मानिस जातले हैन सोचले ठूलो सानो हुन्छ । जात समाज निर्माणको एक महत्त्वपूर्ण आधार मानिन्छ । नेपाल सांस्कृतिक विविधता भएको देश हो । यहाँ विभिन्न जातजातिको बसोबास छ । परापूर्व कालमा श्रम विभाजनको क्रममा जातको वर्गीकरण गरिएको मानिन्छ ।
मानिस सबैको रगत रातो नै हुन्छ । तैपनि एक्काईसौं शताब्दीमा समेत जातका बारेमा अनेकौं टिप्णी हुने गर्छन् । शिक्षित भनिनेमा नै धेरै कुसंस्कार पाइन्छ । समाज धेरै अगाडि बढी सक्यो भन्छौँ तर सकारात्मक सोचको विकास भने त्यही गतिमा हुनसकेको छैन । समाजमा कुप्रथाको जरो उखेल्न नसक्दासम्म जातपातको विभेदले समाजमा आफ्नो स्थान सुरक्षित बनाइ राख्नेछ ।
सबै जातजातिको उत्तिकै महत्त्व हुन्छ । सबैको आआफ्नो पहिचान छ । एकले अर्काको कामलाई सम्मान गर्ने चलन छ । आज न बाहुनको कुलमा जन्मने सबैले पुरोहित काममात्रै गरेर बसेका छन् न कामीका सन्तानले पुर्ख्यौली आरान थापेर बसेकाछन् । क्षेत्रीका सन्तानले व्यापार गरेर बसेका हुन्छन् । यस्तै सबै जातजातिले पुर्ख्यौली पेसा परिवर्तन गरेको पाइन्छ
समाजमा यस्तो परिवर्तन भइसक्दा पनि समाजलाई जातीय द्वन्द्वतर्फ लैजाने मानसिकता बोकेकाहरूले समाजमा भ्रम फैलाइरहेका छन् । जात त एउटा चिनारीमात्र हो । जातका बारेमा किन यति धेरै बहस ? यो हाम्रो समाजका लागि आजको आवश्यकता हो र ?
नेपालको संविधानमा हरेक जातजातिको पहिलादेखिको सबै मूल्याङ्कन गरी अधिकार दिइएको छ त ? दमाईको छोराले आरक्षण पाउँदा क्षेत्रीको छोरालाई केको टाउको दुखाइ ? आज बाहुनको छोरो सरकारको उच्च पदमा पुग्दा जनजातिको किन टाउको दुख्नु ? सबैलाई संविधानले विगतदेखि वर्तमान समयसम्मको हरेक परिवर्तनलाई र आवश्यकता हेरेर अधिकार दिएको छ ।
त्यसैले हाम्रो समाजमा ठूलो र जात सानो जात भनेर एकअर्कालाई गालीगलौज गर्ने, मानमर्दन हुने कार्य गर्ने, जस्ता अनुचित क्रियाकलापले कसैको हित हुँदैन भन्ने सबैले मनन गर्नुपर्छ ।
जातको विभेद र विवाद चर्काउनेलाई कानुनअनुसार दण्ड सजाय दिनुपर्छ भने सरकारी पक्षबाटै दोषीलाई संरक्षण गर्ने कार्य बन्द गरिनुपर्छ । जातकै आधारमा कसैले कसैलाई तिरस्कृत गर्न हुँदैन । जातिगत विभेद समाजका लागि कलंक भएकाले यसलाई छोड्नुपर्छ । जात जे सुकै होस् समाज साझा फूलवारी हो र त्यसमा सबैले फुल्न पाउनुपर्छ । सबैको आआफ्नो रंङ्ग छ ।
प्रकृतिमा सबैथरी फूल फुलेजस्तै समाजमा सबै जातजाति बाँच्न पाउने अधिकार छ । छेकथुन र भेदभाव गर्ने अधिकार कसैलाई छैन ।