काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेर फर्किएको नेपाली महिला भलिबल टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
बंगलादेशको ढाकामा मंगलबार सम्पन्न प्रतियोगितामा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर लगातार दोस्रोपटक उपाधि उचालेको थियो ।
टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्के, महासचिव जितेन्द्र चन्दलगायत संघका पदाधिकारीले स्वागत गरेका थिए ।
नेपाली महिला टोलीले अपराजित रहँदै उपाधि उचालेको हो । नेपाल पहिलो खेलमा श्रीलंका र फाइनलमा उज्वेकिस्तानसँग दुई–दुई सेट हार्नु बाँकी अरू सबै सेट जितेको थियो । नेपालले लिग चरणमा आयोजक बंगलादेश, माल्दिभ्स र कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै सम्पन्न प्रतिायोगिताको पहिलो संस्करणको उपाधि पनि जितेको थियो । पहिलो संस्करणमा नेपालले कुनै पनि सेट गुमाएको थिएन । नेपालले फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर उपाधि जितेको थियो । त्यो नेपाली महिला भलिबलमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय पदक थियो ।
थप तस्बिर हेर्नोस्–
नेपाली पुरुष टोली भने समूह चरणमा उज्वेकिस्तान र माल्दिभ्सलाई हराए पनि श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो । तेस्रो स्थानको लागि भएको खेलमा पनि नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।