दाङ । हिमा कुसुन्डाले भाषा बचाउने भन्दै कुसुन्डा भाषामा गीत लेखेकी छन् । उनको गीतमा कुसुन्डा भाषा बचाउन सचेतनामुलक सन्देश छ ।
“भाषा बचाउने योजनाअनुसार गीत लेखेकी हुँ । सुरुमा नेपाली र कुसुन्डा भाषा मिलाएको थिएँ । अहिले कुसुन्डा भाषामामात्रै गीत बनाएकी छु,” उनले भनिन् ।
१८ वर्षीया हिमाको घर प्युठानको सरुमारानी गाउँपालिका–६ बढीचौर हो । सुरुमा हिमालाई मातृभाषासमेत आउँदैन थियो । दाङको लमहीमा दुई वर्षअघि भाषा कक्षा सुरु भएपछि उनि अहिले कुसुन्डा भाषामा गीत लेख्न सफल भएकी हुन् । यसका लागि उनले १८० घण्टाको कोर्स पूरा गर्नु¥यो । कुसुन्डा भाषा संरक्षण गर्ने हिमाको लक्ष्य छ ।
अहिले सुर्खेतको गुर्बाकोट नगरपालिका–५ राजी गाउँका ३६ वर्षीय तेजबहादुर ठकुरी कुसुन्डालाई पनि भाषा बोल्न आउँछ । भाषाको पहिलो चरणको कक्षा लिएपछि उनी बोल्नसक्ने भएका हुन । ठकुरीले अहिले घरमा पनि भाषा सिकाउन थालेका छन् । गाउँघरमा मातृभाषा बोल्ने मान्छे नहुँदा नियमित अभ्यास गर्न समस्या भएको उनले बताए ।
सोही गाउँकै भूपेन्द्र ठकुरी कुसुन्डा र छोरी दुर्गा ठकुरी कुसुन्डाले पनि भाषा कक्षा सिकिरहेका छन् । उनीहरू पनि घरमै कुसुन्डा भाषा बोल्ने अभ्यास गर्छन् ।
दुई वर्षअघिसम्म दुई जनामा सीमित कुसुन्डा भाषा अहिले ३० जनामा फैलिएको छ । यो भाषा पूर्णरूपमा बोल्ने ज्ञानीमैया र कमला कुसुन्डामात्रै थिए । ज्ञानीमैयाको गत वर्ष मृत्यु भएपछि अब कमलामात्रै बाँकी छन् । उनीहरूकै पहलमा कुसुन्डा भाषा कक्षा चलाउन थालिएको हो ।
अहिले भाषा बचाउने र विस्तार गर्ने जिम्मेवारी कमलाको काँधमा आएको छ । पहिलो चरणको ९० घण्टाको पढाइ सकिएपछि लकडाउनकैबीच दोस्रो चरणको कक्षा चलाइएको थियो । पहिलो चरणमा २० जना सहभागीमध्ये १७ जना कुसुन्डा थिए । तीन जना अन्य समुदायका थिए । सुर्खेत, रोल्पा, प्यूठान र दाङबाट भाषा सिक्न दाङ आएका विद्यार्थी कुसुन्डा भाषाका आधारभूत कुरा बोल्न र लेख्न सक्ने भएका छन् ।
भाषा सिक्नेमा बालबालिकादेखि वयस्कसम्म छन् । पहिलो चरणमा खानपिन, सरसफाइ, नातागोता, घरायसी व्यवहारजस्ता आधारभूत कुरा सिकाउने गरिएको शिक्षक उदय आलेले बताए । पहिलो चरणको कक्षा सकेकालाई दोस्रो चरणमा ९० घण्टाकै कक्षा दिइन्छ । अब तेस्रो र चौथो चरणको कक्षा चलाउन बाँकी छ ।
पहिलो चरणमा भाषाको प्रारम्भिक ज्ञान हासिल गरेपछि दोस्रो चरणमा सामाजिक सम्बन्ध सम्बन्धी भाषा सिकाउने गरेको उनले बताए । तेस्रोमा पाठ्यक्रममा आधारित र चौथोमा शब्दावली, व्याकरणसहित विज्ञ बन्ने खालको शिक्षा दिने योजना बनाइएको छ ।
भाषा कक्षालाई अब परिवार र प्रविधिमा जोडेर विस्तार गर्ने योजना बनाइएको छ । सामाजिक सञ्जालमासमेत कुसुन्डा भाषा प्रयोग गर्न सबैलाई अनुरोध गरिरहेको शिक्षक आलेले बताए । कुसुन्डा भाषाका विभिन्न शब्दावली र जानकारी समेटिएका छोटा भिडियो बनाएर गाउँगाउँमा पठाउने र घरघरमा सुन्ने वातावरण बनाउने योजना छ ।
ज्ञानीमैया र कमलाले कुराकानी गरेको ४० घण्टाको भिडियो आलेसँग सुरक्षित छ । अहिले उनी त्यसलाई अनुवाद गरेर नेपाली र अंग्रेजीमा तयार गर्दैछन । “यो एउटा ऐतिहासिक दस्ताबेज हुन्छ । दुवै जनाले घरायसी रूपमा गरेको कुराकानीलाई रेकर्ड गरिएको छ,” उनले भने, “यसमा धेरै नयाँ शब्द प्रयोग भएका छन् ।”
कुसुन्डा विगतमा जंगलमा फिरन्ते जीवन बिताउँथे । बास बस्न जंगलमा ओढार खोज्दै हिँड्थे । गाउँमा पसेर माग्थे अनि जंगलमै फर्केर खान्थे । आफ्नै भाषा, संस्कृति र परम्परा थियो । उनीहरू गाउँ बस्न थालेपछि भाषा हराउँदै गएको हो । गाउँ पस्दा उनीहरू छरिएर बसेकाले पनि भाषा प्रयोगमा आउन सकेन । भाषा संकटमा परेपछि नै कक्षा चलाइएको कमला कुसुन्डाले बताइन् । कक्षा सुरु भएपछि कुसुन्डा भाषा बोल्नेको संख्या बढ्दै गएको छ ।