site stats
बाह्रखरी :: Baahrakhari
देश
कालोमोसो दल्नेले आत्मसमर्पण गरेपछि दाङका स्वास्थ्यकर्मीकाे आन्दाेलन फिर्ता

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंहलाई कालोमोसो दलिएकाे घटनामा मुख्य योजनाकार मानिएका सर्जन परियार आफै प्रहरीकहाँ पुगेपछि शनिबारदेखि काम रोकेर सडक संघर्ष गर्दै आएका दाङका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किने भएका छन् ।

डा सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको विरोधमा जिल्लाका सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरू काम रोकेर आन्दोलनमा उत्रिएका थिए । आइतबार तुलसीपुरमा र सोमबार घोराहीमा पर्दशन गरेका उनीहरूको बुधबार लमहीमा पर्दशन गर्ने योजना थियो ।

Argakhachi Cement Island Ad

परियारले कानुनलाई सहयोग गर्ने उदेश्यले आफू स्वयम् प्रहरीमा गएको बताएका छन् ।  प्रहरीकहाँ जानुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, "न्यायको पक्षमा, अन्याय र झुटा मुद्दाको विरुद्धमा हिरासत भित्रै हामी भोक हडताल गर्ने छौँ," उनले लेखेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले दुई दिन अगाडि मोसो दल्ने डिल्ली डाँगीसहित दिवश क्षेत्रीलाई घोराहीको रतनपुरबाट पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार हालसम्म तीन जना पक्राउ परेका छन् । 

एसपी काफ्लेले घटनामा झन्डै १० जना जतिको संलग्नता देखिएको भन्दै अरू भने फरार रहेको जानकारी दिए ।

तर, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने हालसम्म चार जना पक्राउ परेको जानकारी दिएका छन् । दुई जनालाई प्रहरीले पक्राउ गरेको र थप दुई जना मंगलबार जिप्रकामा आफै आएको प्रजिअ कुरुम्बाङले जानकारी दिए ।

उनका अनुसार अब घटनामा संलग्न थप दुई जना मत्रै फरार छन् । पक्राउ परेकाहरूविरुद्ध स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ अनुसार मुद्दा दायर गरिएको प्रजिअ कुरुम्बाङले बताए । जसमा बढीमा ५ वर्षसम्म जेल सजाएको व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  २०:४६
प्रतिक्रिया दिनुहोस्