site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
डा. गोविन्द केसी र पोखरा जाने भीआईपी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डा. गोविन्द केसीजस्ता सत्याग्रही धर्तीपुत्रको जीवन रक्षाका लागि केही बिरामीलाई केही दिनलाई अप्ठेरो परेता पनि चिकित्सकले गर्ने भनेको सेवा बन्दमा साथ दिनु जरुरी थियो । माइतीघर मण्डलामा जुलुसमा सहभागी हुनु र सामाजिक सञ्जालमा केही लेख्नु बाहेक चिकित्सा क्षेत्रको सुधारका लागि अनशनमा बसेका यी महान अभियन्ताको समर्थनमा केही गर्न सकिएको होइन । इन्धन व्यवसायीले इन्धन चोर्न नपाएको झोंकमा हड्ताल गर्न हुन्छ, ट्याक्सी चालकले मिटरमा बदमासी गर्न नपाउँदा हड्ताल गर्न हुन्छ, राजनीतिक दलका भातृ संगठनले चन्दा नपाएको रिसमा हड्ताल गर्न हुन्छ । तर, गोविन्द केसीजस्ता सच्चा र तीन करोड नेपालीको स्वास्थ्यमा खेलवाड नगर भनेर सत्याग्रह गर्ने व्यक्तिको समर्थनमा एक दुई दिन चिकित्सा सेवा बन्द भयो भने पनि गाली गर्ने त प्रशस्तै हुन्छन् ।
 
एउटा व्यक्ति यो देशका मेडिकल माफियासँग एक्लै लडिरहेका छन्, तर पनि तिनको लागि केही गर्न नसक्नु त विडम्बना नै हुने निष्कर्ष निकाल्दै आकस्मिक सेवा बाहेकको ओपीडी बन्द गर्ने निर्णयलाई स्विकार्ने एकल निर्णय लिइयो । यो लेखक बंगलादेशमा सन् १९९० ताका एमबिबिएस पढ्दै गर्दा डा. गोविन्द केसी पोस्ट ग्रयाजुएट अध्ययनमा हुनुहुन्थ्यो । हाम्रो चिनजान सोही बेलादेखिको हो । तर मेरो समर्थन चिनजानका आधारमा होइन, वहाँको सत्चरित्रता, इमान्दारिता तथा देशका समस्त जनताको हितका लागि चालिएका कदमको समर्थनमा हो । त्यसैले शनिबार र आइतबार आफ्नो ओपिडी बन्द गर्ने निर्णय लिएर अर्को सामाजिक काम गर्ने हेतुले पोखरा जाने निर्णय गरियो ।
 
मैले योपल्ट अस्पताल बन्द हुँदाका केही दिनलाई हिपाटाइटिसका बिरामीका लागि दिने निर्णय गरें । नेपालमा यो रोगका करिब १ लाख १० हजार बिरामी भएको अनुमान छ । विश्व स्वास्थ्य संगठनले यो रोगलाई सन् २०३० सम्म निर्मूल पार्ने अठोट समेत लिएको छ । तर नेपालमा भने पूर्व स्वास्थ्यमन्त्री गगन थापाले निःशुल्क उपचार गर्ने भनेर घोषणा गर्नु बाहेक थप काम भएको छैन । जे होस्, जर्मन सरकारको सहयोगमा जिआईजेडको अग्रसरतामा सेभ द चिल्ड्रेन र ग्लोबल फण्डको सहयोगमा हिपाटाइटिस सीको निःशुल्क उपचार गर्ने पावन काममा आफूले पनि सहयोग गर्न पाएकोमा एक प्रकारको आत्मसन्तोष लिँदै पोखरा जाने निर्णय लिएँ । यसै समयमा छोरीको पनि बिदा परेकाले श्रीमती र छोरीको समेत गरी शनिवार साउन २८ गतेको तीनवटा यति एयरको टिकट किनें । एकातिर परिवारलाई घुमाउने, अर्कोतिर निःशुल्क उपचारमा निःशुल्क सहयोग गर्ने । मनलाई सम्झाएँ, “ठिकै गरियो ।”
 
बिहानै आठ बजे एयरपोर्ट पुग्नु परेकोले विगत ३० वर्षदेखि हरेक बिहान शनिवार पशुपतिमा साथीहरूलाई भेट्ने रुटिनलाई यो हप्ताका लागि बेवास्ता गर्दै सातै बजे पुगियो त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल । भित्रको फोहोर र पुराना भित्ता उस्तै भएपनि अहिलेको आन्तरिक टर्मिनल छिर्ने बित्तिकै भने सफा देखिन्छ । तर, बाटैमा एउटा साथीको भाइबर आयो, “प्लेन त उड्न समय लाग्न सक्छ, यसो माथि रेष्टुरेन्टमा बसेर खाजा खाँदै गरे हुन्छ ।” हुन त मौसम खराब हुने यो समयमा ढिलै भएपनि एयरलाइन्सको के दोष भन्ने सोचें ।
 
आठ बजेपछि भने अलि मन चिसो भयो । कतै केही सूचना पनि आउँदैन, आठ बजे उड्नुपर्ने प्लेन पनि उड्दैन । साथीले भनेको कुरो पुग्छ कि भनेर अलि नरमाइलो पनि लाग्यो । विदेशमा भए कमसे कम एक दुई पल्ट माफ पाउँ भनेर उद्घोष भइसक्थ्यो ।
 
तर, अचम्म ! करिब सवा आठ बज्दा नबज्दै प्लेन उड्ने घोषणा भयो । साथीलाई लेखें, “कुनि के ले गाई मरोस् भन्दैमा गाई मर्छ र ? उडिने भयो पोखरातिर, समयमै ।”
 
उता साथीलाई ट्वाँ पारें भनेर प्लेनभित्र छिरेको त आफैं ट्वाँ परियो । दुई नम्बर ए, बी र सी तीनवटा टिकट लिएर गएका हामी त छक्क पर्यौं जब हाम्रो सिटमा अरु तीनजना सज्जन गजधम्म परेर बसेका रहेछन् । मैले मेरो बोर्डिङ पास देखाउँदै ती सज्जनलाई सिट छाड्न अनुरोध गरें । तर, तिनले केही नबोली पछाडि खाली सिटमा गएर बस्न भनेर ठाडो स्वरमा भने । “यो बस हो र जहाँ खाली छ त्यहाँ बस्ने ? मैले पनि भनें । नत्र किन सिट नम्बर राखेर दिनु ?”
 
ती सिटमा कब्जा जमाउनेले मेरो अनुरोधमा सुनुवाइ गर्ने छाँट देखाएनन् । “हामी पाँचजना सँगै छौं, त्यसैले अगाडि बसेको,” उनले भने । मैले पनि भने, “म पनि परिवारसहित तीनजना सँगै छौं, मेरो सिटमा बस्न किन नपाउने ?” 
तर कुरो सकिएन । पछाडिकाले अगाडि कालो कोट लगाएर बसेका दुई महिलालाई देखाउँदै भने, “अगाडि दुईजना भीआईपी हुनुहुन्छ, हामीले छाड्न मिल्दैन ।” अगाडिका भीआईपी दुई महिला मैले चिनिनँ । चिन्ने कोसिस पनि गरिन । यदि साँच्चिकै पदअनुसार महानता हुन्थ्यो भने या त मसँग वहाँहरूले अनुरोध गर्नुपथ्र्यो, या आफ्ना अंगरक्षक (वा झोले कार्यकर्ता के हुन् कुन्नि) लाई सम्झाउनु पथ्र्यो । तर भिआईपी महिलाबृन्दले वास्ता गरेनन् । मानौं उनीहरूको कुनै नैतिक जिम्मेवारी छैन, आफ्ना अंगरक्षकले अर्काको सिट कब्जा गरेकोमा ।
 
मैले विमानकी परिचारिकालाई बोलाएर आफ्नो सिट पाउन अनुरोध गरें  । उनले सिट मिलाउने काम आफ्नो होइन भनेर पन्छिइन् । “सानालाई ऐन, ठूलालाई चैन” भएको देशमा मैले धेरै ढिला गर्न उपयुक्त ठानिनँ । धेरै लामो उडान नभएकोले परिवारसहित पछाडिको सिटमा गएर बसें । तर, नियम कानुन सबैलाई लागू भए पो सत्तामा बस्ने, शक्तिशाली र पदासिनसँग जनतालाई रिस उठ्दैन थियो । हाम्रो देशमा त लोकतन्त्रका नाममा भोकतन्त्र र जोकतन्त्र मात्रै भयो । ठूलाले जे गरेपनि भयो ।
 
यदि ती भिआईपी महिलाको सुरक्षाको प्रश्न थियो भने किन पहिले चेक इन गर्दा नै  सँगै सिट मागेर लिएनन् । यदि चेक इन गर्दा सिट नमिलेको भए मलाई पहिल्यै उडान कर्मचारीले भनेको भएपनि कुनै समस्या नै थिएन । अझ, बाहिरदेखि दुई तीन ठाउँमा सुरक्षा जाँच गरेर विमानमा बसालेपछि फेरि कसरी सुरक्षा खतरा भयो ? को थिए ति महिला ? केही थाहा भएन ।
 
यहाँ त आवाज नहुने र निमुखालाई निचोरेर र चिथोरेर बलिया बांगाले चुईक्क बोल्न समेत नदिई रगत चुस्ने परिपाटी विकास हुँदै गएको छ । यसको विरोध नगरी बस्नु पनि उचित लागेन । अन्याय गर्नेको मात्र होइन, अन्याय सहनेको पनि दोष हुन्छ भन्ने लागेर एउटा ब्लग लेखेर विरोध गर्दैछु । आगे पाठकको निर्णय ।
 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १३:१३
प्रतिक्रिया दिनुहोस्