site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
'अस्पताल त कस्तो गन्हाउने बाई !'
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
उसो त ‘अस्पताल कहिल्यै जान नपरोस् भनेर कामना गर्ने ममात्रै होइन हुँला । जिन्दगीका धेरै बाध्यतामध्ये अस्पताल जानैपर्ने बाध्यतासँग मलाई सख्त घृणा छ, त्यति घृणा त दुस्मनलाई पनि गर्दिन म ।
केही दिनअघिको कुरा हो, पत्नीको पेटमा असमान्य समस्या देखिएपछि जाजरकोट अस्पतालको पुर्जी काट्ने लाइनमा पालो पर्ख्यौँ । साथमा अढाई वर्षकी छोरी काव्या पनि थिइन् । पुर्जी काट्ने फाँटमा होचो कदको सुख्खा अनुहारमा आँखा रसिला देखिने व्यक्ति थिए । हेर्दा लाग्थ्यो, ऊ पनि बिरामी नै हुन् । पुर्जी हातमा थमाउदै भने — ‘खै ! दस रुपैयाँ पाऊँ !
पत्नी निराले रातो हाते झोलाको गोजी खोलखाल पारेर दसको नोट टेबलमा राखिदिइन् ।
मैले छोरीलाई काखमा लिएको थिएँ । अस्पतालको ढोकाभित्र पसेदेखि नै बाबा, घर जाऊँ भनेर छोरीले अत्याउन सुरु गरिसकेकी थिइन् ।
छोरीलाई फकाउँदै बिरामी दर्ता पुर्जी हातमा च्यापेर हामी जाँचका लागि डाक्टरको कोठातर्फ लाग्यौं । 
डाक्टरको कोठाको ढोकाको छेउमा एकजना ख्याउटे कार्यालय सहयोगीले बिरामी पुर्जी हातमा राखेर पालैपालो बोलाइरहेका थिए । निराले आफ्नो पुर्जी उसलाई दिइन् । प्रतीक्षालयको रित्तो बेन्च देखाउदै उनले पालो कुर्ने इसारा गरे । हामी गएर थपक्क बेन्चमा बस्यौँ। अरू बेन्च बिरामी र कुरुवाले खचाखच भरिएका थिए ।
कुर्तामाथि सेतो कोट लगाएकी युवती डाक्टरको कोठामा छिरिन् । उनीसँगै पछिपछि हातमा पुर्जी लिएकी अर्की अधबैँसे महिला पनि छिरिन् । ढोकामा बसेका सहयोगी उनको छेउमा बसेका विरामी र कुरुवासँग गफ गरिहहेका थिए । 
‘बाहिर यति धेरै बिरामी पालो कुरिरहेका छन्, चिनजानका आधारमा किन यसरी पालो मिचेको होला ?' निराले मसँग असन्तुष्टि पोखिन् ।  
‘भैगो छोडिदेउ, एकजना त हो नि । अलि सिरियस केस छ कि ?' मैले बिस्तारै भने ।
प्रतीक्षालयमा पालो कुर्न थालेको पनि एक घन्टा बित्दै थियो हाम्रो । ‘बाबा, पानी खान मन लाग्यो ।' छोरीले अनुहार बिगार्दै भनिन् ।
मैले यताउता हेरेँ । प्रतीक्षालयको एउटा कुनाको भित्तामा ए फोर साइजको कागजमा ‘शुद्ध पिउने पानी' लेखिएको रहेछ । म पानी पाइने आशामा छोरीलाई काखमा राखेर त्यही कुनामा पुगेँ । त्यहाँ पानीको जर्किन, गाग्री या जग केही पनि थिएन । म निराश भएँ ।
‘मामुको चेकअप गरेपछि बाहिर गएर पानी खाउँला है छोरी ।' छोरीलाई सम्झाएँ । आखिर, बच्चाको ढिपी न हो । उनले झनै अत्याउन थालिन् ।
उता ढोका छेउमा बसेका दाइले नाम बोलाए । निराको पछिपछि म पनि डाक्टरको कोठामा छिरेँ । साँघुरो कार्यकक्षमा दुईजना डाक्टर आआफ्ना बिरामी 'चेकअप' गर्दै थिए । अनुहारमा दारी जुंगा झपक्क पालेका डाक्टर एउटा विद्यार्थीको छातीमा आला राखेर सोधपुछ गर्दै थिए । अर्का डाक्टर भने बिरामीलाई औषधि लेखिदिएर बाहिर निस्के ।
विद्यार्थी स्कुल पोसाकमै थिए । छेउमै उनका साथी पनि स्कुल पोसाकमै थिए । उनी उत्सुक नजरले आफ्ना साथी र डाक्टरको आला हेरिरहेका थिए ।
‘तिम्रो समस्या के हो ?' डाक्टरले अलि रुखो स्वरमा सोधे।
‘एक साता जति भयो, खाना खान मनै लाग्दैन ।' विद्यार्थीले आफ्नो दायाँ गाला मुसार्दै भित्तातर्फ फर्केर भने ।
सेनाको क्याप्टेनले ‘जवान हो अलर्ट' भनेजसरी शैलीमा अस्पतालको टिनको छानै थर्किने गरी डाक्टरले भने —‘अनि चाउचाउ, कुरमुरे खान मन लाग्छ त ? 
डाक्टर कराएको सुन्दा डराएर छोरी मेरो पाखुरा जोडले समात्दै थिइन् । बिरामी विद्यार्थीको साथमा आएका साथी डरले ढोका बाहिर लुसुक्क निस्के । बिरामी विद्यार्थीको आँखाको चेपचेपमा आँसु रसाएका देखिन्थे । सायद डाक्टरको व्यवहारले उनको सातो भएको थिए । डाक्टरले आँसु झार्न लागेको देखेपछि थप केरकार नगरी औषधि लेखिदिए र बिरामी विद्यार्थी दायाँबाँया नहेरी बाहिरिए । बाहिरिँदै गर्दा मनमनै उनले भगवानसँग प्रार्थना गरे होलान् — ‘हे ! भगवान मलाई अस्पतालमा कहिल्यै आउनु नपरोस् ।'
त्यस दृश्यले मेरो मन पनि अमिलो भइरहेको थियो । निराको पालो आयो । 
‘के हुन्छ ?' डाक्टरले ठाडो बोलीमा सोधे ।
‘के हो तपाईहरूको तरिका ? मेडिकलबाट जथाभावी औषधि किनेर खाने अहिले सन्चो भएन भनेर अस्पताल आउने ?' निराले सबैकुरा इतिवृत्तान्त सुनाईसकेपछि अन्त्यमा उसैगरी टिनको छाना थर्काउँदै भने— ‘ती औषधि प्रयोग गर्न योग्य छन् की छैनन्? मेडिकल  दर्ता छन् कि छैनन् ? बुझ्दै नबुझी हावामा औषधि खाइदिने ?'
पुर्जीमा पिसाब र रगत जाँचको सिफारिस गरेपछि हामी पैसा तिर्न गयौँ ।  दुई सय तिरेको रसिद लिएर प्रयोगशालाभित्र पस्यौं । त्यहाँ एकजना सिस्टर कुन्नी के जाँच गर्दै थिइन् । हामीलाई देखेपछि उनले पुर्जी र रसिद मागिन् । सरर्र पढेपछि उनले भनिन् — ‘यसको त सय रुपैयाँमात्रै हो । दुई सय किन तिर्नु भयो । जानुस् सय रुपैयाँ फिर्ता माग्नुस् ।'
‘ठीकै छ भइहाल्यो ।' म निरालाई हलुका हासेँ ।
‘काँ त्यस्तो हुन्छ । सिस्टरले भनेको जस्तै हो भने बिनासित्ति किन सय रुपैयाँ दिने ? हजुर नगए म जान्छु भन्दै निरा नगदी फाँट तर्फ लागिन् । म हाँसेमात्रै ।
छोरीलाई नजिकैको क्यािन्टनमा लगेर पानी खुवाएँ । एकछिनपछि छोरीले भनिन् — ‘बाबा ! आची गर्ने ।'
छोरीलाई शौचालय लिएर गएँ । शौचालयको भित्र महिला, पुरुषको छुट्टाछुट्टै फाँट थियो । सुरुमा पुरुषकै फाँटमा छिरेँ । त्यहाँभित्र पनि दिसा र पिसाबको लागि थप फाँटको व्यवस्था थियो । तर, ती सबै फाँटमा दिसा नै दिसा थियो । त्यहाँबाट छोरीलाई महिला फाँटमा लिएर गएँ । त्यहाँ झनै फोहोर, गन्हाउने र हरियो झिंगा भन्किरहेको । चारैतिर दिसा नै दिसा । दिक्क लाग्यो । त्यहाँ भएका कुनै पनि बाल्टिनमा पानी थिएन । दुई तीन वटा बाल्टिनको पानी जम्मा गरेर पहिलेको दिसा सफा गरेँ । र, छोरीलाई प्यानमा बसाएँ ।
जग लिएर बाहिर पानीको खोजीमा निस्किएँ । शौचालयको बाहिर अलि ठुलो ड्रम थियो । ड्रमको पिँधमा थोरै पानी थियो, त्यो पनि कालो लेदों मात्रै । त्यही पानी लिएर छोरीको दिसा सफा गरिदिएँ । आठ दस मिनेट शौचालयमा यताउता गरिरहँदा टाउको भारी भइसकेको थियो । 
प्रयोगशालाबाट रिपोर्ट लिएर अस्पतालको कोठामा निरा आइपुगिन्, म पनि भारी टाउकोसहित छोरीलाई लिएर त्यहाँ पुगेँ । 
त्यहाँ तीन जना युवती नर्सको पोसाकमा टेबल बरपर बसेका थिए । तीमध्ये एक जना गहुँगोरो वर्णकी नर्स अलि सिनियरजस्ती देखिन्थिन् । चिउँडोमा कालो कोठी हुने नर्स जुरुक्क उठेर बाहिर हिँडिन् । छेउकीले टाउको झुकाउँदै सिनियरजस्ती देखिने नर्सलाई छुस्के लाइन् — ‘दिदी यो खुब जान्ने पल्टिन्छे । मैले जे काम गर्न लागे पनि खै यता देखाउ त भनेर पो भन्छे त ।' 
उनका कुरा सुनेर अर्कीले दायाँ ओठको कुना अलि पर लगिन् । 
मैले निराको रिपोर्ट टेबुलमा राखेँ । ल्याबको रिपोर्ट र डाक्टरको सिफारिस सरर्र पढेपछि बगलको अर्को कोठामा निरालाई लिएर गइन् । नर्सले निराको स्वास्थ्य अवस्था जाँच गरेपछि एक साता पछि आउने सल्लाह दिँदै भनिन् — ‘डाक्टरले सिफारिस गरेजस्तो गम्भीर अवस्था छैन । डाक्टर सा'व नयाँ भएकाले उहाँलाई यस्तो केसबारे त्यति अनुभव छैन । तपाईँ नआत्तिनुहोस् ।' 
हामी अस्पतालबाट घर पुग्दासम्म दुवै मौन रह्यौँ । छोरीले घरको आँगनमा पुगेपछि नाक खुम्च्याउदै भनिन्— ‘बाबा, अफताल त कथ्थो गन्हाउने लच बाइ !'
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३०, २०७३  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro