पहाडी जिल्ला खोटाङ काठमाडौंदेखि करिब ३०० किलोमिटर पूर्वमा छ । पूर्वमा भोजपुर, पश्चिममा ओखलढुंगा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्लाले घेरेको खोटाङलाई मध्यपहाडी लोकमार्गले छोएको छ । यस जिल्लामा राई जातिको बाहुल्य छ ।
यहाँका अधिकांश बासिन्दाको प्रमुख पेसा कृषि भए पनि अरू विभिन्न पेसामा आबद्ध छन् । यही सुन्दर पहाडी जिल्लामा एउटा बेग्लै प्रकारको विद्यालय पनि छ । त्यहाँ विद्यार्थीलाई कक्षा कोठामा मात्र नपढाएर फिल्डमा लगेर सिकाउने गरिन्छ ।
खोटाङको सदरमुकाम दिक्तेल नजिकै सोल्मा डाडा गाउँमा अवस्थित उक्त विद्यालयको नाम जनजागृति माध्यमिक विद्यालय हो । सुभद्रा मदन फाउन्डेसनद्वारा संचालित विद्यालयमा करिब ५० जिल्लाका ५२ जातजातिका विद्यार्थी बस्छन् । बिहान ५ बजे संगीतको धुनमा सबैजना आफ्नो ओछ्यान मिलाउँदै बिहानी व्यायाममा उपस्थित हुन्छन् ।
सुभद्रा मदन फाउन्डेसनका संस्थापक ७३ वर्षीय मदन राई आफैँ सबै विद्यार्थीलाई व्यायाममा आउन उत्प्रेरित गर्दै विभिन्न संदेश दिएर विद्यार्थीलाई फुर्तिला हुन मद्दत गर्छन् । यसरी बिहानको खाजा खाने बेलासम्म बिहानी कर्म गर्छन् । कसैलाई गाईवस्तुलाई खोले पकाएर खुवाउन चटारो हुन्छ त कसैलाई कम्प्युटर चलाउन हतार हुन्छ ।
खाजा खाएर सबै जना आफ्नो विभागमा जम्मा भएर दिनभरिको कामको योजना बनाउँदै काम गर्न थाल्छन । बिहान करिब २ देखि ३ घन्टा रमाउँदै, छलफल गर्दै काम गर्छन् । यस्तै ११ बजे खाना खाएर दिउसो हुने कक्षामा जान्छन् । करिब २ घन्टाको कक्षामा भाषा, विज्ञान, गणित, मिलाएर पढाइ हुन्छ ।
पढाइपछि २:३० बजे दिउँसोको खाजा खाएर ३:०० बजे पुनः आआफ्नो विभागमा जान्छन् । कसैलाई निर्माण विभागमा वेल्डिङ गर्न हतार हुन्छ त कसैलाई कृषि विभागमा बिरुवाको हेरचाह गर्न । कोही घाँस काट्न डोको र हँसिया बोक्दै आफ्नो काममा जान्छन् त कोही कसैलाई दिनभरको क्रियाकलाप समेटेर तयार पारिएको शुभम् समाचार बनाउन हतार हुन्छ । करिब ७ बजे दिनभरिको प्रत्येक विभागको समाचार हेर्दै खाना खान सुरु हुन्छ ।
करिब ९ बजेसम्म आफूले दिनभर गरेका र सिकेका कुरा समेटेर दैनिकी लेख्दै उक्त दिनलाई बिदा गर्छन् । बिहानी संगीतबाट सुरु भएको दिन साँझ सिकेका र गरेका कुरा डायरीमा कलमले कोर्दै दिन सकिन्छ ।
मेरो करिब १ वर्षको बसाइमा मैले त्यहाँ रहेका हरेक चिजलाई नजिकबाट नियाल्ने अवसर पाएँ । त्यहाँको व्यवस्थापनदेखि काम गर्ने तरिकाको पनि जानकारी पाएँ । मैले पनि त्यहाँका विल्यार्थीलाई केही विषय पढाउने अवसर पाएको थिएँ ।
कसैले पनि एक्लै दुःख गर्नु नपर्ने त्यस विद्यालयमा अधिकांश काम समूहमै हुन्छ । त्यहाँ दिइने वातावरण शिक्षा, अर्थतन्त्र शिक्षा साँच्चै लोभलाग्दो छ । विसं २०७७ तथा २०७८ सालमा भएको 'लकडाउन'मा पनि निरन्तर चलेको विद्यालयले त्यसलाई अवसरको रूपमा लिई फलाम प्रयोग गरेर दुईवटा घर बनायो । विद्यार्थीले विद्यार्थीकै लागि बनाएका उक्त घरहरू साँच्चै सुन्दर र मनमोहक देखिन्छन् । ठूलो समूहमा बस्दा पनि धेरै बिरामी नपर्ने र परिहाले भने पनि सबै मिली हेरचाह गर्ने त्यहाँको विशेषता पनि प्रशंसनीय छ ।
सुभद्रा मदन फाउन्डेसनका संस्थापक मदन रईले 'बाजे' को भूमिका निर्वाह गर्नुभएको छ । आफ्ना नातिनातिनीलाई हरेक क्षेत्रमा अब्बल, जागरिलो, मेधावि तथा स्वस्थ बनाउन ७३ वर्षको उमेरमा पनि दिनरात नभनी निरन्तर उत्प्रेरित गर्ने कार्यमा व्यस्त छन् । यस्तै फाउन्डेसनका निर्देशक सुर्य राई 'बाबा' को भूमिकामा छोराछोरीलाई उत्कृष्ट र असल बनाउन दिनरात तल्लिन छन् । रोजिना थापा राई आमाको भूमिकामा बच्चाबच्चीलाई चाहिने खानेकुरा व्यवस्थापनदेखि सरसफाइ, लुगाफाटोको निरन्तर हेरचाह गर्छिन् । यसबाहेक त्यहाँ रहेका व्यवस्थापकले आआफ्नो स्थानबाट सहयोग गरिरहेका छन् ।
घोकन्ते शिक्षाको विकल्पमा खोलिएको उक्त विद्यालयले विद्यार्थीको चौतर्फी विकासमा मनग्य योगदान गरेको छ । थुप्रै बाधा व्यवधान बेहोर्दै यहाँसम्म आइपुग्दा त्यस विद्यालयबाट थुप्रै सक्षम जनशक्ति उत्पादन भइसकेका छन् । विद्यार्थीहरू कोदालोदेखि कम्प्युटरसम्म चलाउन सक्षम छन् । अहिलेको शिक्षाको मापन आधार बन्द कोठाभित्र लिइने तीन घन्टे परीक्षा हो ।
यहाँ भने विद्यार्थीको दिनदिनै मूल्यांकन गर्दै समयसमयमा उनीहरूलाई सुधारको सुझावमा जोड दिइन्छ । यहाँका विद्यार्थीले बन्दकोठाभित्र बसेर परीक्षा दिइराख्नु पर्दैन ।
व्यावहारिक शिक्षाको नाममा ठूला होटेलका बन्द कोठाभित्र हुने छलफल र सडकमा गएर टायर बाल्ने अनि स्कुलका भवनमा विद्यार्थी तथा शैक्षिक अभियन्ताभन्दा फरक धारको यस विद्यालयले अग्रगामी छलाङ मार्ने विश्वास धेरैले गरेका छन् ।
संस्कारसहितको व्यावहारिक शिक्षा चाइयो भन्दै सडकमा उफ्रिनेहरूका लागि पनि यो विद्यालय गतिलो जबाफ बनेको छ ।