मस्कट (ओमान) । ओमानविरुद्धको खेलमा अचानक घाइते भएका सन्दीप लामिछाने आज अमेरिकाविरुद्धको खेलमा पूर्ण फिट भएको नेपाली टोलीका फिजियो विक्रम न्यौपानेले बताएका छन् ।
नेपाली टोलीमा स्पिनरको नेतृत्व गरेका सन्दीप ओमानविरुद्ध फिल्डिङ गर्ने क्रममा अचानक पेट दुखेर मैदानमा ढलेका थिए । त्यसपछि प्राथमिक उपचारपछि उनी ठिक भएका थिए । तथापि, उनले ओमानविरुद्ध एक बल पनि गरेनन् ।
आठ घण्टासम्म निगरानीमा रहेका सन्दीप अमेरिकाविरुद्धको दोस्रो खेलमा पूर्ण फिट भएको बताइएको छ । ‘‘पेटमा हल्का समस्या आएको हो । मैदानमा औषधि खाएपछि ठिक भएको थियो । त्यसपछि आठ घण्टाको अब्जरभेजनमा राखेका थियौँ । दोस्रोपटक औषधि प्रयोग गर्नु परेन । उनी पूर्ण फिट छन् । ओमानविरुद्धको खेलमा उपलब्ध छन्,’’ नेपाली टोलीका फिजियो न्यौपानेले भने ।
ओमान भ्रमणमा सन्दीपले तीन खेलमा १२ विकेट विकेट लिइसकेका छन् । सन्दीपले पीएनजीविरुद्धको खेलमा त करियरकै ५.१ ओभरमा ११ रन दिएर ६ विकेट लिएका थिए । अमेरिकाविरुद्धको पहिलो खेलमा नेपालका कप्तान ज्ञानेन्द्रले मल्ले नेपालको मुख्य हतियार स्पिनर भएको बताएका थिए । त्यसकारण पनि सन्दीपको आगमनले नेपाली टोलीको मनोबल बढेको छ ।
नेपालले आईसीसी क्रिकेट विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको सबै खेल जितेको छ । त्यसैले पनि अमेरिकाविरुद्ध नेपाली खेलाडीको मनोबल उच्च छ । अमेरिका भने ओमान भ्रमणमा पहिलो जितका लागि खेल्नेछ । अमेरिका पहिलो खेलमा नेपालसँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा ओमानसँग ४ विकेटले हारेको थियो ।
प्रतियोगितामा उपकप्तान दीपेन्द्रसिंह ऐरी घाइते भएरपछि नेपाललाई धक्का लागेको थियो । त्यस्तै, उपकप्तान आरोन जेन्स र तीव्र गतिका बलर जसदीप सिंह घाइते भएर घर फर्किंदा अमेरिकालाई पनि झट्का लागेको थियो ।
नेपालले पछिल्लो तीन खेलमा कुनै पनि खेलाडी परिवर्तन गरेको छैन । तर, आज टोलीमा केही परिवर्तन हुने सम्भावना छ । युवा खेलाडी गुल्सन झाले नेपाली टोलीमा डेब्यु गर्ने सम्भावना छ ।
सम्भवतः गुल्सनले सोमपाल कामीको स्थान लिनेछन् । बलिङ अलराउन्डर सोमपाल कामीले पछिल्लो दुई खेलमा विकेट लिन सकेका छैनन् । ब्याटिङमा पनि सोमपालले ओमानविरुद्ध ७ रन मात्र बनाएका थिए । अमेरिकाविरुद्ध भने उनले ब्याटिङ गर्नु परेको थिएन ।