site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाली क्रिकेट : 'लज्जास्पद' हारको कारण टिमभित्रको वैमनस्य
तस्बिर : क्यान ।

काठमाडौं । पछिल्लो एक महिनाको अन्तरालमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई महत्वपूर्ण प्रतियोगिता खेल्यो । दुवै प्रतियोगिता विश्वकप छनोटका थिए । ट्वान्टी–२० र एकदिवसीय विश्वकप छनोटका दुई प्रतियोगितामा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । 

अझै अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप यात्रामा त नेपालको ढोका नै बन्द भइसकेको छ । अर्को वर्ष छिमेकी राष्ट्र भारतमा हुने एकदिवसीय विश्वकपको यात्रा पनि नेपालका लागि कठिन भइसकेको छ । तथापि सम्भावनाका ढोकाहरू भने खुला नै छन् । 

गत फेब्रुअरीमा सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालले आयोजक ओमान, फिलिपिन्स र क्यानडाविरुद्ध सानदार विजय हासिल गरे पनि सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको महत्वपूर्ण खेलमा नेपालको कमजोरी उदाङ्गो भयो ।

No description available.

यूएई भ्रमणमा रहँदा नेपालले चार खेल खेल्यो । चारै खेल जित्ने भनेर यूएई भ्रमणमा निस्केको नेपाल मिश्रित नतिजा निकाल्यो । पपुवा न्युगिनी (पीएनजी)विरुद्धको दुवै खेल जिते पनि यूएईसँग भने दुवै खेलमा लज्जास्पद पराजय नेपाली टोलीले भोग्यो । 

विशेषगरी नेपालको ब्याटिङ युनिट ‘सुपर फ्लप’ नै रह्यो । नेपाली ब्याट्सम्यानले कुनै पनि समय ठुलो साझेदारी गर्न सकेनन् । रोहितकुमार पौडेलले कुल १५९ र आरिफ शेखले कुल १२३ रन बनाउनुबाहेक अन्यको प्रदर्शन बिर्सनलायक रह्यो । टिमभित्रको वैमनस्य पनि छताछुल्ल बन्यो । 

मुख्य प्रशिक्षक पुबुदु दासानायके मुखै खेल्न बाध्य भए । 

“नेपाली ब्याट्सम्यानहरूले यसै पनि उच्च स्तरको प्रतिस्पर्धामा नियमित एक्सपोजर पाइरहेका छैनन् । जति गर्नपर्छ देशभित्रै खेलेर ब्याटिङ तिखार्नुपर्ने बाध्यता छ । ब्याटिङमा जति कमजोरी छ । त्यो हामीले एकतावद्ध भएर टिम स्प्रिटका साथ खेल्दै परिपूर्ती गर्नुपर्ने अवस्था छ । तर त्यही कुरा अहिले नेपाली टोलीमा छैन,” मुख्य प्रशिक्षक पुबुदुले नेप्लेजसँग भनेका छन्, “पछिल्लोपटक नेपालको प्रशिक्षक हुँदा सबै खेलाडी एक ढिक्का भएर उच्च टिम स्प्रिटका साथ खेल्थे । तर अहिले त्यो स्थिति छैन ।”

No description available.

पुबुदु दोस्रो कार्यकालका लागि नेपाल भ्रमणमा आउँदा नेपाली क्रिकेट टिम विवादमा थियो । टिमभित्र भन्दा पनि नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो । क्यानले अनुशासनको डन्डा चलाउँदै तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो । खेलाडीले क्यानलाई कारबाही फिर्ता नगरे बल र ब्याट नै बिसाउने चेतावनी दिइरहेका थिए ।

त्यही अवस्थाामा पुबुदु नेपाली टिम सम्हाल्न नेपाल आइपुगेका थिए । अन्तत: क्यान र खेलाडी दुवै एक एक कदम पछाडि हटेपछि तत्कालका लागि क्यान र खेलाडीबीचको विवाद मत्थर भएको थियो । तर, क्यान ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रसिंहलाई उपकप्तानबाट हटाएर सन्दीपलाई कप्तान बनाउने निर्णयमा अडिग रह्यो । 

No description available.

क्षणिकका लागि मत्थर भएको विवादको असर अब भने मैदानभित्र देखिन थालेको छ । त्यसैको नतिजा यूएईमा देखियो । यूएईविरुद्ध पहिलो खेलमा नेपालले जितका लागि १६९ रनको लक्ष्य पाएको थियो । ब्याटिङ पिचमा उक्त लक्ष्य नेपालले सहजै पूरा गर्ने अनुमान गरिएको थियो । तर नेपाल ४८ रनले पराजित भयो । दोस्रो खेलमा नेपालले २०३ रनको लक्ष्य पाएको थियो । नेपाल ९९ रनले पराजित भयो । 

कप्तान सन्दीपले पनि नेपाल आफ्नै कारणले पराजित भएको बताएका छन् । 

“कप्तानको रूपमा हेर्दा हामीले चारै खेल जित्नुपर्ने हो । तर हामी आफ्नै कारणले हारेका हौँ । मलाई अझै पनि कुनै अर्को टिम आएर हामीलाई हराएको हो भन्ने लाग्दैन,” टिमभित्र भएको वैमनस्यबारे सन्दीपले नेप्लेजसँग भनेका छन्, “मलाई अझै पनि विश्वास छैन कि हामी त्यो खेल हार्थ्यौं भनेर । हरेक कुराबाट पाठ सिक्न पाएका छौँ । अझै धेरै लामो बाटो हिँड्न बाँकी छ । तर हाम्रो टिमको अप्रोचमा परिवर्तन हुन आवश्यक छ ।” 

No description available.

क्यानले कप्तान परिवर्तन गर्दा टिमले त्यसलाई सहज रूपमा स्वीकार गरेको देखिदैन । त्यसकारण पनि टिमभित्र नै दुई धार प्रष्ट देखिएको छ, सन्दीपलाई स्वीकार गरेर अघि बढ्ने पक्ष र स्वीकार गर्न नसक्ने पक्ष । तर मैदान बाहिर जे भने पनि मैदान छिरेपछि देशका लागि खेल्नुपर्ने हो । तर खेलाडीले आफ्नो इगोलाई मैदानभित्र पनि प्रष्टसँग देखाएका छन् । र, त्यसको असर नतिजाले पनि देखाएको छ । 

टिममा व्यापक परिवर्तनको संकेत
अब नेपाली क्रिकेट टिममा ब्यापक परिवर्तन हुने संकेत दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मै अझ २४ खेल बाँकी छन् । शीर्ष तीन टोलीले २०२३ मा हुने विश्वकपको क्वालिफायर खेल्ने छ भने बाँकी टोलीले प्लेअफबाट गुज्रिनुपर्ने छ । 

लिग–२ मै नेपालले अझै ६ वटा शृंखला खेल्नुपर्नेछ । समय कम भएकाले लगातार खेल हुने सम्भावना छ । नेपालले अब यूएईबाट फर्किए लगत्तै पीएनजीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने छ । साथै पीएनजी र मलेसियाविरुद्ध त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ । 

त्यसका लागि नेपालले मंगलबार टिमको नाम सार्वजनिक गरिसकेको छ । एकदिवसीय शृंखलाका लागि सार्वजनिक गरेको टोलीमा सन्दीपको कप्तानीमा आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल शाह, बिक्रम सोब, सुशन भारी, रोहितकुमार पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की छन् । 

त्यस्तै त्रिदेशीय ट्वान्टी–२० शृंखलाका लागि सन्दीपको कप्तानीमा आरिफ, कुशल, सोमपाल, दीपेन्द्र, सागर, कलमसिंह, आसिफ, करण केसी, अविनाष बोहरा, विवेककुमार यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी छन् ।

अहिले एकदिवसीय टोलीमा भएका ज्ञानेन्द्र, आसिफ, विनोद भण्डारी र विवेककुमार टिममा छैनन् । उनीहरूको स्थानमा अनिल शाह, सुशन भारी, देव खनाल र गुल्शन झालाई टिममा राखिएको छ । 

कप्तान सन्दीपले नयाँ खेलाडीलाई अवसर दिएर भविष्यका लागि टिम निर्माण गर्न टोलीमा परिवर्तन गरेको बताए । 

“राम्रो प्रदर्शन गर्न सकिँदैन भने टिममा बस्नुपर्छ भन्ने हुँदैन । उसको स्थानमा विकल्प खोज्नुपर्छ । चाहे म हुँ वा अरू कोही,” सन्दीपले यूएई भ्रमणमा पीएनजीविरुद्धको अन्तिम खेलपछि भने, “नेपाली टिममा यस्तो परिवर्तन पहिले पनि भएको छ । एकैपटक ठुलो प्रतियोगिता खेल्दा जोखिम हुन पनि सक्छ । त्यसकारण पनि टिममा परिवर्तन गर्नका लागि पनि यो राम्रो अवसर हो । हामी घरमा खेल्दैछौँ । युवा खेलाडीलाई ग्रुम गर्नका लागि टिममा परिवर्तन गरिएको हो । भविष्यलाई सोचेर टिममा केही परिवर्तन गरेका हौँ ।”

तस्बिरहरू : क्यान ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्