site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङको बेलझुण्डी कोरोनाको तेस्रो लहर सामना गर्न तयार
Sarbottam CementSarbottam Cement

दाङ । कोरोना भाइरसको संक्रमण दर फेरि उक्लिँदै गर्दा प्रदेश सरकारको मातहतको अस्थायी कोरोना विशेष अस्पताल बेलझुण्डीले ‘थर्ड वेभ’ (तेस्रो लहर) को सामना गर्न अधिकतम तयारी गरेको बताएको छ ।

कोरोनाको दोस्रो लहरमा बिरामीलाई आवश्यक सेवा उपलब्ध गराउन निकै समस्या बेहोरेको सो अस्पतालले अहिले भने सम्भावित तेस्रो लहरको सामना गर्न तयार रहेको जनाएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीले आवश्यक स्वास्थ्यकर्मी, अक्सिजन, विशेषज्ञ चिकित्सक लगायत अधिकतम तयारीमा अस्पताल व्यवस्थापन जुटेको बताए ।

“अब अक्सिजन नपाएर कुनै पनि बिरामीले ज्यान गुमाउनुपर्ने छैन । बेडको अभावमा बरन्डामा उपचार गर्ने अवस्था पनि हुने छैन,” वलीले बाह्रखरीलाई बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि नेपालगञ्जबाट अक्सिजन ल्याएर बिरामीहरूलाई उपलब्ध गराउँदै आएको कोरोना विशेष अस्पतालले अब घोराहीको झिङ्नीमा सञ्चालनमा आएको अक्सिजन प्लान्ट, प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको अक्सिजन प्लान्टबाटसमेत सहज रूपमा अक्सिजन आपूर्ति गर्ने तयारी गरेको छ ।

“सम्भवतः एक महिनामा सोनापुर सिमेन्ट दुधरासमा पनि अक्सिजन प्लान्ट सञ्चालन हुँदैछ । त्यहाँ उत्पादन हुने अक्सिजनले बेलझुण्डी कोरोना अस्पतालको आवश्यकता मात्र नभएर समग्र राप्ती अञ्चलभरी पुग्ने अनुमान गरेका छौँ,” अस्पतालका व्यवस्थापक वलीले भने । 

Global Ime bank

कोरोनाको पहिलो वेभमा २५ ओटा मात्र अक्सिजन सिलिन्डरबाट काम चलाएको अस्पतालले दोस्रो वेभमा २२२ सिलिँडरसम्म प्रयोग गरेको थियो । हाल प्रदेश सरकारबाटसमेत प्राप्त सिलिन्डर गरी बेलझुण्डी कोरोना विशेष अस्पतालमा ३२५ अक्सिजन सिलिन्डर रहेका छन् । 

“अस्पतालमा अक्सिजन पाइँदैन कि भनेर अब घरमै सिलिन्डर लगेर लुकाउनुपर्ने अवस्था रहँदैन । करिब एक हजार अक्सिजन सिलिन्डर दाङकै विभिन्न स्थानका अक्सिजन प्लान्टमा रिफिल गर्न सकिने अवस्था छ,” वलीले भने ।

सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै बेलझुण्डी अस्पतालले अस्पतालमा बिरामीको बेड क्षमतासमेत बढाउने बताएको छ । अहिले अस्पतालमा ८ जना मात्रै संक्रमितहरूको उपचार भइरहेको भएपनि कोरोनाको दोस्रो लहर उच्च विन्दुमा पुगेका बेला ७७ जनासम्म बिरामीको बेलझुण्डीमै दैनिक उपचार भएको थियो । 

“हामीले अब बेड संख्या बढाएर एक सय पुर्‍याउँदैछौँ,” व्यवस्थापक वलीले भने, “यसमा आईसीयू र एनआईसीयू बेड पनि थपिने छन् ।”

अस्पतालमा हाल ४ वटा भेन्टिलेटर र केही एचडीयू बेड पनि रहेका छन् । प्रदेश सरकारले बेलझुण्डी अस्पतालमा बेड संख्या एक सय पुर्‍याउन निर्देशन दिएसँगै अहिले अस्पताल व्यवस्थापनले बेड संख्या बढाउने कसरतमा लागेको छ । 

“हाल सञ्चालनमा रहेका २५ वटा जनरल बेडलाई बढाएर ६० पुर्‍याइने छ, १५ वटा आईसीयू बेडलाई बढाएर २५ पुराइनेछ,” वलीले भने, “बालबालिकाहरूमा पनि हुनसक्ने संक्रमणलाई उपचार गर्नका लागि १० वटा एनआईसीयू बेडसमेत सञ्चालनको तयारी भइरहेको छ ।”

प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको निर्माणाधीन योगा हलमा रहेका दशवटा कोठालाई समेत आवश्यकता हेरेर एनआईसीयू तथा आइसोलेसन वार्डका रूपमा पनि प्रयोग गर्नेगरी तयारी भइरहेको पनि बताइएको छ ।

त्यसैगरी चिकित्सक, स्वास्थ्यकर्मी एवम् अन्य कर्मचारी पनि तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ । बिरामीको अभावमा हाल केही स्वास्थ्यकर्मीहरू विदामा रहेपनि आवश्यक परेका बेला काममा आउन सक्ने गरी अतिरिक्ति चिकित्सकहरू पनि सम्पर्कमा रहेका छन् । प्रदेश सरकारले कोरोना विशेष अस्पतालमा १७७ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको भएपनि हाल अस्पतालमा ८ जना मात्र बिरामी रहेकाले स्वास्थ्यकर्मी र कर्मचारीहरू पनि विदामा छन् ।

हाल अस्पतालमा ३ जना फिजिसियन, ७ जना मेडिकल अफिसर, १७ जना स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट, ३ जना अहेब, ३ जना ल्याब टेक्निसियन तथा १७ जना सरसफाइकर्मीहरू कार्यरत छन् । 

यसअघि अक्सिजनको अभावकै कारण केही संक्रमितले ज्यान गुमाउनुपरेको थियो । यस्तै, दर्जन बढी बिरामीहरूलाई हेलिकप्टर चार्टर गरेर पनि राजधानीलगायत चितवन र पोखराका सुविधासम्पन्न अस्पतालमा उपचारका लागि पठाइएको थियो । त्यतिबेला अस्पतालको नाजुक अवस्था देखेर धेरै संक्रमितहरू घरमै आइसोलेसनमा बसेका थिए । 

अब भने अस्पतालमा आउने बिरामीका कुरुवा तथा बिरामीका लागि खाना तथा खाजाका लागि चमेना घरकोसमेत व्यवस्थापन भएको अस्पतालले जनाएको छ । नजिकका बिरामीहरूले घरबाटै पनि खाना लिएर बिरामीलाई खुवाउन सक्ने भएपनि टाढाका बिरामीहरूका लागि अस्पताल परिसरकै क्यान्टिनबाट खाजा, खाना र आवश्यकताअनुसारका पोसिलो खाना उपलब्ध हुने पनि अस्पताल व्यवस्थापनले जनाएको छ । 

प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु भएको छ । प्रतिष्ठानले भर्खरै अक्सिजन प्लान्ट जडानको काम सम्पन्न गरिसकेपछि सोमबारदेखि विधिवध रूपमा अक्सिजन उत्पादन सुरु भएको घोषणा गरिएको छ । अब दैनिक रूपमा करिब एक सय सिलिन्डर अक्सिजन सो प्लान्टबाट उत्पादन हुने जनाइएको छ । प्रतिष्ठानले अहिले सिलिन्डरका अतिरिक्त प्रतिष्ठानको आईसीयू र अन्य बिरामी भर्ना कक्षमा सोझै पाइपलाइन जडान गरी अक्सिजन वितरणको व्यवस्थापन गरेको छ ।

अक्सिजन प्लान्टको शुभारम्भ गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारीले शल्यक्रियापछिको आईसीयू सेवा, दीर्घरोगी तथा दुर्घटनालगायत सबै गम्भीर बिरामीहरूका लागि अब अक्सिजन आपूर्ति सहज हुने बताइन् । प्रतिष्ठानलाई आवश्यक नभएको अक्सिजन सिलिन्डरमा भरेर अन्य स्वास्थ्य संस्थामा पनि लैजान सकिने बताइएको छ ।

प्रतिष्ठानका अनुसार यो प्लान्टसँगै केही दिनपछि अर्को अक्सिजन प्लान्ट पनि थप हुने बताइएको छ । “प्लान्ट खरिदका लागि बजेट प्राप्तिसँगै टेन्डर प्रक्रियासमेत अगाडि बढिसकेको छ । अर्को महिनासम्ममा थप दुई सय सिलिन्डर दैनिक रूपमा भर्न सकिनेगरी अर्को अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याउने छौँ,” उपकुलपति भण्डारीले भनिन् । 

अबको सम्भावित तेस्रो लहरमा प्रतिष्ठानले कोभिडका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको जनाएको छ । 

रेक्टर र रजिस्टारको पदभार
सोमबारै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष (रेक्टर) र रजिस्टारले पनि पदभार सम्हालेका छन् । नवनियुक्त शिक्षाध्यक्ष बसन्त लामिछाने र रजिस्टार प्रकाश थापालाइ प्रतिष्ठानका उपकुलपति प्रा.डा. भण्डारीले पद र गोपनीयताको शपथ खुवाएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय