site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
निवृत्तजीवन बिताएको आयोजना – पुराण लेखन

निवृत्तजीवन अनुभव र सबै किसिमका योग्यताले खारिएर पुष्ट भएको र एउटा कामबाट फुर्सद लिएर अर्को काम वा व्यवसाय गर्न तयार भएको अवस्था हो । यस अवस्थालाई सदुपयोग गर्दा नै जीवनभर आर्जन गरेको योग्यता र क्षमताको उपयोग भएर गुणस्तरीय वस्तु वा सेवाको उत्पादन हुन सक्छ । 

निवृत्त जीवन के हो ?

कुनै पनि व्यवसायबाट निश्चित जीवन अवधि पूरा गरेपछि अब काम गर्न सक्तैन, जीवनभर काम गरेपछि फुर्सद पनि दिनुपर्छ भनेर नयाँ पुस्तालाई काम गर्न आह्वान गरी पुरानो पुस्तालाई कामबाट अलग बनाउनुलाई निवृत्त गर्नु वा अवकाश दिनु भनिन्छ ।

Agni Group

नेपालको निजामती सेवामा ५८ वर्ष उमेर पूरा भएपछि अवकाश दिने व्यवस्था निजामती सेवा ऐनको दफा ३३ ले गरेको छ भने अन्य व्यवसायमा पनि निवृत्त हुने उमेरको हद तोकिएको हुन्छ । यद्यपि, निवृत्त शब्दको प्रयोग सरकारी वा गैरसरकारी क्षेत्रमा तलबी वा तोकिएको सुविधा पाउने गरी नियुक्त भएको पदबाट यथोचित वा यथाशक्य सुविधा दिएर बिदा दिनुलाई भन्ने गरिन्छ । 

कुनै पेसा व्यवसायबाट निवृत्त भएपछि पनि मानिस ऊर्जाशील र सक्रिय बन्न सक्तछ । निवृत्त भएपछि गर्ने कामको क्षेत्र रोज्ने कार्य भने नितान्तरुपमा निवृत्त व्यक्तिकै हुन्छ । उसैको लगाव, इच्छा, क्षमता, वातावरण, आर्थिक, सामाजिक, सांस्कृतिक प्रतिष्ठा, लाभ इत्यादिले प्रभाव पार्न सक्छ । यद्यपि, एक ठाउँबाट निवृत्त व्यक्तिको कामको रोजाइमा शारीरिक क्षमताको भूमिका प्रमुख हुन्छ । 

Global Ime bank

निवृत्त भएपछि गर्ने काम नेपालको सम्बन्धमा सामान्यतः घरगृहस्थीमै रमाउने, व्यापार व्यवसाय गर्ने, निजीक्षेत्रका कलेज वा विद्यालयमा पढाउने, रामायण, महाभारतजस्ता पुस्तक पढ्ने आदि हुनसक्छन् । कोही भने समाजसेवा र त्यतैबाट राजनीतिमा प्रवेश गर्ने पनि हुन्छन् ।

जीवनभर आर्जित सीप र क्षमताको सदुपयोग गरिरहने सोच लिएर कुनै न कुनै उत्पादनमूलक काम गरेर जीवन बिताउनु निवृत्त व्यक्ति, समाज, परिवार हुँदै राष्ट्रकै लागि श्रेयस्कर पनि हुन्छ । हुनत, कतिपय निवृत्त व्यक्तिहरु तास, जुवाजस्ता कुलतमा लाग्ने, मदिरा पिउने, अनावश्यक कुरा र चुक्लीमा सामेल हुने, ठगी गर्ने उद्देश्यले दलाली गर्नेजस्ता पनि नभेटिने होइनन् ।   

जीवनवृत्ति र निवृत्तजीवन

जीवनका पाटाहरुमा बाल, किशोर, युवा, बृद्धजस्ता वयसँग सम्बन्धित समयका नाम भएजस्तै व्यवसायगत रुपमा पनि कृषि, व्यापार, शिक्षण, जागिर आदि विभिन्न पेसागत नाम हुन्छन् । काम खोजेर र योेग्यता भएर पनि रोजगारी नपाएर वा नगरेर बस्ने स्वेच्छिक बेरोजगार वा निरपेक्ष बेरोजगार पनि कतिपय हुन्छन् ।

