site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
'शेखरको टिमले जिते पहिलो बैठकबाट भ्रष्टाचारका फाइल खोल्ने निर्णय हुन्छ'

नेपाली कांग्रेसमा नेतृत्वविरुद्ध बोल्ने आँट गर्ने नेतामध्येका एक धनराज गुरुङ १४औँ महाधिवेशनमा शेखर कोइराला टिमबाट उपसभापति उमेदवार बनेका छन् । उनी महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिमा भ्रष्टाचारका ठुला काण्ड छानविन गर्ने प्रस्ताव लैजाने बताउँछन् । भ्रष्टहरूलाई कांग्रेसबाट मात्र नभएर राजनीति र देशका जिम्मेवारीबाट विस्थापन गर्ने बताएका गुरुङ कांग्रेस बलियो र व्यवस्थित बनाउने एजेन्डाले आफ्नो समूहले जित्ने दाबी गर्छन् । 

तपाईंं उपसभापति उमेदवार बन्नुभएको छ । कस्तो प्रतिक्रिया आइरहेको छ ? 
राम्रो प्रतिक्रिया आइरहेको छ । उपसभापतिका लागि उमेदवारी दिँदैगर्दा पार्टीमा धेरै संघर्ष गरेको हुँदा एक मत चाहिँ दिन्छौँ भनेर निकै सकारात्मक प्रतिक्रिया आइरहेको छ । टिममा पनि साथीहरूले मत त्यत्तिकै दिने चाहना व्यक्त गर्नुभएको छ, कांग्रेस हाक्ने यही टिम हो भनेर हाम्रो टिमलाई भन्नुभएको छ । 

भोट एक्लाएक्दै माग्दै हुनुुहन्छ । टिमले भोट कसरी पाउँछ ? 
प्राविधिक रूपमा नमिलेर हो । सभापति, उपसभापति, महामन्त्रीका हामी सबै उमेदवार सँगसँगै आउने भन्ने कुरा थियो । अलिकति अगाडि पछाडि भइयो, त्यतिमात्रै हो । भावनात्मक रूपमा बनेको टिम भएकाले हामी टिममै हिँड्न इच्छुक छौँ । टिम नभेटिएको बेला व्यक्तिगत रूपमा पनि भोट त माग्नै पर्‍यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा 'पाकाहरूको पार्टी' भनेर चिनिन्छ नेपाली कांग्रेस । तपाईंंहरू युवैयुवा हुनुहुन्छ । तपाईंहरूलाई भोट हाल्लान् प्रतिनिधिहरूले ? 
१४औँ महाधिवेशनमा देशभर र विदेशस्थित जनसम्पर्क समितिबाटसमेत धेरै साथीहरू युवा उमेरकै आउनुभएको छ । उहाँहरूले अहिले समयको मागअनुसार नै टिम बनेको छ, बडो खुसी लाग्यो भन्दै हुनुहुन्छ । अझ पाको उमेरका प्रतिनिधिहरूले त तिमीहरूले पार्टीलाई ठिक ठाउँमा लैजान्छौ भन्ने विश्वास छ भन्नुभएको छ । युवाहरूको आशा छ, पाका उमेरका अग्रज प्रतिनिधिहरूको भरोसा पनि शेखर कोइराला नेतृत्वको टिममा देखिएको छ ।

तपाईंहरूले जित्नुभयो भने कांग्रेसलाई कस्तो पार्टी बनाउनुहुन्छ ? 
हामी कांग्रेलाई विधि र पद्धतिमा हिँडाल्ने पार्टी बनाउँछौँ । पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसक्नेले देशलाई पनि विधि र पद्धतिमा हिँडाउन सक्दैन । पार्टीलाई विधि र पद्धतिमा हिँडाउने हाम्रो योजना छ ।  त्यस्तैगरी न्यायोचित व्यवस्थापन गर्ने हो । पार्टीको व्यवस्थापन गर्न नसक्ने नेताले देश चलाउँदा देशको व्यवस्थापन गर्न सक्दैन । त्यसकारण पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्ने त्यसपछि मुलुक चलाउने अवस्थामा पार्टीलाई पुर्‍याउने हो । मुलुकलाई पनि सही ढंगले व्यवस्थापन गरेर अगाडि बढ्ने हो ।

तपाईंहरूले जित्नुभयो भने देशमा अनि पार्टीमा के सुधार आउँछ ? 
मुलुकमा पटक पटक व्यवस्था परिवर्तन भयो । तर, सदियौँदेखि जरा गाडेको भ्रष्ट्र प्रवृत्ति परिवर्तन भएको छैन । हाम्रो टिम भ्रष्टाचारका विरुद्धमा हुने छ । भ्रष्टाचारविरुद्धमा पहिलो बैठकमै एजेन्डा लिएर आउँनेछौँ । ठुलाठुला भ्रष्टाचारका काण्डहरू छानविनमा ल्याउनका लागि १४औँ महाधिवेशनबाट आउने नेतृत्वले पहल गर्ने छ ।

पार्टीभित्रका भ्रष्टहरूको पनि छानविन गर्नुहुन्छ ? 
पार्टीभित्र  र बाहिर भन्ने नै हुँदैन ।  किनकि भ्रष्टाचारीको कुनै जात, धर्म, लिङ्ग, क्षेत्र, पार्टी र राष्ट्रियता हुँदैन । त्यसकारण अनुहार हेरेर भ्रष्टाचारको फाइल लुकाउने र फैलाउने कुरा हुँदैन । जो सुकै हुन, भ्रष्टाचारको काण्डको छानविनको कुरा पहिलो बैठकबाट अगाडि बढाउने छौँ । यसरी पार्टीलाई जनताको पार्टी, जनजनको मनमनमा बस्ने पार्टी बनाउँछौँ ।

हार्नुभयो भने नि ? 
मलाई एकदमै विश्वास छ, हाम्रो एजेन्डा सुन्दै गर्दा वर्षौंदेखिको रूपान्तरणको मुद्दामा प्रतिनिधिहरूले विवेकको कुरा गर्दैगर्दा सकारात्मक प्रतिक्रिया आइरहेका छन् । हामीलाई हेर्दा प्रतिनिधिहरूको उज्यालो अनुहार देखिएको छ । त्यो पक्कै पनि हाम्रा एजेन्डाहरू हेरेर नै आएको हो । अन्यथा मेरो अनुहार हेरेर मूल्यांकन गरेको पक्कै होइन । मैले गरेको कामकारबाही, हाम्रो टिमले गरेको कामलाई मूल्यांकन गरेर नै साथीहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । यसले भन्छ हाम्रो प्यानललाई नै उहाँहरूले जिताउँदै हुनुहुन्छ ।

अर्को गुट बलियो देखिन्छ नि ? 
महाधिवेशनका प्रतिनिधिहरूसँग एउटा प्रश्न छ । त्यो प्रश्न हो, पार्टीलाई २३ सिटबाट अझै झार्ने कि १२३ सिटको पार्टी बनाउने ? हामी पार्टीलाई १२३ सिटको बलियो र जनताको विश्वास र भरोसा बोकेको पार्टी बनाउने अभियानमा छौँ । २३ सिटमा नै अलमल्याउने हो भने हामीलाई मत नदिँदा पनि हुन्छ ।

हामीसँग के आत्मविश्वास छ भने विगतमा २०१५ सालको आम निर्वाच्नमा कांग्रेसले ३७ प्रतिशत मत ल्यायो, त्यसपछिको दिनहरूमा ३०, ३६ प्रतिशत, ३५ फेरि ३३ प्रतिशतमा मत आम निर्वाचनमा आएको छ । हाम्रो अबको अभियान भनेको कांग्रेसलाई ५१ प्रतिशतको मत पाउने पार्टी बनाउने हो । हो, यो अभियानमा हामी जुटेका कारणले पनि हामीलाई यस्तो आत्मविश्वास छ कि महाधिवेशन प्रतिनिधीहरूले ५१ प्रतिशतको पार्टी बनाउने अभियानमा जोडिन चाहनुभएको छ । त्यसैले हार्ने विषय हामीले सोचेका छैनौ ।

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्