काठमाडौं । एसएसपी सर्वेन्द्र खनाल महानगरीय ट्राफिक प्रमुख भएर आएको एक साता पनि पुगेको छैन । प्रहरीमा राम्रो काम गर्ने अधिकृतको रुपमा चिनिएका खनाल ट्राफिकमा आएपछि जामलगायतका समस्या कम हुने अपेक्षा धेरैको थियो ।
जनताको अपेक्षा पूरा गर्न खनाल खटिइरहेका पनि छन् । केही प्रशासनिक कामबाहेक अन्य समय खनालले सडकमै बिताउने गरेका छन् । सर्वेन्द्रलाई सडकमा देख्ने नागरिकले सवारी रोकेरै ‘लौ न हजुर ! जाम हटाउन यसो गर्नुपर्यो, उसो गर्नुपर्यो’ भन्दै सुझाव पनि दिने गरेका छन् ।
सर्वेन्द्र भन्छन्, “जाम नहुने कुनै पनि मुलुक हँुदैन । विकसित मुलुकमा पनि जाम हुन्छ, तर त्यहाँको जाम व्यवस्थित हुन्छ, यहाँको जाम अव्यवस्थित छ ।”
उपत्यकाबासीलाई सडक समस्याबाट मुक्त गर्न आफू ट्राफिक प्रमुख भएर आएको बताउँदै खनालले यसमा सबैको सहयोग चाहिनेमा जोड दिए ।
खनालले आइतबार बिहानै काठमाडौंभीका माइक्रोबसका धनीलाई भेला पारे । “म ट्राफिक प्रमुख भएर आएको कति भयो, यहाँहरुलाई थाहै होला । यो अवधिमा धेरै गुनासो माइक्रोकै सुनियो, त्यसैले मैले तपाईंहरुलाई भेला पारेको हुँ । मेरा लागि हैन, तपार्इंहरुकै लागि आफ्ना चालकहरुलाई मर्यादित बनाइदिनुस्,” माइक्रोका साहुहरुलाई खनालले आग्रह गरे ।
“सडकमा विभिन्न खालका समस्याहरु छन् । समस्या समाधान गर्ने तपाईं हामी नै हो । सडक हाम्रै लागि बनेको हो, हामीले नै सपार्ने हो । तपार्इंहरुका चालक र सहयोगीलाई अहिले नै भन्दिनुस्, सडकमा सवारी चलाउँदा नियमको ख्याल गर, सडकमा बसेको ट्राफिकले दुःख दिँदैन । तपाईंहरु नियममा चल्दाचल्दै कुनै ट्राफिक प्रहरीले दुःख दियो र लाभ लिन खोज्यो भने उजुरी गर्नुस् । तपार्इंका चालकलाई सभ्य बनाइदिनुस्” खनालले अगाडि भने ।
माइक्रोका चालकका बारेमा गुनासो बढी आएको भन्दै खनालले त्यसो हुन नहुनेमा जोड दिए । “मान्छे कोचेर हाल्दा तपाइंहर्रुलाई २–४ रुयैयाँ फाइदा होला, तर तपाईंहरुको कारण अरुले दुःख पाउँदा त्यो समस्या भोलि तपाईंलाई पनि पर्छ । त्यसैले २–४ रुपैयाँको लोभ नगरी नियममा चल्नुस्,” खनालले आग्रह गरे ।
खनालले ट्राफिक महाशाखा प्रमुख भएयता सार्वजनिक यातायातका सञ्चालक तथा व्यवसायीका संघहरुलाई बोलाएर उपत्यकाको सडक समस्या समाधान गर्ने योजना पनि बनाउन थालेका छन् । खनाल भन्छन्, “गफ गरेर हैन, रिजल्ट देखिने गरी सडक समस्या समाधान गर्न लाग्नुपर्छ, म त्यसरी नै लागेको छु ।”