site stats
बाह्रखरी :: Baahrakhari
विशेष
अमेजोन वन क्षेत्रको जमिन फेसबुकमा अवैध बिक्री !

बीबीसी । ब्राजिलको अमेजोन वन क्षेत्रको जमिन फेसबुकमा अवैध रुपमा बिक्री भइरहेको खुलासा भएको छ । त्यस संरक्षित क्षेत्रमा राष्ट्रिय वनदेखि स्थानीय समुदायका लागि आरक्षित जमिन सबै पर्छन् । फेसबुकको वर्गीकृत विज्ञापन सेवामा राखिएका यी केही प्लट जमिनहरू एक हजारवटा फुटबल मैदान जत्तिकै ठूलो भएको पनि पत्ता लागेको हो ।

फेसबुकले स्वतन्त्र रुपमा सो व्यवसायविरुद्ध कुनै कदम नउठाउने तर स्थानीय निकायसँग सहकार्य गर्न तयार रहेको बताएको छ । फेसबुकको व्यावसायिक नीतिमा विक्रेता र ग्राहक दुवैले नियम-कानुन अपानउनै पर्ने उल्लेख रहेको कम्पनीको भनाइ छ ।

यसबाट प्रभावित एक स्थानीय समुदायका लिडरले फेसबुकसँग थप कदम उठाउन अपिल गरिरहेका छन् तर विभिन्न जटिल प्रक्रियाका कारण आफूहरूले सीधा हस्तक्षेप गर्न नसक्ने फेसबुकले बताएको हो । त्यस्तै अभियन्ताहरूले देशको सरकारले नै यस्ता व्यापार अवरोध गर्न नचाहिरहेको दाबी गरेका हुन् । वातावरणीय एनजीओ, कनिन्देकी प्रमुख इभानेइदे बन्देइराले भनेकी छन्, “यति बेला जमिन कब्जा गर्नेहरूले आफूलाई यति शक्तिशाली महसुस गरिरहेका छन् कि फेसबुकमा खुलेआम अवैध धन्दा गर्न तिनलाई कुनै संकोच छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसमा जोकोहीले पनि पोर्चुगिज भाषामा, ‘जङ्गल’, ‘स्थानीय वन’ र ‘टिम्बर’ भनेर सर्च गरी फेसबुकमा अवैध कब्जा गरिएका जमिनका भेटाउन सक्ने बताइएको छ । यसका केही सूचीमा स्याटलाइटका तस्बिरहरू पनि समावेश छन् । 

यसमा अधिकांश विक्रेताले आफूसँग ‘ल्यान्ड टाइटल’ नभएको खुलस्त रुपमा स्वीकार गर्ने गरेका छन् जुन ब्राजिलियन कानुनअन्तर्गत व्यक्तिलाई जग्गाधनी साबित गर्ने एक मात्र डकुमेन्ट हो । ब्राजिलको अमेजोन क्षेत्रमा हाल जारी वन फँडानी दश वर्षकै उच्च विन्दुमा पुगेको छ । यतिबेला फेसबुकको अनलाइन बजार, विक्रेताहरूका लागि सबैभन्दा उत्तम विकल्प बन्न पुगेको हो । यसमा फ्राब्रिको गुइमेरेस जस्ता केही अवैध विक्रेतालाई ‘हिडन क्यामरा’ मार्फत लुकेर खिचिएको थियो । आफूले पूर्ण रुपमा जलाएर नष्ट गरेको वन क्षेत्र देखाउँदै उनले भनेका हुन्, “स्टेट एजेन्टहरूले यहाँ जाँच गर्न आउने कुनै खतरा छैन ।”

यसरी अवैध रुपमा फँडानी गरिएको सो जमिन खेती गर्न तयार बनाएपछि उनले यसको सुरुवाती मूल्यलाई तीन गुणाले बढाएर ३५ हजार डलरको माग गरेका हुन् । फ्राब्रिसिओ कुनै किसान भने होइनन् । उनी सहरमा मध्यमस्तरीय जागिर खान्छन् र वन क्षेत्रलाई केबल लगानीको अवसरका रुपमा मात्र लिने गर्छन् । बीबीसीले पछि फ्रब्रिसिओसँग यसबारे प्रतिक्रिया माग्दा उनले बोल्न अस्वीकार गरेका हुन् । 

प्रायः विज्ञापनहरू त्यहाँ रोन्डोनिया क्षेत्रबाट रहेका थिए जुन ब्राजिलको सबैभन्दा धेरै फँडानी हुने ठाउँ हो । अवैध विक्रेताहरूले कब्जा गर्ने गरेका केही क्षेत्र स्थानीय समुदायको सिकार गर्नेलगायत दैनिक उपभोग्य वस्तु प्राप्त गरी गुजाराको स्थल पनि हो । त्यस्तै यी व्यापारीहरूले हाइ-प्रोफाइल राजनीतिज्ञहरूबाट मद्दत पाउने गरेको पनि अनुसन्धानमा पत्ता लागेको छ ।

यस्तोमा बीबीसीले ब्राजिलका वातावरणमन्त्री रिकार्डो सेलेसकहाँ गइ यससम्बन्धी प्रश्न गरेको थियो । जवाफमा उनले भनेका हुन्, “राष्ट्रपति जैर बोल्सनेरोको सरकारले सधैँ स्पष्टसँग बताउँदै आएको छ कि हामी वातावरणसहित कुनै पनि किसिमका अपराध सहने छैनौँ ।” तर कोरोना भाइरस प्यान्डेमिकका कारण अमेजोन क्षेत्रमा कानुन कार्यन्वयन अवरोध भइरहेको उनले बताए । उनले थप भनेका हुन्, “यो वर्ष सरकारले छुट्टै अपरेसन निर्माण गरेको छ जसले अवैध वन फँडानी, वन डढेलोलाई नियन्त्रण गर्न संघीय सरकार र प्रदेशसँग मिलेर काम गर्नेछ ।”

तर उनको भनाइका बावजुद रोन्डोनियाका संघीय निरीक्षक, राफेल बेभिलाकियाले वर्तमान सरकारको शासनमा अवस्था झन् खराब बन्दै गएको बताएका छन् । उनका अनुसार प्रमुख शक्तिहरूले नै आफूहरूविरुद्ध खेल खेल्नु अत्यन्तै दुःखद् छ ।

जंगललाई यथावत् अवस्थामा राख्ने काम इतिहासमै अहिलेजति कठिन कहिल्यै नभएको इभेनएडी बन्देइले बताइन् जो तीस वर्षदेखि रोन्डोनिआमा वन फँडानीविरुद्धको लडाइँ लड्दै आएकी छन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  २०:०७
प्रतिक्रिया दिनुहोस्