site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फा पदाधिकारी भएर पनि फुटबल विकास गर्न सकेनन्, फ्रेन्चाइज क्लबमा बसेर गर्न सक्छन् र ?
फाइल ।
SkywellSkywell

काठमाडौं । पहिलो संस्करणमा ‘वाह !’ भनेर चर्चा कमाएको नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणसम्म आउँदा चरम विवादमा तानिएको छ । विशेषगरी, सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरूले आफूसँग अनुबन्ध भएका खेलाडीलाई एनएसएलले अक्सनको सूचीमा राखेपछि उनीहरू विरोधमा उत्रिएका हुन् ।

एनएसएलले फागुन २० गते खेलाडीको अक्सन गर्‍यो । १० फ्रेन्चाइज क्लबले समान १५ गरी १५० खेलाडीलाई अक्सनमार्फत टिममा अनुबन्ध गरे । अक्सनको ठिक अघिल्लो दिन अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २० गतेका लागि तोकिएको अक्सन नगर्न पत्र काटेको समाचार बाहिरियो । 

एन्फाका महासचिव इन्द्रमान तुलाधरले आफूले पत्र काटेको बताएका छन् । तर, एनएसएलले आफूलाई आधिकारिक रूपमा पत्र नआएको भन्दै अक्सन गर्‍यो । अक्सनमा एन्फा लिग कमिटीकै संयोजक विज्ञानराज शर्मा काठमाडौं रेजर्सको टेबलमा बसेका थिए ।

KFC Island Ad
NIC Asia

त्यस्तै, एन्फाका केन्द्रीय सदस्य रुपेश अधिकारी चितवन एफसीको टेबलमा थिए । अर्का केन्द्रीय सदस्य तथा राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय पनि उपस्थित थिए । भलै, उपाध्याय कुनै टिमको टेबलमा छैनन् । तर, उनी काठमाडौं रेजर्सका पनि व्यवस्थापक हुन् ।

अक्सनसँग फ्रेन्चाइज क्लबमा अनुबन्धित भएका धेरै खेलाडी दुई क्लबसँग आबद्ध भए । त्यो फुटबलको नियमविपरीत छ । एन्फाले नै यसअघि नियमविपरीत दुई क्लबमा अनुबन्ध भएको भन्दै कारबाही गरेको उदाहरण छन् । तर, एनएसएलको हकमा भने एन्फाले कुनै मुख खोलेको छैन ।

Royal Enfield Island Ad

अक्सनपछि एन्फा सदस्य उपाध्यायले भनेका छन्, “पत्रचार त महासचिवज्यूले के गर्नुहुन्छ के गर्नु हुदैन, त्यो हामीलाई थाहा छैन । खेलाडीको कार्यक्रम राम्रो लागेर यहाँ आएको हुँ । मलाई एन्फाले ‘जा’ भनेर आएको पनि होइन । मलाई एनएसएलले बोलाएर आएको पनि होइन । फुटबलप्रेमी भएको हिसाबले म यहाँ आएको हुँ । फुटबलको विकासका लागि यहाँ आएको हुँ ।”

उपाध्यायले भनेजस्तै उनी न एन्फाले पठाएर गएका थिए न एनएसएलले । उनी काठमाडौं रेजर्सका लागि गएका थिए । तर, एन्फाका एक जिम्मेवार पदाधिकारीको हैसियतले उनको अभिव्यक्ति सही थियो त ?

“त्यस्तो त मूर्खले बोल्छन् । उहाँले त कुनै विचार नगरी बोलेजस्तो लाग्छ । कुन आधरमा त्यस्तो बोल्नुभयो ? उहाँ त राष्ट्रिय टोलीको टिम म्यानेजर हो । राष्ट्रिय टोलीकै म्यानेजर भइसकेको मान्छे । त्यसरी एउटा क्लबमा गएर बस्न मिल्छ ? म आफैँलाई एनएसएलका थुप्रै क्लबले प्रस्ताव गरेका थिए । तर, म कतै गइनँ । मेरो नैतिकताले त्यो दिएन । उहाँलाई कुन नैतिकताले त्यस्तो दियो ?,” उपाध्यायको अभिव्यक्तबारे ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लबका व्यवस्थापक अनिल श्रेष्ठले भने । 

अक्सनकै दिन बिहानै लिगका संयोजक विज्ञानराज शर्माले पनि पदबाट राजीनामा दिएका थिए । राजीनामापत्रमा उनले लेखेका छन्, “विगत वर्षमा भएको पहिलो र निकट भविष्यमै हुन गइरहेको नेपाल सुपरलिगको दोस्रो संस्करणमा पनि काठमाडौं रेजर्समा आबद्ध भई नेपाली फुटबललाई अझ बढी व्यावसायिक बनाउँदै उद्योगका रूपमा स्थापित गर्न क्रियाशील छु । तसर्थ, लिग कमिटीको संयोजक र काठमाडौं रेजर्सको निर्देशकको रूपमा काम गर्दा कतिपय अप्ठ्यारा आउनसक्ने र नैतिकताको प्रश्न उठ्ने भएकाले आजैको मितिबाट लागु हुनेगरी राजीनामा दिएको छु ।”

एन्फा लिग कमिटीका संयोजक शर्मालगायत एन्फा पदाधिकारीको विषयलाई लिएर गत वर्ष पनि प्रश्न उठेका थिए । तर, त्यतिबेला उनले राजीनामा दिन आवश्यक ठानेनन् । अब एन्फाले जेठ १५ गतेका लागि चुनावी साधारणसभाको मिति तोकेको छ । अब उनको कार्यकाल सकिन केही महिना मात्र बाँकी रहँदा शर्माले राजीनामा दिएका छन् ।

उनको राजीनामाबारे मच्छिन्द्र क्लबका उपाध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, “नेपाली फुटबल विकासका लागि बनेको सर्वोच्च निकाय एन्फाको पदाधिकारी भएर विकास गर्न सकेनन् । नीति निर्माण गर्ने पदमा बसेर फुटबलको विकास गर्न नसक्नेहरूले क्लबमा बसेर गर्न सक्छन् र भन्या ?”

मच्छिन्द्र क्लबका व्यवस्थापक श्रेष्ठले भनेजस्तै शर्मा संयोजक रहेको लिग कमिटीले पहिलो सिजन विनारेलिगेसन लिग गरायो । लिगको मूल मर्म मानिने रेलिगेसन र बढुवा हुने प्रावधान हटाउँदा शर्मा मूकदर्शक भएर बसे । अर्को सिजन एक टोली मात्र रेलिगेसन हुने प्रावधान राखेर लिग गराइयो । अर्को सिजन कोभिड–१९ ले लिग सञ्चालन हुन सकेन । त्यहीबेला एनएसल भयो । जहाँ शर्माले काठमाडौं रेजर्सको निर्देशक भएर काम गरे । एनएसएल हुन सक्दा एन्फाको आफ्नै वार्षिक क्यालेन्डरमा भएको कार्यक्रम राष्ट्रिय लिग भने हुन सकेन ।

“राष्ट्रिय लिगको आवाज त हामीले बारम्बार उठायौँ । खासमा भन्ने हो भने त एन्फाले हामीलाई क्षतिपूर्ति दिनुपर्ने हो । ०७६ सालमा हामी लिग च्याम्पियन भयौँ । च्याम्पियनमा झन्डै पौने दुई करोड खर्च भएको छ । राष्ट्रिय लिगको पुरस्कार एक करोड भनेर भनेको थियो । एन्फाले हामीलाई झुक्कायो । हामीले अस्ति पनि भन्यौँ । राष्ट्रिय लिग गुर्नपर्‍यो भनेर । तर, एन्फा पदाधिकारीले हामीलाई घुमाइरहेका छन्,” श्रेष्ठले भने, “गत वर्ष लकडाउनको बाहना बनायो । एनएसएलचाहिँ त्यही लकडाउनमा गर्न भ्याउने । राष्ट्रिय लिगचाहिँ गर्न नभ्याउने । कस्तो फुटबलको विकास गर्न खोज्नुभएको उहाँहरूले ?”

राष्ट्रिय लिगका संयोजक वीरबहदुर खड्काले लिग गर्नका लागि आफूले खेल तालिका र बजेट पेस गरेको बताए । उनले कार्यसमितिबाट पास हुनेबित्तिकै राष्ट्रिय लिग हुने बताउँछन् । एन्फाका उपाध्यक्ष खड्काले चैत र वैशाखमा गर्ने गरी आठ करोडको बजेट पेस गरेको बताए । 

मोफसलका प्रतियोगिता
‘ए’ डिभिजन लिगका क्लबले अहिले अक्सनका कारण विशेषगरी मोफसलका प्रतियोगितामा टिमको प्रदर्शनमा असर परेको बताएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगका मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम (एनआरटी), सातदोबाटो युथ क्लब, मनाङ–मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब गरी आठ टिमले स्वीकृतिविना खेलाडीलाई नेपाल सुपरलिगको अक्सनमा सूचीकृत गरिएको भन्दै गम्भीर आपति जनाएका छन् ।

क्लबहरूले अक्सनबाट एकै खेलाडी दुई टिममा अनुबन्ध हुने भन्दै गम्भीर आपति जनाएका थिए । त्यससँगै मोफसलका प्रतियोगितामा पनि असर परेको मच्छिन्द्रका व्यवस्थापक श्रेष्ठको बुझाइ छ ।

“चैत मसान्तसम्म खेलाडीहरूले सम्झौता गरेका छन् । कुनै क्लब र खेलाडीबीच त डेढ दुई वर्षसम्मको आपसी सम्झौता छ । हामीसँग अनुबन्ध खेलाडीलाई हामीसँग एकपटक नसोधी एनएसएलको अक्सनमा पठाउन मिल्दैन नि !  कि हामीसँग छलफल गरेको भए हुन्थ्यो । कुनै व्यक्ति आएर हाम्रो खेलाडीको मूल्य तोक्न मिल्छ,” श्रेष्ठले भने, “म त्यसको घोर विरोध गर्छु । हामी सबैले सल्लाह गरेर अघि बढेको भए केही हुदैन्थ्यो । खेलाडीको राम्रो हुन्छ भने त्यसमा हामी खुसी नै हुन्थ्यौँ ।”

गत सिजन विरोध नगर्ने यसपटक किन यति धेरै विवाद त भन्ने प्रश्नमा श्रेष्ठले भने, “गत सिजन हामीसँग खेलाडीको सम्झौता थिएन । त्यसैले हामी चुप बस्यौँ । गत वर्ष र अहिलेको अवस्था फरक छ । हामीले झन्डै साढे दुई करोड खर्च भएको छ । हामीले एन्फा, महानगर, प्रायोजक, लिगबाट र मोफसलका प्रतियोगिताबाट यति आउँछ भनेर हिसाब गरेका हुन्छौँ । त्यसमा १०/१२ मोफसलका प्रतियोगिता खेल्दा कम्तीमा ६/७ वटा जित्छौँ भन्ने लागेको थियो । तर, एनएसएल ठ्याक्कै बीचमा आयो । लिगकै बीचमा मोफसल खेल्नुपर्‍यो । त्यसकारण हाम्रो योजनामा असर गर्‍यो । एनएसएलले गर्दा टिम नै बिग्रिएको छ ।”

एएफसी कपको तयारीमा असर 
लिग विजेता मच्छिन्द्र खप्तड गोल्डकपको पहिलो खेलमै पराजित भएर बाहिरियो । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौँ चरणसम्मको खेल सकिँदा शीर्षस्थानमा रहेकाले एसएफसीकपका लागि छनोट भएको थियो । एनएफले मच्छिन्द्रको एएफसी कप छनोट यात्रामै असर गरेको श्रेष्ठ बताउँछन् ।

“एनएसएल आएको भनेको खेलाडी र क्लबबीचको दूरी आएको छ । हाम्रो टिमको कोचसहित सातजना अक्सनका बेला सात टेबल (टिम) मा बसे,” श्रेष्ठले भने, “हामी एकजुट भएर लिग खलिरहेका हौँ । तर, अक्सनमा मार्की खेलाडी र प्रशिक्षकले हाम्रै टिमका खेलाडीलाई लिएनन् । त्यसकारण टिममा फाटो आएको छ । धेरै असर परेको छ । हाम्रो टिम त फुटिसक्यो । एउटै टिममा यो ललितपुर यो काठमाडौं यो पोखरा थन्डरको भन्ने भएको छ । खेलाडीबीच इगो त भइहाल्छ नि  ! हामी मोफसलमा ‘सी’ डिभिजन लिगको क्लबसँग त हार्‍यौँ । अब एएफसीको के कुरा गर्ने ? मेरो आसा नै मरिसकेको छ । हाम्रो त टिम नै फुटिसक्यो ।”

लिग च्याम्पियन मच्छिन्द्रले एएफसी कप छनोटअन्तर्गत श्रीलंकाको ब्लुस्टार क्लबसँग अप्रिल ५ मा प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा जितेमा १२ अप्रिलमा भारतीय टोली मोहन बगानसँग खेल्नेछ । उक्त खेलमा पनि जित निकालेको खण्डमा समूह चरणमा प्रवेश गर्नेछ । र, अगाडिका खेल तालिका निश्चित हुनेछन् । मच्छिन्द्रले ब्लुस्टारलाई जितेर मोहन बगानसँग १२ अप्रिलमा खेल्नुपरेको खण्डमा ९ तारिखबाट सुरु हुने नेपाल सुपरलिग के हुन्छ ? टुंगो छैन ।

“एनएसएलले एएफसी कपका लागि मच्छिन्द्रका खेलाडीलाई छुट दिने भनेको छ । उनीहरू आएर केही राम्रो त भएको छ । उनीहरूबाट हामीले केही सिकेका छौँ । हामीबाट उनीहरूले केही सिकेका छन्,” मच्छिन्द्रका व्यवस्थापक श्रेष्ठले थपे, “तर, यस्तो विनायोजना विनाछलफल एनएसएल आउनु नेपाली फुटबलका लागि दुर्भाग्य हो ।”

क्लबहरूले बार्गेनिङ गरेकोे आरोप !
क्लबहरूमाथि विरोध गरेर एनएसएलसँग बार्गेनिङ गरेको आरोप पनि लागेको छ । तर, श्रेष्ठले त्यो निराधार भएको बताए । 
“हामीले कसैसँग पैसा मागेको छैन,” श्रेष्ठले भने, “एनएसएलको मान्छेसँग मेरो भेट भएको थियो । उनीहरूले खेलाडीलाई पहिलेभन्दा ३० प्रतिशत बढाएर अक्सनमा र मार्की खेलाडीलाई दिएको बताए । र, त्यही बढाएको ३० प्रतिशत रकम खेलाडीलाई दिने भन्छन् । मैले उनीहरूलाई सिधैँ भन्दिए– हेर्नूस् यो खेलाडीबाट कटाउने पैसा हामीलाई चाहिँदैन । क्लबको यो माग नै होइन । कुनै हालतमा लिदैनौँ ।”

एन्फा चुनावले झनै गाँजियो विवाद
एन्फाले जेठ १५ गतेका लागि चुनावी साधारणसभाको घोषणा गरिसकेको छ । उक्त चुनावमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीच प्रतिस्पर्धा हुने पक्काजस्तै छ । एन्फा अहिले दुई धारमा प्रष्टरुपमा विभाजित छ । त्यसको असर एनएसएल र क्लबहरूबीचको विवादमा पनि देखिएको छ ।

“एन्फा चुनावका कारण पनि एनएसएल विवाद बढी गुजल्टिएजस्तो लाग्छ । हाम्रो धारणा प्रष्ट छ । एन्फाले एनएसएलसँग सम्झौता गरेको हो । त्यसैले कुनै पनि पदाधिकारी एन्फको त्यो निर्णयबाट पन्छिन पाउदैनन् । कोही पनि चोखो हुन पाउँदैनन् । तर, उनीहरू एक-अर्कालाई दोषारोपण गरेर पन्छिन खोज्दैनन्,” मच्छिन्द्रका व्यवस्थापक श्रेष्ठ भन्छन्, “मैले राम्रोसँग बुझेको हो कि नबुझेको हो थाहा छैन । एन्फाकै केही पदाधिकारी एनएसएलले मिति थाहा नपाएको भन्छन् । एकअर्कालाई दोष लगाइराखेका छन् । चुनाव जित्नका लागि को राम्रो हुने भन्ने खेल सुरु भएको छ । यस्तो अवस्थामा एन्फाका सबै पदाधिकारी क्लबको पक्षमा एकजुट हुनुपर्ने होइन र ? एनएसएल कहाँबाट, किन र कुन उद्देश्यले आएको हो भनेर क्लबहरूलाई बुझाउनुपर्ने होइन र ?”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro