काठमाडौं । शनिबार अपराह्नपछि मौसममा बदलाव आयो । एकछिन अघिसम्म बादल फाटेर घाम लाग्लालाग्ला भएको थियो । केहीबेरमा छाड्दो शिशिरे झरीले काठमाडौं निथ्रुक्कै भिजायो ।
यस्तै छ, एमालेको मौसम । कुनै ठेगान छैन । एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले अर्याल होटलको प्राङ्गणमा उभिएर सन्दर्भबिना नै भनेका थिए, “हामीले त पेरिसडाँडालाई नै आफ्नो कार्यालय ठानिसकेका थियौँ । त्यतै जाने बानी परिसकेको थियो । अदालतले फर्काएर उही ठाउँमा पुर्याइदियो ।”
‘चुच्चे ढुङ्गो उही टुङ्गो’ भनेझैँ, २०७५ जेठ २ मै पुग्यो आन्दोलन । पार्टी । नीति । नेतृत्व । नेकपा एकता–आन्दोलनले वृत्ताकार परिधि पार गर्दै जेठ २ कै अवस्थामा पुगेर बिट मार्ला भनेर सायदै कसैले कल्पना गरेका हुँदा हुन् ।
फागुन २३ को फैसलाबाट प्रधानमन्त्री केपी शर्मा ओली र उनको प्रवृत्तिसँग पौठेजोरी खेलिरहेका ‘फ्रन्टलाइनरहरू’ खुसी थिएनन् । ओलीसँग आमुन्नेसामुन्नेकै लडाइँ लडिसकेकाले सांसद पदको लोभ ओली प्रवृत्तिको छानो धुम्बाराही जानु हुँदैन भन्नेहरूको मत बढ्दै थियो ।
तर, तल्लो पंक्तिले दबाब दियो । केन्द्रीय सदस्य नीरज आचार्य अर्याल होटलमै आफ्नो अनुभूति सुनाएका थिए । “संसद् विघटन सिफारिस र ओलीको एकपछि अर्को त्रुटिपूर्ण कदमका कारण माथिल्लो पार्टी पंक्ति क्रोधित थियो । तर फागुन २३ को फैसलाले उनीहरूलाई चिन्तित बनाएको थियो । तर, तलका कार्यकर्ताहरूमा आश्चर्यजनक उत्साह छायो । अब हामी एमाले एक ठाउँमा हुने परिस्थिति निर्माण भयो । माओवादीतिर जान त हामीलाई मन थिएन । अब पार्टी एकताबद्ध बनाएर लैजानुपर्छ भन्न थाल्नुभयो ।”
गत शनिबार केही सञ्चारकर्मीहरूले माधवकुमार नेपालसँग अनौपचारिक कुराकानी गरेका थिए । उनको मनोदशा पनि आम कार्यकर्ता पंक्तिभन्दा भिन्न थिएन, छाडौँ आफैँले रगतपसिना सिञ्चेर निर्माण गरेको घर, बसौँ घरमूलीको आसनमा, शासनमा केपी ओली छन् । यस्तै द्विविधाले घेरिएका थिए, नेपाल ।
बताइरहनुपरेन, नेपाली कम्युनिस्ट आन्दोलनमा अद्यपर्यन्त दुई धार छन् । एउटा शान्तिपूर्ण आन्दोलनको धार । अर्को सशस्त्र संघर्षको बाटो ।
माधव नेपाल निःशन्देह पहिलो धारमा पर्छन् । लामो समय उनले त्यो धारको नेतृत्व पनि गरे । करिअरको उत्तराद्र्धमा आएर उनलाई सशस्त्र संघर्षको धारको फेरो समात्न मन पनि छैन । माओवादी आन्दोलनमा समाहित हुँदा शान्तिपूर्ण आन्दोलनसँग जोडिएको आफ्नो लिगेसी तितरवितर हुन्छ नै ।
पुस ५ को कदमपछि पेरिसडाँडाको बाटो तताउनु बाध्यता बनेको थियो । फागुन २३ को फैसलाले धुम्बाराही फर्कन सजिलो बनाइदिएको थियो ।
तर, ओलीले फागुन २८ गते गजबार तेर्स्याए ।
“कोअर्डिनेसन केन्द्रका संस्थापकमध्ये चारजना सँगै छौँ । हामीले नै बनाएका हौँ यो पार्टी । छाडेर हिँड्ने कुरै छैन,” राजनीतिक जीवनकै कठिन घुम्तीमा आइपुगेका नेपालले निराशा छोप्दै भनेका थिए, “मसँग अझै के आत्मविश्वास छ भने देशव्यापीरूपमा आन्दोलनलाई पुनर्गठन गर्न सक्छु ।”
२०३२ सालमा कोअर्डिनेशन केन्द्र स्थापना गर्दा सीपी मैनाली, झलनाथ खनाल, माधवकुमार नेपाल, अमृतकुमार बोहोरा, मुकन्द न्यौपाने, मोहनचन्द्र अधिकारीलगायत नेताहरू थिए । त्यसमध्ये खनाल, बोहोरा, न्यौपाने र अधिकारी सँगैसँगै यात्रामा छन् । उनीहरूको दर्बिलो साथ पाएका छन् ।
२०३५ पुष ११ गते कोअर्डिनेशन केन्द्रले सम्मेलन गरेर माले आन्दोलनको निर्माण गर्यो । त्यतिबेला केन्द्रीय कमिटीमा रत्नकुमार वान्तवा मदन भण्डारी, माधव नेपाल, ईश्वर पोखरेल, मुकुन्द न्यौपाने, अमृत बोहोरा, जीवराज आश्रित, प्रदीप नेपाल, मोदनाथ प्रश्रित थिए भने महासचिवमा सीपी मैनाली थिए । यी कालखण्डका अधिकांश नेता पनि खनाल–नेपाल पक्षमै निर्भीक उभिएका छन् ।
खनाल–नेपाल पक्षले बुधबार सानेपा हाइटमा रहेको हेरिटेज गार्डेनमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्यो । भेलामा कम्युनिस्ट आन्दोलनका जीवित रहेका पहिलोपुस्ताका सबैजसो नेता सरिक थिए ।
झापा आन्दोलनको रापतापबाट आएका र केपी ओलीसँगै जेल बसेका अगुवाहरू मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनालीहरू नेपालको कदमलाई साथ दिन आइपुगेका थिए । नेकपा (माले)का संस्थापक नेता प्रश्रित र पाका नेता सिद्धिलाल सिंह, शीतल झा, गोविन्द ज्ञवाली, केशरमणि पोखरेल, कमल कोइराला, बद्रि खतिवडाको पनि दह्रो साथ पाएका थिए ।
मोहनचन्द्र अधिकारीले ओली प्रवृत्ति अन्त्यका लागि झलनाथ–माधवको पक्षमा उभिएका थिए । झापा आन्दोलनका अर्का अगुवा मैनाली पनि ओलीप्रवृत्तिको समूल अन्त्य होस् भन्ने चाहन्छन् । र, पुरानो तिक्ता बिर्सिएर नेपालकै कित्तामा आइपुगेका छन् ।
यी सबै कारणले नेपाल ओलीलाई सजिलै मैदान खाली गरिदिने पक्षमा छैनन् । कोअर्डिनेसन केन्द्र, माले हुँदै एमालेमा रूपान्तरण गरेको आन्दोलनलाई ओलीको ‘भारदारी सभा’मा परिणत गर्ने र विसर्जनको बाटोमा अघि बढ्न नदिने नेपालको अठोट छ ।
“ओलीसँग हामी डराउँदैनौँ । तर्सिदैनौँ । झुक्दैनौँ । र, यो आन्दोलन छाडेर भाग्दैनौँ पनि । हामीले नै निर्माण गरेको आन्दोलन हो,” उनी दृढ निश्चयी हुँदै सुनाउँदै थिए, “यो आन्दोलनलाई देशव्यापी पुनर्गठन गरेर जान्छौँ । पुनर्जागृत तुल्याउँछौँ ।”
‘ओली पराजित हुन्छन्, एमाले फुट्दैन’
खनाल–नेपाल समूहले बुधबारबाट दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । केन्द्रीय सदस्य, संघ र प्रदेशका सांसदहरू, स्थानीय तहका जनप्रतिनिधि, सम्पर्क कमिटी, जनसंगठन, पेसागत संघ–संगठन, केन्द्रीय निकाय, विभागका सदस्य, जिल्ला कमिटीका पदाधिकारीहरूलगायत गरी करिब ४ हजारको उपस्थिति छ । दस समूहबाट बाँडेर अवधारणा पत्रमाथि छलफल गराइएको छ ।
“ओलीजीको विचारधारामा म । सिद्धान्तमा जता भत्कियो, त्यतै दैलो । राजनीतिमा मेरो जो चाकर होइनन्, ती सबै शत्रु हुन् । संगठनमा जति चाकरी उति ठूलो चाकर देखिएको छ,” स्थायी कमिटी सदस्य घनश्याम भुसाल कटाक्ष गर्दै भन्छन्, “व्यक्तिगत रूपमा भन्नुहुन्छ भने ओलीजी हार्नुहुन्छ भन्नेमा छु ।”
पहिलो दिनको राष्ट्रिय कार्यकर्ता भेलापछि हौसिएका भुसालले ओलीलाई हराएरै छाड्ने बताए । त्यसो त, भुसालले पुस १३ गते तीन महिनाभित्र संसद् फर्काउँछौँ भनेको र फागुन ११ गतेसम्म आइपुग्दा त्यो सफल हुन पुगेको सन्दर्भमा पनि बताए ।
“अहिले पनि म भन्दैछु, ओलीजीलाई त्यसैगरी हराउँछौँ,” भुसालको अठोट थियो ।
उनले एमाले नफुट्ने पनि जिकिर गरे । कार्यकर्ता भेलाको पहिलोदिनको समूहगत छलफलमा केही नेता–कार्यकर्ताले ओलीसँग सँगै जान सकिँदैन भनेर धारणा राखेको भए पनि अधिकांशको ओलीलाई पराजित गर्नुपर्ने नै मत रहेको भुसालको भनाइ छ ।
“ओली नहार्ने एउटै पनि तर्क जीवित छैन । सबै तर्कहरू ओली हार्ने तर्क हुन्,” उनले भने, “हामीले हाम्रो पार्टी जीवनलाई जेठ २ गते लैजाऔँ भनेको हो । यो हुन्न कसैले भन्दैन । अस्ति वार्तामा बस्दा ओलीजीले पनि भन्नु भएन । अहिले त जनमत झन् बढ्दै गएको छ । भनेको, हामी पार्टी जीवनलाई सुचारु गर्नेछौँ । जेठ २ गते फर्काउने छौँ ।”
भुसालले एमाले हुँदा गौरवै भएको पनि बताए । “गौरवै यसर्थ कि ओलीजी हुँदा पनि हामीलाई गौरवै छ,” भुसालले ठट्यौली पारामा भने, “उहाँ (ओली) हार्नु भयो ।”
ओलीको थप कदम (कारबाही)को बारेमा पनि सञ्चारकर्मीले जिज्ञासा राखेका थिए । उनले कारबाही गरेर के हुन्छ ? केपी ओलीले त राजनीति सिध्याउनु भयो त भन्दै प्रतिप्रश्न गरे ।
“एमाले हुनुको सान, प्रतिष्ठा, प्रतिष्ठाको वैभव त बाँकी एउटा नरहँदा पनि उहाँले सक्दै हुनुहुन्छ । एकपछि अर्को गरेर सक्नु भयो,” भुसालले भने, “हामीले गठबन्धन गरेर त्यत्रो बहुमत ल्यायौँ । त्यत्रो बलियो सरकार बनायौँ । एकता गर्यौँ । अहिले एकता पनि भत्कायौँ । अब गठबन्धन पनि भत्कने भयो । सरकार पनि हिँड्ने भयो । यो हालतमा, अहिले पछारिएर बाँकी रहेको एउटा पार्टी छ, त्यो पनि फोड्न थालिएको छ, त्योचाहिँ हाम्रो चिन्ता हो ।”
भुसालले देशव्यापीरूपमा पार्टी एकता गर्ने र माफी सप्ताह चलाउनुपर्ने आवश्यकता औंल्याए । “यो मुलुककाप्रति, राजनीतिकाप्रति खेलबाड गर्यौँ । यत्रो सारा सत्यनाश गर्यौँ । संसद् हान्यौँ । वामपन्थ भत्कायौँ भनेर साराकाप्रति क्षमा माग्नुपर्ने भएको छ । पार्टीलाई एकीकृत गरेपछि हामीले यस्तो गर्नुपर्नेछ,” उनले भने ।
उनले क्षमा, माफी मागेर पुर्ताल त नहुने तर हुन्छ कि भन्ने आश रहेको पनि बताए ।