विराटनगर । अन्तिम १० मिनेटमा भएको गोलमा सातदोबाटो युथ क्लबले सोमबार सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई २–१ ले हराउँदै झापा गोल्डकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सातदोबाटोले गोलका लागि ८२ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । सातदोबाटोले ८२औँ मिनेटमा सुशील राईको गोलबाट अग्रता लिएको हो । त्यसको तीन मिनेट वित्न नपाउँदै नीरज चौधरीले सातदोबाटोको अग्रता दोब्बर बनाए ।
इन्जुरी समयमा दीपेश धिमालले गरेको गोलबाट एपीएफले पुनरागमनको प्रयास गरे पनि त्यो धेरै ढिला भइसकेको थियो ।
त्यसअघि छैटौँ मिनेटमा एपीएफका युवराज खड्काले पेनाल्टी क्षेत्रमा पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । १३औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढामगरले गरेको हेडिङ प्रहार एपीएफका गोलकिपर युया कुरियामाले बचाएका थिए ।
४६औँ मिनेटमा सातदोबाटोका सुशीलको प्रयासलाई एपीएफका रक्षक कुरियामाले विफल बनाइदिएका थिए ।
म्यान अफ दी म्याच घोषित सातदोबाटोका सुशीलले ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।
मंगलबार हुने अर्को क्वार्टरफाइनलमा संकटा र थ्री स्टर क्लबले प्रतिस्पर्धा गर्नेछन् । संकटाले नेपाल पुलिस क्लबलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।