site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
देश डुलेको साइकल !
Sarbottam CementSarbottam Cement

देवेन्द्रका हजुरबा साइकल चढ्थे । उनका बुवा पनि साइकल चढेरै काममा सहर आउँथे । उतिखेर काठमाडौंको उत्तरपूर्वी काँठक्षेत्र आरुबारीका बासिन्दा उनका बा, हजुरबाको हरदमको साथी थियो साइकल ।

हजुरबा र बाको सिको गर्दै देवेन्द्रमान सिंह बस्न्यात पनि साइकलसँग जोडिए । उनले सानैमा साइकल सिके । बेला–मौकामा साइकल कुदाउन थाले । त्यति बेला बालाघर थियो बौद्धमा । जहाँ मोहर (५० पैसा) घण्टा साइकल भाडामा लिएर दौडाउँथे । एक मोहरमा भाडा लिएको साइकल मनग्यै घुमाउँथे ।

आज उनी प्रोफेसनल साइक्लीस्टका रूपमा परिचित छन् । कहिलेकाहीँ दिनको सय किलोमिटर बढी साइकल चलाउँछन् । कहिले उपत्यकाको पूर्वी क्षेत्र त कहिले पश्चिमी, उनी र उनका साइक्लिस्ट साथीहरू साइकलमा सररर घुमिरहेका हुन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

केही दिनअघिको एउटा भेटमा देवेन्द्र बस्न्यातले आफ्ना पुराना दिन सम्झिँदै भने, “मलाई सानैदेखि साइकलमा रुचि हो । त्यस बेला सवारी–साधनको सुविधा थिएन । आरुबारीबाट सहर आउन–जान सबैभन्दा उपयुक्त माध्यम साइकल नै थियो । त्यसैले साइकलको विशेष महत्त्व थियो । कुनै काममा साइकल लिएर हिँडेपछि त्यो ठाउँ मात्रै नभएर धेरै ठाउँ पुगिन्थ्यो । धेरै ठाउँ घुमिन्थ्यो । यसरी साइकलमा लत बस्दै गयो ।”

देवेन्द्रका अनुसार उस बेला सामान किन्न सहर आउनुपर्थ्यो । असन, इन्द्रचोक, न्युरोड पुग्ने साधन थियो साइकल । साइकल चलाउन सजिलो पनि थियो । अहिलेको जस्तो जोखिम थिएन ।

Global Ime bank

साइकल चलाउन सिकेर असन, इन्द्रचोक, स्वयम्भूलगायत अनेक ठाउँको चक्कर लगाउने देवेन्द्र पछि कलेज जाँदासम्म साइकलको नै प्रयोग गर्थे । उनको साइकल यात्रा निरन्तर चलिरहेको थियो ।

तर, त्यतिखेरसम्म उनले माउन्टेन बाइक चढेका थिएनन् । विदेशी पर्यटकहरूले ल्याउने साइकल सक्नेले तीबाट किन्थे । कतिले विदेशबाटै मगाउँथे । तर, देवेन्द्र उही सामान्य साइकलमा ओहोर–दोहोर गरिरहेका थिए ।
०००
एउटा निश्चित उमेर भएपछि देवेन्द्रको बिहे भयो । बिहे गरेर घरजम भइसकेपछिको केही समय उनले साइकल चलाएनन् । नचलाउँदा नचलाउँदै करिब १० वर्ष बित्यो !

तर, उनले साइकल नचलाएका मात्र हुन् । साइकलप्रति उनको मोह भने यथावत थियो । मोहभंग भएको थिएन । तसर्थ, साइकलसँग जोडिएका समाचारहरू उनी ‘फलो’ गरिरहेका हुन्थे ।

उनी भन्छन्, “करिब १० वर्ष साइकल चढिनँ । यद्यपि, मोह भने उस्तै थियो । साइकलले मलाई तानिरहेको थियो । एकपटक एक विदेशी बेलायतदेखि साइकल चढेरै नेपाल आएको थाहा पाएपछि म फेरि यतातिर लाग्न प्रेरित भएँ ।”

उनी कल्पना गर्थे— हामीसँग अवसर छैन । त्यसमाथि गतिलो साइकल पनि छैन । साइकल बजारमा पाइन्थेन । पाइए पनि किन्नलाई सोच्नुपर्ने अवस्था थियो ।

त्यसपछिको दिनमा नै हो, उनले राम्रो खालको माउन्टेन बाइक किनेको । त्यही समय उनले सोचेका हुन्– काठमाडौंको बढ्दो प्रदूषण घटाउन साइकल यात्राले सहयोग गर्न सक्छ । पेट्रोलियम पदार्थको खपत कम गर्छ । स्वास्थ्यका लागि साइक्लिङ फाइदाजनक हो भन्ने सबैलाई थाहा भएको कुरा हो ।

त्यससँगै आममानिसमा साइकलप्रतिको सोचमा अभिवृद्धि गर्न पनि सडकमा साइकल निरन्तर गुड्नुपर्छ भन्ने अवधारणाले देवेन्द्रलाई साइकल लिएर ठाउँ–ठाउँ पुग्न अभिप्रेरित गर्यो । अर्थात् उनी नदेखिँदो पारामा समाजसेवामा सक्रिय भए ।

माउन्टेन बाइकको प्रयोग गर्दै गएपछि साइकल चढ्ने अरूहरूसँग पनि सम्पर्क हुँदै गयो । यो सम्पर्कले उनीहरूको साइकल यात्रालाई गति दियो ।

देवेन्द्रसँग समाजसेवा र साइकलको विषय उठाउँदा उनले साइकललाई समाजसेवासँग मज्जाले फ्युजन गर्न मिल्ने बताए । उनी भन्छन्, “साइकल त अचम्मको साधन हो । यो यातायातको साधन मात्रै होइन, मनोरञ्जनको माध्यम पनि हो । साइकलको प्रयोग गरेर आन्तरिक र बाह्य पर्यटनमा पनि धेरै काम गर्न सकिन्छ । वास्तवमा बहुआयामिक काम गर्न सकिन्छ साइकलको प्रयोग गरेर । हेर्दा सामान्य देखिने यो दुईपांग्रे सवारी–साधन धेरै काममा प्रयोग गर्न सकिन्छ ।”

समाजसेवाका लागि पनि साइकलको प्रयोग हुनसक्छ भन्ने यसपटकको देवेन्द्रको एकल र साहसिक साइकल यात्राले देखाइसकेको छ । एक हजार २०० किलोमिटरको साइकल यात्रा लामो मात्रै नभएर जोखिमपूर्ण पनि थियो । तर, समाजका लागि केही गर्ने उत्साह र हुटहुटीले देवेन्द्र बस्न्यातलाई दोलखादेखि दिपायलसम्म एक्लै साइकल चलाउन प्रेरित गर्यो ।

देवेन्द्रको भनाइ छ। “समाजसेवा गाह्रो काम हो । ‘सेवा गरौँ’ भन्ने भावना भित्री रूपमा जागृत भए मात्र समाजसेवामा लाग्न सकिन्छ । यो प्रेरणा आवश्यक छ । नभए सेवा गर्न सकिन्न ।”

१२ सय किलोमिटरको साइकल यात्रा सम्पन्न गरेर फर्किएका देवेन्द्र आफैँ पनि आश्चर्यचकित हुन्छन् कुनै–कुनै बेला, यति लामो साइकल यात्रा आफैँले गरेकोमा !   

०००

साइकल यात्रामा रमाउँदै हिँड्ने देवेन्द्र र उनका साथीहरूले साइकलसँग जोडिएका इभेन्टहरू गर्न थाले । उनीहरू कहिले साइकलमा लुम्बिनी पुग्थे त कहिले जनकपुर । समाजका लागि साइकलको प्रयोग कसरी गर्न सकिन्छ भन्ने सोचका साथ अभिप्ररित उनी र उनका साथीहरूको चाहना थियो, यस कार्यले नयाँ पुस्तालाई पनि साइकल यात्रासँगै समाजसेवाप्रति उत्प्रेरित गरोस् ।

यति हुँदाहुँदै पनि समाजसेवाका लागि केही दह्रो काम गर्ने समय आइसकेको थिएन, सायद । उनी समय पर्खिरहेका थिए । त्यसो त उनी विभिन्न व्यक्तिहरूको स्वास्थ्य उपचारका लागि आफ्नो किसिमबाट खटिरहेका थिए । कहिले डा. भगवान कोइराला, कहिले डा. रामकेवल साहसँग कुरा गरेर बिरामीहरूको उपचारमा सहयोग गर्दै आएका थिए । अरू सामाजिक कार्यमा पनि उनको संलग्नता रहँदै आएको थियो ।

पछिल्लो समय उनी जोडिए परोपकारी संस्था हेल्प नेपाल नेटवर्कसँग । हेल्प नेपालले भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर स्कुलको निर्माणमा सहयोगका लागि बेलायतबाट सहयोग रकम उठाउने काम गर्दैै थियो । बेलायतमा साइकल र्याली गरेर पैसा उठाउने कार्यक्रम बनिसकेको थियो । तर, बेलायतमा लगातारको लकडाउनले गर्दा तोकिएको समयमा साइकल र्याली हुन सकेन । दुईपटक र्याली स्थगित भयो ।

यो कुरो थाहा पाएपछि देवेन्द्रले ‘यहाँ पनि त साइकल यात्रा गर्न सकिन्छ’ भन्ने कुरो उठाए । उनी भन्छन्, “हेल्प नेपालको बारेमा मलाई जानकारी थियो । एक–दुईपटक सानो–सानो सहयोगमा म पनि सम्मिलित थिएँ । त्यसैले मैले हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतसँग भेट गरेँ । र, बेलायतमा नभए पनि आफूले नेपालमै साइकल यात्रा गर्ने कुरा उठाएँ । किनभने, समाजसेवा रुचाउने मेरा लागि यो एउटा अवसर पनि थियो ।”

त्यसपछि पटक–पटकको बैठक र सर–सल्लाहमा दोलखादेखि दिपायलसम्मको एकल साइकल यात्रा गर्ने तय भयो । यसका लागि देवेन्द्र उत्साहित थिए पनि । शिक्षाका लागि साइकल यात्रा गर्दै आफूले थोरै भए पनि योगदान दिन पाएकोमा उनी खुसी पनि उत्तिकै थिए ।

तोकिएको दिनमा वाङ्मय शताब्दीपुरुषको आशीर्वाद थापेर देवेन्द्र साइकल लिएर दोलखा पुगे । र, निस्किए शिक्षाको उज्यालोका लागि साइकल यात्रामा । एक्लै ।

यो यात्राको योजना बनाउँदा लामो छलफल भयो । हेल्प नेपालको प्रोजेक्ट वर्क भएका ठाउँमा पुग्ने गरी यात्राको खाका तयार भयो । छलफल भयो र तोकियो बाटो– दोलखादेखि धुलिखेल, काठमाडौं, हेटौँडा, चितवन, बुटवल, भालुवाङ, लालमटिया हुँदै डडेलधुरा, दिपायलसम्मको ।

यात्राको योजनासँगै एक दिनमा सकेसम्म एक सय किलोमिटर गुड्ने योजना देवेन्द्रले बनाए । यो औसत हिसाब–किताब थियो, उनको । कहिले १०/२० किलोमिटर कम हुनसक्थ्यो । कहिले बढी ।

अनि, सुरु भयो दोलखादेखि दिपायलसम्मको परोपकारी साइकल यात्रा । र, यात्रा सकिँदा १३ दिन बित्यो । खासमा १२ दिनमा साइकल यात्रा सकिने भनिएको थियो । तर, दिउँसै डडेलधुरा पुगे पनि डडेलधुराका साथीहरूले भोलिको दिनसम्म बस्न आग्रह गरे । उनले आग्रह टार्न सकेनन् । किनभने, पुस्तकालय डडेलधुरामा नै निर्माण हुँदै थियो ।

उनी भोलिपल्ट मात्र दिपायल–सिलगढी पुगे । र, यात्राको मैझारो गरे ।
०००
पहिले–पहिले पनि दिनको एक सय किलोमिटर साइकल नगुडाएका हैनन् उनले । काठमाडौं–नुवाकोट–काठमाडौं, काठमाडौं–गोटीखेल, धुमखर्क–पनौती–काठमाडौंको सय किलोमिटर बढी यात्रा पनि गरेका हुन्, उनले । उपत्यका र यस वरपरका विभिन्न ठाउँमा एकदिने साइकल यात्रा थुप्रै गरेका छन् देवेन्द्रले ।

तर, यस्तो यात्रामा साथीहरूको जमात हुन्थ्यो । कहिले धेरै त कहिले दुई–तीनजना मात्रै । साथीहरूसँग साइकल यात्रामा जाँदा सहज हुने गरेको देवेन्द्र बताउँछन् । साइकल चलाइरहँदा पनि साथीभाइबीचको कुराकानीले आराम मिल्छ । तनाव हुँदैन । समस्या उत्पन्न भए त्यसको निराकरण गर्ने विषयमा कुरो हुन्छ । अर्थात् धेरै सहज हुन्छ ।

तर, एक्लो यात्रामा चुनौती र तनाव धेरै भोग्नुपर्ने उनको तर्क छ । देवेन्द्र भन्छन्, “एक्लो साइकल यात्रामा धेरै चुनौती झेल्नुपर्छ । हावाको प्रेसर त खेप्नुपर्छ नै समयको प्रेसर पनि कम हुँदैन । किनभने, तोकिएको समयमा नै निश्चित स्थानमा पुग्नुपर्ने हुन्छ । तथापि, धेरै वर्षदेखि साइकलमा अभ्यस्त भएकोले खासै धेरै समस्या भोग्नु परेन ।”

तोकिएको गन्तव्यमा हेल्प नेपाल नेटवर्कका साथीहरूको साथ र सहयोग रह्यो भने कतिपय ठाउँमा साइक्लिङ एसोसिएसनका साथीहरूको साथ रहेको पनि देवेन्द्र बताउँछन् । साथ दिने साथीहरू र स्थानीय बासिन्दाहरूको सहयोगले कतिपय ठाउँमा आफू भावुक बनेको उनी बताउँछन् ।

देवेन्द्र बस्न्यातले सडक समस्याको कुरो उठाए । सडकमा गुड्ने ठूला गाडीको कुरा उठाए । उनका अनुसार सडकमा अनुशासन सोच्नै नसकिने विषय हो । आफूभन्दा कमजोर सवारी–साधनलाई स्पेस दिनुपर्छ भन्ने सडकमा सोचिँदैन । साइकल, मोटरसाइकललाई त झन् पेल्ने नियतले गाडी गुडाउने गरेको उनले अनुभव गरेका छन्, धेरैपटक । यसको व्यवस्थापन हुनुपर्छ भन्ने उनको भनाइ छ ।

उनी भन्छन्, “दर्शन र सिद्धान्तमा जे भनिए पनि व्यवहारमा सडक अनुशासन अलिकति पनि छैन । विडम्बना ! सडकमा सधैँ ठूलाले सानालाई डोमिनेट गरिरहेको पाइन्छ ।”

देवेन्द्रका अनुसार सातामा एक दिन मात्रै भए पनि साइकल चलाउँ भन्ने नागरिकमा चेतना भए त्यसले सडक अनुशासन कायम हुने आँकलन गर्न सकिन्छ । उनले भने, “तर, छैन ! टाढाको कुरो नगरौँ । अत्यधिक वातावरण प्रदूषणका कारण काठमाडौंका स्कुलहरू बन्द गरिए । तर, गाडी चलाउनेहरूले गाडी छोडेनन् ! प्रदूषणको मतलब नै गरेनन् ! दुई–तीन दिन हामीले गाडी नचलाउँ न त, साइकल लिएर अफिस जाउँ न त भन्ने कसैले सोच्दै सोचेनन् ! अनि, हामीले नियम सिद्धान्त र दर्शनको कुरो गरेर के पाउँछौँ र !”   
०००
कुराकानीका क्रममा देवेन्द्रले यात्राक्रममा भएका केही रोचक प्रसंग सुनाए । दोलखाबाट बिहान ८ बजे नै धुलिखेलका लागि उनी निस्किनुपर्ने थियो । तर, अनेक अलमलले उनको यात्रा १० बजेपछि मात्रै सुरु भयो ।

उनलाई साँझ धुलिखेल पुग्नु थियो । समयको यो दबाबअनुरूप साइकलको पाइडल दाब्नुपर्ने भयो । बिहानको समयमा शरीरमा जति ऊर्जा हुन्छ, त्यो दिउँसो घट्दै जान्छ । त्यसैले उनी शीतल समयमै दूरी छोट्ट्याउन चाहन्थे । तर, सम्भव भएन ।

बीचमा खाना खान रोकिए देवेन्द्र । एउटा पसलमा पसे । तर, त्यहाँ खाना रहेनछ । अनि, उनले देखे, बाहिर मानिसहरू बसेर खाइरहेको । उनले होटेल साहुलाई सोधे । होटेल साहुले ‘उनीहरू तीर्थयात्री भएको र आफैँले खाना बनाएर खाएको’ बताए ।

देवेन्द्र हाँसे । भने, “अब के गर्ने । म अगाडि बढ्ने सोचमा थिएँ । बाहिर निस्किएको मात्र थिएँ, कलेज पढ्दाका साथी दीपक कोइराला भेट भए । उनले ‘कहाँ आएको ?’ भने । मैले साइकल यात्रामा निस्केको कुरा गरेर खाना खान छिरेको तर खाना नभएको बताएँ । त्यसपछि उनले आफू तीर्थयात्री समूहमा नै रहेको बताउँदै त्यहीँ खाना खान भने । र, म केही बेरपछि खाना खाएर धुलिखेलतिर लागे । यसलाई त म भगवान्ले नै जुराएको भन्छु ।”

त्यस दिन उनी धुलिखेल पुग्नुपर्ने थियो । तर, पाँचखाल पुग्दा टिपरहरूको ओहोर–दोहोर चर्को भइसकेको थियो । ट्राफिकले देवेन्द्रलाई यात्रा गाह्रो हुन सक्ने बताउँदै त्यतै बस्न भने । ट्राफिकको कुरा मानेर उनले पनि त्यहीँको एउटा होटेलमा रात बिताउने निर्णय गरे । र, भोलिपल्ट बिहान मात्रै धुलिखेलतिर लागे ।

उनले भने, “ट्राफिकले जोखिमपूर्ण भनिसकेपछि कम्प्रोमाइज त गर्नु नै पर्यो । म बसेको होटेल साहुलाई मैले बिहानै सबेरै ढोका खोलिदिनुस् है भनेको थिएँ । किनभने, मैले ८ बजे धुलिखेल आइपुग्छु भनेको थिएँ । तर, होटेलको मूलगेटको साँचो हराएर त्यहीँ नै ६ बज्यो ! बल्ल–बल्ल चाबी भेटियो र म धुलिखेलतिर हिँडे ।”

देवेन्द्रले पश्चिमी क्षेत्रका केही रोचक प्रसंग सुनाए । जंगलको बीचबाट यात्रा गर्दाको अवस्था बेग्लै हुने उनी बताउँछन् । धेरै जोखिमपूर्ण हुँदाहुँदै पनि जंगलको बीचबाट आफूले साइकल कुदाएको प्रसंग आफ्ना लागि अविस्मरणीय रहेको उनी सुनाउँँदै थिए ।

बर्दियाको जंगलको इलाकामा भने उनले १५ किलोमिटर बाटो गाडी चढ्नु प¥यो । निकुञ्जका सुरक्षाकर्मीहरूले उनलाई साइकल चढ्ने अनुमति दिएनन् । ‘तपाईंहरू एक सयजनाको जमात भए पनि साइकलमा जान दिन्नौँ’ भनेपछि उनले तिनका अर्तीलाई मान्दै अम्रेनीबाट चिसापानीसम्मको यात्रा बसमा नै गरे । र, फेरि चिसापानीबाट साइकलमा अगाडि बढे ।

उनी भन्छन्, “बर्दिया राष्ट्रिय निकुञ्जमा जनावरहरू बाहिर राजमार्गतिर निस्किरहेका हुन्छन् । मैले सुरक्षाकर्मीसित ठट्यौली गर्दै भनेँ, ‘मैले जंगलमा बाघ देखे म लक्की, झम्टे भने मात्र अनलक्की’ । तर, उनी के मान्थे ! र, त्यो १५ किलोमिटर मैले बसमा यात्रा गरेँ । वास्तवमा यो मेरा लागि एकदमै रोमाञ्चक यात्रा रह्यो । म घुम्न मन पराउने, प्रकृत्तिमा डुब्न र रम्न मन पराउने, रङहरूमा रंगिन मन पराउने भएकोले यो एकल यात्रा भए पनि रोमाञ्चक रहेको मेरो अनुभव छ ।”

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  ०६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC