवासीलाई खुलेर भन्न चाहन्छु, तपाईंको प्रतिनिधि बुटवलको प्रमुख बनेको छ । बुटवलका बासिन्दा रहेर अन्यत्र गई बसेको व्यक्ति हुनुहुन्छ भने म बुटवलमा आउनका लागि अनुरोध गर्छु । बुटवललाई हामीले राम्रा कामको उदाहरणीय शहर बनाउनुछ । त्यसका लागि मलाई पाँच वर्ष बुटवलवासीको साथ चाहिएको छ । मलाई निरन्तर सल्लाह, सुझाव चाहिएको छ । यहाँका हरेकले बुटवललाई कस्तो बनाउने भन्ने चासो र सरोकार राख्नुपर्छ । म सबैलाई बुटवललाई राम्रो बनाउन सल्लाह सुझाव दिन आह्वान गर्छु ।
बुटवलले क्षमता भएका व्यक्तिलाई कदर गर्छ र अरु धेरै क्षमतावान् व्यक्ति उत्पादन गर्छ भन्ने बनाउनुछ । हामी सबै मिलेर बुटवललाई हाम्रो बुटवल राम्रो बुटवल बनाउने हो । त्यसका लागि म अगुवाई गर्छु, नेतृत्व गर्छु, हामी सबै साथसाथ अघि बढ्नेछौँ । र, फेरि एकपटक बुटवलवासीलाई बधाई दिन चाहन्छु, खुशीयाली मनाउन अनुरोध गर्छु र मलाई प्रतिनिधि मान्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछु ।