site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रशासनलाई छलेका अटेरी पुल निर्माण व्यवसायी : ‘सपिङ’ गरी फर्कँदै गरेका चार महिलाको मृत्यु

दाङ । दाङ प्रशासनले सिस्नेखोलामा पुल बनाउने निर्माण कम्पनीका प्रतिनिधिलाई तत्काल पक्राउ गर्न प्रहरीलाई गएको साउन २५ गते निर्देशन दियो ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले प्रहरीलाई पत्र लेखेर सिस्नेखोला पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै एडभेन्चर/जेभीका प्रतिनिधि यज्ञ केसीलाई तत्काल पक्राउ गरेर प्रशासनमा उपस्थित गराउन निर्देशन दिएका थिए ।

Argakhachi Cement Island Ad

निर्माण कम्पनीका प्रतिनिधि केसीलाई लिखित र मौखिक रूपमा पटक–पटक ताकेता गर्दा पनि काम नहुँदा ठूलो दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङको भनाइ छ । गएको जुलाई १२ अर्थात् असार २८ गते पुल निर्माणस्थलमा खिचिएको निर्माण व्यवसायीका प्रतिनिधि केसीको तस्बिर फेसबुकमा अपलोड गर्दै एक महिना अर्थात् साउन २८ गतेभित्र निर्माण सक्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारीले लेखेका थिए । तर, योबीचमा उल्लेख्य काम भएन ।

बुधबार राति नेपालगन्जबाट घोराहीतर्फ आउँदै गरेको प्रदेश ३–०१–२४ च ४४४० नम्बरको कारलाई सिस्नेखोलामा आएको बाढीले बगाउँदा त्यसमा सवार चार महिलाको मृत्यु भयो । उनीहरू नेपालगन्जमा ‘सपिङ’ गरी घोराही फर्कँदै थिए ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर–१३ की ४० वर्षीया रीतामाया पुन, सोही ठाउँ बस्ने ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही–१५ की ३३ वर्षीया राधा कुँवर र सोही ठाउँकी ४२ वर्षीया विमला केसीको मृत्यु भएको हो । कारका चालक घोराही–१३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते छन् ।

खोलाले बगाएका मध्य दुईजनाको बुधबार राति साढे १ बजेतिर र अरू दुईजनाको बिहीबार बिहान झन्डै तीन किलोमिटर तल बेलभार भन्ने ठाउँमा शव फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

“सिस्नेखोलामा पुल निर्माणाधीन अवस्थामा छ । निर्माण व्यवसायी अहिले पनि सम्पर्कमा छैनन्,” प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने ।

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्