आज तिम्रो १३ औँ दिनको पुण्यतिथि । देश तिम्रो जुठोबाट मुक्त भएको छ । तर, झुटो बोलेर नागरिकलाई दुःख दिनेहरूबाट भने मुक्त भएको छैन । हुन त मृत्यु वरण गर्ने सबै श्रद्धाञ्जलिका हकदार हुन्छ्न् । तर आफ्नो पार्टीका झिना मसिना कार्यकर्तालाई समवेदना दिने र श्रदाञ्जलि सभा राख्नेहरुले तिम्रालागि दुई शब्दसम्म पनि खर्च गर्न सकेनन्। गरून् पनि कसरी ? अध्याँरो मनले सत्यको उज्यालोको सामना गर्न त्यति सजिलो कहाँ हुन्छ र ?
तिमी अब सम्झनामा मात्रै बाँकी भयौ ।अब तिमी छैनौ भन्ने कुराले पीडा त दिन्छ तर नियतिको अगाडि हाम्रो के नै लाग्छ र ? भन्छन्, यो कली युग हो । यहाँ तिमीजस्ता राम्रा मान्छे धेरै समय बस्न सक्दैनन्। यो समाज तिम्रो व्यक्तित्व सुहाउँदो त थिएन तर पनि यो समाज र राज्यलाई गति दिन तिम्रो आवश्यकता थियो । तिमी यो समाजका लागि बनेकै थिएनौ । किनभने यो समाज तिम्रो इमानदारीमैत्री थिएन । भलै, तिमीले भरमग्दुर प्रयास गरेका थियौ नागरिक, समाज र राज्यलाई सही मार्गतर्फ डोर्याउन ।
अब जहाँ पनि हुन्छौं त्यहाँ तिमीलाई शान्ती मिल्नेछ। तिमीले तिम्रोतर्फबाट शतप्रतिशत दिँदा दिँदै पनि यो समाज र राष्ट्रको संरचनामा केही बदलाव आएन । तिम्रो योजनामा साथ दिनेहरू कोही भएनन् । सामाजिक सञ्जालमार्फत् कुर्लिए र उचाले तिमीलाई । अनि पछारे भुइँमा नमज्जाले । यहाँ नफाट्नको लागि त ब्रान्डको ट्याग भएकै जुत्ता लगाउनुपर्छ । चाहे त्यो बलियो होस् या कमसल। यहाँ उचाल्ने र पछार्नेको भिड छ भन्ने जान्दाजान्दै पनि तिमीले आफ्नो कर्तव्य पूरा गर्न कसर राखेनौ । त्यो नै ठूलो योगदान थियो । तिमी जहाँ पनि छौ विचित्रको शान्ति महसुस गरिरहेको छौ होला ।
तैपनि, अब तिमीसँग भौतिक भेटघाट हुँदैन भनेर स्वीकार्न गाह्रो भएको छ। लाग्छ, तिमी यो समाजमा देवदूत बनेर आयौ । र थाेरै भए पनि सत्यकाे बाटो देखायौ। भगवानका दूतहरू धेरै दिनका लागि आउँदैनन् । यो समाजको परीक्षा लिन थोरै समयका लागि आउँछन् । अब यो समाजले तिमीबिनाकाे बाँकी यात्रा आफैँ तय गर्नुपर्छ। उज्ज्वलले उज्यालो बनाउन नसकेको समाजलाई तिमी भगवानको घरबाट हेरेर मुस्कुराउँदै छौ होला।
यहाँबाट तिमीलाई दुःख, थकाइ, धोका मात्रै मिल्यो । र, अन्त्यमा आफ्नै घर फर्कन बाध्य बनायो। तिमी यो अशान्त समाजको अस्थिर व्यवस्थासँग लड्दा लड्दै थकित थियौ । जे होस् तिमी फर्कँदा फर्कँदै नेपालीको मनमुटुमा सधैँ रहने भएर फर्कियौ।
तिम्रा ध्येयका लागि लड्नेहरूलाई यो जीवन एउटा कठिन यात्रा बनेको छ । तिमीविना हामीले शून्यलाई अँगाल्नु पर्नेछ र लतार्नु पर्नेछ जिन्दगी यही अस्थिर व्यवस्थाको सिकार भएर । तिम्रो सम्झना हाम्रो प्रत्येक सास सँगै हुनेछ। फोक्सोमा अक्सिजन पुर्याउन नपाएर तिमीसँगै थुप्रै नेपालीले प्राण छोडेका छन् । ती सबैका आफन्तका आत्मामा पनि तिमी सधैँ बसिरहने छौ ।आज देशले सम्पूर्ण नेपाली जनताको नेता गुमाएको छ । इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएर गयौ।
पदमा टाँसिएर बस्नु हुँदैन भनेर तिमीले सिकाएको पाठ एक दिन यहाँका मनुवाले बुझ्नेछन् र आत्मसात गर्नेछन् । हुन त, तिमीलाई लाग्ला तिमीले यो समाजमा धेरै गर्न बाँकी छ र त्यसको लागि फेरि आउँछु भन्ने । तर, पनि तिम्रो लागि आराम गर्ने समय हो यो । अहिले आरामै गर । जुन दिन हाम्रो समाजका नागरिक विवेकशील हुन्छन् र यो समाज तिम्रो उपस्थितिको लायक हुन्छ, तबमात्र आउनु ।
कुनै बेला मतपत्रमा तिम्रो नाम नदेख्ने र देख्न नचाहनेहरूले तिम्रो अनुपस्थितिमा धेरै अक्षर लेखे । सायद उनीहरु जान्छन् - तिमी भएको ठाँउमा समाजिक सञ्जाल छैन भनेर । हुन त सामाजिक सञ्जालमा कुर्लिनेहरू तिम्रा समर्थक थिए भन्ने हो भने तिमी हिजो जहाँ थियौ त्यहाँ हुँदैन थियौ र पनि तिमीले छाडेर गएपछि त झन् समाजिक सञ्जालमा तिम्राप्रतिको हार्दिक श्रद्धाञ्जलिको वर्षा नै छ । झन् ती पोस्टहरूमा आएका लाइक, कमेन्ट र सेयर त गनि सक्नु नै छैन। तिम्रो श्रद्धाञ्जलिका लागि समाजिक सञ्जालमा गनेरै नसकिने लाइक , कमेन्ट र सेयरकाे सट्टा भोट दिएको भए आज सायद देशकाे हालत अलि फरक हुन्थ्यो कि ? यसले प्रष्ट हुन्छ यहाँ गोहीकाे आँशु चुहाउनेमात्र छन् र उनीहरू सामाजिक सञ्जालमा होइन असामाजिक जन्जालमा मस्त छन् ।
तिमी नेपाल हाम्रो घर हो डेरा होइन भन्थ्यौ । तर, तिमी हामीलाई डेरामा नै छोडेर आफ्नो घर गयौ। हामी डेरामा नै छौँ र रहने छौँ । सायद हामी घरमा बस्ने हैसियत भएका नै थिएनौ होला ।
तिमी नेता थियौ कि थिएनौ मलाई थाहा भएन । तर तिमी एउटा असल र जिम्मेवार नागरिक भने अवश्य थियौ। तिमी समाजको विकृति, विसङ्गति सफा गर्ने असल नागरिक थियौ । तिमीजस्ता धेरै युवा यो देश सही दिशातिर लम्किनुपर्छ भन्ने चाहना राख्छन् तर आवाज उठाउन सक्दैनन् । किनभने उनीहरुलाई सुन्ने कोही छैनन् । तिनै आवाज विहीनहरूको आवाज थियौ तिमी ।
दुर्भाग्य, आवाज उठाउँदा उठाउँदै थकित भएर बिदा भयौ । सकारात्मक र मजबुत समाज निर्माणका लागि असल नेतामात्रै होइन असल नागिरककाे पनि आवश्यकता हुन्छ । जब नागरिक असल हुन्छन्, सचेत हुन्छ्न् तिनैमध्येबाट असल नेता निस्कन्छन् । शान्तिसँग बाँच्न नपाउनेहरुले भन्ने एउटामात्र कुरा छ त्यो हो आत्माले शान्ति पाओस् । तिनको श्रद्धाञ्जलि बिनै पनि तिम्रो आत्माले शान्ति पाइसकेको छ । यो बिरामी समाजसँगको दूरीले तिमीलाई अद्भूत शान्ति दिएको हुनुपर्छ ।
यो १३ दिनमा तिम्रो यति धरै बढाइचढाइ गरियो कि म अचम्म भएँ । धेरै लेख पढ्ने अवसर पाएँ । एउटा कुरा प्रष्ट के भयो भने तिमी यस्तो थियौ उस्तो थियौ भन्नेहरू तिमीले बनाएको पार्टीका नभएर अन्य पार्टीका थिए । दुःख लाग्दो कुरा, फेरि एकपटक तिम्रो नाममा राजनीति गरे । जिउँदो हुँदा देखाएको बाटो नहिँड्ने , साथ र सम्मान नदिने तर मरेपछि श्रद्धाञ्जलिको ओइरो लगाउने संस्कारबाट ग्रस्त छ हाम्रो समाज । यसैको झल्को छर्लङ्गै देखियो यसपटक ।
यहाँ त अशान्तिमात्र छ र अशान्ति नै रहने छ । तर एक दिन विवेक हराएका नागरिकको विवेक फिर्ता आउनेछ र तिमीजस्ता थुप्रै विवेकशील नागरिकको सपना साकार हुनेछ भन्ने आशा छ । तिम्रो आत्माले शान्ति महसुस गरिरहेको छ भन्नेमा विश्वास छ ।