दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई निर्वाचन आयोगले गतिलो झापड दिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह दाङको आयोजनामा देउखुरीमा भएको सभालाई सम्बोधन गर्दै उनले भने, "केही व्यक्ति पार्टीको बैठकमा नआएर ब्यांक्वेट, होटेल र रेस्टुरेन्टमा बसेर केपी ओलीलाई पार्टीबाट र साधारण सदस्यबाट निष्कासन गरेछन् । तर निर्वाचन आयोगले आइतबार मान्यता नदिने निर्णय गरेछ ।"
निर्वाचन आयोगमा पार्टीको आधिकारिता र चुनाव चिह्न दाबी गरेको प्रसंग कोट्याउँदै प्रधानमन्त्री ओलीले आफूलाई प्रचण्ड-माधव समूहले पार्टीबाट निकालेको हास्यास्पद भएको बताए । उनले भने, "तपाईंहरू अचम्म पर्नुहुन्छ होला, दुई-चारजना मान्छे पार्टीको बैठकमा नआएर बैठक छाडेर बाहिर गएर विभिन्न ब्यांक्वेटहरूमा बसेर, केपी ओलीलाई पार्टीबाट निकाल्यो अरे, साधारणसदस्यबाट पनि निकाले रे । हास्न मन लागेन तपाईंहरूलाई कुरा सुन्दा ?"
साथै उनले आफैं-आफैंले अध्यक्ष घोषणा गरेको भन्दै त्यसलाई निर्वाचन आयोगले खत्तम पार्दिएको पनि बताए । "केही मानिस पार्टी छाडेर । बैठकमा नआएर । बाहिर गएर । चौतारीमा बसेर । म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँड्याछन्," उनले भने, "त्यो पनि हिजो निर्वाचन आयोगले खतम पार्दियो । अध्यक्ष सदस्य कोही भएका छैनौ भनेर ।"