काठमाडौं । न्यू डायमन्ड स्पोर्ट्स क्लबले टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा मंगलबार आयोजक टाइगर ग्रुप पोखरालाई ३–० को सोझो सेटमा हराएको छ ।
पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो संस्करणमा न्यू डायमन्डले टाइगर ग्रुपलाई २५–१९, २५–१३, २५–१६ को स्कोरमा हराएको हो । न्यू डायमन्डले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पनि ३–१ को सोझो सेटमा हराएको थियो ।
त्रिभुवन आर्मीको आजै पहिलो खेलमा सशस्त्र प्रशरी बल (एपीएफ)लाई ३–१ को सेटमा हराएको थियो । आर्मीले पहिलो सेट गुमाए पनि बाँकी सेट जितेको थियो । आर्मीले (एपीएफ)लाई १८–२५, २५–१९, २५–२५ र २५–१४ को स्कोरमा हराएको हो ।
मंगलबारै सम्पन्न पुरुषतर्फको खेलमा नेपाल पुलिसले साविक विजेता गण्डकी प्रदेशलाई २५–२२, २५–१८, २५–२० को सोझो सेटमा हरायो । यो जितसँगै पुलिसले दुई खेलबाट पाँच अंक बनाएको छ । गण्डकीको भने यो लगातार दोस्रो हार हो । पुलिसले पहिलो खेलमा हेल्प नेपाललाई ३–२ को सेटमा हराएको थियो । गण्डकी भने पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो ।
पुरुषतर्फकै अर्को खेलमा त्रिभुवन आर्मीले एपीएफलाई २५–१६, २२–२५, २५–१५, २५–२१ को स्कोरमा पराजित गरेको थियो ।