राजनीतिशास्त्रमा गलत प्रकारको शासन बुझाउने केही शब्दहरू निकै प्रचलित छन् । धेरै व्यक्तिलाई यी शब्दको अर्थ थाहा पनि हुन्छ तर त्यस्तो व्यवस्था वा शासक आफू र आफ्नो देशले खेप्नुपर्दा कस्तो हुन्छ भन्ने अनुभव गर्न पाएका हुँदैनन् । हाम्रा बाहिरिँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्ता धेरै शब्दको अनुभव गराएर नेपाली जनतालाई भावार्थसमेत बुझाइदिएका छन् । अब जनताले आफूजस्तो व्यक्ति चुन्ने गल्ती नगरुन् भन्ने शिक्षा पनि दिएका छन् । त्यसैले गलत गरेर पनि सही के हो भन्ने जानकारी गराएकामा केपी ओलीलाई धन्यवाद दिनै पर्छ ।
देशभित्रमात्रै होइन अन्तर्राष्ट्रिय नेताहरूमा पनि आफू सर्वोत्कृष्ट छु भनेर बारम्बार जताउने केपी ओलीले नेपालीलाई राम्रोसँग अनुभव गराएका राजनीतिक शब्दावली हुन् – क्याकिस्टोक्र्यासी, क्लेप्टोक्र्यासी, कर्पोरेटोक्र्यासी, ओलीगार्की आदि । त्यस्तै उनले अधिनायकवाद र सामन्तवादको नमुना पनि पेस गरेर गएका छन् ।
ओलीले सबैभन्दा स्पष्ट उदाहरण पेस गरेको शब्दावली ‘क्याकिस्टोक्र्यासी’को अर्थ अनपढ, निकृष्ट र आफ्नो स्वार्थका लागि जस्तोसुकै निर्णय गर्न पछि नहट्ने शासनतन्त्र हो । आफूले जे बोले पनि हुन्छ, जति गैरजिम्मेवार व्यवहार गरे पनि हुन्छ र मेरा समर्थक खुसी भए मैले बोलेका हरेक वाक्य कानुन सरह हुन्छन् भन्ने सोच उनमा अत्यधिक थियो ।
कोभिड–१९ भाइरस नेपालको हिमाली हावामा ठहरै हुन्छ र नेपालीलाई यो रोगले केही गर्दैन भनेर सबैलाई मूर्ख बनाउने उनको शैलीका कारण नेपालमा करिब १० हजार मानिसको यही भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । बेसार पानीले कुल्ला गरेर घाँटीमा बसेको भाइरसलाई मारिदिनुपर्छ भन्ने, पानीसरा भए कालो तील चबाएर लगाए चट्ट बिसेक हुन्छजस्ता भ्रामक कुरा गरेर पनि उनले आफ्नो ‘विद्वता’को परिचय गराए ।
साथै चीनबाट रेल ल्याउनेदेखि भारतबाट पानी जहाज भित्र्याउनेसम्मका हावादारी घोषणा गरेर पनि आफ्नो बौद्धिक अवस्था देखाए । त्यतिमात्र होइन एउटा गोबर ग्याँस उद्योगको उद्घाट्न गर्न गएको बेलामा अब जनताका घरघरमा पाइपबाट खाना पकाउने ग्याँस पठाइन्छ भनेर गुड्डी हाँक्न पनि भ्याए । लोकतन्त्र र जनताका अधिकारविरुद्ध उनले जति पनि निर्णय लिए ती सबै उनको ज्ञान र विद्वताको कमीका कारण भएका थिए । तर, पढेलेखेका उनका सहयोगी सुवास नेम्बाङ्गजस्ता व्यक्ति पनि शक्ति आशक्तिका कारण मुखमा पट्टी बाँधेर बसे । यही संविधानअन्तर्गत निर्वाचित भएर त्यत्रो बहुमत ल्याएका प्रधानमन्त्रीले यही संविधानविरुद्ध एकपछि अर्को घात गरिरहँदा पनि नेम्वाङ्गजस्ता संविधान सभा अध्यक्ष पानी माथिको ओभानो भएर बसिरहे ।
प्रधानमन्त्री ओलीको शासनकालमा क्लेप्टोक्र्यासीको पनि स्पष्ट नमुना देख्न पाइयो । ‘क्लेप्टोक्र्यासी’को अर्थ चोरतन्त्र हो । अर्थात्, आफ्नो पद र शक्तिको आधारमा देशलाई रित्याउने तन्त्र हो क्लेप्टोक्र्यासी । उनको शासन कालमा सयौं त्यस्ता नीतिगत निर्णय भए जसमा ओली नजिकका व्यक्तिहरूले प्रशस्त कमाउन पाए । राजनीतिक नियुक्तीका पद बेचिए । उनका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक हुँदा पनि उनीमाथि केही कारबाही भएन । किन भएन भनेर गौर गर्नेबित्तिकै सहजै अनुमान गर्न सकिन्छ बाँस्कोटाले कस्को निर्देशनमा सो काम गरेका थिए । कोभिड–१९ सुरु भएसँगै करोडौंको स्वास्थ्य सामग्री ओम्नी नामको कम्पनीमार्फत ल्याएर करोडौंको भ्रष्टाचार गरियो । त्यतिमात्र नभएर ढुंगा, गिट्टी भारतलाई बेचेर अर्बौं कमाउने षड्यन्त्र पनि गरिएको थियो । सर्वोच्च अदालतको निर्णयलेमात्र त्यो रोकिएको हो ।
नेपालीलाई ओलीले अनुभव गराएको अर्को तन्त्र हो – कर्पोरेटोक्र्यासी । यो शब्दको अर्थ हुन्छ सत्ता संचालनमा केही चुनिएका कर्पोरेट हाउस अथवा व्यापारिक घरानाको हालीमुहाली हुनु । ओलीको शासन कालमा यति होल्डिङ्सलाई यति धेरै माया गरियो र तिनको हितका लागि कैयौं नियमै परिवर्तनसमेत गरियो । खोप ल्याउने काममा समेत कर्पोरेटको स्वार्थका कारण अहिले कोभिसिल्ड खोप लगाएका लाखौं व्यक्ति त्यसको दोस्रो मात्रा नपाएर व्याकुल भएर बसेका छन् । कुनै पनि व्यक्तिले सरकारबाट केही काम गराउनु परेको अवस्थामा ओली नजिक भएका कर्पोरेट नेताको विश्वास जित्नुपर्ने अवस्था आयो । व्यापारिक घराना विशेषका हितअनुकूल नीति र नियम बन्नु र शासनको भित्री तहसम्म केही कर्पोरेट हाउसको बलियो पकड हुनु भनेको के हो भन्ने पनि ओलीको शासनकालमा जनताले अनुभव गर्न पाए ।
राजनीतिशास्त्रमा अर्को पदावली पनि चर्चित छ – ‘ओलीगार्की’ । केपी शर्मा ओलीको थर पनि ओली भएका कारण यो पदावली उनका लागि निकै प्रयोग भयो । ओलीगार्की भनेको सत्तामा भएका नजिकका मान्छेले मात्र ठूलो काम गर्नसक्ने, ठूलो ठेक्का पाउने र राम्रा नियुक्ति पाउने व्यवस्था हो । ओलीको शासन कालमा त्यस्तो काम कति भयो भनेर गन्ती नै गर्न सकिन्न । नेकपाभित्र पनि एमाले र एमालेभित्र पनि ओली समूहको भित्रिया नभईकन सरकारसँगको ठूलो ठेक्का, सम्झौता गर्न नपाइने भएको थियो । गृहमन्त्री नजिकका व्यक्तिले एउटा व्यापारिक घरानाका प्रमुखलाई राज्य शक्तिको दुरुपयोग गरेर जेलमा राखेर ठूलो रकम उठाएको समाचारसमेत आयो । केही ठूला नेताका छोराहरूको संलग्नता नभईकन कुनै पनि महत्त्वपूर्ण काममा अरुको सहभागिता नहुने अवस्था आयो । वास्तवमा ओलीको अक्षमता, उडन्ते कुरा, लोकतन्त्र विरोधी भावना आदि सबैलाई एकै ठाउँमा राखेर ओलीगार्कीभन्दा पनि फरक पर्दैन ।
ओलीले अधिनायकवादको उग्र प्रदर्शन गरे । आफ्नो दलको उपाध्यक्षलाई राष्ट्रपति बनाउन सफल भएपछि ओलीले राष्ट्रपतिको मात्रै होइन एमालेका अत्यन्त प्रतिष्ठित नेता मदन भण्डारीको नाममा समेत दाग लगाए । आफ्ना विरोधीको आवाज दबाउन उनले जुन प्रकारका कानुन र नियम लगाए त्यसले उनको अधिनायकवादी शैलीको स्पष्ट व्याख्या गर्छ । सर्वोच्च अदालतले बारम्बार उनले ल्याएका अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने ऐन, नियमलाई रोक नलगाएको भए अहिले पाठकहरूले यो लेखसमेत पढ्न नपाउने दिन ओलीले ल्याउने थिए ।
अधिनायकवादको घृणित प्रदर्शन स्वरुप उनले आफ्ना विरोधी आवाज मत्थर गर्न ‘अरिङ्गाल’को समूहनै प्रयोग गरे । एक अवकाश प्राप्त प्रहरी अधिकृतको संयोजनमा साइबर सेना गठन गरेर उनका विरोधी कसैले केही पनि नकारात्मक टिप्पणी गर्यो भने तुरुन्त जाइलाग्ने समूह नै गठन गरेर राखेका छन् । सर्वोच्च अदालतको सोमवारको निर्णयसँगै सर्वोच्चको निर्णय नमान्ने हठ सहितका जुलुस यस्तै प्रकृतिका व्यक्तिहरूले संचालन गरेका छन् ।
अहिलेको संसारमा अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पदेखि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई लोकतन्त्रको आडमा शासन गर्ने ‘तानाशाह’का रुपमा चिनिन्छ । देशमा बहुदलीय प्रतिस्पर्धाको आधारमा निर्वाचन गर्ने तर आफू शासनमा आएपछि कुनै पनि अवस्थामा शासनको बागडोर अरुलाई जिम्मा नलगाउने प्रवृत्ति पहिल्यैदेखि नै देखिँदै आएको हो ।
संसारकै सबैभन्दा विकसित लोकतन्त्र भएको देशमा समेत ट्रम्पलाई शासनबाट ओराल्न निकै गाह्रो भइसकेको थियो । हिटलर पनि लोकतान्त्रिक निर्वाचनबाटै शासनमा आएका थिए जसले त्यत्रो यहुदीको नरसंहार गरे र विश्वलाई दोस्रो विश्वयुद्धमा होमे । ब्राजिलका राष्ट्रपति बोल्सेनारोलाई पनि निर्वाचित तानाशाह मानिन्छ ।
किनभने उनी पनि कानुनको शासन र जनताको हितमा भन्दा आफ्नो सनकका भरमा शासन चलाउँछन् । कोभिडका सन्दर्भमा उनले देखाएको मूर्खताका कारण ब्राजिलका जनताले ठूलो कहर भोग्नु परेको छ । त्यस्तै पोल्यान्ड, सर्बिया, हंगेरीजस्ता देशमा पनि निर्वाचित नेतृत्वको तानाशाही चलिरहेको छ । भोलिका दिनमा प्रधानमन्त्री ओलीको अन्तर्राष्ट्रिय तुलना भयो भने माथि उल्लेख गरिएका तानाशाहसँगै हुनेछ । यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई समेत बदनाम र कमजोर बनाउनेछ ।
यीनै सबै कुरा भोग्ने र ज्ञान पाउने मौका दिएका कारण नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई धन्यवाद् दिनुपर्छ । अब आउने भनिएका प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालको अन्त्यमा पनि यस्तै प्रकारको धन्यवाद दिन नपरोस् भन्ने कामनासहित !