site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन पुगे केपी–माधव मेरियट, फुक्ला फागुन २८ को गाँठो ?

काठमाडौं । पार्टी फुटको सङ्घारमा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले एक्लाएक्लै भेट थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार महिना दिन लामो संवादहीनता तोड्दै आफैंले अनुशासनको कारबाही गरेका नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

मेरियट होटलमा साँझ ५ः४०बाट भएको भेट झण्डै दुई घण्टा चलेको थियो । भेटमा दुवै पक्ष आ–आफ्नो अडानमा टसको मस नभए पनि कुराकानीले सकारात्मक दिशा लिएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । भेटपछि प्रधानमन्त्रीले मध्यरातसम्म आफूनिकट नेताहरूसँग ब्रिफिङ गरेका थिए ।

“पहिले कुरा त उहाँहरूबीच हेलो पनि हुन सकेको थिएन । त्यो तोडिएको छ  । यो नै सकारात्मक कुरा हो,” उपनेता नेम्वाङले बाह्रखरीसँग भने, “उहाँहरूबीच आज पनि संवाद हुने कुरा छ । आजको संवादपछि मात्रै प्रगतिबारे बताउन सकिन्छ । हिजो आ–आफ्ना तर्फबाट विषय राख्नेमात्रै कुरा भयो ।”

एक्लाएक्लै भेटमा ओलीको जोड, समूहसँग छलफल इन्कार !

प्रधानमन्त्री ओलीले चैत २ गते खनाल–नेपाल पक्षसँग समूहगत डिल गरेका थिए । त्यो पनि नेपाल पक्षकै चाहनामा, पार्टी मुख्यालय धुम्बाराहीमा ।

तर, त्यो छलफलमा फलदायी हुन नसकेको र तिक्ततामात्रै फराकिलो तुल्याएको प्रधानमन्त्री र असन्तुष्ट पक्षको पनि बुझाइ छ । त्यसैले उनले नेपालसँग मात्रै होइन, कसैसँग पनि समूहगत कुराकानी नगर्ने अडान लिएका छन् ।
    
बुधबार प्रधानमन्त्रीले नेता नेपाललाई फोन गरेर ‘भेटौँ न’ भनेका थिए । नेता नेपालले पूर्ववर्ती अडान दोहोर्याउँदै ‘बालुवाटारमा त नभेट्ने’ बताएपछि नक्सालमा रहेको मेरियट होटल तय भएको नेम्वाङको भनाइ छ ।

मेरियटमा दुई नेता झण्डै दुई घण्टा एक्लाएक्लै छलफलमा रहेको नेम्वाङको भनाइ छ ।

“प्रधानमन्त्री ओलीको समूहगत छलफलमा पटक्कै रुचि छैन । गुटले सबै बिगार्यो भन्ने नै उहाँको बुझाइ देखिन्छ । मेरियटमा पनि उहाँहरू एक्लाएक्लै बस्नुभयो । लामो छलफल गर्नुभयो । कुरा यति हो, वार्ता सकारात्मक दिशामा छ । हामी सबै यही दिशामा अघि बढ्दै गएर सकारात्मक निष्कर्षमै पुगोस् भन्नेमा छौँ,” उनले थपे ।

फागुन २८ गाँठो

फागुन २८ र त्यसपछिका निर्णयका शृङ्खला (स्पष्टीकरणपत्र सम्म) बदर गर्न माग गर्दै खनाल–नेपाल समूह अदालत पुगिसकेको छ । भलै, बुधबार रिट निवेदन दर्ता भएन । बिहीबार दर्ता हुने सम्भावना रहेको खनाल–नेपाल पक्षका वारेसहरू बताउँछन् ।

ओली–नेपालको हिजोको छलफलले फागुन २८ को गाँठो फुकाउन नसकेको ओली पक्ष बताउँछ ।

“दुवै आ–आफ्नै अडानमा पूर्ववत् हुनुहुन्छ । प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक बसेर निर्णय गरेकाले बदर गर्न नसक्ने बताउँदै आउनुभएको छ । माधवकुमार नेपालले पनि फागुन २८ को निर्णय मान्न नसकिने अडान राखिरहनुभएको छ । संवाद यहीँबाट अघि बढ्न सकेको छैन,” प्रधानमन्त्रीनिकट स्रोतले बाह्रखरीलाई बतायो ।

खनाल–नेपाल समूहले अदालतले पूर्ववत् अवस्थामा फर्काइदिएकाले जेठ २ कै अवस्थामा निःशर्त फर्कनुपर्ने र जे निर्णय गर्ने हो, त्यही कमिटीले गर्नुपर्ने अडानमा छन् ।

तर, ओली निकै अघि बढिसकेको सहजै मिल्ने छाँटकाँट नदेखिएको नेताहरूको भनाइ छ ।

आज होला त छलफल ?

तिथिले नेपाली कम्युनिस्ट आन्दोलनको आज महत्त्वपूर्ण दिन हो । आज नेकपा स्थापना दिवस पनि भएकाले ओली–माधव छलफल सकारात्मक दिशाबोध गर्ने खालको होस् भनेर एमालेकै नेताहरूले कामना गरिरहेका छन् । आजै एमाले धुम्बाराहीबाट सरेर बबरमहल आउँदैछ । पार्टी कार्यालय भवनको शिलान्यासको तिथि पनि आजै तोकिएको छ । 

बुधबार भोलि पनि छलफललाई निरन्तरता दिने भनेर ओली–नेपाल उठेर हिँडेकाले आज संवाद जोडिने ओली पक्षका नेताहरू बताउँछन् ।

माधवकुमार नेपाल भने आन्तरिक परामर्शमा छन् । ओलीसँगको संवाद सकिएपछि नेता नेपालले नेताहरूसँगको छलफलपछि मात्रै बोल्ने बताउँदै सञ्चारकर्मीको भिडबाट पन्छिएका थिए ।

बुधबार मध्यरातिसम्म वरिष्ठ नेता झलनाथ खनाल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रघुजी पन्त आदिले नेता नेपाललाई सम्पर्कको प्रयास गरे पनि कुराकानी हुन नसकेको उनीहरूले बताएका छन् ।

पार्टीले ६ गते काटेको दुई दिनको स्पष्टीकरणको म्याद पनि आजै सकिन लागेकाले नेपाल पक्षले जवाफ बुझाउने तयारी पनि गरिरहेका छन् । खनाल–नेपाल समूहले आन्तरिक छलफलपछि मात्रै ओलीसँगको भेटबारे बताउने जानकारी दिएका छन् ।

नेकपा स्थापना दिवस भएकाले फुटको डिलमा पुगेको पार्टी आन्दोलन आजै संवादमार्फत् फर्कियोस् भन्ने चाहना रहेको एमाले नेताहरू बताउँछन् ।

ओलीले घेराबन्दीमा परेको महसुस गरेकै हुन् ?
मुलुकका हरेक घटना र त्यसका आयामहरूलाई ‘षड्यन्त्रको सिद्धान्त’सँग दाँजेर हेर्ने नजर नयाँ होइन । हिजोको छलफललाई पनि राजनीतिक वृत्तमा यही आँखाले हेरिएको छ ।

प्रधानमन्त्री ओली चौतर्फी घेराबन्दीमा परेकाले र मौजुदा सरकार जुनसुकै बेला पतन हुने दिशामा अघि बढेकाले संवादका जोडिन थालेको टिप्पणी राजनीतिक सर्कलमा भइरहेको छ । बुधबार मात्रै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । काङ्ग्रेस पनि सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्ने आन्तरिक एवम् बाह्य दबाबमा छ ।

पार्टीका २७ जना सांसदलाई एकैमोठमा स्पष्टीकरण पत्र थमाएपछि ओलीको आफ्नो संसदीय गणित पनि कमजोर हुन पुगेको छ । यसले उनलाई थप रक्षात्मक बनाएको छ ।

यो सबैले ओलीलाई संवादका लागि दबाब बढाएको आकलन हुन थालेको छ ।

खनाल–नेपाल पक्षले ओलीको संवादलाई अझै पनि देखावटीकै रूपमा बुझेको छ । चैत २ गते संवादमा बसेका ओलीले ९ चैतमा नेता नेपालसहित ६ जनालाई स्पष्टीकरणको पत्र थमाएका थिए ।

त्यसो त पुस ५ गते संसद् विघटनको निष्कर्षमा पुग्नुअघि पनि ओलीले नेताहरूको घरदैलो गरेका थिए । पुस ४ गते संवाद गर्न भन्दै प्रचण्ड निवास खुमलटार हानिएका थिए ।

संवाद सकारात्मक निष्कर्षमा नपुग्दासम्म बुधबारको छलफल पनि त्यही सोच र चिन्तनको निरन्तरताकै रूपमा बुझ्नुपर्ने खनाल–नेपाल समूहको बुझाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro