हिन्दीमा एउटा भनाइ छ - दिल का रस्ता पेट से होकर जाता हे । त्यो नारीको दिलको रास्ता भने हैन । केवल पुरुषको हो ! किनभने पुरुषको हृदयसम्म पुग्न यो बाटो खोज्ने अधिकांश नारीमात्रै हुन् ।
हिजो बेलुकी ‘द ग्रेट इन्डियन किचन ‘ भन्ने फिल्म हेरेँ । सामाजिक सञ्जालमा यति चर्चित फिल्म नहेरी मन कहाँ मान्थ्यो र ! फिल्म पनि राम्रै रहेछ । पितृसत्तात्मक समाजको गहिरो चित्रण गरी केस्रा केस्रासमेत केलाउन भ्याएको । तर, त्यहाँ देखाइएका अनगिन्ती कुरामध्ये मेरो ध्यान भने रह्यो त त्यहाँको किचनमामात्र । हेर्दा लाग्यो पितृसत्तात्मक समाजसँग अनेक विषयमा वर्षौं सङ्घर्ष भए पनि भान्साका निमित्त कहिल्यै भएन । त्योमात्र यस्तो ठाउँ होला जहाँ पितृसत्ताले कहिले कब्जा गर्न चाहेन ।
धेरै पहिलेदेखि छोरा मान्छेले घर हेर्ने, कमाउने अनि परिवारको रेखदेख गर्ने गर्थे भने छोरीमान्छेले घरको कामकाज र भान्सा सम्हाल्थे । तर पुरानो श्रम विभाजनका आधारमा सधैँका लागि सामाजिक प्रथाका नाममा छोरीमान्छेलाई भान्सामा सीमित गर्नु कति उचित हो भन्ने प्रश्न मनमा उठिरह्यो । आजका छोरी आफैँ कमाउछन् । परिवारको रेखदेख गर्छन् । अनि भान्सा पनि हेर्छन् । तर यति हुँदाहुँदै पनि भान्साको सबै जिम्मेवारी छोरीमान्छेकै मात्र हो भनेर सोच्नु र थोपर्नु कति उचित हो ? सोचिरहेँ ।
फिल्म हेरिसकेपछि लाग्यो यहाँ देखाइएको 'द ग्रेट इन्डियन किचन 'जस्तै हामीकहाँ पनि त छ 'द ग्रेट नेपाली किचन '! एउटा छोरीमान्छेले पकाएर राखेको तातो भात पस्केर थालसम्म पुर्याउन नसक्ने त्यस्ता कैयौँ छोरामान्छेको किचन ! थरीथरीका परिकार राखी मिठो मानी खाएको थाल टेबलबाट उठाएर बेसिनसम्म पनि लान नसक्ने छोरा मान्छेको किचन । छोरी मान्छेले सहस्र जुठा भाडाँ मस्काइरहँदा जुठोले अछुत नै पो भइन्छ कि जस्तो गरेर आफ्नै जुठो गिलास तर्केर पर सार्ने छोरामान्छेहरुको 'द ग्रेट नेपाली किचन' ।
आखिर खाना भन्नेबित्तिकै हामी किन आमा, हजुरआमा, दिदीबहिनी, पत्नी नै सम्झिन्छौँ । किन छोरी मान्छेको प्रकृतिलाई खानासँग मिसाएर भान्साको ढोकाबाट ननिस्कने गरी राखिएको होला ? हाम्रो घरको भान्सालाई 'द ग्रेट किचन ' बनाउनुमा ठूलो हात खासमा हाम्रा चलनको छ सानैदेखि छोरीमान्छेलाई भान्साको सबै काम सिकाउने अनि छोरामान्छेलाई बसेर अह्राउन लगाउने चलनको दोष । छोरी बिदा भएपछि अरूकी छोरी आएर भान्सा हेरिदिनै पर्छ भन्ने चलनको दोष । भान्सा चाहिँ छोरीमान्छेकै जिम्मेवारी अनि भान्साको काम कहिलेकाहीँ गरे छोरामान्छेको समझदारी ठान्ने चलनको दोष ।
वास्तवमा हाम्रो 'ग्रेट किचन'ले लैङ्गिक विभेदजस्तो तीतो सत्य उद्घाटित गर्छ । घरमा भएका दाइभाइ सबैको पकाइतुल्याइ गर्न दिदी बहिनीलाई मात्र अह्राइन्छ तर त्यसको सट्टा छोरामान्छेलाई आफ्नो काम आफैँ गर्न लाइँदैन । भान्साले छोरीमान्छेको खानाले पाएको प्रश्रयमात्र देखेको हुँदैन् । उसले महिनावारी हुँदा भोगेको अछुतोपन पनि देखेको हुन्छ । अनि त्यही अछुतोपनमा समेत त्यो भान्सा थाम्दिने अर्को छोरीमान्छेको खोज देखेको हुन्छ ।
भन्ने नै हो भने भान्साबाट निस्किने धुवाँ धुवाँमात्र नभएर वर्षौदेखि भान्साभित्र रुमल्लिएका अनेक प्रश्नका पोका पनि हुन् । किन 'मेरो बाबुलाई त केही पकाउनै आउँदैन' भन्ने वाक्यलाई 'मेरी छोरीले त सबै पकाउन जानेकी छे' जस्तै सहजताको साथ बोलिन्छ ? किन अरूको छोरी माग्न जादाँ ' के उनलाई किचनको सबै काम आउँछ त ?' भनेर सोधिनु स्वाभाविक बनाइएको छ ! किन यो प्रश्नसगैँ हामीले केटापट्टिकालाई 'के तपाइँको बाबुले मेरो छोरीलाई पछि सघाउँछन् त ?' भनेर सोध्न नसकेको ? किन छोरीमान्छेको गुण उसको पाककलाबाटै जोखिन्छ ? छोरीमान्छे बिहे भएर अरुको घर जादाँ मीठो पकाउन नजाने 'माइतमा केही सिकाएनन् ?' भनेर दोष दिइन्छ । आफ्नै घरका अन्य पुरुष सदस्यलाई चाहिँ भान्साको काममा अघि सारिँदैन ?
यति सब भनिरहदाँ छोराले खाना पकाउनै पर्ने अनि छोरीले गर्नै नहुने भनेको हैन । अनि सबै घरमा यस्तै चलन हुन्छ भन्ने पनि छैन । कति यस्ता उदाहरणीय घर पनि होलान् जहाँ भान्सा सबैको साझा जिम्मेवारी होला । ती घर तपाइँ हाम्रो वरपर छन् भने त्यहाँबाट पक्कै केही सिक्नुपर्छ । मैले कतै पढेको थिए - पकाउन त सबैले जान्नै पर्छ । लिङ्गभेदबाट भोको पेट त भरिँदैन । वास्तवमा खानु जीवनको आधारभूत आवश्यकता भएजस्तै खाना बनाउन जान्नु पनि जीवनको आधारभूत सीप नै हो । प्रकृतिका रहस्य खोली, त्यसलाई तयार पारी भान्साबाट हाम्रो अगाडिको प्लेटसम्म खाना ल्याउने सीप ।
हामी खाने समयमा परिवारका सबै बसी खान्छौँ भने पकाउने बेला किन साथ नहुने ! सधैँ खाना बनाइदिन नसके पनि भान्साको रापले खारिएकी छोरीमान्छेलाई सघाइदिन हात अघि बढाउँदा कसो होला ? भोलि आउने दिनमा फेरी अर्को 'ग्रेट नेपाली किचन' नबनोस् भनेर कोसिस गर्दा कसो होला ? संसार बदल्दिने गफ हाक्दै हिँड्नेहरूले परिवर्तनको सुरु आफ्नै भान्साबाट गर्दा कसो होला ? पुरानो श्रम विभाजनको सट्टा अब समान श्रम विभाजन अपनाउँदा कस्तो होला ?
अबको भान्सा परिवर्तनको मुहार पनि हो । परिवर्तन चाहनेले 'मेरी छोरीलाई भान्सामा सघाउने ज्वाइँ परून् भन्दै गर्दा आफ्नो छोराले भान्सामा बुहारीलाई सघाएको पनि हेर्न सक्नुपर्छ ।
(नेपाली सेना स्वास्थ्य विज्ञान संस्थामा एमबीबीएस चौथो वर्षमा अध्ययनरत)