site stats
बाह्रखरी :: Baahrakhari
खेल
उत्साहित पीएनजीविरुद्ध खेल्दै निराश नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।  

लगातार कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि आज पीएनजी पनि चुनौतीपूर्ण हुनेछ । यूएईमा जारी शृंखलमा नेपालले पहिलो खेल पीएनजीविरुद्ध नै खेलेको थियो । जसमा नेपालले दुई विकेटको संघषपूर्ण नतिजा निकालेको थियो । उक्त खेल नेपालले सारजाहमा खेलेको थियो । आज नेपालले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान ११ः१५ बजे खेल्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल शृंखलामा यूएईसँग लगातार दोस्रो खेलमा पराजित भएको थियो । पीएनजी भने पछिल्लो खेलमा यूएईलाई ६ विकेटले हराएर उत्साहीत छ । यस प्रतियोगितामा पीएनजीको त्यो पहिलो जित थियो ।  लगातार १४ खेलमा पराजय व्यहोरेको पीएनजी यूएईलाई हराएर २ अंक जोड्न सफल भएको थियो । त्यसकारण पनि आजको खेलमा उत्सहित पीएनजी र निराश नेपालबीचको खेल भन्न सकिन्छ ।

तर, विगतको नतजिामा नेपाल बलियो छ । नेपालले यसअघि पीएनजीविरुद्ध खेलेका तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये सबैमा विजयी भएको छ । तर, पछिल्लो समय नेपाल कमजोर ब्याटिङ प्रदर्शनबाट गुज्रिएकाले पीएनजीविरुद्ध खेल्न सहज हुने छैन ।

पछिल्ला खेलमा नेपाली टोलीमा त्यो जोश, जाँगर देखिएको छैन । मैदानबाहिर खेलाडीबीचको बैमनश्यता मैदानभित्र पनि देखिन थालेको छ । जुन टिमको सबभन्दा खराब पक्ष रह्यो । 

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक जोडेर छैटौं स्थानमा छ । प्रतियोगितामा नेपाल सबैभन्दा कम खेल खेल्ने टिम हो । यूएईमा पीएनजीलाई २ विकेटले हराउँदा नेपाल यूएईसँग पहिलो खेलमा ४८ र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।

बलिङ्मा ठिकै प्रदर्शन गरे पनि पछिल्ला खेलमा कमजोर ब्याटिङका कारण नेपालले सामान्य लक्ष्य पनि भेट्टाउन सकेको छैन । त्यस्तो बेला उत्साहित पीएनजीविरुद्ध नेपाललाई जितका लागि सामान्य मिहिनेतले पुग्दैन । 
 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ०९:११
प्रतिक्रिया दिनुहोस्