site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माधव नेपालका आत्मघाती पाइलाहरू

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल इतिहासकै सङ्कटापन्न अवस्थामा आइपुगेका छन् । झण्डै पाँच दशक लामो यात्राका दौरानमा नेता नेपालको राजनीति अक्करमा अल्झिन पुगेको छ भनेर पनि विश्लेषण गर्न सकिन्छ । 

हरेक वस्तुको विकास र विनास वस्तुको अन्तरनिहित कारणले हुन्छ । अन्य कारणलाई सहायक मात्रै मान्न सकिन्छ ।

भौतिकवादीहरूले यसलाई मार्क्सवादी सच्याइ पनि ठान्छन् । र त, माधव नेपालको अधोगतिका सर्जक–कारक अरू कोही होइनन्, स्वयम् नेता नेपाल नै हुन् ।

२०७६ पुस २३ गतेदेखि गठबन्धनबाट एउटै नामभित्र अटाएका तर पार्टी–आन्दोलनको आकार ग्रहण गरिनसकेको नेकपाभित्र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको सामीप्यता एकाएक झाँगिन पुग्यो ।

त्यसैको उत्कर्ष थियो– कात्तिक २८ गते सचिवालय बैठकमा पेस भएको १९ बुँदे ‘दस्तावेज’ ।

कम्युनिस्ट आन्दोलनभित्र लामो समय दुईवटा र परस्पर विरोधी ध्रुवको नेतृत्व गरेका प्रचण्ड र नेता नेपालबीचको सामीप्यता, गठजोड अप्राकृतिक थियो । स्वाभाविकरूपमा त्यसले केही प्रश्नहरू पनि पैदा गरेको थियो ।

सर्वोच्च अदालतले फागुन २३ गते पार्टी एकता बदर गरेपछि पुरानै पार्टीमा फर्किएका प्रचण्डले शनिबार प्रज्ञाको डबलीमा सफेद झुट बोले । नागरिक आन्दोलनको प्रश्नहरूको घेराबन्दीमा परेका प्रचण्ड आफैले ओलीविरुद्ध दस्तावेज अघि सारेको जिकिर गरिरहे । त्यसभन्दा अघि, चैत ५ गते सिन्धुलीको कार्यक्रममा ओलीविरुद्ध अघि सारिएको ‘१९ पाने’ लाई ‘लेटरबम’को संज्ञा दिएका प्रचण्ड ‘बुर्जुवा’हरू हेडक्वार्टरमा बमबाडी गरेको जनयुद्धकालीन आत्मश्लाघामा रमाए ।

तर, तथ्यहरूले प्रचण्डको दाबी–जिकिरलाई खारेज गर्छ ।

‘१९ पाने’ दस्तावेजको असली सर्जक प्रचण्ड थिएनन् । त्यसका असली सर्जक त माधवकुमार नेपाल नै थिए ।

कोके (कोअर्डिनेसन केन्द्र), माले हुँदै एमाले आन्दोलन निर्माण आइपुग्दा कतै नजोडिएका र मदन भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवादको विकासक्रममा पनि कतै नभेटिएका ओलीले हठात् रूपमा २०७१ मा आएर पार्टी सत्ता कब्जा गरेपछिको असन्तुष्टि वास्तवमा असली सर्जक थियो । पार्टी सत्ता हुँदै राजकीय सत्तामा पनि प्रभुत्व विस्तार गरेपछि उब्जिएको असन्तुष्टिले नै डोर्‍याएर १९ पानेसम्म पुर्‍याएको थियो ।

‘१९ पाने’मा राज्यसत्ता, पार्टी–कम्युनिस्ट आन्दोलनको विद्रूपीकरण, भ्रष्टीकरण गरेको, राजनीतिक, सैद्धान्तिक र विचारधारात्मकरूपमा पथभ्रष्ट रहेको आरोप प्रधानमन्त्री तथा अध्यक्ष ओलीमाथि लगाइएको थियो ।

यसका पछाडि मूलभूतरूपमा दुईवटा उद्देश्य रहेको प्रष्ट छ ।

पहिलो : मदनको अवसानपछि नै केपी ओली र माधवकुमार नेपालकाबीचमा मतभेद तीव्र बन्दै थियो, पार्टी सत्ताको नेतृत्व कसले गर्ने भनेर । रहस्यमय दासढुङ्गा दुर्घटनापछि नेता नेपाल पार्टी सत्तामा आए । त्यतिबेला देखि नै व्यक्तित्वको टकराव बढेको स्वयम् नेता नेपाल बताउँछन् ।

केही दिनअघिको अनौपचारिक कुराकानीमा नेता नेपालले नै यसबारे थोरै मुख खोलेका थिए । “मदनको अवसानपछि उहाँ नेतृत्वमा आउन चाहनुभएको थियो । तर, त्यतिबेला उहाँका निम्ति समय अनुकूल बनेन,” नेता नेपालले सांकेतिक रुपमा यति मात्र बोलेका थिए ।

नेता नेपाल नेतृत्वमा आएपछि २०५१ सालमा एमाले ठूलो दल बन्यो । पार्टी अध्यक्ष, महासचिवसहित प्रभावशाली नेता सत्तामा जाने भएपछि पार्टी चलाउने जिम्मा वामदेव गौतमलाई दिइयो– विधानमै नभएको उपमहासचिव पद सिर्जना गरेर ।

त्यसले पनि ओली–नेपाल तिक्तता बढाउने काम गर्‍यो । २०५१ सालको अल्पमतको सरकार ढलेपछि पार्टी कमिटीको बैठकमा ओलीको पहिलो प्रस्ताव थियो –विधान मै नभएको ‘सिङजुरो’ भाँचौं ।

आवरणमा जे देखिए पनि २०५४ सालको एमाले–माले विभाजनको कारक यो पनि थियो ।

नेपाल, ओली र वामदेवको त्रिपक्षीय टकरावका कारण पार्टी आन्दोलन चेपुवामा पर्‍यो । पार्टी छिन्नभिन्न भयो । नेपालगञ्ज महाधिवेशनमा बाध्यताले एक ठाउँमा उभिएका ओली–नेपाल जनकपुर महाधिवेशनसम्म पुग्दा आमुन्ने सामुन्ने हुन पुगे । बुटवल महाधिवेशनको हलसम्म छिर्दा ओलीको ‘स्ट्रेन्थ’ विस्तार हुन्थ्यो होला, तर पहिलो संविधान सभाको निर्वाचनमा एमाले ‘धुलाम्य’ भयो ।

झलनाथ खनालबाहेक शीर्ष नेताले नजित्ने अवस्था बनेपछि नेतृत्व पनि उनैको पोल्टामा पर्‍यो ।

भृकुटीमण्डप महाधिवेशनमा आइपुग्दा पुनः नेपाल–ओली आमुन्नेसामुन्ने भए । पार्टीसत्तासँगै राजकीय सत्तामा पनि पुगेका ओलीले प्रभुत्व एकाएक विस्तार गरे । नेता नेपालको भूमिका पार्टीमा अनपेक्षितरूपमा साँघुरियो । आफैँले निर्माण–सिर्जना गरेको आन्दोलनमा आफैँ किनारमा पारिएपछि र पाखा लगाउन थालिएपछि आत्मरक्षा माधवकुमार नेपालका निम्ति अनिवार्य सर्त बन्यो ।

एमाले–माओवादी केन्द्रको एकतापछि नेता नेपालाई त्राण दिने बुटी प्रचण्ड नै बने ।

पृष्ठभूमिमा जेजे कथा, उपकथा रचना गरिए पनि पार्टी एकताबारे एमालेभित्र घनिभूत बहस थिएन । पहिलोपटक सरकारबाट बहिर्गमन हुँदा ओलीको मनमा गहिरो खाडल परेको थियो । माओवादीसँग गठबन्धन बनाएर, चुनावमा सुविधाजनक बहुमत ल्याएर सरकारको नेतृत्व गरेर त्यसको पुर्ताल गर्ने उनको अभिष्ट थियो ।

पार्टी आन्दोलनबाट किनाराकृत पारिँदै लगिएका नेता नेपालले पनि प्रचण्डको आगमनपछि सहज भविष्य देखे,  पुनरागमनको सपना बुन्न थाले । प्रचण्डरूपी मुंग्रोले ओलीलाई तह लगाउन सकिने आकाङ्क्षा पाले । खराब स्वार्थले क्षणभङ्गुर परिणाम दिन्छ । एमाले–माओवादी एकता त्यस्तै एक परिघटना बन्न पुग्यो ।

एकतापछि केही समय त ओली–प्रचण्डकै ‘चोचोमोचो’ जोडियो । राजकीय सत्तामा ओलीले ढिम्कन दिएका थिएनन्, पार्टी सत्तामा पनि झन् कर्नरमा पर्ने खतरा देखेपछि दीर्घकालीनरूपमा प्रचण्डलाई ओलीको अँगालोबाट छुटाउने उपायको खोजीमा लागे । दस्तावेज नै अघि सारेपछि प्रचण्ड–ओली कहिल्यै मिल्न सक्दैनन् भन्ने नियोजित उद्देश्यबाट जन्मिएको हो, ‘१९ पाने’ । 

दोस्रो : ओलीमा अतृत्प तानाशाही चाहना छ, अधिनायकवादको भोक छ भन्ने कुरा घटनाक्रमले नै पुष्टि पुष्टि गरिसकेको छ ।

राजकीय सत्ताको केन्द्रीकरण त गरिसकेका थिए । प्रचण्डसँग मिलेर पार्टी सत्ताको केन्द्रीकरणको कोसिसमा थिए ।

अधिनायकवादको केन्द्रीय र सार चरित्र पनि यही हो ।

पार्टी कमिटी, संरचनाहरू निश्क्रिय राख्ने, पार्टीका विधान, प्रणाली मुर्झाउँदै जाने, दुई अध्यक्षको भेट, मिलेमतो, सहमति, समझदारी मात्रै सक्रिय हुँदा नेता नेपालको भूमिका पार्टी आन्दोलनबाट धकेलिँदै थियो ।

त्यसबाट जोगाउन पनि नेता नेपालले अस्त्र उचाल्नै पर्ने भएको थियो । त्यसैले दस्तावेज नै अघि सारिएको हो ।

माधव नेपालको आत्मघाती पाइलाहरू

राजनीति मूलतः विचारबाट निर्देषित हुन्छ । प्रचण्ड–नेपालको गठबन्धनको उत्कर्ष ‘१९ पाने’ थियो । ‘१९ पाने’को ‘क्लाइमेक्स’ पुस ५ को कदम ।

भलै अदालतले सच्याइदियो, पुस ५ को कदम लोकतान्त्रिक प्रणाली, संवैधानिक सर्वोच्चता, कानुनी–विधिको शासनप्रति जनताको जनवादको प्रतिबद्धतामाथिकै बज्र प्रहार थियो । संविधानमाथि मात्रै होइन ।

ओलीले संविधानका पांग्रा फुकालेर आफ्नो सत्ता अकन्टक बनाउन थालेपछि माधवकुमार नेपालहरूका निम्ति अलग बाटो तताउनु नै उपयुक्त थियो । पेरिसडाँडाको बाटो तताउनु राजनीतिक दृष्टिले जायज कदम थियो ।

तीन महिनापछि सर्वाेच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गरिदियो । माधवकुमार नेपालका निम्ति यो राजनीतिक जित पनि थियो । र, उनले सिद्धान्तको तहमा विकास गरेको ‘जनताको बहुदलीय जनवाद’ र एकताको सम्मुखमा रुपान्तरण गरेको ‘जनताको जनवाद’को पनि जित थियो ।

फागुन २३ गते अर्को फैसला गर्दै पार्टी एकता नै भङ्ग गरिदिएपछि तुरुन्तै धुम्बाराही ‘फर्कने’ निचोडमा पुग्नु माधवकुमार नेपालका निम्ति ‘आत्मघाती’ कदम नै थियो ।

नवौँ महाधिवेशनपछि ओलीसँग उनको राजनीतिक मतभेद थियो । पार्टी एकताका बेला ओलीले बाध्यताले जनताको जनवाद स्वीकार गरेका हुन् । जनताको बहुदलीय जनवादकै ‘बुर्जुवाकरण’ उनको लक्ष्य हो भन्ने कुरा कहीँकतैबाट छिप्दैन । 

त्यसो त ओली कुनै सैद्धान्तिक भाष्यकार होइनन् । ओलीको राजनीतिसँग विचारधाराको कुनै साइनो सम्बन्ध छैन । संगठकको छवि पनि उनको होइन ।

तथापि, ओलीसँग राजनीतिक, कार्यदिशात्मक र विचारधारात्मक विमति तीव्र बनिसकेपछि नेता नेपाल आफ्ना केही साथीहरूको सांसद पद गुम्ला अथवा, एमाले आन्दोलन मैले नै निर्माण गरेको हुँ, ओली त पछि जोडिएका हुन् भनेर अतिशय भावुक हुँदै पेरिसडाँडाबाट धुम्बाराहीतिर पैताला फर्काइहाल्नु हुँदैनथ्यो ।

सभागृहमा आयोजित कार्यक्रममा नेता नेपालले ‘ओलीसँगको ४९ वर्षे मायाप्रीति एकै रातमा टुट्दैन’ भनेर भावुकता पोखे । यत्रो संगतपछि पनि ओली प्रवृत्तिसँग राम्ररी चिनापर्ची हुन नसक्नु र एमाले कायम नै रहँदा ओलीले भित्रबाट वीरे–आग्लो ठोक्छन् र त्यहाँ मेरो कुनै पनि स्थान हुँदैन भनेर सोच्न नसक्नु माधव नेपालको भुल नै हो ।

पुस ५ पछि ओली–नेपालबीचको दरार पार्टी फुटसम्म पुगिसकेको थियो । अदालतको फैसलाले त्यसलाई जोड्न सक्दैनथ्यो । 

परिस्थितिलाई वस्तुनिष्ठ समीक्षा गर्न नसक्दा माधव नेपालको राजनीतिक भविष्य अन्योलग्रस्त हुन पुगेको छ ।

ओली ‘केशरजङ्ग’को पथिक, नेपाल सीपीको बाटोतिर

वर्तमान ओलीप्रवृत्ति इतिहासमा केशरजङ्ग रायमाझी चिन्तनको निरन्तरता हो । रूप फरक भए पनि ओलीको चरित्र सारमा केशरजङ्ग रायमाझी प्रवृत्तिसँग मिल्दो–सुहाउँदो छ ।

नेपाल कम्युनिस्ट पार्टीको दोस्रो सम्मेलनबाट महासचिव निर्वाचित भएका रायमाझी अन्ततः दरबारका प्रिय बने । 

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी २०१७ साल पुस १ को तत्कालीन राजा महेन्द्रको कदमलाई हेर्ने दृष्टिकोणमा मतभिन्नता हुँदा विभाजित हुन पुगेको थियो । त्यतिबेला केशरजङ्ग राजाको कदमका पक्षमा निर्भीकतापूर्वक उभिए ।

प्रजातन्त्रका लागि संघर्ष गर्ने ध्येयले कम्युनिस्ट पार्टी आन्दोलनको सूत्रपात गरेका पुष्पलाल श्रेष्ठ र तुलसीलाल अमात्यहरूले रायमाझीलाई कारबाही गरे । आन्दोलनमा फुटको वीजारोपण भयो ।

अहिले ओली पनि आफ्नो शक्ति–सत्ता टिकाउन जस्तोसुकै ‘पश्चगामी’ शक्तिहरूसँग हातेमालो गर्न, सहमति–सम्झौता  तत्पर देखिन्छन् । चैत १० मा प्रज्ञा प्रतिष्ठानमा अनेरास्ववियुले आयोजना गरेको कार्यकर्ता भेलामा नेता नेपालले पनि यही निष्कर्ष निकालेका थिए । ओलीले आफ्नो सत्ता टिकाउन राजावादीसँग साँठगाँठ गरेको र उनले जति प्रयत्न गरे पनि राजतन्त्र नफर्कने नेपालले बताएका थिए । 

“केपी ओलीले जतिसुकै साँठगाँठ गरुन्, अब राजतन्त्र फर्किंदैन । हामी परास्त गरेरै छाड्छौँ,” नेपालले भनेका थिए ।

संविधानको प्रावधान विपरीत गएर प्रतिनिधि सभा भंग गर्ने, राजा महेन्द्रले जसरी शासनसत्ताको केन्द्रीकरण गर्ने, संघीयताको मानमर्दन गर्ने केशरजङ्ग पथकै दृष्टान्त भएको मान्दा अन्यथा हुँदैन ।

