site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फेसबुकमा सस्तोमा सामान पाइने भनी ‘फेक विज्ञापन’ देखाएर एक करोड ठगी (भिडियोसहित)

काठमाडौं । कोरोनाको कारण धेरै मानिसहरु घरमा नै सीमित भए । यो समयमा सामान किनबेचको लागि अनलाइन धेरैको प्राथमिकतामा पर्‍यो । तर, ठगी गर्नेहरुले कोरोनाको कारण घरमा नै रहेकालाई पनि छाडेनन् । उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरेर ठग्न लागे ।

विगत केही समयदेखि सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाएर ठगी बढेको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले जनाइन् ।

‘‘पछिल्लो समय अनलाइनमा विज्ञापन देखाएर सामान किनबेच बढेको छ । ती विज्ञापनहरु अध्ययन गर्दा शंकास्पद काम भएको हामीहरुले पायौँ,’’ आइतबार महानगरीय प्रहरी परिसर जावालाखेलमा आयोजित पत्रकार सम्मेलनमा बज्राचार्यले भनिन्, ‘शंकास्पद विज्ञापनहरु हेर्दा ती विज्ञापनमा भएबमोजिमको मूल्यमा सामानहरु नपाइने अझ सामानै डेलिभरी नगर्नेसमेत भेटियो ।’’

ठगी गर्ने गिरोहले विभिन्न अफरको बहानामा एक लाखभन्दा धेरै पर्ने मोबाइललाई ३० हजारभन्दा कममा बेच्ने भनी विज्ञापन गर्ने गरेको अनुसन्धानमा पाइएको छ । उक्त गिरोहले सामान चाहिनेलाई विश्वास दिलाउन विदेशमा रहेको एजेन्टको नम्बरसमेत राख्ने गरेका थिए । नेपालबाट सामान किन्दा विदेशमा नै भएकाहरुले सामानको मूल्य र पठाउनुपर्ने अकाउन्ट नम्बरसमेत विदेशी नम्बरबाटै बताउने गरेको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।

‘‘उनीहरुले सामाजिक सञ्जाल प्रयोगकर्तालाई विश्वास दिलाउन अनेक उपाय लगाएका छन्,’’ एसएसपी बज्राचार्यले भनिन्, ‘‘एकपटक सामान किनेर सन्तुष्ट ग्राहक भनेर केही मानिसको ‘रिभ्यु’समेत पेजमा पोस्ट गरेका छन् ।’’

उनीहरुले ग्राहकलाई सामानको केही प्रतिशत पैसा अग्रिम बुझाउनुपर्ने बताउँथे । त्यो पैसा पठाउनको लागि उनीहरुले ईसेवा, बैंक वा आईएमई नम्बर दिन्थे । उनीहरुले दिएको नम्बरमा ग्राहकले पैसा जम्मा गर्थे । पैसा पाइसकेपछि उनीहरुले अरुकै पार्सलको ‘ट्रयाक नम्बर’समेत ग्राहकलाई पठाउने प्रहरीले जनाएको छ ।

सामान डेलिभरी हुन लागेको बताउँदै उनीहरुले बाँकी पैसासमेत बुझाउन लगाउने गरेको एसएसपी किरण बज्राचार्यले जनाइन् । यसरी पटक–पटक गरेर भनेबमोजिम सम्पूर्ण रकम विभिन्न नम्बरमा पठाइसकेपछि उनीहरुले ग्राहकहरुलाई ब्लक गर्ने गरेको देखिएको छ । पैसा बुझाउँदा पनि सामान नपाएपछि पीडितहरु प्रहरीको शरणमा पुगेका हुन् ।

०००

कोरोनाको समयमा अनलाइनमार्फत् ठगीको घटना बढेपछि प्रहरी आफैँ ग्राहक बनेर सामान अर्डरसमेत गर्‍यो । प्रहरी आफैँ ग्राहक बनेर र साइबर ब्युरोसँगको समन्वयमा गरेको अध्ययनले ग्राहकले दिएको पैसा पटक–पटक विभिन्न एकाउन्टमा पठाएर छद्म नाममार्फत विदेशबाट निकाल्ने गरेको पाइयो ।

यसरी अनलाइनमार्फत ठगी गर्ने ठूलो गिरोहमा संलग्न केही नेपालीहरुलाई नेपाल प्रहरीले पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा पर्सा, पकाहामैनपुरका अजय भनिन् प्रमोद साह र पर्साको बहुदरमाई घर भइ हाल काठमाडौंको गौशाला बस्ने मेवालाल साह तेली रहेका छन् । उनीहरुले गैरकानुनी रूपमा बैंक एकाउन्ट बनाउने र त्यहीमार्फत पैसा लेनदेन गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले एक करोड रुपैयाँभन्दा धेरै ठगी गरेको एसएसपी किरण बज्राचार्यले बताइन् । यो गिरोह नेपालमा मात्र नभएर विभिन्न देशमा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro