काठमाडौं । मोहम्मद सालाहको दुई गोलप्रेरित लिभरपुलले मंगलबार राति म्यानचेस्टर युनाइटेडमाथि ४–० को सानदार विजय हासिल गरेको छ । जितसँगै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिँदा म्यानचेस्टर युनाइटेडको शीर्ष चारमा सम्भावना कमजोर बनेको छ ।
इङ्लिस फुटबलमा सबैभन्दा सफल दुई क्लबबीच पछिल्लो समय धेरै अन्तर देखिएको छ । एनफिल्डमा दुई गोल गरेका सालाहले यसअघि ओल्ड ट्राफोर्डमा ह्याट्रिक गर्दा लिभरपुलले युनाइटेडलाई ५–० ले स्तब्ध बनाइदिएको थियो । गएराति सालाहले लुइस डियाजको गोलमा पनि अवसर सिर्जना गरिदिएका थिए ।
घरेलु टोली लिभरपुलले डियाजको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो । सालाहले २२औं मिनेटमा अग्रता दोब्बर बनाए । सालाहको गोलमा सडियो मानेले गोलको अवसर सिर्जना गरिदिएका थिए । ६८औं मिनेटमा मानेले डियाजको पासमा गोल गरे । खेल सकिन पाँच मिनेट बाँकी हुँदा सालाहले अर्को गोल थपेपछि लिभरपुलले सहज जित निकालेको थियो । सालाहको दोस्रो गोलमा डिएगो जोटाले अवसर सिर्जना गरिदिएका थिए ।
‘‘उनीहरुले मिडफिल्डर र रक्षापंक्तिमा हामीलाई सहज बनाइदिए,’’ सालाहले भने, ‘‘उनीहरुले सदैव ‘एक भर्सेस वान’को अवस्थामा हामीलाई बल दिए । जसले गर्दा हामीलाई धेरै सजिलो भयो । आज हामीले उच्च स्तरको प्रदर्शन गर्यौं । आशा छ यसलाई निरन्तरता दिनेछौं ।’’
युनाइटेडको पोष्टमा चार गोल हानेसँगै लिभरपुलको जारी सिजन चार उपाधि जित्ने लक्ष्य पनि बलियो बन्दै गएको छ । लिग कपको उपाधि पोल्टामा हालिसकेको लिभरपुल एफए कपको फाइनलमा पुगेको छ । त्यस्तै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ भने गएराति प्रिमियर लिगको शीर्ष स्थानमा उक्लन सफल भएको छ ।
लिभरपुलले उपाधि प्रतिद्वन्द्वी सिटीलाई दुई अंकले पछाडि पारेको छ । तर, सिटीले एक खेल कम खेलेको छ । लिभरपुलले ३२ खेलबाट ७६ अंक जोडेको छ भने सिटीले ३१ खेलबाट ७४ अंक जोडेको छ । सिटीले आज राति ब्राइटनलाई हराएमा पुनः शीर्ष स्थानमा उक्लनेछ । पराजित युनाइटेड भने छैटौं स्थानमा झरेको छ ।
युनाइटेडले ३३ खेलबाट ५४ अंक जोडेको छ । जुन चौथो स्थानमा रहेको टोटनहमभन्दा तीन अंकले पछाडि हो । त्यस्तै पाँचौं स्थानको आर्सनलसँग अंक बराबरी हो । तर, युनाइटेडले आर्सनलभन्दा दुई र टोटनहमभन्दा एक खेल बढी खेलेको छ ।
लिभरपुलले सिटीबाट उपाधि खोस्न सक्यो भने युनाइटेडसँगको कीर्तिमानी २० उपाधिसँग बराबरी गर्नेछ । युनाइटेड सबैभन्दा धेरै २० पटक उपाधि जितिसकेको छ । लिभरपुलले १९ पटक जितेको छ ।
‘‘उनीहरुले आफ्नो क्षमताअनुसारको प्रदर्शन गरे,’’ युनाइटेडका प्रशिक्षक राल्फ राङनिकले भने, ‘‘उनीहरुभन्दा हामी धेरै कमजोर रह्यौं ।’’
२०१३ मा सर एलेक्स फर्गुसनले प्रशिक्षणबाट सन्यास लिएपछि युनाइटेड उपाधिका लागि संघर्ष गरिरहेको छ । युनाइटेडलाई शीर्ष चार रहेर च्याम्पियन्स लिगमा स्थान पक्का गर्न पनि मुश्किल परेको छ ।
‘‘लिभरपुल उपाधिका लागि प्रतिस्पर्धा गरेको छ,’’ युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेजले भने, ‘‘तर हामी कुनै पनि कुराका लागि प्रतिस्पर्धा गरिरहेका छैनौं ।’’
खेलअघि युनाइटेडका समर्थकका ‘भिभा रोनाल्डो’ तथा लिभरपुलका समर्थकले ‘यु विल नभेर वक एलोन’ भनेर रंगशाला गुञ्जयमान बनाएका थिए । रोनाल्डो गएरातिको खेलमा अनुपस्थित थिए । सोमबार राति जन्मिएका जुम्लाहा बच्चामध्ये एकको मृत्यु भएका कारण रोनाल्डो अनुपस्थित भएका हुन् ।