यसरी हेर्दा जीवनकालमा सम्बोधन नगरिने कोही हुँदैन । सीप र क्षमता भएर पनि उमेर वा अवस्थाको कारणले काम गर्न नपाइने ड्राइभर, पाइलट, चिकित्सक आदि कतिपय पेसा हुन्छन् । सामान्यतः सधैँ काम गर्न पाउनेहरुमा स्वतन्त्र शिक्षक, लेखक, चित्रकार, पण्डित/पुरोहित आदि पर्छन् । 

नेपालजस्तो देशमा सधैँ र नमरुञ्जेल काम गर्न पाइने भने राजनीति भएको छ । नेपालमा राजनीति गर्नेहरुलाई अहिलेसम्म उमेरको हद तोकिएको छैन । अरु पेसा व्यवसायी बूढा हुन्छन्, राजनीति गर्नेहरु कहिल्यै बूढा हुँदैनन् । उनीहरुका आँखा, कान सधैँ सक्रिय र सशक्त नै हुन्छ । घरमा बसेर सीप र क्षमताको उपयोग गर्ने अध्ययन, अनुसन्धान, लेखन, चित्रकारिता, परामर्शदाता आदिका रुपमा काम गर्दा भने सायद कुनै पनि देशमा अंकुश लगाइएको हुँदैन ।  

म आफैँ के गरिरहेको छु ?

जीवनभर जस्तै काम गरेर निवृत्तजीवन बिताउनेको सूचीमा म पनि परेको छु । झन्डै साँडे तीन दशक नेपाल सरकारको सेवा गरेर ८ वर्ष अगाडि निवृत्त भएपछि मैले पनि अबको जीवन कसरी बिताउने होला भनेर स्वमनोपरामर्श गरेँ । सरकारले उमेरको हदले निवृत्त बनाइदिए पनि ईश्वरीय अनुकम्पा, नित्य गर्ने गरेको योगबल, शारीरिक सक्रियता, जीजीविषा र निष्कर्मण्य हुनुहँुदैन भन्ने दरिलो मानसिक आँट थियो ।

छोराछोरी आफ्नो पेसा व्यवसाय गरी स्वतन्त्र र सक्षम भएर आआफ्नो जीवनचर्या चलाउन थालिसकेका थिए । उनीहरुको पठनपाठन र यथायोग्य क्षमता विकास मेरो निवृत्त नहुँदैको अवधिमा भइसकेको थियो र आर्जित क्षमताको विकास आफैँले गर्नुपर्छ भन्ने पूर्ण जानकारी उनीहरुमा नै परिपक्व भइसकेको थियो ।

यसैले उनीहरुलाई काम गर्न मेरो थप सहयोग आपश्यक थिएन । समाजले औँला ठड्याउन सक्ने ठाउँ नभएकाले पितृऋणबाट एक किसिमले मुक्त नै थिएँ ।

छोराछोरीलाई कुनै बाबुआमाले पनि धन जम्मा गरिदिनु पर्दैन । असल छोराछोरीले बाबुआमाको आर्जन खोज्दैन र खराब छोराले जति सम्पत्ति भएपनि सिध्याउँछ भन्ने अनुभवी र विद्वान्हरुको भनाइमा म सहमत पनि थिएँ । त्यसैले निवृत्त जीवनको उपयोग गर्ने बारे ती कुरालाई मनन गरेर निर्णय लिन म स्वतन्त्र थिएँ । श्रीमती जे निर्णय लिए पनि सच्चा सहायक बन्ने स्वभावकी भएकाले मेरो मनोबल अझ उँचो थियो । 
लगनशीलता, सीप र शैक्षिक योग्यताको हिसाबले म पढ्न लेख्न बढी मन पराउनेहरुमा पर्दैआएको छु । सरकारी सेवामा रहँदा पनि केही लेख्नुपर्‍यो, शुद्ध बनाउनुपर्‍यो, अंग्रेजीमा अनुवाद गर्नुपर्‍यो भने मेरो जिम्मामा आउने गथ्र्यो ।

नेपाली साहित्य, अर्थशास्त्र, कर, सार्वजनिक वित्तमा आधा दर्जन जति किताव र आरोग्य गिती एल्वम प्रकाशित भइसकेका थिए भने ‘कान्तिपुर’ दैनिकमा ’अर्थजगत’ स्तम्भ लेख्ने गर्थेँ ।

रेडियो नेपालमा अर्थजगत कार्यक्रम चलाउथेँ । अर्थशास्त्रीका रुपमा समीक्षा गर्न बोलाइन्थेँ । विश्वविद्यालयहरुमा एमफिल र पीएचडीका कक्षा, डिजर्टेसनमा गाइड र परीक्षण गरिदिने गरेको थिएँ ।

यिनै अनुभवलाई आधार वनाएर निवृत्त जीवनलाई ऊर्जामय बनाउनुपर्छ भन्ने विचार लिएँ र आफूसँग भएको प्राज्ञिक क्षमताको समीकरणगर्ने विचार गरेँ । अनि, त्यो किसिमको काम के हुनसक्ला भन्ने सोचेँ । 
पिताजी बितेको ३० वर्ष हुन लागिसके पनि मलाई बात्सल्य प्रदान गर्ने आमा हुनुहुन्थ्यो । सबैको लागि हित हुने काम गर्ने र आफूले जस्तोसुकै कठिनाइ बेहोर्न परे पनि सहन गरेर अर्काको सधैँ सहयोग र उद्धारमा समर्पित हुने स्वभावकी आमा सधैँ धार्मिक पुस्तक पढ्न र प्रवचन सुन्न लालायित हुनुहुन्थ्यो ।

आफूले धेरै पढ्न नसके पनि छोरीछोरीले धेरै पढून् भन्ने सोच राख्ने आमा आफैँ नेपाली रामायण महाभारत पढ्नुहुन्थ्यो । एकादशी महात्य र कहिले कहीँ भागवत एक दुई अध्याय सुनाइदिन्थेँ ।

कृष्ण अष्टमीमा कृष्णजन्म र शिवरात्रिमा शिवपुराणका केही अध्याय भने निकै वर्षदेखि सुनाउँदै आएको थिएँ । म सेवा निवृत्त हुने बित्तिकै उहाँले भन्नुभयो – ‘बाबु ! तँलाई अब फुर्सद छ, मलाई सबै पुराण सुनाइदे’ । आमाको आग्रहअनुसार मैले आमालाई १८ पुराण नै सुनाइदिने विचार गरेँ र अग्नि पुराणबाट आरम्भ गरेँ ।
धेरैवर्ष संस्कृत पढ्न र संस्कृतको अभ्यास गर्न छोडेर लगभग जीवनको ऊर्जामय समय अर्थशास्त्र र त्यससँग सम्बन्धित कर, सार्वजनिक वित्त, स्रोत व्यवस्थापन, खर्च प्रणाली आदि बारे काम गरी अर्थ, वाणिज्य, मन्त्रिपरिषद, भूमिसुधार मन्त्रालय, राष्ट्रिय महिला आयोग  आदिमा काम गरेकाले पहिले पढेको संस्कृत बिर्सिएजस्तो भए पनि पुनर्जीवित बनाउदै गएँ । आमालाई पुराण सुनाउने क्रमलाई अघि बढाउँदै गएँ ।

करिब एकमहिना सुनाइसकेपछि सोचेँ – ‘अब म सबै आमा र बाहरुलाई हुुनेगरी नेपालीमा पुराणग्रन्थ तयारगर्छु’ । त्यसपछि संस्कृत नजानेर पनि पुराण पढ्न चाहनेहरुलाई उपयोगी होस् भनी आमालाई सुनाएका महापुराणका हरेक अध्यायको सारांश नेपालीमा लेख्न थालेँ ।

साथै, लेखिसकेका पुराणहरु क्रमशः प्रकाशनगर्दै जाने बन्दोवस्त पनि मिलाएँ । यसैबीच आमा परमधाम जानुभयो । तर पनि पैले पुराण पढ्न र लेख्न छोडिन । अहिले ८ वर्ष भयो निरन्तर म यसैमा लागिरहेकोछु । यस अवधिमा १७ वटा महापुराणको लेखन सकिसकेकोछु भने १५ वटा पुराणहरु प्रकाशन पनि भैसकेका छन् । एमेजन किन्डलको लिन्कबाट हार्डकपी वा सफ्टकपीमा पनि पढ्न र प्राप्तगर्न सकिने व्यवस्था पनि मिलाएको छु ।

अब दुई वर्षभित्रमा १८ वटै पुराणको कामसक्ने योजना बनाएकोछु । 
म सामान्य घर गृहस्थीगरेर बस्ने मान्छेले कुनै आय आर्जनको आशा नगरीकन लगातार १० वर्षको आयोजना बनाएर काम गरिरहेको छु ।

अहिलेसम्म कसैले नगरेको काम गरेर निवृत्त जीवन बिताइरहन पाएकोमा खुसी पनि भएको छु । यस कामबाट तत्काल मलाई कुनै आय आर्जनहुने अपेक्षा पनि छैन । तैपनि यस्ता दीर्घकालीन महत्त्वका काम गर्ने बुद्धि आएकोमा नत मस्तकभई माता सरस्वतीलाई प्रणाम गर्छु र आफैँमा प्रशन्न पनि छु ।

करोडौं रुपियाँको बजेट खर्च गरेर राज्यले विद्वान्हरुमार्फत गराउनुपर्ने काम एक्लै आफ्नै खर्च र लगनशीलतामा गर्नसकेकोमा गौरवान्वित पनि भएकोछु । कसैकसैले आफ्नै व्याख्या र बखान गरेको पनि भनेछन् तर पुराणप्रेमी इच्छुकहरुले थाहा पाउन् भनेर यो यथार्थको जानकारी गराएकोछु । 

समाजमा पुराणले पुर्‍याउँने योगदान

पुराणले समाजलाई पुर्‍याउने योगदान समाजपरक हुन्छ । हाम्रो समाज सनातन वैदिक संस्कृतिको प्रभावमा चलेको छ । त्यसैले बूढाबुढीलाई आदर गर्नुपर्छ, गुरुको सम्मान गर्नुपर्छ, प्रेम, मित्रता, सहयोग, सद्भाव, विश्वबन्धुत्व कायम राख्नुपर्छ भन्नेतर्फ हामी सधैँ सजग छौँ । हामी सबै प्राणीमा समानताको वकालत गर्छाैँ।

यसैक्रममा गाई, चरा, सूर्य, आकाश, पृथ्वीलगायत प्रकृतिको पूजा गर्छौँ । त्यसमाथि स्वाभाविक रुपले उमेरले ५ दशक पूरा गर्दासम्म सबैमा अदृश्य परमात्माप्रतिको झुकाव बढेकै हुन्छ । जीवनमा जे जे काम गरेर जतिसुकै सम्पत्ति र मानसम्मान आर्जन गरे पनि अन्त्यमा व्यक्तिले शान्तिको आवश्यकता बोध र खोजी गर्न थाल्छ ।

त्यसबेलाको आधार पौराणिक ग्रन्थहरु नै हुनेगरेका छन् । तर, अहिले विश्वले नै उदाहरणीय मानेको सनातन संस्कृति र परम्परामा अनास्था फैलाउने, धर्मपरिवर्तनको नाममा आर्थिक लोभमा पारेर सनातन संस्कृतिविरुद्ध जनमत बनाउने, घरघरमा कलह, बावु र छोरामा बेमेल, पतिपत्नीमा वैमनस्य, सम्बन्ध विच्छेद बढेको अवस्था छ ।

समग्रमा सामाजिक विश्वासमा धमिरा लागेको छ । यस अवस्थामा सुधार गर्न नैतिक शिक्षाको रुपमा रहेका पुराण साहित्यको सहायता लिन सकिएमा वृद्धावस्थामा आवश्यक पर्ने शान्ति, युवावस्थामा आवश्यक पर्ने संयम र बाल्यावस्थामा आवश्यक पर्ने शिक्षा प्राप्त गर्न सकिने हुन्छ ।

यही विश्वास लिएर मैले निवृत्त जीवनमा पुराण लेखनलाई १० वर्षे आयोजना वनाएर काम थालेको हुँ ।
badripp@gmail.com

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC