site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेलाई  गठबन्धनको ठूलै चुनौती : गोकुल बाँस्कोटाकै नगरमा कस्तो छ अवस्था ?
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  स्थानीय निवार्चन २०७४ लाई फर्केर हेर्दा नेकपा एमालेले काभ्रेमा ठूलो सफलता हासिल गरेको थियो ।

जिल्लाका ६ नगर र ७ गाउँपालिका गरि कूल १३ पालिकामध्ये ७ वटा पालिकाको नेतृत्व आफ्नो पोल्टामा पारेर एमालेले काभ्रेमा सफलता प्राप्त गरेको थियो । 

जिल्लाका ६ वटा नगरपालिकामध्ये ५ वटा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो । जिल्लाका पुराना नगरहरु बनेपा, पनौती र धुलिखेलसहित नमोवुद्ध र मन्डन देउपुर नगरपालिका तथा भुम्लु गाउँपालिका र खानीखोला गाउँपालिकामा एमालेले जित हासिल गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस पाँचखाल नगरपालिकासहित बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका  र  तेमाल गाउँपालिका गरी चारवटा पालिकामा सीमित भएको थियो । काभ्रेमा तेस्रो हैसियत बनाएको माओवादी केन्द्रले चौरी देउराली गाउँपालिका र महाभारत गाउँपालिका गरी दुई पालिकामा जित हात पारेको  थियो ।

समयसँगै काभ्रेमा अहिले २०७४ को अवस्था फेरिएको छ । ०७४ मा सबैभन्दा मजबुद नेकपा एमाले अहिले फूटेर दुईटुक्रा छ ।

Global Ime bank

एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)को काभ्रेमा राम्रो  संगठन बनेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला अध्यक्ष टोकबहादुर वाइवासहित जिल्लाका प्रभावशाली नेताहरु हाल नेकपा एकिकृत  समाजवादीतर्फ सक्रिय छन् ।  

काभ्रेमा केपी ओली नेतृत्वको सरकारका बेला सबैभन्दा बढी चर्चामा रहेको जिल्ला पनि हो ।

नेकपा एमालेका पोलिट्ब्युरो सदस्यसमेत रहेका नेता गोकुल बाँस्कोटाका कारण बेला बेला चर्चामा आइरहन्थ्यो । काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित बाँस्कोटाको गृहनगर मन्डन देउपुर हो । एमाले फुटको सबैभन्दा धेरै असर मन्डन देउपुर नगरपालिकामा नै देखिएको छ । मन्डन देउपुर नगरपालिकाका प्रमुखसमेत रहेका तत्कालीन एमालेका जिल्ला अध्यक्ष टोकबहादुर वाइबा हाल नेकपा एकीकृत समाजवादीको  जिल्ला  अध्यक्ष छन् । 

यस्तै गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित लक्ष्मण लम्साल र बसुन्धरा हुमागाँइ पनि एकीकृत समाजवादीतिरै छन् । यस्तै, संविधानसभा सदस्यद्वय विदुर सापकोटा  र कृष्णप्रसाद सापकोटा पनि एकीकृत समाजवादीमै छन् । पार्टीको फूट र गाविस महासंघको अध्यक्ष भएर देशभरका स्थानीय तहको नेतृत्व गरिसकेका कृष्णप्रसाद सापकोटासहित एमालेमा नहुँदा एमालेलाई धेरै ठूलो धक्का लाग्ने काभ्रेको राजनीतिलाई नजिकबाट नियालिरहेकाहरु बताउँछन् । काभ्रेमा संविधानसभा सदस्य  कृष्णप्रसाद सापकोटा कार्यकर्तामाझ लोकप्रिय छन् ।  २०६४ सालको संविधानसभा निर्वाचनमा वाग्मतीमा एमालेबाट निर्वाचित हुने सापकोटा एक्ला उमेदवार थिए ।

उनै सापकोटाका ठाउँमा २०७४ सालमा एमाले अध्यक्ष ओलीले गोकुल बाँस्कोटालाई टिकट दिएका थिए । त्यसपछि एमालेमा असन्तुष्टि बढेको थियो ।

भित्रभित्रै भुसको आगोजसरी एमालेमा विवाद बढ्न सुरु भएको थियो । पार्टी फूटमा परिणत हुँदा त्यही असन्तोषले एमालेलाई थप कमजोर पारेको जानकारहरु बताउँछन् ।

त्यसबेला चुनाव जितेपछि ओलीले सञ्चारमन्त्री बनाएका बाँस्कोटा प्रतिपक्षप्रति चर्का टिप्पणीबाट चर्चामा आएका थिए । त्यसैले पनि उनको जिल्लामा उनकै प्रभाव र एमालेको अवस्था कस्तो होला भन्नेमा धेरैको चासो रहन्छ । तर, पार्टी फूटपछि एमाले काभ्रेको सर्वेसर्वा भएका उनी आफ्नै पालिकामा भने पार्टीलाई बलियो बनाउन नसक्ने अवस्थामा छन् । 

“अहिले त हाम्रो पावर बलियो देखिएको छैन । मेयरको व्यक्तिगत पदीय प्रभावका कारण धेरै कार्यकर्ता उनीसँगै देखिन्छन्,” मण्डन देउपुर नगरपालिकाका एक सक्रिय एमाले नेताले भने, “तर, निर्वाचनसम्म धेरै कार्यकर्ता फर्किन्छन् भन्ने विश्वासमा छौं । त्यही विश्वासका आधारमा हामी चुनाव पनि जित्छौँ भन्न सकिन्छ ।” उनले अहिलेकै अवस्था कायम रहँदा भने जितको अपेक्षा गर्न सकिने अवस्था नरहेको बताए ।

०७४को चुनावमा पकड जमाउन सफल एमालेलाई उक्त शाख कायम राख्ने चुनौती देखिएको छ । प्रतिनिधिसभा चुनावमा सँगै  लडेर पार्टी एकता गरेका एमाले र माओवादी हुँदै एमालेसमेत फुटेको लाभ उठाउने दाउमा भने यसपटक कांग्रेस देखिएको छ ।  

नेकपा एमालेका जिल्ला अध्यक्ष अशोक ब्यान्जु पार्टी फुटको असर जिल्लामा दुई प्रतिशत मात्रै रहेको दाबी गर्छन् । आगामी स्थानीय निवार्चनमा एमालेले यसअघि जितेको ७ वटा स्थानीय तहमै जित्ने दाबी उनको छ ।

एमालेले २०७४ को स्थानीय निर्वाचनमा जितेको ७ वटा स्थानीय तह जित्दै अरु पनि स्थानीय तहमा जित हाँसिल गर्ने दाबी गरिरहँदा केन्द्रमा भने सत्तारुढ कांग्रेससहित,नेकपा माओवादी केन्द्र, एमालेबाट फुटेको एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भइरहेको छ ।

अहिले  सत्ता  साझेदार  दलबीच गठबन्धनको छलफल चलिरहेको भएपनि जिल्लामा राष्ट्रिय जनमोर्चा  र जनता समाजवादी पार्टीका  खासै प्रभाव देखिँदैन । तर, कांग्रेससहित नेकपा माओवादी केन्द्र  र नेकपा एकीकत समाजवादीबीचको तालमेलले जिल्लामा ठूलै अर्थ राख्छ ।  

२०७४ को स्थानीय निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले फुटेको अवस्थामा छ । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको जिल्लामा संगठन विस्तारकै क्रममा छ ।  एकीकृत समाजवादीका प्रदेश सांसद लक्ष्मण लम्साल आगामी स्थानीय निवार्चनमा काभ्रेमा बलियो उपस्थिति रहने दाबी गर्छन् ।  जिल्लाको १३ वटै पालिकामा पार्टीका संगठन बलियो बन्दै गएको उनले दाबी गरे । एमालेमा पार्टी फुटको प्रभाव र एकीकृत समाजवादीको उपस्थिति जिल्लामा कस्तो रहन्छ त्यसको लागि निवार्चन परिणाम नै कुनुपर्ने हुन्छ । यद्यपी काभ्रेको मन्डनदेउपुर नगरपालिका मेयर वाइवासहित ५ जना वडाअध्यक्ष, भुम्लु  गाउँपालिका उपाध्यक्षसहित एक वडाअध्यक्षलगायत काभ्रेको  स्थानीय तहको निर्वाचित जनप्रतिनिधि समाजवादीमा सक्रिय भएका कारण एमालेलाई ठूलै चुनौती देखिन्छ ।

यता अघिल्लो स्थानीय निवार्चनमा दोस्रो  भएको  नेपाली कांग्रेस  यसपटक एक्लै चुनाव लडेमा पनि सहज रुपमा पहिलो पार्टी हुने  दाबी गरिरहेको छ । पाँचखाल नगरपालिकाका  नगर प्रमुख समेत रहेको काभ्रे २ को क्षेत्रीय सभापति महेश खरेल घरदैलो कार्यक्रममा काभ्रेमा कांग्रेस प्रवेश गर्नेको लहर नै चलेको  बताउँछन् ।  काभ्रेमा कांग्रेस पाहिलो पार्टी हुने उनले दाबी गरे ।

सत्तारुढ दलबीच तालमेलको लागि बैठक बसिरहेको हुँदा तालमेल गरेर सबै पालिका जित्ने तयारीमा रहेको उनको भनाइ छ ।

अघिल्लो चुनावमा तेस्रो बनेको नेकपा माओवादी केन्द्र यसपटक जिल्लामा पार्टीका संगठन झनै बलियो बनेको दाबी गरिरहेको छ । तर, माओवादीबाट भुम्लु गाउँपालिका अध्यक्षमा चुनाव लडेका नकुलप्रसाद पराजुलीसहित माओवादीका धेरै कार्यकर्ता नेकपा विभाजनपछि एमालेतर्फ लागेका छन् ।  

एमाले जिल्ला अध्यक्ष अशोक ब्यान्जु पार्टी फुटे पनि त्यसको असर नपर्नेमा तीनै कार्यकर्ताको हिसाबकिता गरिरहेका छन् ।

राप्रपासहित अन्य पार्टीबाट एमाले प्रवेश गर्नेको संख्या फूटेर गएकाहरु भन्दा बढी रहेकोले चुनावमा असर नगर्ने उनको तर्क छ । 

पार्टी विभाजन अगाडि काभ्रेमा एमालेका संगठित सदस्यको संख्या आठ हजार रहेका थियो । अहिले त्यो संख्या २३ हजार पुगेको र पालिका र वडा कमिटिका साथै ६०० भन्दा बढी गाउँ कमिटीसमेत निर्माण गरेर एमाले चुनावी अभियानमा होमिएको उनको दावी छ । 

जिल्ला अध्यक्ष ब्यान्जु नै प्रमुख रहेको धुलिखेल नगरपालिकाका वडा नम्बर–५मा एमालेबाट निर्वाचित वडाध्यक्ष निराजन जंगम नै कांग्रेस प्रवेश गरेका छन् । तर, त्यसले पनि धुलिखेलको चुनावलाई कुनै असर नगर्ने उनको दाबी छ । “छ सय जना भन्दा बढी माओवादीबाट र दुईसयभन्दा बढी राप्रपाबाट गरी आठसय बढी कार्यकर्ता एमालेमा थपिएकाले धुलीखेलमा एमाले कमजोर भएको छैन,” उनले भने ।

कांग्रेसकै नेताहरु पनि एमाले तुलनात्मक रुपमा धुलिखेलमा बलियो रहेको बताउँछन् ।  तर, एमालेबाट आएका नेता कार्यकर्ताका कारण पार्टी प्रवेशसँगै कांग्रेसले धुलिलेको मेयर जित्ने उनीहरुको दाबी छ । 

कांग्रेस नेता खरेल कांग्रेस एक्लै चुनाव लडे ेपनि काभ्रेको चौरी देउराली, पनौती, खानीखोला र महाभारतबाहेक ९ वटा पालिका जित्ने बताउँछन् ।  उनले सत्तारुढ दलले गठबन्धन गरेर चुनाव लडेमा १३ वटै पालिकामा गठबन्धनका उमेदवार विजयी हुने दाबी गर्छन् ।

यस्तो अवस्थामा पनि धुलिखेलमा भने एमालेले कडा प्रतिस्पर्धा गर्न सक्ने कतिपय कांग्रेस नेताहरु बताउँछन् । 

“गठबन्धनभित्र विश्वास कायम हुन सकेन भने अहिलेका मेयर बेञ्जुको व्यक्तिगत सम्बन्धका कारण धुलिखेलमा एमालेलै नै जित्ने जोखिम हुन्छ,” कांग्रेसका ती नेताले महेशको तर्कसँग असहमति राख्दै भने, “तर, गठबन्धनमा विश्वास कायम हुँदाका बखत भने एमाले राम्रो मत ल्याउने तर हार्ने अवस्थामा रहन्छ ।” 

देशभर गठबन्धन गर्ने सत्ता गठबन्धनको निर्णयसँगै काभ्रेमा पनि गठबन्धनका विषयमा कांग्रेस नेताहरु लचिलो देखिएका छन् ।

त्यसैले उनीहरुले गठबन्धन आवद्ध दलको जिल्ला नेतृत्वसँग छलफल थालिसकेको छ । 

स्रोतको दाबी मान्ने हो भने काभ्रेमा माओवादी र  नेकपा  एकीकृत समाजवादीले ४–४ वटा पालिकामा दाबी गरिरहेका छन् । तर, कांग्रेसले भने जम्मा ४ वटा पालिका छोड्न सक्ने बताइरहेको छ । 

यस्तो छ विगत चुनावमा पार्टीहरुको मत 

गएको निवार्चन मतपरिणामलाई हेर्दा काभ्रेमा एमाले फुटेर बनेको एकिकत समाजवादी, माओवादी र कांग्रेसको गठबन्धन भएमा  एमालेलाई  सहज भने देखिँदैन ।

रोशी गाउँपालिका : कांग्रेस बलियो, एमाले प्रतिस्पर्धी 

२०७४ सालको स्थानीय निवार्चमा कांग्रेसले रोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । अध्यक्षमा कांग्रेसका  दलबहादुर लामाले ४३७२ मत ल्याएर निवाचित हुँदा एमालेका बज्रध्वज लामा २९५७ र माओवादीका मिमबहादुर वाइवाले २२१९ मत ल्याएका थिए ।  

अघिल्लो स्थानीय चुनावमा फोरम लोकतान्त्रिक र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए । अहिले फोरम लोकतान्त्रिक कांग्रेसमा मै विलय भइसकेको छ । 

उपाध्यक्षमा पनि कांग्रेसकै लक्ष्मीकुमारी  उप्रेती  (बर्तौला) ३८९८ मत ल्याएर निर्वाचित हुँदा एमालेकी बबिता बोहोरा २९३३ मत र फोरम लोकतान्त्रिकका प्रकाश थापाले १४२५ मत ल्याएका थिए ।  

कुल १२ वटा वडा रहेको  पालिकामा  राप्रपा, फोरम लोकतान्त्रिक र स्वतन्त्रले एक÷एक वडाध्यक्षमा जितेका थिए भने छवटा वटा अध्यक्ष कांग्रेसले जितेको थियो । दुईवटा वडा माओवादीले जितेको थियो भने एउटा मात्रै वडा एमालेले जितेको थियो । यसटक गठबन्धन एकातिर भयो भने एमाले निक्कै कमजोर अवस्थामा देखिन्छ ।  

बेथानचोक गाउँपालिका –कांग्रेसको एकलौटी प्रभाव  

अघिल्लो स्थानीय निवार्चमा बेथानचोक गाउँपालिकामा एउटा वडा सदस्यबाहेक सबै नेपाली कांग्रेसले जितेको थियो । पालिका अध्यक्षमा कांग्रेस प्रेमबहादुर तिमल्सिना ३८६८ मत ल्याएर निर्वाचित हुँदा एमालेका प्रेमकुमार तामाङले २७४१ मत पाएका थिए भने माओवादीका मर्दनसिंह तमाङले १७४९ मत पाएका थिए । 

उपाध्यक्षमा कांग्रेसकी सरिता लामिछाने ३८५२ मत ल्याएर विजयी हुँदा एमालेकी उन्नती केसीले २८४१ मत ल्याएकी थिइन् ।

माओवादीकी तारा राना तिमल्सिनाले १६३२ मत पाएकी थिइन् । पालिकाको वडा नम्बर ६ को एकजना वडा सदस्यमा माओवादीका विनोद तामाङ निर्वाचित हुँदा बाँकी सबै वडा सदस्य र वडाध्यक्ष पनि कांग्रेसबाटै निर्वाचित भएका थिए ।  यो पालिकामा अहिले पनि कांग्रेस एक्लै बलियो अवस्थामा रहेकोमा गठबन्धनसमेत हुँदा  एमाले प्रतिस्पर्धाका लागि कमजोर देखिएको छ । 

तेमाल गाउँपालिका : कांग्रेस नै बलियो अवस्थामा 

२०७४ सालको स्थानीय निर्वाचनमा तेमाल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको थियो । अध्यक्षमा कांग्रेसका सलाम सिंह लामाले ३९४९ मत ल्याएर निर्वाचित हुँदा एमालेका प्रदिपकुमार लामाले ३३५९ मत ल्याएका थिए भने नेकपा मोओवादी केन्द्रका  उमेदवार गंगाबहादुर लामाले ३२२६ पाएका थिए । 

उपाध्यक्षमा नेपाली कांग्रेसकी दुर्गामाया तामाङ ३७८४ मत ल्याएर निवार्चित हुँदा एमालेकी उषा तामाङ ३३८९ मत ल्याएकी थिइन् भने नेकपा माओवादी केन्द्रकी कल्पना लामाले ३२८४ मत पाएकी थिइन् ।  

नौ वडा रहेको पालिकामा दुईवडा अध्यक्ष नेकपा एमाले र २ वडा नेकपा माओवादी केन्द्रले जितेको थियो भने एउटा फोरम लोकतान्त्रिकले जितेको थियो । चार वडा जितेको कांग्रेसमा फोरमसँगको एकतासँगै पाँच वडाध्यक्ष भएका थिए । 

यस पालिकामा माओवादीबाट पराजित गंगाबहादुर लामा हाल प्रतिनिधिसभा सदस्य छन् । यस पालिकामा पनि गठबन्धन एकातिर  र एमाले एकातिर हुने हो भने एमाले धेरै कमजोर अवस्थामा देखिन्छ ।  

महाभारत गाउँपालिका : माओवादी बलियो, एमाले तेस्रो शक्ति 

जिल्लाको महाभारत गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा माओवादी केन्द्रका उमेदवार निर्वाचित भएका थिए । 

अध्यक्षमा माओवादी केन्द्रका कान्छा लामा जिम्बा २३४२ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका रकमसिं घलानले २२३६ मत र नेकपा एमालेका राजकुमार कुँवरले १२५० मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी चेतकुमारी माझीले २३४३ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसकी विष्णुमाया पुलामीले २२१० मत ल्याएकी थिइन् भने एमालेकी रविनमाया अस्तानीले १२४६ मत पाएकी थिइन् ।  

कुल आठ वडा रहेको पालिकामा ४ वटा वडामा माओवादी केन्द्रले जित हासिल गर्दा ३ वटामा कांग्रेस र एउटामा एमालेले जितेका थिए ।  

गएको स्थानीय निर्वाचनमा महाभारत गाउँपालिकामा तेस्रो भएको एमालेलाई गठबन्धन भएमा यसपटक थप कठिन अवस्था देखिन्छ ।  

चौरीदेउराली गाउँपालिका : माओवादी पहिलो एमाले तेस्रो 

अघिल्लो स्थानीय निर्वाचनमो चौरी देउराली गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुबै नेकपा माओवादी केन्द्रले जितेको थियो ।  नेकपा माओवादी केन्द्रका उमेदवार दिनानाथ गौतमले ३९२४ ल्याएर निर्वाचित हुँदा कांग्रेसका विक्रमराज गौतमले ३००४ मत ल्याएका थिए भने नेकपा एमालेका लेखराज गौतमले २७४१ मत पाएका थिए । 

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी ताराकुमारी चौलागाई ४००७ मतसहित निवार्चित हुँदा कांग्रेसकी मिना लामाले ३००४ मत र नेकपा एमालेकी इन्द्रमाया योन्जनले २५४९ मत पाएका थिए । 

नौ वडा रहेको उक्त पालिकामा कांग्रेस र एमालेले एक/एक वडा अध्यक्षमा जित निकाल्दा माओवादी केन्द्रले ७ वडा अध्यक्ष जितेको थियो ।  
गएको निवार्चनमै तेस्रो भएको एमालेलाई कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेमा प्रतिष्पर्धामा उत्रन सहज देखिँदैन । 

खानीखोलामा एमाले बलियो : गठबन्धन भए समस्या 

२०७४ को स्थानीय निर्वाचनमा काभ्रेको खानीखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।  

खानीखोला गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका कृष्णबहादुर खुलाल २०२३ मत ल्याएर निर्वाचित हुँदा माओवादी केन्द्रका उमेदवार इन्द्रबहादुर थिङले १६४४ र कांग्रेसका गोपालबहादुर दलामी १६३७ मत प्राप्त गरेका थिए । गएको स्थानीय निवार्चनमा नेपाली कांग्रेस तेस्रो भएको यो एकमात्र पालिका हो ।  

महाभारत गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी रुक्मेणी गुरुङ २१३० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसकी तारादेवी आचार्य १५९६ मतसहित दोस्रो र माओवादी केन्द्रकी विष्णुमाया मोक्तान १५६६ मतसहित तेस्रो भएका थिए । 

सात वडा रहेको पालिकामा नेपाली कांग्रेसले एउटामात्रै वडाअध्यक्ष जित्दा नेकपा माओवादी केन्द्रले २ वटा वडा जितेका थिए भने एमालेले चार वडाध्यक्ष जितेको थियो । ०७४मा एमालेले जितेको खानीखोलामा पार्टी फुटको असर परेको छ भने कांग्रेस माओवादीबीच तालमेल भए एमाले कमजोर हुन सक्ने डर एमाले नेताहरुलाई छ । 

भुम्लुमा एमाले बलियो : तालमेल भए कांग्रेसले लाभ लिने जोखिम 

गएको स्थानीय निवार्चनमा जिल्लाको भुम्लु गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै नेकपा एमालेले जितेको थियो । एमालेका गुमानध्वज कुँवर ३५४८ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका तस्बिर लामाले २९४९ मत र नेकपा माओवादी केन्द्रका नकुलप्रसाद पराजुली २३९२ मत पाएका थिए । नेकपा माओवादी केन्द्रका तत्कालिन अध्यक्षका उमेदवार पराजुली हाल नेकपा एमालेमा छन् ।  

उपाध्यक्षमा तत्कालीन नेकपा एमालेकी उमेदवार कल्पना कुमारी श्रेष्ठले ३५१६ मत ल्याएर निर्वाचित भएकी थिइन् । उनी हाल एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीमा छन् । उपाध्यक्षमा कांग्रेसकी शान्ता क्षत्री थापाले २८३० मत र नेकपा माओवादी केन्द्रकी अनिता गुरुङले २३१४ मत पाएका थिए । 

एमालेबाट पालिका उपाध्यक्ष जितेकी श्रेष्ठसँगै एमालेबाट वडाअध्यक्षमा निर्वाचित एकजना पनि एकीकृत समाजवादीतर्फ छन् । 

१० वडा रहेको पालिकामा नेकपा एमालेले ५, नेपाली कांग्रेसले ३, नेकपा माओवादी केन्द्रले १ मा जित हासिल गर्दा एकजना स्वतन्त्र उमेदवारले वडाअध्यक्ष जितेका थिए ।  

भुम्लुमा पनि  कांग्रेस, माओवादी र नेकपा एसबीच तालमेल भए एमालेलाई कठिन हुने अनुमान एमालेकै स्थानीय नेताहरुको छ । 

धुलिखेलमा सबैभन्दा बलियो एमाले : गठबन्धन भएमात्र प्रतिस्पर्धा हुने

२०७४ को स्थानीय निवार्चनमा धुलिखेल नगरपालिकाान प्रमुख र उपप्रमुख दुवै नेकपा एमालेले जितेको थियो । 

हाल नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका अशोककुमार ब्यान्जु श्रेष्ठ ७९८१ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका रमेश हुमागाईँले ५४०८ र माओवादी केन्द्रका सरस्वती लामाले १६२१ मत ल्याएका थिए । धुलिखेलमा कांग्रेस र माओवादीले पाएको मतभन्दा एमालेले पाएको मत करिब एक हजारले बढी हुन्छ । एमाले फुटको प्रभाव मूल्यांकन भइनसकेकाले धुलिखेलमा एमाले नै बलियो अवस्थामा देखिएको छ ।  

धुलिखेलको उपमेयरमा एमालेकी विमलाकुमारी चौलागाई (शर्मा) ६७२३ मत ल्याएर निर्वाचित हुँदा  कांग्रेसकी  निर्मला कुमारी यगोल श्रेष्ठले ४९४० मत र माओवादीकी दिन दयाल सोजु श्रेष्ठ २६६१ मत प्राप्त गरेका थिए । धुलिखेलमा गएको स्थानीय निर्वाचनमा एमालेकी उपमेयरले ल्याएको मतभन्दा कांग्रेस र माओवादीको उपमेयरले ल्याएको मत करिब ८०० बढी रहेको छ  ।  
नगरपालिकाका १२ वडामध्ये आठ वडा एमालेले जितेको थियो । हाल एकजना वडाअध्यक्ष कांग्रेस प्रवेश गरेका छन् । त्यस्तै ३ वडाध्यक्ष कांग्रेसले र एउटा राप्रपाले जितेको  थियो ।  

पनौती नगरपालिका : कांग्रेस माओवादी भन्दा बलियो एमाले 

२०७४ को स्थानीय तह निवार्चनमा पनौती नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेले जितेको  थियो । नगरप्रमुखमा एमालेका भिमप्रसाद न्यौपाने १२ हजार २५७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका विदुर बञ्जाराले ९१९० र नेकपा माओवादी केन्द्रकी जमुना सापकोटाले १२३९ मत पाएका थिए । 

२०७४ को स्थानीय चुनावमा पनौतीमा माओवादी र कांग्रेसको पाएको मत जोड्दा पनि एमालेको मत करिब दुई हजारले बढी छ ।  तर, एमाले फूटको प्रभाव पनौतीमा रामै्रसँग परेकाले एकीकृत समाजवादीको संगठन पनि प्रभावकारी हुने समाजवादीका नेताहरु बताउँछन् । 

एमालेबाट वाग्मती प्रदेश सदस्य निर्वाचित बसुन्धरा हुमागाईँ हाल एकीकृत समाजवादीमा छन् । एमालेका तत्कालीन जिल्ला उपाध्यक्ष हुँमागाई हाल वाग्मती प्रदेश सरकारमा कृषिमन्त्री छन् ।  

उपमेयरमा एमालेकी गीता बञ्जारा १२ हजार ९९ मत प्राप्त गरेर निर्वाचित हुँदा कांग्रेसकी अन्जु रञ्जितले ९१२८ र माओवादीका  जगन्नाथ गिरीले १७९७ मत पाएका थिए । उपमेयरमा पनि कांग्रेस र माओवादीको मतभन्दा एमाले एक्लैको मत बढी रहेको छ । 
पनौतीमा कुल १२ वटा वडा रहेकोमा ६ वटा वडा अध्यक्ष एमाले जितेको थियो भने ६ वडा नै कांग्रेले जितेको थियो ।   

बनेपामा एमाले बलियो : गठबन्धन भए संकट   

काभ्रेको व्यापारिक नगर बनेपामा २०७४ को स्थानीय निर्वाचनमा नगर प्रमुख र उपप्रमुख दुबै एमालेले जितेको  थियो । नगर प्रमुखमा  एमालेका लक्ष्मीनरसिं वादे श्रेष्ठले ११ हजार ४०९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका रामराज जोशीले ९६६५ र माओवादी केन्द्रका भोलाप्रसाद अर्यालले १३७० मत प्राप्त गरेका थिए ।

उपमेयरमा एमालेकी रेखा सापकोटा (दाहाल),  ११ हजार २ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसकी निर्मला श्रेष्ठ १० हजार ६० मत र माओवादीकी सुशीला सुद्धकारले १३०७ मत प्राप्त गरेकी थिइन् ।  

बनेपाको नगर प्रमुखमा कांग्रेस र माओवादीले पाएको मतभन्दा एमालेको थोरै मत बढी छ । 

उपमेयमा एमाले उमेदवारको थोरै कम रहेको थियो ।  १४ वडा रहेको बनेपामा एमालेले ९ वटा वडाअध्यक्ष र कांग्रेसेले ५ वडाअध्यक्ष जितेको  थियो ।  

पाँचखाल नगरपालिका कांग्रेसलाई एमालेको कडा टक्कर 

काभ्रेमा २०७४मा कांग्रेसले जितेको एकमात्रै नगरपालिका पाँचखाल हो ।  पाँचखालको नगर प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको  थियो ।  

नगरप्रमुखमा कांग्रेसका महेश खरेलले ७३५६ मतसहित निर्वाचित हुँदा एमालेका रुद्रबहादुर बानियाँले ६८०० र माओवादीका आइतेसिंह तामाङले ३२७९ मत पाएका थिए । 

उपप्रमुखमा कांग्रेसकी लक्ष्मी दनुवार ७०२६ मतसहित निर्वाचित हुँदा एमालेकी भक्तकुमारी लामाले ६६२२ मत र नेकपा माओवादी केन्द्रकी रुक्मणी बराइलीले ३६२३ मत पाएका थिए । 

पाँच वर्षअघि कांग्रेसले जितेको पाँचखालमा यसपटक गठबन्धन बन्ने हो भने एमालेलाई प्रतिष्पर्धा गर्ने चुनौती रहेको एमालेका स्थानीय नेताहरुको भनाई छ । तर पाँचखालमा माओवादीमा राम्रै प्रभाव पार्ने हरि खतिवडासहित केही नेता एमालेमा गएकोले एमाले पनि कमजोर नहुने उनीहरुको बुझाई छ । 

कुल १३ वडा रहेको पाँचखालमा छ वडाध्यक्ष कांग्रेसले पाँचवटा एमाले र दुई वडा माओवादीले जितेका थिए ।  

बाँस्कोटाको नगरमा एमाले फूटको प्रभाव धेरै   

काभ्रेको मण्डनदेउपुर नगरपालिका एमाले पोलिट्ब्युरो सदस्य  गोकुल बाँस्कोटाको गृह नगर हो । पाँचवर्ष अघिको स्थानीय निर्वाचनमा बहुमत वडासहित मेयर–उपमेयर जितेको एमालेमा अहिले मेयरसहित बहुमत वडाध्यक्ष बाँकी छैनन् । यो पालिकामा एमाले पालिका उपप्रमुख र ३ जना वडाअध्यक्षमा सीमित छ । 

२०७४ को स्थानीय निर्वाचनमा एमालेबाट टोकबहादुर वाइवा ७६४६ मतसहित निर्वाचित हुँदा कांग्रेसका अच्युतप्रसाद पौडेलले ६३१९ मत र  माओवादी केन्द्रकी उमेदवार रिता गौतम (ढकाल)ले २२५९ मत पाएकी थिइन् । गौतम हाल एमालेमा प्रवेश गरेकी छन् । 

तर, अहिले नगरप्रमुखमा निर्वाचित वाइबा एकीकृत समाजवादीको जिल्ला अध्यक्ष भएका छन् । 

उपमेयरमा पनि एमालेकी निर्मला शाही ७५०१ मतसहित निर्वाचित हुँदा कांग्रेसकी राधिका ढकालले ६१६० मत र माओवादीका निरञ्जन विष्टले २५५१ मत प्राप्त गरेका थिए । 

मन्डन देउपुर एमाले फुटको प्रभाव जिल्लामै सबैभन्दा धेरै परेको पालिका हो ।  अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेस र मोओवादीले ल्याएको मत एमालेको भन्दा ९०० बढी हुन आउँछ । अब एमालेबाट निर्वाचित मेयर नै  नेकपा एसतिर हुँदा एमालेलाई थप क्षति हुने देखिन्छ ।

कूल १२ वटा वडा रहेको नगरपालिकामा आठ वडाध्यक्ष एमालेले र चार वडा कांग्रेसले जितेका थिए । तर, अहिले पाँच वडाध्यक्ष नेकपा एसमा छन् भने एमालेमा ३ जना वडाध्यक्षमात्रै छन् ।  

नमोबुद्ध नगरपालिका : एमालेलाई गठबन्धनकै चिन्ता 

काभ्रेको अर्को पालिका नमोबुद्ध नगरपालिका कांग्रेस उमेदवार कुन्सान तामाङलाई ४०० भन्दा कम मतान्तरले पराजित गर्दै एमालेका टंकप्रसाद शर्मा नगर प्रमुख बनेका थिए । शर्माले ५३४६ मत प्राप्त गर्दा कांग्रेसका तामाङले ४ हजार ९६१ मत पाएका थिए भने माओवादी केन्द्रका रत्नबहादुर लामाले ३८६७ मत पाएका थिए । 

उप्रमुखमा एमालेकी रामदेवी तामाङ ५१४७ मतसहित निर्वाचित हुँदा कांग्रेसकी कमला खनालले ४४११ र माओवादी केन्द्रकी देवकी कोइराला (खनाल)ले ३६३९ मत पाएका थिए । 

नमोवुद्ध नगरपालिकमा कांग्रेस र एमालेबीच झिनो मतान्तर रहेकोमा एमालेमा पार्टी फुटको प्रभाव छ भने कांग्रेस माओवादीको जोड्दा करिब ३५०० मत बढी हुन्छ । 

नगर पालिकाका ११ वडामध्ये ६ वडा एमालेले ३ माओवादी केन्द्रले र २ नेपाली कांग्रेसले जितेका थिए ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !