काठमाडौं । टाइम्स कलेज र रोयलले शुक्रबार अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन् । फाइनल यात्रासम्म रोयल र टाइम्स दुवै टोली अपराजित छन् ।
चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा सम्पन्न पहिलो सेमिफाइनलमा टाइम्सले गोड्सलाई ७३–४८ को स्कोरमा पराजित गरेको हो । उमेर समूह र राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्स कलेजको जितमा राष्ट्रिय टोलीका कप्तान सदीश प्रधान र विजय बुर्जाले समान १५ स्कोर गरे ।
पहिलो क्वार्टरमा २०–१५ को अग्रता लिएको टाइम्सले अन्तिमसम्म अग्रतालाई जोगाउदै फराकिलो जित निकाल्न सफल भएको हो । टाइम्सले दोस्रो क्वार्टरमा १६–१०, तेस्रोमा १६–८ र चौथो क्वार्टरमा २१–१५ को स्कोमा जित निकालेको थियो ।
अर्को सेमिफाइनलमा सौरव श्रेष्ठको १७ स्कोर गरेपछि रोयलले गोल्डेन गेट कलेजलाई ७९–७० को स्कारेमा पराजित गर्यो । पहिलो तीन क्वार्टर रोयलले क्रमशः २९–१८, १४–११, २१–१५ ले जितेको थियो । चौथो तथा अन्तिम क्वार्टरमा गोल्डेन गेटले २६–१५ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन ।
फाइनल शनिबार हुने छ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ ले १० हजार रुपैयाँ नगद पुरस्कार जित्ने छ ।