केही समय यता मिडियामा ‘बौद्धिक बहस र यसका आयाम’बारे चर्चापरिचर्चा भइरहेको छ । यस बहसमा जोडिन ध्येयले हाम्रा विचार पनि प्रस्तुत गरेका छौँ । बौद्धिकता त कपाल फुलेकाहरूको पर्यायजस्तो भएको छ तथापि हामीले यहाँ बौद्धिक बहसका सामान्य प्रवृत्ति प्रस्तुत गरेका छौँ ।
१.सहरिया बौद्धिक
हाम्रा सबै बौद्धिक सहरकेन्द्रित छन् । हाम्रा बौद्धिकवर्गको बहसमा गाउँ अझै पर्नसकेको छैन । ‘बौद्धिक हुनु भनेको गाउँघरको कुरा नगर्नु हो’ भन्ने धारणा स्थापित भएको छ । लोक उक्तिको प्रयोग हुन छोड्यो । गाउँको कुरा गर्नेबित्तिकै ‘पाखे’ भइने डर छ । नेपाललाई गाउँ नै गाउँको देश भनिन्छ जहाँ अझै पनि अधिकांश त पुरानै अवस्थाका गाउँ छन् । बौद्धिक बहसले समग्र देश समेट्नुपर्छ तर यहाँ गाँउलाई छोडेर सहरको भिडलाई मात्र बहसको केन्द्र बनाइएको छ । र, अझै सहरउन्मुख बजारसमेत त उपेक्षित नै छन् । पढेलेखेका मान्छेलाई गाउँमा उचित मञ्च नमिलेको हुन सक्छ र ऊ बौद्धिक सक्रियताको लागि उचित मञ्चको खोजीमा सहर पसेको हुन सक्छ । गाउँमै बस्नुपर्छ भन्ने होइन । सहर बसेर पनि गाउँको लागि चिन्तन मनन गर्न सकिन्छ तर गाउँ नै पूरै बौद्धिक बहसको विषयमा नपर्नु दुर्भाग्यपूर्ण हो । अर्कोतिर, मिडियाले पनि गाउँमै बसेर बौद्धिक ‘अगुवाइ’ गरेको व्यक्तिलाई ‘बौद्धिक’को दर्जा नदिएको हुनसक्छ । किनभने उसले बौद्धिक त टक्क महँगो टाइ सुटमा, महँगो होटेलमा, टिभीमा, रेडियो या पत्रपत्रिकामा मात्र हुन्छ’ भन्ने जानेको छ । अर्कोतिर एड्स, एटोमिक बम्ब, न्यु वल्र्ड अर्डर, लादेन, मोदी डक्ट्रिनजस्ता कुरामात्र बौद्धिकताका विषय हुन् भन्ने स्थापित भएको छ ।
गाउँका प्राचीन कला संस्कृति लोप हुँदैछन् । के बौद्धिक वर्गले गाउँ हेर्नु हुँदैन ? हाम्रा यी गाउँलाई डो¥याउने, गाउँका समस्यालाई उजागर गर्ने, हिम्मतका साथ बोल्ने गाउँ र सहरलाई जोड्ने बौद्धिकको अब खाँचो छ । रेमिट्यान्स, स्थानीय राजनीति, कृषि, पर्यटन किन बौद्धिकताको विषय बन्न सकिरहेका छैनन् ? बुटवलका लागि बुटवलमै बोलिएको कुराले किन महत्व पाउँदैन ? सिराहाका लागि किन सिराहामै बोलेर तरंग नहुने ? काठमाडौँबाट बोलेमात्र सुनिने वा तरंग देखिने किन ? हुन त यसका अनेक पाटा होलान् । यी विषय बौद्धिकतासँग मात्र जोडिँदैनन् होला । त्यसकारण अब बौद्धिक सक्रियता गाउँमा पनि हुनुपर्छ । सहरमै होस् तर गाउँ लक्षित पनि बौद्धिक क्रियाकलाप होस् । गाउँ सहरोन्मुख हुँदैगएको अवस्थामा बौद्धिकको खबरदारी, सक्रियता बहुतै आवश्यक छ । सायद, जुन दिन बौद्धिक बहस ५ तारे होटेल, सेमिनार, एनजीओ र विश्वविद्यालयबाट अलिकति बाहिर आउँछ गाउँ पनि देख्ला ।
२ अन्तर्राष्ट्रिय बौद्धिक
जति विदेशी सबालहरूमा चर्को बोल्न सक्यो त्यो त्यति ठूलो बौद्धिक मानिने एउटा मनोरोग छ नेपालमा । यो मनोरोगको पारंगत हुने प्रतिस्पर्धै छ । अन्तर्राष्ट्रिय सवालहरूमा मौसमी असर, मौसमी लहर देखिनु त ठीकै हो तर लगातार बेमौसमी भइरहनु र प्रवक्ता झैँ पैरवी गरिरहनु चाहिँ कति जायज हो ? जस्तो ट्रम्पको उमेदवारीसँगै अनेक कोणबाट बहसहरू भए । उनका व्यक्तिगत, व्यावसायिक, आचरणगत र विगतका कुरा भए तर उनले राष्ट्रपति पदमा आखिर जिती नै हाले । अब त ट्रम्पका नीति नियम र उनले जारी गरेका कार्यकारी आदेशहरूमा छलफल हुनुपर्ने तथा प्रभावहरूबारे बहसहरू हुनुपर्ने हो । यता मोदीले जितेर पनि ५ वर्षे कार्यकालको प्रभावशाली साढे तीन वर्ष सकिसके । विदेशी लगानी भित्राउन नसकेको कारण, हिन्दुवादी कट्टर रुझानका कारण बढेको असहिष्णुता, असफल मुद्रा नीति (५००÷१०००को नोट)लाई लिएर भारतमै उनको कार्यकाललाई असफल भनिसकियो । नेपालमा भने मोदीको उदय र त्यसको प्रभावबारे अझै चर्चा हुँदै छ । उत्तर कोरियाले अमेरिकालाई बम हान्छ कि हान्दैन ? आणविक हतियार अमेरिकासँग धेरै कि रसियासँग भन्ने नै यहाँका बौद्धिक माझ ठूलो चर्काचर्की पर्छ । आणविक बम हाम्रो बहसको विषय हो कि होइन ? हाम्रा बौद्धिक कस्ता कुरामा अल्झिरहेछन् ? त्यस प्रकारका बहसमा जोडिँदा नेपाललाई कसरी फाइदा हुन्छ ? क्युबा र अमेरिकाबीच भएगरेका उतारचढावले नेपालमा के प्रभाव पार्छ ? पहिलो कुरो बस व्यक्तिगत प्रोफाइल बढाउनमात्र लेख्ने हो बौद्धिकले ? दोस्रो, यहाँ गरिने बहसले चर्चाले त्यहाँ के प्रभाव पर्छ ? यहाँ पनि प्रभाव नहुने त्यहाँ पनि नहुने भएपछि ’लावारिस’ बहस किन गर्ने ? तर, यसो भन्दैमा सम्बन्धै नभएको देशको उतार चढावको यहाँ फिटिक्कै विमर्श हुनुहुँदैन भन्नखोजेको होइन, खाली त्यसलाई लावारिस नबनाऊँ प्रभावी बनाऔं भनेको हो । कति मात्रामा ट्रम्प, पुटिन, म्याक्राँँें अथवा अरू हाम्रा लागि विमर्शका विषय हुन् ? पहिले त्यो निक्र्यौल गरौँ । बौद्धिकहरू बरु हाम्रा स्वदेशी सवालहरूलाई अन्तर्राष्ट्रियकरण गर्न लागे हुने । ‘राष्ट्रियलाई अन्तर्राष्ट्रिय चाहिँ गर्न नसक्ने अन्तर्राष्ट्रियलाई राष्ट्रिय’ चाहिँ गराई रहने ? अग्रेजी भाषा मिसाएर बोल्नेबित्तिकै बौद्धिक भन्छन् । तमाम अन्तर्राष्ट्रिय मुद्दा छन् हाम्रो देशभित्र ।
३. चर्को बौद्धिक
एकथरी बौद्धिक यस्ता पनि छन् जो अध्ययन अनुसन्धान गर्दैनन् तर कसरी कसरी बौद्धिक चाहिँ देखिन भ्याउँछन् । तर, कहिलेकाहीँ यही बौद्धिक वर्ग बहसभन्दा पनि तुरुन्त गालीमा उत्रिन्छन् । कतिपय त जानाजान चर्को हुन्छन् । चर्को देखियो भने ‘धार’ बन्छ भनेर । विचार मन्थन नगर्ने तर तुरुन्ता तुरुन्तै सामान्य विवेकको आधारमा प्रतिक्रियात्मक हुनेहरूको बिगबिगी छ । पहिलो चरणको सूचनाको भरमै लामो गहिरो भविष्यवाणी गरिदिने ‘विज्ञताको शैली’ विकसित भएको छ । हुन त बौद्धिक हुनु भनेको पनि प्रारम्भिक अवस्थाको सूचनाको भरमा आफ्नो विज्ञता मिसाएर यसोयसो होला है भनेर अधिकतम् हुन सक्ने, नहुन सक्ने बताइदिनु हो । तर, केही चाहिँ गालीमात्र गर्न जान्छन् । मिडियामा स्थान पाउन जानाजान ‘फरक’ भइदिन मसलाको खोजीमा हिँडिरहेका हुन्छन् । फलस्वरूप विपक्षीको सामान्य तर्कमाथि पनि उग्र उत्तेजित भइहाल्छन् ।
अर्को ‘अजीव बौद्धिक’ वर्ग छ जो हमेसा सरकारलाई गालीमात्र गरिरहन्छ । यो अजीव बौद्धिक वर्गले सधैँ र जहाँ पनि ‘राज्य’ दोषी देख्छ । बाटो बिग्रियो राज्यको गम्भीर भुल भन्दिइहाल्ने, पुल खस्यो राज्यको लापरवाही हुने, कसैले आत्महत्या ग¥यो राज्यको बेपरवाह भन्ने । राज्यका तत्तत् ठाउँमा ससाना इकाइ हुन्छन् । पहिले ती जिम्मेवार हुन्छन् । अन्तिममा त राज्य नै जोडिन्छ जोडिन त । तर, हाम्रा बौद्धिक जहाँ पनि सरकार र राज्यलाई नै दोषी दमनकारी, विभेदकारी देख्छन् । राज्य प्रणाली बदलिसकेको छ तर हाम्रा बौद्धिकको सोच्ने लेख्ने तरिका बदलिन सकेन । उनीहरू आफू चाहिँ नबदलिने तर सरकार र राज्य प्रणाली पुरातन देख्ने गर्छन् । हो, बौद्धिकको भूमिका भनेको नागरिकको स्तरबाट ‘प्रतिपक्षी’ भएर खबरदारी गर्नु हो आलोचना गर्नुमात्रै होइन ।
यी बौद्धिकको कुरा सुन्ने हो भने हाम्रो राज्य असफल भएको मान्नुपर्छ तर अवस्था त त्यस्तो छैन । सरकारले राम्रो काम पनि त गरेको छ । राम्रो कुराको चर्चा गरिदिनुहुँदैन र ? बौद्धिकहरूको कुरा सुन्दा कस्तो लागेको छ भने आजसम्म कुनै सरकार सफल भएको छैन । हामीकहाँ सरकार भनेको असफलमात्र हुन्छ भन्ने छ । हाम्रा बौद्धिकहरू निराशाको सौगातमात्र बाँडिरहेछन् । बौद्धिकहरूले सरकारलाई हमेसा कमजोर देखाइदिँदा त्यसले समाजमा के प्रभाव पार्छ त्यसतर्फ सोचेका छैनन् । आज हामीले हरेक ठाउँमा सरकार निकम्मा देख्नुको कारण त्यही हो ।
४. एनजीओ प्रवर्धित बौद्धिक
