site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डको विश्वास जितेका महराको रणनीति– विप्लवलाई भित्र्याएर महासचिव बनाउने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०५२ साल फागुनबाट सशस्त्र युद्धमा होमिएको माओवादी ०६२–०६३ सालको जनआन्दोलनपछि शान्तिपूर्ण राजनीतिमा आयो । ०६४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्यो । तर ०७० सालको अर्को निर्वाचनमा जसरी ०६४ मा माओवादीको बाढी आएको थियो त्यसरी नै कमजोर बन्यो । माओवादी तेस्रो दलको हैसियतमा खुम्चियो ।

०७० सम्म आइपुग्दा माओवादी पार्टीभित्र नेताहरुबीच अन्तरविरोध व्यापक बनिरहेको थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको माओवादी युद्धमा हुँदा उनका प्रमुख सहयात्री थिए मोहन वैद्य, सीपी गजुरेल, बाबुराम भट्टराई, रामबहादुर थापा, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, नेत्रविक्रम चन्द ‘विप्लव’, जनार्दन शर्मा र वर्षमान पुन । यी नेताहरुको मुख्य भूमिकामै प्रचण्डले प्रचण्ड हैसियत बनाए ।

तर शान्ति प्रक्रियामा अवतरण भएपछि माओवादी विभाजनको यात्रा अघि बढ्यो । पछिल्लो एक दशकमा प्रचण्ड राजनीतिको केन्द्रमा रहे पनि उनले नेतृत्व गरेको पार्टी सबैभन्दा बढी विभाजित भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

युद्धकालका प्रमुख सहयात्री बाबुराम भट्टराई, प्रचण्डकै गुरु मानिने मोहन वैद्य, रामबहादुर थापा, कुनैबेला प्रचण्डका उत्तराधिकारीका रुपमा हेरिएका विप्लव उनीसँग छैनन् । उनीहरु छुट्टाछुट्टै पार्टीमा छन् ।

पछिल्लो आठ वर्षमा माओवादी यस्तो अवस्थामा पुगेको छ कि माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा जाने हैसियत पनि राख्न नसकेको राजनीतिक विश्लेषक नै बताउँछन् ।

Global Ime bank

प्रचण्डले पछिल्ला तीन महिनायताका हरेक भाषणमा चुनावमा सत्ता गठबन्धन मिलेर जाने बताइरहेका छन् ।

तर माओवादी पार्टीभित्रको राजनीतिक समीकरण पनि पछिल्लो समय फेरिँदो छ । प्रचण्ड देश दौडाहामा छन् । केही समयपछि माओवादीको महाधिवेशन पनि नजिकिँदो छ । अहिलेकै अवस्थामा प्रचण्ड फेरि माओवादी अध्यक्ष हुने निश्चित छ । तर प्रचण्डपछिको उत्तराधिकारी को हुन्छ भन्ने चासो सर्वत्र छ ।

झन्डै ३० वर्ष माओवादीको नेतृत्वमा रहेका प्रचण्डको उत्तराधिकारी को हो त ? पछिल्लो समय जनार्दन शर्मा र वर्षमान पुनलाई पार्टीमा उनीपछिको नेता हेरिएको छ । तर कृष्णबहादुर महराको पछिल्लो सक्रियताले जनार्दन र वर्षमानको सपनामा ब्रेक लगाउने गरी काम भइरहेको माओवादीकै नेताहरु बताउँछन् ।

प्रतिष्पर्धी तर आपसमै मिल्दैनन् जनार्दन र वर्षमान 

नेकपा माओवादी केन्द्रमा पछिल्लो समय तीन गुट छन् । एक गुटको नेतृत्व नारायणकाजी श्रेष्ठले गर्छन् भने बाँकी दुई गुटको नेतृत्व जनार्दन शर्मा र वर्षमान पुनले गर्छन् । शर्मा र पुनको तुलनामा श्रेष्ठको गुट कमजोर छ । उनको देशव्यापी गुट छैन । 

माओवादीकै नेताहरु भन्छन्,“नारायणकाजीले पार्टीभित्र भागवण्डाका लागि गुट बनाएका हुन् । उनको प्रभाव पार्टी संगठनमा छैन । प्रचण्डले चाहेसम्म उनले अवसर पाइरहन्छन् । यतिमात्रै हो ।”

युद्धकालीन नेता जनार्दन र वर्षमानको देशव्यापी गुट छ । दुवै प्रचण्डका प्रिय हुन् । जनस्तरमा जनार्दनको प्रभाव छ भने पार्टी संचरनामा वर्षमान हावी देखिन्छन् । 

उनीहरुलाई नजिकबाट चिन्ने माओवादीकै नेताहरु भन्छन्,“वर्षमान निकै कुटनितिक छन् । उनले प्रचण्डलाई के मन पर्छ त्यही गर्छन् । तर जनार्दन हक्की स्वभावका छन् । उनी माओवादीभित्र प्रचण्डसँग सवाल–जवाफ गर्ने नेता हुन् । अरुले प्रचण्डको आलोचना गर्ने हिम्मत नै गर्दैनन् ।”

तल्लो तहसम्म यी दुवै नेताको गुट छ । विभिन्न जनवर्गीय संगठनमा दुवै नेताको प्यानल नै बन्ने गरेको छ । माओवादी र एमालेको एकता हुनुअघि अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा जनार्दनको लाइनबाट उनकै भाई अनिल शर्मा र वर्षमानको लाइनबाट रञ्जित तामाङ चुनावी मैदानमा उत्रिएका थिए । शर्मा हारे तामाङले जिते । यतिमात्रै होइन हरेकजसो संगठनमा यी दुई नेताको लाइन छ ।

माओवादी कमजोर बन्दै गएको समयमा एमाले र माओवादीबीच चुनावी गठबन्धन बन्यो ।  

०७५ जेठ ३ मा एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा जन्मियो । झन्डै दुई तिहाई मत एमाले–माओवादी गठबन्धनले ल्यायो । केपी ओलीले संसद् विघटन गरेपछि नेकपामा विवाद बढ्दै गयो । अन्ततः सर्वोच्च अदालतले ०७७ फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदियो ।

नेकपा विघटनपछिको माओवादीमा महत्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई दिइएको छ ।

वर्षमानलाई अर्थ तथा योजना विभाग प्रमुखसँगै केन्द्रीय कार्यालय इञ्चार्जको जिम्मेवारी दिइएको छ । यी दुवै विभाग माओवादीका महत्वपूर्ण विभाग हुन् ।

माओवादीमा अहिले प्रचण्डपछिको वरीयतामा नारायणकाजी श्रेष्ठ छन् । उनलाई प्रवास कमिटी इञ्चार्ज बनाउँदा पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिइएको छ । कुनै समय माओवादीका प्रभावशाली नेता रहेका महरा यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिनुपरेको थियो । १०३ दिन कारागारमा बसेपछि उनले सफाई पाए ।

माओवादीभित्रको आन्तरिक समीकरणमा वर्षमानको पकड बलियो मानिन्छ । तर पार्टीभित्रै उनीमाथि पनि बेला बेला प्रश्न नउठेका होइनन् । वर्षमानलाई पार्टीभित्र परिवार मोहमा फसेको आरोप पनि लाग्ने गरेको छ । 

पार्टीभित्र वर्षमान र जनार्दनको टसलका बेला महरा प्रभाव जमाउन सफल हुँदै गएको माओवादीकै नेताहरु बताउँछन् ।

महरा अहिले प्रचण्डका विश्वासपात्र समेत रहेको एक नेताको दाबी छ । 

विप्लवलाई भित्र्याएर महासचिव बनाउन चाहन्छन् महरा

विप्लव अहिले नेपाल कम्युनिष्ट पार्टीका महासचिव हुन् । युद्धकालीन समयमा माओवादीभित्र रवीन्द्र श्रेष्ठ, वर्षमान र विप्लवलाई प्रचण्डपछिका नेताका रुपमा हेरिन्थ्यो । कालान्तरमा रवीन्द्रले पार्टी छाडे । विप्लव र वर्षमान प्रचण्डसँगै रहे । तर प्रचण्डले वर्षमानलाई च्याप्दै गएपछि विप्लव उनीसँग टाढिए ।

पछि मोहन वैद्यसहित उनले प्रचण्डको पार्टीबाट विद्रोह गरे । विद्रोह गरेकामध्ये रामबहादुर थापा, पम्फा भुसाल, देव गुरुङलगायतको समूह फेरि प्रचण्डकै पार्टीमा फर्कियो । विप्लवले मोहन वैद्यको साथ छाडेर अर्को पार्टी गठन गरे नेकपा ।

विप्लव नेतृत्वको पार्टी हिंसात्मक बाटोमा गएपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारले ०७५ फागुनमा प्रतिबन्ध लगायो । प्रतिबन्धकै दौरान दर्जन बढी विप्लव कार्यकर्ता मारिए । एक हजार बढी पक्राउ परे । सो क्रममा उनी भूमिगत रहे ।

०७७ फागुनमा सरकार र विप्लवको पार्टीबीच सहमति भयो । उनी सार्वजनिक भए । विप्लवले प्रचण्डसँग सम्बन्ध विच्छेद गर्दा दर्जनौं आरोप लगाएका थिए । पछिल्लो समय उनले कतिपय राजनीतिक विषयमा जनमत संग्रहको माग गर्दै आएका छन् ।

विभाजनले परेको क्षतिको आकलन गरेरै हुन सक्छ प्रचण्ड बेलाबेला आफूसहित मोहन वैद्य, विप्लव र बाबुराम भट्टराई एकै ठाउँमा आउनुपर्ने बताउँदै आएका छन् । प्रचण्डको आह्वानमा बाबुराम खासै सकारात्मक देखिएका छैनन् । तर केही दिनअघि कैलालीमा पार्टीनिकट एक जनवर्गीय संगठनको कार्यक्रममा विप्लवले माओवादी केन्द्रसँग एकता हुनसक्ने संकेत गरे ।

विप्लवको त्यो संकेत त्यसै आएको भने होइन । जानकारहरु भन्छन्, “कृष्णबहादुर महराले विप्लवलाई महासचिव बनाएर माओवादी भित्र्याउन खोज्दैछन् । यसका लागि उनी सक्रिय छन् । प्रचण्डसँग पनि उनले यसबारे व्रिफिङ गरेका छन् ।”

विप्लव आउँदा महरालाई फाइदा

सभामुखबाट राजनीमा दिनुअघि माओवादीबाट सबैभन्दा बढी लाभ लिने नेता हुन महरा । त्यसपछि वर्षमान त्यो सूचीमा पर्छन । पटक–पटक मन्त्री, सांसद भइसकेका महरा यौन प्रकरणमा जोडिएपछि उनको राजनीतिक उचाई ह्वात्तै घट्यो । अहिलेकै अवस्थामा महराको पुरानो राजनीतिक उचाई स्थापित हुने सम्भावना देखिँदैन ।

महरा ०४८ सालमा नेकपा (मशाल) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । महरा ०५३ सालमा माओवादी केन्द्रीय सदस्य बने । त्यसपछि महराले पछाडि फर्केर हेर्नुपरेन । सभामुख बन्नेबेलासम्म महरा पार्टीभित्र पनि शक्तिशाली थिए । ०६९ को एकीकृत नेकपा माओवादीको हेटौँडा महाधिवेशनबाट महरालाई प्रचण्डको उत्तराधीकारीको रुपमा विश्लेषण गरिएको थियो ।

प्रचण्डले त्यतिबेला बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई उपाध्यक्ष बनाएर पोष्टबहादुर बोगटीलाई महासचिव बनाए । तर माओवादीभत्र आर्थिक विचलनलगायतका आरोप माहरामाथि पहिलेदेखि नै लाग्दै आएका थिए । प्रचण्डको साथ पाएका महराले सधैँ उन्मुक्ति पाए ।

सभामुखबाट हटेपछि कारागार पुगेका महरा लामो समयदेखि औपचारिक कार्यक्रममा त्यत्ति देखिएका छैनन् । तर पार्टी प्रवक्ताको जिम्मेवारी पाएसँगै उनको सक्रियता बढेको छ । पार्टीभित्र महराको छुट्टै लाइन यतिबेला छैन । तर उनी फेरि शक्तिमा आउन विप्लवलाई महासचिव बनाउने लाइनमा लागेको पार्टीकै नेताहरु बताउँछन् । विप्लव महासचिव हुँदा महरा उपाध्यक्ष बन्नेछन् ।

विप्लव महासचिव बनाउँदा वर्षमान र जनार्दन कमजोर हुने विश्लेषण माओवादी भित्र छ । जसले महरालाई फाइदा पु¥याउने छ । विप्लव र महराको मित्रता पुरानै हो । युद्धकालदेखि नै महरा–विप्लव सम्बन्ध मित्रतापूर्ण थियो । 

माओवादीकै नेताहरु विप्लव महासचिव बन्ने अवस्था आए वर्षमान र जनार्दन एकठाउँमा उभिन सक्ने टिप्पणी गर्छन् । विप्लवको उदय रोक्नका लागि दुई नेताहरु एकै ठाउँमा उभिन सक्ने सम्भावना उनीहरु देख्छन् । हरेक प्रकारका उतारचढावमा वर्षमान र जनार्दनले प्रचण्डको साथ छाडेका छैनन् ।

माओवादीमा हालसम्म केन्द्रीय नेतृत्व निर्वाचनबाट आएको छैन । अहिलेकै अवस्थामा अझै पनि निर्वाचन हुने सम्भावना देखिँदैन । तर निर्वाचन हुने अवस्थामा प्रचण्डपछिको नेताहरुबीच रोचक प्रतिष्प्रर्धा हुनसक्ने एक नेताको टिप्पणी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC