site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेमा माधव नेपालको परकम्प : कहाँ कति क्षति ?

काठमाडौं । सत्ताबाट बाहिरिएको एक महिनापछि ठूलो दल नेकपा एमाले विभाजन भयो । पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले विद्रोह गर्दै नयाँ पार्टी गठन गरे । एमाले विभाजनले कानुनी मान्यता पाउन भने बाँकी छ ।
 
नेकपा हुँदै एमालेमा आइपुग्दासमेत ठूलो दल रहेको एमालेलाई विभाजनको असर राम्रैसँग पर्ने देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएर ‘चोइटिएको’ दाबी गरे पनि ठूलो धक्का लागेको छ । माधव नेपालले गठन गरेको पार्टीमा ठूलो संख्या नदेखिए पनि ओलीविरुद्ध उभिएका नेताहरु उनीसँग आइसकेका छैनन् । 

माधवका पक्षमा उभिँदै आएका नेताहरु हाल पार्टीलाई एकताबद्ध बनाउने भन्दै तेस्रो धारमा उभिएका छन् । उनीहरुले आज मात्रै माधव नेपलालाई साथ नदिएका र ओली पक्षमा गइनसकेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरुले छलफल गर्दैछन् ।

वाग्मतीबाटै ओलीलाई धक्का सुरु 

Dabur Nepal

एमाले विभाजन भएकै दिन अर्थात् बुधबार ओलीले वाग्मती प्रदेशका मुख्यमन्त्री हटाउन बाध्य भए । मुख्यमन्त्री रहेका डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाए । 

माधव समूहमा रहरे ओलीको चर्को आलोचना गर्दै आएकी नेतृ शाक्य मुख्यमन्त्री बनिन् । पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिँदा उनले मुख्यमन्त्री उपहारका रूपमा पाइन् ।

यद्यपि, उनको मुख्यमन्त्री पद धरमरमा नै छ । पार्टी एकताका लागि ओली र नेपाललाई आग्रह गर्दै तेस्रो धारमा उभिएकी मुख्यमन्त्री शाक्यको पदबारे अहिले नै भन्न नसकिने नेताहरु बताउँछन् । माधव नेपाललाई साथ नदिए पनि उनी ओली पक्षमा खुलेकी छैनन् । 

प्रदेश १ सरकार गुमाउँदै एमाले
पार्टीको विवादले केन्द्र, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सरकार गुमाएको एमालेले पार्टी विभाजनपछि अब प्रदेश १ मा पनि सरकार गुमाउने पक्का भएको छ ।
 
प्रदेश १ मा माधव नेपालले गठन नगरेको नयाँ पार्टीबाट मुख्यमन्त्री बन्ने चर्चा हुन थालेको छ । यद्यपि, एमालेमा माधव समूहमा रहेका नेता भीम आचार्य अझै ‘क्लियर’ भएका छैनन् । तेस्रो धारमा उभिएका नेता आचार्य ओलीतर्फ लागे माधव नेपालको नयाँ पार्टीबाट नेता राजेन्द्र राई मुख्यमन्त्री हुने चर्चा पनि हुन थालेको छ ।
 
एमालेमा माधव नेपालसँग प्रदेश १ मा सभामुखसहित २० जना सांसद् थिए । तर, भीम आचार्य ओलीतिर लागेमा माधवसँग सभामुखबाहेक १८ सांसद् रहनेछन् ।

प्रदेशमा सांसद्को कुल संख्या ९३ थियो । नेकपा माओवादीका एक सांसद् एमाले प्रवेश गर्दा कारबाहीमा परेपछि हाल प्रदेशमा ९२ सांसद् छन् ।

उक्त प्रदेशमा बहुमतका लागि ४७ सांसद चाहिन्छ । गठनबन्धमा कांग्रेस २१, माओवादी १५, जसपा ३ गरी ३९ सांसद् छन् । लिम्बुवानमुक्ति मोर्चाका एक सांसद्ले पनि गठबन्धनलाई साथ दिने बताएपछि एमाले र माधव नेपालको पार्टीका बाहेक ४० सांसद् छन् । 

त्यसैले माधव पक्षमा ७ जनामात्रै रहे पनि सरकार गठन हुनेछ । तर, एमालेमा रहँदा माधव पक्षमा रहेका भीम आचार्यबाहेक अन्य सबै सांसदको साथ नयाँ पार्टीलाई रहेको एक सांसद्को दाबी छ । अब प्रदेश १ मा एमालेसँग ३१ सांसद् हुने छन् । 

प्रदेश २ मा माधव नेपालको पार्टी नै बलियो 
प्रदेश २ मा एमालेलाई ठूलो धक्का हुने निश्चित छ । अन्य प्रदेशमा आफ्नै पार्टीको सरकार भएका बेला पनि प्रदेश २ मा एमाले कमजोर नै थियो । प्रदेश २ मा एमालेका २१ सांसद् थिए । जसमध्ये पार्टीमा विवाद भएपछि १३ सांसद्  माधव पक्षमा थिए । ओली पक्षलाई हटाएर नेपाल पक्षका शत्रुघन महतो दलको नेता बनेका थिए । 

हाल उक्त संख्या आफूहरुसँगै कायम रहेको उनको दाबी छ । अब बन्ने नयाँ पार्टीमा १३ जनाको संख्या नघट्ने बरु  बढ्ने उनको जिकिर छ । नयाँ पार्टी बनेपछि सरकारमा सामेल हुने उनले बताए । प्रदेश २ मा जसपाको नेतृत्त्वमा सरकार छ । १३ सांसद नयाँ पार्टीमा गए एमालेसँग ६ सांसद् मात्रै रहने छन् ।
 
प्रदेश २ मा किन कमजोर भयो एमाले ? 
अब नयाँ पार्टी बनेर सत्तामा जाने भएपछि स्वभाविक रुपमा संख्या बढ्ने देखिन्छ । तत्कालीन एमालेको महाधिवेशनमा माधव समूहबाट केन्द्रीय कमिटीमा बहुमत सदस्य विजयी भएका थिए । त्यस्तै पार्टीभित्रको अन्तरसंघर्षमा प्रदेश २ का जिल्ला अध्यक्षमा पनि माधव समूहको नै वर्चस्व थियो ।
  
त्यहाँ ओली पक्ष कमजोर हुनुमा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता सत्यनारायण मण्डलले संगठनमा ध्यान दिन नसकेको आरोप ओली पक्षकै नेताहरुको छ ।

यता, गण्डकी र लुम्बिनीमा भने ओली पक्ष बलियो छ । यद्यपि, एमाले विवादका कारण एमालेले दुवै प्रदेशको सरकार गुमाउनु पर्यो । पार्टीका स्थायी कमिटी सदस्यहरुले नै माधव नेपाललाई साथ नदिएपछि केही सांसदहरु अझै कता जाने निर्णय गरिसकेका छैनन् । जारी पछिल्लो अध्यादेश अनुसार स्थानीय र प्रदेशका जनप्रतिनिधिलाई कुन पार्टी रोज्ने त्यसका लागि २१ दिनको समयसीमा दिइएको छ । 

उता, कर्णाली प्रदेशमा पार्टी विवादले एमालेको सरकार बन्न सकेन । कर्णालीमा माधव समूहका ४ सांसद्ले फ्लोरक्रस गर्दा नेकपा माओवादीको सरकार बनेको थियो । कर्णालीमा फ्लोरक्रस गरेका प्रकाश ज्वाला भने माधव नेपालको नयाँ पार्टीको केन्द्रीय सदस्य छन् ।  

सुदूरपश्चिममा भीम रावलको भर, बाँडिने संकेत 
सुदूरपश्चिम प्रदेशमा एमालेबाट २४ सांसद् निर्वाचित भएका थिए । पार्टी विवाद उत्कर्षमा पुग्दा माधव समूहमा १७ सांसद् उभिएका थिए । एमालेको निर्णयलाई चुनौती दिँदै माधव समूहका सांसद् सरकारमा गएका थिए । हाल पार्टी विभाजन हुँदा उनीहरु कुनै निर्णयमा पुगिसकेका छैनन् । 

ओली पक्षमा ७ जना उभिएका थिए । सुदूरपश्चिममा नेता भीम रावलको पकड छ । उनले सुरुमा माधव नेपाललाई साथ दिए पनि पार्टी विभाजनको संघारमा पुगेपछि भने तटस्थ बसेका छन् ।  

पार्टी एकताको पक्षका भन्दै कतै नखुल्दा कता लाग्ने भन्नेमा सांसद्हरु अलमलमा परेका छन् ।

तर, १७ मध्ये आधा सांसद् रावल जता गयो त्यतै जाने  सम्भावना प्रवल रहेको एक सांसदको जिकिर छ । 

“को कता भन्ने निर्णय त भएको छैन तर हालसम्म १७ जना एकैतिर लाग्ने भन्ने कुरा हो । अर्को हप्तासम्म टुंगिएला । नेता भीम रावल बिचमा उभिँदा निर्णय भएको छैन । सबै एकै ठाउँमा उभिने भनिए पनि विभाजन हुने देखियो । करिब आधा सांसदहरु भीम रावल जता जाने त्यतै र अरु नयाँ पार्टीमा जाने देखिएको छ,” ती सांसदले भने । हालसम्म प्रदेशमा रहेको अवस्था र सांसदहरुलाई दिइएको समयसीमाले केही परिवर्तन हुने संकेत देखिन्छ । माधव नेपालको विद्रोहले एमालेमा परकम्प गएको छ । र, यसको असर आगामी दिनमा प्रष्ट देखिने स्वयं एमाले नेताहरु नै बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro