केही वर्षअघिको कुरा हो– बैंकर्स पृथ्वीबहादुर पाण्डेको नेपाल इन्भस्टमेन्ट बैंकस्थित कार्यकक्षमा नेपालका र विदेशीका प्रसिद्ध चित्रकारका चित्र देखेपछि मैले सोधेँ – तपाईँसँग भएका चित्रहरू बिक्री गर्ने हो भने कति पैसा आउँछ ?
उनले हाँस्दै भनेका थिए – चित्रको मूल्य हुँदैन । किन्नेले जतिमा किन्छ त्यही हो मूल्य । त्यहाँ मनोजबाबु मिश्रको सिङ भएको पोट्रेट चित्र पनि थियो । उनले यो पैसा दिएर होइन अमेरिका जानेआउने टिकट दिएर प्राप्त गरेको सुनाए ।
डिजिटल करेन्सी (क्रिप्टो करेन्सी) को भाउ पनि यस्तै पेन्टिङको जस्तै हो । अहिलेसम्म लिनेले जति दिन चाहन्छ त्यही कायम हुने गरेको छ । एक दशकअघि बिटक्वाइन केहीले मात्र सुनेका थिए । मूल्य एउटा पिज्जा (जसको मूल्य १० डलर जति पर्छ ) जति पनि थिएन । आज एउटा बिट्क्वाइन किन्न ६० हजार अमेरिकी डलरभन्दा बढी तिर्नुपर्छ ।
क्रिप्टोकरेन्सीलाई डिजिटल गोल्ड पनि भनिन्छ । यससँगै प्रश्न जोडिन्छ – के क्रिप्टोमा लगानी गर्दा फाइदा हुन्छ ? धेरैको मनमा यो प्रश्न छ । अहिले बिट्क्वाइनमात्र होइन अनलाइनमा थुप्रै प्रकारका क्रिप्टोकरेन्सी किन्न र बिक्री गर्न पाइन्छ । एउटाको ६० हजार पर्नेदेखि एक सय डलर तिर्दा लाखौंवटा क्रिप्टो किन्न सकिने पनि छ ।
क्रिप्टोमा नेपाली समुदायको चासोे ह्वात्तै पढेको छ ।
अमेरिकामा नेपाली समुदायबीच हुने सानाठूला जमघटमा प्रायः क्रिप्टो वा अमेरिकी सेयर बजारमा लगानी गर्ने कोही न कोही भटिन्छ । सस्ता अर्थात् ‘पेनी’ सेयरमा समेत नेपालीको आकर्षण बढ्दो छ । डग्च, एसएचआईबीजस्ता क्वाइनमा नेपालीको चासो बढेको छ । जब दुई जना लगानीकर्ताको भेट हुन्छ नाफा, नोक्सानकै कुरा गर्छन् ।
एकजना नेपाली युवाले डग्च क्वाइनमा जोखिम लिई सस्तोमा किने । यसैबाट उनी करोडपति भए । एकैपटक धेरै डलर आएपछि उनी काम छाडेर घुमघाममा लागेका छन् ।
बिट्क्वाइन केही वर्षअघि नै नेपाल भित्रिएको थियो । मिन्ट गर्न थालिएको थियो । तर, राष्ट्र बैंकले रोक लगायो । गोर्खामा प्रहरीले मिन्ट गर्ने स्थानमा छापा मार्यो । अहिले पनि क्रिप्टोकरेन्सी कारोबारलाई राष्ट्र बंैकले बन्देज लगाएको छ । तर, एल साल्भाडोर सरकारले भने बिट्क्वाइनको कारोवारलाई पूर्णरुपमा स्वीकारेको छ । त्यहाँ सरकारी भुक्तानीकै रुपमा बिट्क्वाइन उपयोग गर्न सकिन्छ । रेमिट्यान्स र लगानी बढाउन बिट्क्वाइनलाई सरकारी मान्यता दिइएको हो । बिट्क्वाइनका वारेमा नेपाल र एलसाल्भाडोर सरकारको बुझाइ ठीक विपरीत छ । को सही अहिले बहसकै चरणमा छ ।
राष्ट्र बैंकले क्रिप्टो कारोवारलाई बन्देज लगाएर हात बाँधेर बस्नु हँुदैन । यसका फाइदा र बेफाइदाका विषयमा अध्ययन गर्नुपर्ने समयको माग हो । नेपालमा भारतीय रुपैँयाको मूल्य तोक्ने काम पहिले न्युरोडका साहु महाजनले गर्थे । नेपाल बैंक खुलेपछि यो काम सरकारले आफ्नो नियन्त्रणमा लियो ।
चीनमा कागजको आविष्कार भएको थियो । कागजी मुद्रा पनि चीनबाट सुरु भयो । कागजी मुद्राको प्रचलन अघि धातुका मुद्रा थिए । धातुका मुद्रा गह्रुँगो हुने भएकाले एकबाट अर्को ठाउँमा लानल्याउन अप्ठेरो हुन्थ्यो । धातुको मुद्रा निश्चित ठाउँमा सुरक्षित छ है भन्ने उल्लेख गर्दै कागजी मुद्रा प्रचलनमा आयो । पछि यसलाई सरकारले नियन्त्रणमा लियो । यो प्रचलन सजिलो हुँदै गएपछि कागजी मुद्रा नै बढी प्रयोगमा आउन थाल्यो ।
अहिलेसम्म कागजी मुद्राकै बोलबाला छ । क्रिप्टो अर्थात् डिजिटल करेन्सी अहिले नयाँ छ । यसको भविष्य कसरी जान्छ त्योे अनिश्चित छ । तर, क्रिप्टोले अहिलेसम्मको मुद्रा बजारलाई भने कँही न कँही प्रभावित पार्नेछ ।
मेरो यति पैसा गए पनि केही छैन, आए धनी भइन्छ भनेर क्रिप्टोमा लगानी गर्ने थुप्रै नेपाली छन् । यो संख्या दिनहुँ बढिरहेको छ । क्रिप्टोमा उच्च जोखिम छ । धेरैको सुझाव हुन्छ – मन छ भने शून्य हुँदा पनि फरक नपर्ने पैसा लगाउने हो । अरुले कमाएको सुनेर देखेर भावावेश आएर पैसा हाल्ने होइन । सेयर बजारमा पैसा लगाउँदा वा किनबेच गर्दा पनि यही भावना नियन्त्रण गर्न सक्नुपर्छ ।
बाजी थाप्ने, दाउ हेर्ने मानिसको स्वभाव हुँदो रहेछ । पहिले घोडाको दौढमा बाजी थापिन्थ्यो । पैसा छ भने सुन किन्थे । अहिले क्रिकेट, फुटबलजस्ता खेलमा अर्बाैँको बाजी राखिन्छ । सेयर बजार, क्रिप्टो पनि यस्तै हो ।
नेपालमा सेयर बजारमा चासो निकै बढेको छ । यो चाप सेयर बजारले मात्र थेग्न सक्दैन । विदेशमा बस्ने नेपालीको प्रभाव पनि परिहाल्छ । कुनै दिन नेपाली क्रिप्टोमा पनि पस्नेछन् । यो भन्नुका केही आधार छन् ।
नेपालमा एक दशकअघि नै कमोडेटिज बजारको नियमित कारोबार हुन थालेको थियो । विश्व बजारमा तेल, सुन जस्ता वस्तु किनबेचमा नेपालीले पैसा लगाउँथे । केहीले त मुद्रा बजारमा समेत पैसा लगाए । यस्तो कारोबार ख्यालख्याल मै नेपालसम्म आइपुगेको थियो ।
बैंकर्स पाण्डेको घरमा चोर पसेछ । दराज फोडेर त्यहाँ भएका नगद लिएर गएछ । तर, भित्तामा भएका चित्रकला त चोरले छुँदै छोएनछ । दराजमा २–३ लाख नगदसँगै पुराना थोत्रा घडी पनि रहेछन् । तर, चोरले सबै घडी दराज बाहिर मिल्काएर गएछ । पाण्डे चित्रकलामात्र होइन पुराना घडीका पनि सौखिन संग्रहकर्ता हुन् । चोरको किस्सा सुनाउँदै उनले भने – चोर पस्यो नराम्रो हो तर पैसामात्र लिएर गएछ घडी त्यहीँ छाडेछ । यसमा भने खुसी नै लाग्यो । चित्र, थोत्रा घडी पनि मूल्यवान् थिए त्यो कुरा पाण्डेले बुझेका थिए चोरले बुझेको थिएन ।