आफैँले एकताबद्ध गरेको आन्दोलन तितरवितर हुन पुग्यो । आफैंलाई निर्वाचित गरेको संसद् मास्न उद्यत भए । कम्युनिष्ट आन्दोलनले पहिलोपटक प्राप्त गरेको दुई तिहाइ निकटको जनमत छिन्नभिन्न पारे । बँचेखुचेको एमाले फुटको सङ्घारमा छ । तर पनि ओली २३ फागुनको फैसलापछि पुनः जितको दम्भ बोकेर बालुवाटारमा मौजुद छन् । रूपमा जित देखिए पनि सारमा ओलीले अब हार्न बाँकी केही छैन । राजनीतिक हारमा पनि जितको अनुहार देख्नु प्रकारान्तरले ‘रायमाझी पथ’ नै हो ।

एमाले आन्दोलनबाट विमुख भएर दरबारतिर सोझिएको ओलीको बाटो औंल्याइरहँदा माधव नेपालको पथतिर पनि दृष्टिगोचर गर्नुपर्ने हुन्छ ।

फागुन २३ गते एमाले ब्युँताउने अदालतको फैसलापछि जसरी उनी धुम्बाराहीको बाटो तताउने निष्कर्षमा पुगे, त्यसले उनलाई ठूलो नोक्सानी पु¥याएको छ । विम्बमा हारेको जुवाडेको हैसियतमा ओरालिदिएको छ ।

नेता नेपालले मायाप्रीतिका जति भावनात्मक कुरा गरे पनि डा. विजय पौडेलले भनेझैँ ओलीको हृदय रसाउनेवाला छैन । आजको दिनमा कुण्ठाको संग्रह बनेका ओलीको हृदयमा नेता नेपालका निम्ति माया टुसाउने जमिन बाँकी छैन । 

ओलीले नेता नेपालसँग समूहगत डिल पनि गर्ने छैनन् । स्पष्टीकरणको पत्र थमाएर उत्तर मागिसकेका छन् । नेता नेपालले प्रतिस्पष्टीकरण सोधेकाले उनीमाथिको कारबाही खल्तीमा सुरक्षित छ । त्यसको संकेत पनि उनले संसदीय दल बैठकमा गरिसकेका छन् । तर, उनले छिट्टै कारबाहीको अस्त्र उचाल्दैनन् । बरु त्यतिञ्जेल नेपालको पक्षमा उभिएकामध्ये फकाउन सकिनेलाई त्यो उपाय अलम्बन गर्नेछन् । केहीलाई दच्काउनेछन् र आफ्नो पक्षमा पार्नेछन् ।

नेपाल समूहको शुक्रबार र शनिबार बैठक बस्यो । बैठकले अन्तरपार्टी संघर्षलाई नै जोड दिने निष्कर्ष निकाल्यो । यो निष्कर्षले नेता नेपाललाई बलियो देखाएको छैन । बरु थप रक्षात्मक र निरीह तुल्याएको छ ।

माधव नेपाल जतिञ्जेल अन्तरपार्टी संघर्षमा अडिने छन् र नयाँ पार्टी बनाउने कोर्समा जाँदैनन्, त्यतिञ्जेलसम्म उनका भनिएकाहरू एकएक गर्दै आन्दोलनबाट चुहिइसकेका हुनेछन् । कृष्णभक्त पोखरेल बिर्साउने गरी ओलीको कित्तामा विलीन भइसकेका हुनेछन् ।

अन्तिममा निकै सीमित संख्याको ‘झुण्ड’ बोकेर नेता नेपाल मूल आन्दोलनबाट पाखा लाग्नुपर्नेछ । त्यो भनेको राजनीतिक हिसाबले सीपी मैनाली पथ नै हो । कुनै समय झापा क्रान्तिका सर्जक मैनाली झलनाथ खनालले टिप्पणी गरेझैँ ‘बुकुरो’ त खोलेर बसेका छन् । तर कहीँकतै उनको नाम सुनिँदैन । आफ्नै अकर्मण्यता र निरीहताले नेता नेपाललाई त्यही दिशातिर डोर्‍याउँदैछ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro