काठमाडौं । नेपाल दाना उद्योग संघले दाना बनाउने कच्चा पदार्थको अस्वाभाविक मूल्यवृद्धि हुँदा उत्पादन लागत बढेको जनाएको छ । दाना बनाउने प्रमुख कच्चा पदार्थहरू मकै, भटमासको पिना, औषधीहरू, कच्चा तेल तथा फिड सप्लीमेन्टहरूको अस्वाभाविक मूल्यवृद्धिबाट उत्पादन लागत बढेको संघले जनाएको छ ।
आर्थिक वर्ष ०७४।०७५ को वजेटसम्म दाना उद्योगहरूका लागि आवश्यक कच्चा पदार्थ मकै तथा भटमासको पिना १.६ प्रतिशतमा छुट्दै आएकोमा २०७५।०७६ बाट मकैमा ५ प्रतिशत र भटमासको पिनामा ९ प्रतिशसम्म कृषि सुधार शुल्क बढाएकोले स्वत दानाको मूल्यमा वृद्धि हुन गएको पनि संघले जनाएको छ ।
पशुपंक्षिको आहारमा प्रयोग हुने धेरैजसो कच्चा पदार्थहरूको मूल्य बढेसँगै दानाको मुल्यपनि बढेको संघले जनाएको छ । दुई महिनादेखि सरदर ८५ रुपैया प्रति केजी रहेको भटमास पिना १०० र ३०–३२ रहेको मकैको रेट ३९ रुपैया प्रति केजी रहेका कारण दानाको उत्पादनलागत बढेको र कृषकले उत्पादन गर्ने कुखुरा र अण्डाको लागत मूल्य पनि बढेको संघले जनाएको छ ।
हाल नेपालमा करिब ११४ वटा दाना उद्योग रहेका छन ।