विदेशतिर एनजीओलाई राम्रो मानिन्छ । समाजबाट सामाजिक विषयमा लगानी गरेर सामाजिक सवालहरूमा लगानी गर्नु पर्छ भन्ने त्यहाँ जनस्तरकै सोचाइ हुन्छ । यहाँ हामीकहाँ भने एनजीओ भन्नेबित्तिकै सामान्य मान्छेले गलत सोच्छन् । एनजीओ अलि बदनाम छ हामीकहाँ । अहिले एनजीओ बौद्धिक उत्पादनको केन्द्र बनेको छ ।
एनजीओ अहिले हाम्रा बौद्धिकहरूको ठूलो मंच बनेको छ । हाम्रा बौद्धिकहरू कहीँ न कहीँ एनजीओसँग जोडिएका छन् । उनीहरू कुन स्तरको एनजीओसँग जोडिएका छन् त्यही स्तरको उनीहरू बौद्धिक मानिन्छन् । अलि ठूलै अन्तर्राष्ट्रिय एनजीओसँग सम्बद्ध छ भने ऊ ठूलै र अन्तर्राष्ट्रिय बौद्धिक कहलिन्छ । हैन, सानै र नेपाली हो भने ऊ सानै बौद्धिक कहलिन्छ । यस प्रकारका बौद्धिकको काम एनजीओको प्रवक्ता हुनु हो । एनजीओको सवालको प्रबर्धन गर्नु हो । राम्रो आम्दानी गर्नु हो । आईएनजीओ बौद्धिकको हाइट र चुरीफुरी अलि बढी हुन्छ । अहिले त कस्तो छ भने समस्याको पहिचान पनि एनजीओले गर्ने, सहजीकरण र उठान पनि एनजीओले गर्ने अनि समाधान वा समाधानको उपाय पनि एनजीओले दिने । विषयहरूको महत्व कम गराउन अनावश्यक विदेशी शब्दजाल थोपारेको भान हुन्छ । हाम्रा बौद्धिकको काम हो उनीहरूको रिपोर्ट लेख्नु र फोरमहरूमा त्यस रिपोर्टको दरो प्रचार गर्नु । कतिपय एनजीओको काम नै बौद्धिकता सम्बन्धी देखिन्छ ।
एनजीओमा हाम्रा बौद्धिकहरू तलबी हुने हुनाले त्यहाभित्र उनीहरूको ‘राय’को कदर भने हुँदैन । दुनियाँको कुनै कुनामा सफल भएको कामको तरिका यस देशको माटो हावापानी र अन्य संरचनाअनुसार मेल खान्छ खाँदैन भन्ने नै नहेरी लादिएका कार्यक्रमहरूको माथिल्लो तहमा चर्चा गरिदिनु यिनीहरूको अर्को काम हो । कतिपय एनजीओले त बौद्धिक सक्रियताको मंच नै दिएका छन् । हो यहाँ यो ठीक हो कि होइन भन्ने सवाल उत्पन्न हुन्छ । हाम्रा बौद्धिकहरू कतै कसैका प्रायोजित त छैनन् ? तर एनजीओ प्रवर्धित बौद्धिक वर्गले प्रतिपक्षको भूमिका खेल्न सक्छ सक्दैन ? त्यसका परिणामहरू के के हुन्छन् ? यी सबैै विषया केलाउने बेला भने आइसक्यो । त्यो काम पनि स्वयं बौद्धिककै हो ।
५.दलीय बौद्धिक
केही ठूला राजनीतिक पार्टीसँग बुद्धिजीवी संगठन छन् । त्यो राम्रो पक्ष हो । पार्टीले आवश्यक परेको बेलामा सरसल्लाह लिन र पार्टी नेतृत्वलाई नियमित सरसल्लाह दिइरहन यो संगठन बनाइएको हुन्छ । बौद्धिकहरूलाई आफूतिर तान्दा नै पार्टीको सौन्दर्य बढ्छ । तर छिर्ने बेलामै गुटको आधारमा छिर्ने हुनाले मूल पार्टीमा हुनेगरेको किचलोको प्रभाव त्यहाँ पनि पर्छ । पार्टीको राष्ट्रिय अधिवेशनमा बौद्धिक संगठनबाट पनि प्रतिनिधि हुने भएकोले सदस्यता दिने बेलादेखि नै को कुन गुटको भनेर निर्धारण हुन्छ । यिनीहरूको काम पार्टीलाई सरसल्लाह अलि अलि दिनु त हुँदै हो मुख्य काम चाहिँ आफू निकटे नेताको गल्तीलाई सके ढाकछोप नभए आफ्नो भएभरको ज्ञान र सीप प्रयोग गरेर बैध तुल्याउने प्रयास गर्ने हो ।
यसरी लाग्ने बौद्धिकहरूको अन्तिम उद्देश्य परिषद्हरूमा, राजदूतहरूमा, प्रतिष्ठानहरूमा, आयोगहरूमा, विश्वविद्यालयहरूमा प्रमुख पद अथवा हैसियत अनुसारको नियुक्ति खानु रहेको छ । कतिपय त मन्त्री तथा प्रधानमन्त्रीको सल्लाहकार पनि हुन पुग्छन् । पार्टीगत बुद्धिजीवीको काम माथि उल्लिखितबाहेक सिद्धान्तअनुरूप दस्तावेजहरू लेख्नु, चुनावी घोषणा पत्र लेख्नु, नीति तथा कार्यक्रम तय गर्नुजस्ता रहेका छन् । आन्दोलनको बेला चर्का नारा बनाउनु पनि यिनको काम हो । पार्टीगत बुद्धिजीवीमा दलबदल गर्ने रोग पनि छ । एउटा पार्टीमा रहँदा आफैँले लेखेको दस्ताबेजको अर्को पार्टीमा जाँदा विरोध गरेको पनि पाइयो । यी बुद्धिजीवीको अधिकांश समय चाहिँ पार्टीको विषयमा छलफल गर्ने नभएर अर्को पार्टीको विरोध गर्नुरहेको छ । नेपालमा कम्युनिस्ट पार्टीहरू बढिरहेकाले तुलनात्मकरूपमा वामपन्थी बुद्धिजीवी बढी छन् । राजनीतिक बुद्धिजीवीको मुख्य काम भनेकै पार्टीको निर्देशन शिरोपर गर्दै काम गर्नु नै रहेको छ ।
५.सर्वज्ञ बौद्धिक
हाम्रा बौद्धिकहरूको अर्को रोचक र मौलिक विबशेषता सर्वज्ञ हुनु हो । सबैतिर असीमित ज्ञानका भण्डारजस्ता भएर प्रस्तुत हुन्छन् । पहिलो ४ वर्षे संविधान सभाको कार्यकालदेखि दोस्रो २ वर्षे अवधिसम्म संवैधानिक ज्ञाताको बिगबिगी नै भयो यो देशमा । जो पनि संविधानको विश्लेषक । पछि गएर तिनै संवैधानिक ज्ञाता भूकम्पका ज्ञाता भए, अलि पछि नाकाबन्दीका ज्ञाता पनि हुन भ्याए । भूपरिवेष्ठित देशका नागरिकले जान्नुपर्ने अधिकारको बहस खै ? हाम्रा बौद्धिकमा तुरुन्तातुरुन्तै जे कुराको मौसम छ त्यसैको ज्ञाता भइदिने अचम्मको क्षमता छ । जे भेट्यो त्यसैमा बौद्धिकता छर्न खोज्ने । आफ्नो विज्ञता र सीमितता के हो त्यो बिर्सिने । प्राय बौद्धिकताको विषय सार्वजनिक विषय हुने र तुलनात्मकरूपमा कानुनको क्षेत्र फराकिलो हुने हुनाले कानुनी पृष्ठभूमिका बौद्धिक सबैतिर बोल्नु उचितै होला तर अरूहरू पनि सबैमा आफ्नो ‘राय’ दिइरहेका हुन्छन् । हुनत बौद्धिक भनेकै आफ्नो विज्ञता र संलग्नताभन्दा माथि र पर रहेर बोल्ने अथवा त्यो मिसाएर पनि, आफ्नो व्यावसायिक ज्ञानको आधारमा अर्को विषयमा सम्भावित यो वा त्यो कुराहरू गर्ने, जायज छ तर अलोकप्रिय छ भने पनि आवाज उठाउने, धेरैले रुचाउनेभन्दा फरक कुरा गर्न पछि नहट्ने भन्ने नै हो ।
तर, हाम्रा बौद्धिकहरू सर्वज्ञ हँुदा सबै बहस पातलो हुने गरेको छ । यसैले तिनको रायमा विश्लेषणमा कुनै दम हुँदैने । अर्काेतिर अन्दाजको भरमा बोल्ने बानी पनि छ । या त ‘मलाई लाग्छ’बाट सुरु हुने यात अन्त्य हुने । केको आधारमा लागेको हो त त्यो नबताउने, नखुलाउने । एकदम ठ्याक्कै हुनुपर्नेमा पनि हाम्रा बौद्धिकहरू लागेको भरमा, अन्दाजको भरमा प्रस्तुत भइरहेका हुन्छन् । बृहत् अध्ययन अनुसन्धान चाहिने ठाउँमा पनि ‘लागेकै’ लेखिरहेका हुन्छन् । केही यस्तालाई पनि बौद्धिक मान्नुपरेको छ जो समाचारमा आधारित रहेका छन् । यस प्रकारका बौद्धिकहरू विदेश बस्छन् । नियमित समाचार पढ्छन् । सामाजिक संजालको बहाव हेर्छन् ।
कुनै बेला नेपाल बसेकै थिए अनि लेख्छन्, बोल्छन् । यो सबैभन्दा झुर प्रकारको बौद्धिकता हो । समाचारको तहभन्दा माथि उठेर र गहिरिएर नसोच्ने बौद्धिकता हो यो । यिनीहरू डिग्रीको भरमा, चर्चित विश्वविद्यालयको नामको छायाँमा भएका बौद्धिक हुन् । यिनको स्रोत सोझै समाज हुँदैन बरु किताब, मिडिया र रिपोर्ट हुन्छ । अर्को एउटा ठूलो भ्रम हामीकहाँ के छ भने विज्ञतालाई नै बौद्धिकता मान्ने । त्यसै भएको हुनाले हामीले अधिकांश स्थितिमा पीएचडी गरेकालाई स्वतः बौद्धिक मान्ने गरेका छौँ । नेपालको पीएचडीसम्मको थेसिस सोझै किन्न र खेताला लगाएर लेखाउन सकिन्छ भन्ने छ ।
नेपाल त्यस्तो देश हो जहाँ कक्षा ८ देखि, इञ्जिनियरिङ्ग एमफिल र एमडी (मेडिसिन) सम्मको प्रश्न पत्र ‘आउट’ हुन्छ । त्यस्तो अवस्थामा हाम्रो देशभित्रै उत्पादन भएका सबै विज्ञमा भर पर्न पनि गाह्रो छ । कतिपय बौद्धिक किताबभित्र मात्र समाज बुझ्छन् । सयवटा किताब पढेरमात्र १०१ कुरा गर्ने । एकेडेमिक मात्रै । अर्कोथरी बौद्धिक अभियानकर्ताको रूपमा देखिन्छन् तर नपढ्ने । मोटामोटी एकथरी नपढ्ने तर अभियानकर्ता हुने अर्कोथरी पढ्नेमात्रै व्यवाहारिक नहुने । बौद्धिक प्राज्ञिक र बौद्धिक दुवै हुनुपर्छ । प्राज्ञिक भन्दा शैक्षिक प्रमाणपत्र नभएर अध्ययनशीलताको चर्चा गरिएको हो ।
यो सब अवस्थामा हाम्रो बौद्धिक वर्ग अब कसरी अगाडि बढ्ने भन्ने बहस हुनु आवश्यक छ । बौद्धिक वर्ग आधुनिक समाजको विशेषता हो । समाजमा खबरदारी गर्न, कतिपय अवस्थामा दिशानिर्देश गर्न बौद्धिक वर्ग आवश्यक हुन्छ तर नेपाली समाजमा अबको बाटो नयाँ हुनु भने नितान्त आवश्यक छ।
readerkiran@yahoo .com
iamarjunpangeni@gmail .com