site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षामन्त्रीलाई पत्र

आदरणीय शिक्षा मन्त्रीज्यू ,

सादर नमस्कार !

म विगत १३ महिनादेखि कक्षा दसमा अध्ययन गर्दै एसईई परीक्षाको आवश्यक तयारी गरिरहेका विद्यार्थीहरूमध्ये एक हुँ ।

गतवर्षको वैशाख महिनादेखि नै हामीले अनलाइनका माध्यमबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका छौँ । विसं २०७८ जेठ १३ गतेदेखि सञ्चाल हुने भनी तोकिएको हाम्रो परीक्षा समयमा नै हुनेछ र हाम्रो उच्च शिक्षा हासिल गर्ने बाटो खुल्नेछ भन्नेमा हामी आशावादी थियौँ । तर, विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारणले हाम्रो परीक्षा र उच्च शिक्षा हासिल गर्ने बाटो एकाएक अनिश्चित बन्न पुगेको छ ।

यतिबेला हाम्रो देशमा फैलिएको महामारीको सङ्क्रमणले दिनहुँ सयौं मानिसको मृत्यु र हजारौंको भइरहेको छ । यही सङ्क्रमणका कारणले तत्काल भौतिक रूपमा परीक्षा सञ्चालन हुने अवस्था देखिँदैन । म र मजस्ता तमाम विद्यार्थीहरू भने हाम्रो मूल्यवान् समय कुनै पनि हालतमा गुमाउन चाहँदैनौ । एउटै कक्षाका लागि एक वर्षभन्दा बढी समय दिनु त विद्यार्थी जीवनको मूल्यवान् र ऊर्जाशील समय गुमाउनु नै हो । हामीलाई गुरुगुरुआमाहरूले समयको महत्त्व शीर्षकमा धेरै पटक निबन्ध लेख्न सिकाउनुभयो । हामी त्यसलाई व्यवहारमा उतार्न चाहन्छौँ । त्यसैले यस्तो विषम र कठिन परिस्थितिमा आदरणीय शिक्षा मन्त्रीज्यूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने आशा राखेका छौँ ।

हामीलाई गुरुगुरुआमाहरूले बारम्बार भन्ने गर्नुहुन्छ – माध्यमिक शिक्षा भनेको कक्षा १२ सम्मको पढाइ हो । पत्रपत्रिकाहरूमा पनि कक्षा १२ लाई नै बोर्ड परीक्षा मानेर एसईईको हाउगुजीबाट विद्यार्थीहरूलाई मुक्त गर्नुपर्छ भन्ने चर्चा गरिएको पाइन्छ । साथै विश्वका अधिकांश मुलुकमा कक्षा १२ लाई नै बोर्ड परीक्षा मानिएको छ । त्यसैले यही कठिन परिस्थितिलाई मौकाका रूपमा उपयोग गरेर हामीजस्ता सबै विद्यार्थीलाई आफ्नै विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा लिने उचित व्यवस्था गरेमा सबै विद्यार्थीहरू प्रत्यक्षरूपमा लाभान्वित हुने थियौँ ।

यो सूचना र प्रविधिको युग हो । अबका दिनमा सूचना र प्रविधिविना समयअनुसारको सिकाइ असम्भव बन्दै गएको छ । जहाँ जहाँ सूचना र प्रविधिको सहज पहुँच छैन , त्यहाँ सरकारले आवश्यक कदम चालेर र योजना बनाए त्यस्ता ठाउँमा पनि यस विषम परिस्थितिमा विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सकिन्छ । उचित समयमा उचित निर्णय गर्न नसके भविष्यमा पछुतो गर्नमात्र सकिनेछ ।

हाम्रो परीक्षाको विषयलाई लिएर सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा विभिन्न विचारहरू व्यक्त भएका देखिन्छन् । कसैले भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्नुपर्छ भनेको पाइन्छ भने कसैले आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा प्रकाशन गनुपर्छ भनेको देखिन्छ । हामीले यसै वर्ष पनि भौतिक रूपमा र अनलाइनका माध्यमबाट पटक पटक परीक्षा दिइसकेका छौँ । के ती परीक्षालाई आधार मान्नु गलत हो ? हाम्रो सिकाइको स्तर के कस्तो छ भन्ने सबैभन्दा बढी ज्ञान त हाम्रा विषय शिक्षकहरूलाई नै छ । प्रत्येक विषय शिक्षकले आफ्नो कर्म र धर्म सम्झेर उपयुक्त मूल्याङ्कन गर्ने हो भने यस विषम परिस्थितिमा उपयुक्त निकास निकाल्न पक्कै पनि सकिनेछ ।

लिखितरूपमा परीक्षा लिनु सिकाइ उपलब्धि मापन गर्ने एउटा प्रचलित माध्यम हो । तर, त्यही परीक्षाका लागिमात्र विद्यार्थीहरूको मूल्यवान समय नष्ट गर्नु महाभुल हुन सक्छ । अब अनलाइन कक्षाको विकल्प छैन भन्ने त लगभग सर्वस्वीकार्य भइसकेको छ । त्यसैले हामी जस्ता लाखौँ विद्यार्थीको मनोविज्ञान र भविष्यलाई बुझेर समय र परिस्थितिअनुसार नै अगाडि बढ्दा उपयुक्त हुन्छ जस्तो लाग्छ । 

भौतिक रूपमा परीक्षा सञ्चालन गर्न त्यति बेला सम्भव हुनेछ , जतिबेला हामी महामारीबाट पूर्णरूपमा मुक्त हुनेछौँ । त्यस्तो परिस्थिति निर्माण हुन अझै केही समय पक्कै लाग्नेछ । त्यसैले हरेक विद्यार्थीको स्वास्थ्य , मनोविज्ञान र कठिन परिस्थितिलाई ध्यानमा राखेर आदरणीय शिक्षा मन्त्रीज्यूले यथासम्भव छिटो उचित र उपयुक्त निकास निकाल्न महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने आशा र विश्वास गरेकी छु । धन्यवाद !

आयुष्मा भुर्तेल

कक्षा १०

भ्याली पब्लिक माध्यमिक विद्यालय

बूढानीलकण्ठ न.पा. ८ काठमाडौं
       


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro