काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले थप एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्न र तरकारी पसल पनि एक साता ठप्प गर्ने निर्णय भएको छ ।
‘‘उपत्यकावासीले एक हप्ताका लागि खाद्यान्नको जोहो गरिसकेका होलान् । नगर्नेहरूका लागि अझै दुई दिन समय पनि छ,” प्रजिअ पराजुलीले भने ।
दुध, माछा मासुका पसल भने बिहान ९ बजेसम्म खोल्न दिइने छ ।
प्रजिअ पराजुलीले एकसाताको निषेधाज्ञामा खाद्यान्न पसल बन्द गरेर छिट्टै काठमाडौं उपत्यकावासीलाई सहज जीवनशैलीमा फर्काउन यस्तो निर्णय गरेको बताए । यसबाहेक सवारी साधनको हकमा पनि कडाइ गरिनेछ । बैंक वित्तीय संस्थाको हकमा पनि थप कडाइ गरिनेछ ।