काठमाडौं । यूएस ओपन टेनिस हेर्न आउने दर्शकले कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउनु पर्ने भएको छ । प्रतियोगिता शुरु हुन ७२ घण्टा पनि बाँकी नहुँदा आयोजकले यस्तो निर्णय गरेको हो ।
न्युयोर्क सहरका मेयरले नेशनल टेनिस सेन्टरको अर्थर एश रंगशालामा आउने सबैले खोप लगाएको प्रमाण हुुनु पर्ने निर्णय गरेको अमेरिका टेनिस संघले शुक्रबार जनाएको छ । सोमबारबाट दुई साता चल्ने प्रतियोगिताका लागि अमेरिकी टेनिस संघले टिकट बिक्री गर्दा खोप लगाएको प्रमाण हेर्ने भएको छ । कम्तिमा एक डोज खोप लगाएको हुनुपर्ने जनाइएको छ ।
कोभिड–१९ महामारीका कारण गत वर्ष खाली रंगशालामा खेलाइएको थियो । यसपटक भने पूर्ण क्षमतामा दर्शकलाई रंगशालामा प्रवेश दिइने भएको छ । यो साताको शुरुमा आयोजकले खेल हेर्न आउँदा मास्क अनिवार्य लगाउन नपर्ने, खोप लगाएको प्रमाण पेश गर्नु नपर्ने जनाएको थियो ।