site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतमा बढ्दो कोरोना संक्रमण : नेपालमा कति जोखिम ?  

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमण एक अंकमा झरिसकेको अवस्थामा भारतमा पछिल्ला दिनमा बढेको संक्रमणले फेरि एकपटक त्रास पैदा भएको छ । महामारीका तीनवटै लहरमा भारतबाट संक्रमण भित्रिएको तथ्यलाई हेर्दा नेपालमा फेरि संक्रमण नबढ्ला भन्ने अवस्था छैन ।

तर, दोस्रो र तेस्रो लहरमा सक्रिय बनेका भारतसँगको सीमानाकाका हेल्थ डेस्कको अवस्था अहिले के छ त ? सीमानाकामा केन्द्र र प्रदेश सरकारहरूले उच्च सतकर्ताका लागि जनशक्ति र स्रोत साधन पुर्याइएको छ त ?

यस्तो छ भारतको अवस्था 
पछिल्ला दिनमा भारतको दिल्ली, महाराष्ट्र, कर्नाटक, ओडिसा, उत्तर प्रदेश, हरियाना, पञ्जावलगायत राज्यमा कोभिड–१९ संक्रमण निरन्तर बढ्दो क्रममा छ । आइतबार मात्रै २ हजार १८३ जना थपिएका थिए भने एकैदिन २१४ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।  

मंगलबार दिउँसोसम्म नै १ हजार २४७ जना थपिएको र एकजनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांक छ । जुन आइतबारको तुलनामा १ हजार ३३ ले बढी हो । सोमबारसम्म भारतमा सक्रिय संक्रमितको संख्या ११ हजार ८६० पुगेको छ । त्यहाँ ओमिक्रोनकै बीए वान र बीए टु को हाइब्रिड रूप एक्सइका कारण यो संख्यामा संक्रमित बढेको केही स्वास्थ्य वैज्ञानिकहरूले बताइरहेका छन् भने केहीले डेल्टाक्रोनकै कारण संक्रमण फैलिइरहेको दाबी गरेका छन् । विश्व स्वास्थ्य संगठनले यसबारे अधिकारिक घोषणा गरेको छैन । 

नेपाल आउला भारतको संक्रमण ?
कोभिड–१९ महामारीका तीनवटै लहरमा भारतसँगका सीमानाका हुँदै नयाँ भेरियन्टहरू नेपाल भित्रिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रेकर्ड छ । तेस्रो लहरमा ओमिक्रोनको संक्रमण भारतमा फैलिएको एक साता नबित्दै नेपालका समुदायस्तरमा देखिसकेको थियो । यसर्थ नेपाल नभित्रिएला भन्ने अवस्था नरहेको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

तर, यसपटक भारतबाटै संक्रमण भित्रिए पनि पहिलेकोजस्तो घातक अवस्था नहुने डा. पुनको ठहर छ ।

“पहिलो कुरा त भारतमा डेल्टाक्रोन भेरियन्टकै कारण संक्रमण फैलिएको हो भने डेल्टा र ओमिक्रोनलाई हामीले दुईवटा लहरमा भोगिसेका छौँ । त्यसकारण पनि हाम्रा लागि त्यति घातक नहोला,” डा. पुन भन्छन् ।

नेपालमा अधिकांश नागरिक यी दुई भेरियन्टबाट संक्रमित भइसकेको उनको दाबी छ ।

“दोस्रो कुरा ओमिक्रोनको सब भेरियन्ट बीए २ भन्दा १० गुणा बढी संक्रामक भनिएको एक्सई भेरियन्ट नेपाल आइपुगे वृद्धवृद्धा र दीर्घरोगीलाई संक्रमित बनाउनसक्छ । तर, पनि दैनिक संक्रमितको संख्या तीन अंकभन्दा माथि नजाला । अधिकांशलाई तेस्रो लहरसम्म आइपुग्दा संक्रमण भइसकेको र १८ वर्षमाथिका ९० प्रतिशतभन्दा बढी नागरिकले खोप लगाइसकेको अवस्थामा अब आउने भेरियन्टले पहिलेको जस्तो भयावह अवस्था निम्त्याउने सम्भावना रहँदैन,” डा. पुनको भनाइ छ ।

यद्यपि, संक्रमण हुनै नदिनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाउन जरुरी रहेको उनी बताउँछन् ।

सीमानकाकामा छैन कडाइ
नेपाल भारत आवतजावतका लागि सरकाले १३ वटा आधिकारिक नाका तोकेको छ । तीमध्ये स्थल मार्गबाट भारत जोडिने सबै नाकामा हेल्थ डेस्क खडा गरिएको छ । तर, ती हेल्थ डेस्कले कोभिड–१९ संक्रमण ओरालो लागेपछि परीक्षणमा कडाइ नगरेको पाइन्छ । संक्रमण उच्च भएका बेला ३० हजारसम्म नमूनाको परीक्षण गरेका नाकाहरूमा अहिले परीक्षण नै हुनसमेत छोडेका छन् ।

लुम्बीनी प्रदेशअन्तरगत बेलहिया, कृष्णनगरलगायत तीनवटा नाकामा १० दिनयता परीक्षण नै नभएको लुम्बिनी स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीका अनुसार शून्य पोजिटिभ केस आएपछि नाकामा एन्टिजेन परीक्षण रोकिएको हो ।  

भारतसँगका मुख्य पाँचवटा नाका जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि हेल्थ डेस्कहरू सक्रिय छैनन् । सुदूरपश्चिमका नाकाहरूमा कति परीक्षण भइरहेको छ, जनशक्तिको अवस्था के छ भन्नेबारे प्रदेश स्वास्थ्य निर्देशनालय समेत जानकार छैन । निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक ओमप्रकाश जोशीकाअनुसार संक्रमण घटेपछि जिल्लाहरूबाट अपडेट आउन छोडेको छ भने निर्देशनालयले पनि कुनै परिपत्र गरेको छैन । 

परीक्षण नरोकेको केन्द्र सरकारको दाबी 
प्रदेश स्तरका हेल्थ डेस्कहरूको सक्रियता घटिरहँदा केन्द्र सरकार भने परीक्षण कतै नरोकेको दाबी गरिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास पछिल्लो समय संक्रमण घटेपनि परीक्षण नरेकिएको बताउँछन् । सबै नाकामा परीक्षणका लागि पर्याप्त किट पठाइएको र भारतमा संक्रमण बढेसँगै ‘हाई अलर्ट’का लागि छिट्टै परिपत्र गर्ने डा. दासको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ०७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro