site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केपी ओली व्यक्ति कि प्रवृत्ति ? प्रतिवेदन लेख्दैछन् प्रचण्ड !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको महाधिवेशन प्रस्ताव गर्ने राजनीतिक प्रतिवेदन लेखनबारे अध्ययनमा व्यस्त हुन थालेका छन् ।

पुसमा गर्ने भनिएको माओवादी अधिवेशनलाई मध्यनजर गर्दै प्रचण्ड राजनीतिक दस्तावेज र आगामी कार्यदिशाबारे अध्ययनमा व्यस्त भएको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

अध्यक्षमा प्रचण्ड नै दोहोरिन निश्चित भए पनि संवैधानिक संकटका कारण महाधिवेशनमा होमिनुपरेको हो ।

निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा निर्वाचनमा अद्यावधिक नभएका दललाई भाग लिन नदिने बताए पछि दलहरु यतिबेला महाधिवेशनमा केन्द्रित भएका छन् ।

महासचिव भने अहिलेकै अवस्थामा वर्षमान पुन वा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मामध्ये एक हुनेछन् । तर पुन लामो समयदेखि बिरामी भएका कारण चीनमा उपचाररत छन् । 

माओवादी यतिबेला पार्टीका पालिका र नगर अधिवेशनमा केन्द्रित छ । प्रचण्डले निर्वाचनको प्रक्रिया अवलम्बन गर्दै सर्वसम्मतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । हालसम्म चुनिएका सबैजसो नेतृत्व सर्वसम्मतिबाटै आएका छन् ।

सबै अधिवेशनपछि माओवादी राष्ट्रिय महाधिवेशनमा जुट्ने छ । तीन दशक बढी समयदेखि माओवादी कमाण्ड प्रचण्डको हातमा छ ।

सशस्त्र युद्धबाट आएको माओवादी पछिल्लो डेढ दशकमा तीन/चार समूहमा विभाजित छ । पछिल्लो समय एमाले र माओवादी मिलेर नेकपा बनेपछि संसद् विघटन र त्यसपछिको विकसित राजनीतिक घटनाक्रमले माओवादी र एमाले पूर्ववतः अवस्थामा फर्किएका छन् ।

एमाले पनि विभाजित छ । माधव नेपालको नेतृत्वमा एमाले विभाजित भएको हो । पछिल्लो समयमा प्रचण्डका हरेकजसो अभिव्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नै केन्द्रित छन् । पार्टीको आन्तरिक प्रशिक्षणमा होस् वा जनसभामा प्रचण्डको आधा बढी समय ओलीकै आलोचनामा व्यतीत हुने गरेको पाइएको छ ।

गत शनिबार देशभरको पालिका अधिवेशनलाई भर्चुअल माध्यमबाट गरेको सम्बोधनमा पनि प्रचण्डले ओलीलाई व्यक्ति नभई प्रवृत्तिको संज्ञा दिए । उनले भने,“केपी ओली व्यक्ति हो कि प्रवृत्ति यसलाई गम्भीर ढङ्गले समीक्षा गर्न जरुरी छ । म पनि यसमा अध्ययन गरिरहेको छु । यसबाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय अध्ययनमा पनि म जुटेको छु । अगामी राजनीतिक प्रतिवेदनमा पनि यो कुरा उल्लेख हुनेछ ।”

कार्यक्रममा पनि प्रचण्डले आफू प्रतिवेदन लेखनमा समेत जुटेको बताएका थिए ।

केही समयअघि भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि प्रचण्ड ओली व्यक्ति र प्रवृत्ति भन्नेबारे एक घण्टा विचार प्रस्तुत गरेका थिए ।

कम्युनिष्ट पार्टीले आन्तरिक राजनीति र बाह्य राजनीतिमा आफ्नो प्रधान शत्रु र मित्रको किटानसमेत बेलाबेला गर्ने गरेका छन् ।

यसपटक माओवादीले प्रधान शत्रुका रुपमा आन्तरिक राजनीतिमा नेकपा एमालेलाई लिनसक्ने नेताहरुको तर्क छ । उनीहरुको बुझाईमा एमाले कम्युनिष्ट सिद्धान्त र आचरणबाट च्युत भइसकेको छ ।

सम्बोधनकै क्रममा प्रचण्ड आफू पछिल्लो समय जनता र कार्यकर्ताको बीचमा जाँदा उत्साहित भएको बताएका थिए । उनले सबै नेता–कार्यकर्ता सच्चिन जरुरी रहेको बताउँदै विगतको जनाधारमै फर्किनुपर्ने बताएका थिए ।

उनले भनेका छन्,“म माथिल्लो डोल्पा पनि पुग्ने । पूर्व पश्चिम,मधेस सबैतीर जाँदैछु । जनताको उत्साहपूर्ण सहभागिताले म पनि उत्साहित भएको छु ।”

उनले माक्सवाद्, लेनिनवाद र माओवाद विचारलाई लिएर अगाडि बढ्नुपर्ने बताउँदै पछिल्लो समय साम्राज्यवाद नयाँ स्वरुपमा आइरहेको बताए ।

माओवादी केन्द्र यतिबेला सदस्यता नवीकरणमा पनि सक्रिय छ । हालसम्म ६ लाख बढी सदस्यता नवीकरण भइसकेको माओवादीले जनाएको छ । अनलाइनमार्फत माओवादीले सदस्यको विवरण राख्न थालेको हो ।

यस्तै देशभर माओवादी केन्द्रले माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकिकृत समाजवादी) सँग सहकार्यको नीति लिएको छ ।

दुवै पार्टीका नेता–कार्यकर्ता एक अर्काप्रति नरम देखिन्छन् । प्रचण्डले पनि ओली प्रवृतीको भण्डाफोर गर्न र माधव नेपाल नेतृत्वको पार्टीप्रति सकारात्मक हुन निर्देशन दिएको नेताहरु बताउँछन् ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro