बालक ध्रुवलाई आफ्ना पिता राजा उत्तानपादको काखमा सौतेनी भाइ उत्तममात्रै खेलिरहेको देख्दा रहर लाग्थ्यो । सौतेनी आमा सुरुचि भने धु्रवलाई पिताको नजिक जान पनि दिँदनथिइन् । बालक ध्रुव पितृ वात्सल्यका लागि छटपटाउँथे । उनको बालसुलभ चञ्चलता र पिताको काखमा बस्न नपाउँदाको खिन्नता देखेर ध्रुवलाई आमा सुनीतिले सम्झाइन् — “पिताको सामान्य काखका लागि छटपटाउनुभन्दा भगवान विष्णुको तपस्या गरेर आफ्नालागि छुट्टै स्थान पाउने गर । आफ्नो ज्ञान र योग्यताले तिमी ईश्वरको काखमा बस्न पाउनेछौ । आमाको आज्ञा शिरोपर गरेर बालक धु्रव तपस्यामा लिन भए । पछि उनले विष्णुको वरदान पाएर ध्रुव तारा कहलाए ।
डा. गोविन्द केसी पनि तिनै ध्रुुवजस्तै तपस्वी हुन् । चाहेको भए उनले पनि आफ्नै निजी अस्पताल बनाएर या निजी अस्पतालमा महँगो शुल्क लिएर बिरामी जाँच्न सक्थे र रातारात पैसा कमाएर धनी हुन सक्थे । तर, उनलाई अरूजस्तो हुन मन लागेन । महँगो हुँदैगएको स्वास्थ्य उपचार शुल्क र मेडिकल माफियाको हातको कठपुतली बनेको चिकित्सा शिक्षालाई जनताको पहुँचमा ल्याउन उनले बारम्बार अनशनरुपी तपस्या गरिरहेका छन् । स्वास्थ्य शिक्षा ऐनलाई संसद्बाट पारितसमेत गराउन उनी सत्याग्रह अर्थात् सत्यको बाटोमा एक्लै हिँडिरहेका छन् ।
आफ्नै जिउलाई गलाएर डा. केसी देशका निमुखा जनताकोे रोग निको पार्ने सत्प्रयास गर्दैछन् । उनको यस सत्प्रयासमा विभिन्न राजनीतिक दल र तिनका नेताले भाँजो हालिरहेकाछन् । तर, धु्रव ताराजस्तो उनको अनुहारको कान्ति शरीरसँगै गले पनि मानसिकरूपमा उनी मलिन भएका छैनन् । डा. केसी चिकित्सा शिक्षामा सुधारका लागि मात्र अनशन बसेका हैनन् । उनी त देशमा झाँगिदै गएको भ्रष्टाचार, बेथीति, अन्याय र कुशासनको अन्त्यका लागि धर्मयुद्धमा लागेका हुन् । उनले एकदिन पक्कै पनि यी सबैलाई जित्नेछन् र देशमा सुशासनको स्थापना हुनेछ । हामी जनताले त उनले यी दुष्टहरुका विरुद्ध गरिरहेको संघर्षमा साथमात्र दिनु छ । तर, दुर्भाग्य उनी अनशनमा छन् र हामी लाचार भएर हेरिरहेका छौँ ।
महाभारतका भीष्म दुष्टको अन्न खाएकाले सत्यको बाटामा हिँड्न सकेनन् । तर, डा. केसीले दुष्टको अन्न खाएका छैनन् । यसैले सत्यको बाँटोमा हिँड्ने सामथ्र्य उनले पाएका छन् । उनी महात्मा विदुरजस्तै ज्ञानी र दूरदर्शी व्यक्ति हुन् । देश र जनताको भविष्य र स्वास्थ्यलाई ’मेडिकल माफिया’को हातमा सुम्पे झन् चौपट हुनेछ भन्ने दिव्य ज्ञानले उनले अनशन बसेर सरकारलाई मनाउने प्रयास गरिरहेकाछन् । तर, काठको मुढो र माटोको मूर्तिजस्तो संवेदनहीन सरकार उनका मागहरुलाई बेवास्ता गर्दैछ र उनको जीवनसँग सिंहदरवारभित्र खेलबाड गरिरहेको छ ।
आफ्नै खर्चमा देशका सुदूर गाउँमा गएर गरीब जनताको उपचार गर्न तन, मन, धन अर्पण गर्दैआएका डा. केसी अहिले मेडिकल माफियाको हातमा परेर देशको स्वास्थ्य चौपट भएकोमा दुःखित भएका छन् । अहिलेको उनको अनशन एघारौं हो । पैसाका भरमा चिकित्सक बन्ने डाक्टर र पैसा कमाउनकै लागि मेडिकल कलेज खोल्ने व्यापारी नेतालाई राम्रोसँग चिनेका डा. केसीले यिनको हातमा देशका अस्पताल र मेडिकल कलेज जानु बगरेलाई खसी, बोका सुम्पनु हो भन्ने बुझेका छन् । त्यसैले देश र जनताको स्वास्थ्यलाई द्रव्यचिासका कब्जामा पर्न नदिन दबाब दिइरहेका छन् । उनले दबाब दिन महात्मा गान्धीको बाटो रोजे ।
महात्मा गान्धीले बेलायती शासनलाई भारतबाट हटाउन अपनाएकोे सत्याग्रहको मार्ग नै डा. केसीले पनि अवलम्बन गरे । डा. केसीको ११ पल्टको अनशनका अवधिमा विभिन्न राजनीतिक दल र तिनका नेताले सरकारको नेतृत्व गरे । तर, कसैले पनि उनको माग पूरा गरेनन् । उनीसँग सम्झौता त गरे तर कार्यान्वयन गरेनन् । तैपनि उनी विचलित भएनन् । डा. केसी प्रत्येक प्रधानमन्त्रीको कार्यकालमा अनशन बसेकाछन् र विवेकको कसीमा सबै प्रधानमन्त्री असफल भएकाछन् ।
हामी सबै यी सत्पुरुषको साथमा छौं। तर अब सामाजिक सञ्जालमा “आई एम विथ डा. केसी“ भनेरमात्र नहुने स्पष्ट भइसकेको छ । डा. केसीको जीवन तलमाथि भयो वा उनले हारे भने यस देशबाट न्याय, सत्य, निष्ठा र सेवा भावना संधैका लागि पराजित हुनेछ । ढिलो त भई नै सकेको छ । अब थप ढिलो नगरौँ । हाम्रै भोटले जितेको र हामीले दिएको नोट (कर) मा पालिएको सरकारका मन्त्रीहरुको कठालो समातौं र भनौं — के यही हो तिमीहरुको देश र जनताप्रतिको कर्तव्य र संवेदना ? डा. केसीको माग पूरा गर्नै पर्छ ।