काठमाडौं । आमाहरूलाई थाक्ने र गल्ने सुविधा हुँदैन । ममताको शक्तिले उनीहरूलाई सदैव जागृत तुल्याइरहन्छ ।
सन्तानप्रतिको मायाले ढल्कँदो उमेर पनि बिर्साइदिँदो रहेछ । काठमाडौँको थापाथलीमा रहेको नर्भिक अस्पतालको सोधपुछ कक्षभित्र गीता जोशीलाई देख्दा, भेट्दा मनमा यस्तैयस्तै भाव पैदा हुन्छ । र, हृदयलाई प्रकम्पित तुल्याइदिन्छ ।
गीता जोशी उमेरले ७७ हिउँद पूरा भइन् । कपाल तिलचामलबाट उकालो चढेर काँसझैँ सेतै भइसके । दृष्टि विस्तारै धमिल्लिन थालेका छन् ।
यस्तो उमेरमा अस्पताल ओहोरदोहोर–बसाइ निकै कष्टसाध्य कुरा हो । तर, सन्तानको मायाले डोर्याएर गीतालाई नर्भिक ल्याइरहन्छ ।
२४ दिनदेखि छोरा नवीन्द्रराज जोशी अस्पतालको शय्यामा छन् । दोसाँधमा छन् । छोराप्रतिको असीम माया र ममताले उनलाई घरमा एक निमेष अडिन दिँदैन । पैतालाहरूलाई बेचैन तुल्याइरहन्छ । बेलुका अबेर घर फर्किन त फर्किन्छिन् । तर, मन छोरोको शय्यामै अल्झिन्छ । दुस्वप्नको सिकार बन्नुपर्ला भन्ने भयले चिमोटिरहन्छ ।
० ० ०
आइतबार साँझ ढल्किँदै थियो । दिनभरिको भीडभाड, बिरामी र तिनका आफन्तजनको आउजाउ पनि पातलिँदै थियो । यस्तै समय पारेर हुनुपर्छ, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पनि नर्भिक अस्पताल पुगेका थिए । एउटै आन्दोलनको ओत लागेको । प्रजातान्त्रिक धार पकड्दै र त्यही आन्दोलनमा हेलिँदै राजनीतिक यात्रामा कैयन् उतारचढाव बेहोरेको सहधर्मी शय्या पर्दा मन उद्विग्न हुनु स्वाभाविकै हो । र त, पौडेलको अनुहार पनि वर्षात्अघिको बादल बिर्साउने गरि मलिन थियो ।
मास्कले अनुहार ढाकेका पौडेल त्यही मास्कभित्र पीडा लुकाउन असफल प्रयत्न गरिरहेका थिए ।
सोधपुछ कक्षमा नवीन्द्रकी पत्नी सपना विह्वलित मुद्रामा थिइन् । अश्रुसिक्त उनलाई छोरी नीरितीले सम्हालिरहेको दृश्य मन विदीर्ण तुल्याउने प्रकृतिको थियो । नवीन्द्रको स्वास्थ्य स्थिति बुझ्न अस्पतालसम्म जाने जो कसैको आँखा सिमसार तुल्याइदिन्थ्यो ।
यस्तो दृश्यका सामु ठिङ्ग उभिएर पौडेलले परिवारजनसँग कसरी सहानुभूति साटुन् । सान्त्वना दिउन् । नवीन्द्रराज छिट्टै अस्पतालको शय्याबाट घर फर्किनेछन् । परिवारको खुसी पूर्ववत् अवस्थामा फर्किनेछ भनेर कसरी भनुन् ।
उनको असमञ्जस भावलाई बुझेर हुनुपर्छ, गीता आफैँले छोराको स्थिर र गम्भीर स्वास्थ्यबारे बताउन थालिन् ।
यस्तो लाग्छ, जीवनको दसगजामा उभिएका नवीन्द्रराजको अवस्थाबारे आमा सम्पूर्णरूपले जानकार छिन् ।
चिकित्सकले भरमग्दुर प्रयत्न गरिरहेका छन् । अस्पतालले पूरै सामर्थ्य लगाइरहेको छ । तर, नवीन्द्रको स्वास्थ्यमा जुन गतिले सुधार हुनुपर्ने हो त्यो हुन सकेको छैन ।
“मुटुले काम गरेको छ । मुटुले रक्तसञ्चार गरिरहेकाले अरू अङ्गप्रत्यङ्गहरूले पनि काम गरिरहेकै छन् । तर, दिमागको नशा चलेन,” गीता विस्तारमा छोराको स्वास्थ्यावस्था बुझाउँदै थिइन् ।
गीताको कुरामा पौडेलले पनि सही थपे, “त्यही त । मुटुको फङ्सन (क्रिया) छ । ब्रेनले काम गरिरहेको छैन ।”
० ० ०
गीता धर्मकर्ममा औधी विश्वास राख्छिन् । न्यासध्यान रुचाउँछिन् । फागुन १४ गते छोरा अस्पताल भर्ना भएयता उनले आफूले सम्झिने गरेकाजति देवी, कुल–इष्ट देवता सम्झिइसकिन् । पूजाआजा, धुपधुवाँर गरिसकिन् । आफूले नभ्याएको ठाउँमा पूजाअर्चना गर्न अरूलाई अह्राइन् ।
शनिबार मात्रै पनि पुर्ख्यौली थातथलो डँडेलधुराका मन्दिरमा पनि आफन्तजनले अक्षता उठाइदिएछन् । पूजा आजा गरिदिएछन् ।
नवीन्द्रराजका सहयोगीले केही दिनअघि प्युठानको स्वर्गद्वारीबाट भष्म ल्याएका थिए । आमाको मन न हो, कतै निधारमा भष्म लेपन गरिदिए छोरो बौरिन्थ्यो कि भन्ने आश जागृत भएछ । गीता प्रत्येक दिन बिहान अस्पताल आउँदा भष्म छुटाउँदिनन् । एमआईसीयू कक्षभित्र पसेर छोराको निधार ढाक्ने गरेर भष्म दलिदिन्छिन् । निको हुने बलियो आशा बोकेर कुरुवा कक्षभित्र ओर्लिन्छिन् ।
गएको आइतबार एमआइसीयू कक्षभित्र पस्दा नवीन्द्रले आँखा खोलेका थिए । अनुहार पनि उज्यालो थियो । छोराले बोली पो हाल्छन् नि भनेर धेरैबेर अनुहार नियालिन् ।
अहँ नवीन्द्रराजको ओठ उघ्रिएन ।
तै पनि उनी निराश भइनन् ।
उपचार लागेछ । अब छिट्टै निको हुन्छ भनेर मनभरि न्यानो आश फिँजारियो ।
गीताले चिकित्सक र भगवानमाथि एकसाथ भर गरिरहेकी छन् । उनको दृष्टिमा देवी, देवता अमूर्त भगवान हुन्, चिकित्सक मूर्त र स्थूल । ईश्वरसँग अविच्छिन्न प्रार्थना गरिरहेकाले भगवानबाट अमृत वर्षा हुने र छोरो अस्पतालको शय्याबाट उठ्नेमा उनी निश्चयी छिन् । उठने मात्र होइन फेरि जनताको सेवामा जुट्ने आशा पनि उनका छ ।
कतै चिकित्सकको इलाज लागेन भने, भगवानको दृष्टिले भ्याएन भने भनेर कहिलेकाहीँ उनको मनमा चिसो पस्छ । मनमा भूकम्पीय लहर उठ्छ ।
त्यसैले हुनुपर्छ उनी अहिले वैद्य, कविराजको ओखतिमूलोको खोजपड्तालमा पनि छिन् । आइतबार नरोत्तम वैद्य आएका थिए । उनीहरू आर्यघाटका वैद्य पनि हुन् । ब्रह्मनालको समीपको सत्तलमा जीवनको आखिरी क्षणमा पुगिसकेकाहरूको उपचार गरेको र केहीलाई परम्परागत ओखतिमूलोले काम पनि गरेको उनले नसुन्ने कुरै थिएन ।
“दिमागतिर दल्ने केही ओखतिमूलो पाइन्छ कि, चिकित्सकले नलाउनु भनेका छैनन्,” गीताले नरोत्तमसँग पनि आग्रह गरिन् ।
नवीन्द्रराजसँग उनको परिवारको सामीप्यता अकथनीय, अवर्णनीय छ । छोरी नीरिती अस्पताल छाड्न मानेकी छैनन् । बाबुको अनुपस्थितिको घर उनलाई रिक्त लागिरहेछ ।
बुवा शय्या परेदेखि सूर्य बादलभित्र हराएजस्तो, दिउँसै अन्धकारले संसार ओगटेजस्तो भान भइरहेको छ ।
आमा गीताले नै सबैलाई सम्झाइ बुझाइ गर्ने कर्तव्य एक्लै काँधमा उठाउन खोजेजस्तो लाग्छ । सबैलाई धैर्यको धागो नचुँडाल्न र भगवानमाथि भर गर्न आग्रह गरिरहेको प्रतीत हुन्छ ।
बुहारी, नातिनी दिनानुदिन गल्दै गइरहेका छन् । चिकित्सक र भगवानमाथि अपरिमित भर गरिरहेकी गीतालेचाहिँ सुर छाडेकी छैनन् ।
नवीन्द्रको उपचारमा अस्पतालले कुनै कसर बाँकी राखेको छैन । मेडिकल टिमले पनि सामर्थ्य लगाइरहेको छ । चिकित्सकको आँखाबाट बिरामीलाई एकछिन टाढा पर्न दिएको छैन ।
तर पनि गीतालाई केही नपुगेजस्तो भान भइरहन्छ । कुरुवा बस्नेहरूले ख्याल पुर्याएनन् कि लागिरहन्छ । भन्दै थिइन, “अस्तिका दिन डगडगी कामिरहेको रहेछ..! एक–दुईजनाले छाड्न मिल्दैन । के पर्छ, के पर्छ के थाहा ?”
० ० ०
गीतालाई आफ्नै आँखाअगाडि छोराको उपचार भइदियोस् जस्तो लाग्छ । र त, उनी एकछिन पनि अस्पतालबाट ओझेल पर्न चाहन्नन् । आँखामा त्यही एमआईसीयू कक्ष, चिकित्सक, परिचारिकाहरू आइरहून् लाग्छ । उनीहरूसँग सोधपुछ गरिरहन पाइयोस् लाग्छ ।
वसन्तकालीन गर्मीले छोपे पनि बिहान, बेलुका काठमाडौंमा जाडै छ । अस्पताल आउजाउ गरिरहँदा आमाको स्वास्थ्य अवस्थाको बारेमा जेठा छोरा राजुराज जोशी उत्तिकै सचेत छन् ।
तर, गीताको मनले मान्दैन । सकेसम्म छोरालाई छाड्न नपरोस् जस्तो लाग्छ ।
“सबै देउदेउताको पूजाआजा भएकै छ । अब भगवानको आशिर्वादको वर्षा हुन्छ बाबु !” अस्पतालबाट घर फर्कन गह्रौं पैताला सार्नुअघि गीताले उस्तै भावभंगिमामा त्यहीपंक्ति दोहोर्याइन् ।
तस्बिर : कनकमणि दीक्षितको ट्विटरबाट