
काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर दुई दिन सार्वजनिक बिदाको अवधारणा अगाडि सारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको एक अध्ययन समितिले दुई दिन बिदा दिन उपयुक्त हुने भनी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ । विशेषगरी कोभिड १९ का कारण पर्यटन क्षेत्र निकै समस्यामा परेको र तत्काल विदेशी पर्यटक आउने सम्भावना नहरेको भन्दै मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन हुने भन्दै दुई दिन बिदाको प्रस्ताव गरेको हो ।
पर्यटन मन्त्रालका सहसचिव कलमप्रसाद भट्टराईले सार्क मुलुकसहित अन्य देशहरुको प्रचलनलाई समेत हेरेर दुई दिन बिदाको सिफारिस गरिएको बताए । उनले ८५ प्रतिशतभन्दा बढी मुलुकले सातामा दुई दिन बिदा दिने गरेको बताए । अध्ययन गर्दा विगतदेखि नै नेपालमा बिदाको किसिम, अन्तर्राष्ट्रिय अभ्यास, सातामा ४० घण्टा काम गर्ने भन्ने अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डलाई आधार मानिएको उनको भनाइ छ । “विकसित देशले सातामा ४० घण्टा र सातामा २ दिन बिदा दिएर काम गर्दा उत्पादकत्व बढेको, प्रतिव्यक्ति आय बढेको, आर्थिक विकासको सूचकांक राम्रै भएको देखिएको, सार्क क्षेत्रमा पनि नेपालबाहेक सबै देशले सातामा २ दिन बिदा दिएको देखियो,” उनले भने, “आर्थिक, सामाजिक पक्षलाई हेरेर प्रारम्भिक सुझाव बनाएका छौं ।”
तर, नेपालको सन्दर्भमा दुई दिन बिदा कति उपयुक्त छ ? अर्थविद् एवं पूर्व प्रशासकहरु भने अत्यावश्यक सेवा कुनै पनि दिन प्रभावित नहुने गरी दुई दिन बिदा दिन सकिने बताउँछन् । तर, कमजोर पूर्वाधारका कारण अहिले नै दुई दिन सार्वजनिक बिदा उपयुक्त नभएको भनाइ पनि उनीहरुको छ ।
अर्थविद् डा. शंकर शर्मा तत्काल एकैपटक दुई दिन सार्वजनिक बिदा दिनु उपयुक्त नहुने बताउँछन् । पुरानो अनुभवले पनि सार्वजनिक यातायात राम्रो नभएकाले अहिले नै पूर्वाधारबिना दुई बिदा उपयुक्त नभएको उनको भनाइ छ । “अहिले नै दुई दिन बिदा उपयुक्त छैन । तर, दुई दिन सार्वजनिक बिदा गर्ने हो भने पनि चरणबद्ध रुपमा गरिनुपर्छ । सुरुमा कर्पोरेट क्षेत्रबाट सुरु गरौं ।”
पूर्वअर्थसचिव रामेश्वर खनाल दुई दिन बिदाको अवधारणा पहिले पनि फेल खाएकाले अहिलेकै अवस्थामा उपयुक्त नभएको बताउँछन् । एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि कनेक्टिभिटी राम्रो भएपछि मात्रै दुई दिन सार्वजनिक बिदा सुरु गर्न उपयुक्त हुने खनालको भनाइ छ । आन्तरिक पर्यटन प्रवर्द्धनको नाममा दुई दिन बिदा दिन खोजिनु नै उपयुक्त नभएको उनको भनाइ थियो । नेपालमा घुम्ने सरकारी कर्मचारी सरकारी कामकै सिलसिलामा घुम्ने गरेको उनी बताउँछन् । “दुई दिन सार्वजनिक बिदा दिएर पनि उनीहरु घुम्दैनन् । बिदा लिएर घुम्न जाने मान्छे बैंकक जान्छन् ।” सबैभन्दा पहिला कनेक्टिभिटी राम्रो हुनुपर्छ । पुँजी उत्पादकत्व धेरै कम छ । त्यो बढेपछि मात्रै दुई दिन बिदाको अवधारणा राम्रो हुने खनालको भनाइ थियो । “हाम्रो पर्यटककीय गन्तव्यमा बढी विदेश जाने नै हो । त्यसैले दुई दिन बिदा दिए पनि आन्तरिक पर्यटन प्रवर्द्धन हुँदैन ।”
अर्का पूर्वअर्थसचिव शान्तराज सुवेदी दुई दिन बिदाका लागि धेरै सोच्नुपर्ने बताउँछन् । दुई दिन बिदाको उद्देश्य प्रस्ट हुनुपर्ने उनको भनाइ छ । पर्यटन मन्त्रालयले आन्तरिक पर्यटक प्रवर्द्धनका लागि भनेर यो अवधारणा ल्याउनु भनेको एकदमै सानो पाटोबाट मात्रै हेरेको उनको टिप्पणी छ । “उसको पाटोले मात्रै दुई दिन बिदाको औचित्य पुष्टि गर्न सकिँदैन,” उनको भनाइ थियो ।
पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा भने दुई दिन बिदा उपयुक्त हुने बताउँछन् । यसअघि एकैपटक दुई दिन बिदा देशैभर लागु नगराउँदा असफल भएको भन्दै उनले दुई दिन बिदा एकैपटक लागु गराउनुपर्ने बताउँछन् । उनले दुई दिन बिदा दिए पनि अत्यावश्यक सेवा कार्यालयहरु भने ३६५ दिनै खुला हुनुपर्ने बताउँछन् । दुई दिन बिदा गरे पनि जनताको दैनिक जीवनसँग सम्बन्धित अड्डाहरु चौबीसै घण्टा खोल्नुपर्ने उनको भनाइ छ ।
यस्तै अर्थविद् केशव आचार्य पनि वडा कार्यालय, विद्युत्, टेलिफोन, नागरिकता, पासपोर्ट, मालपोतजस्ता अत्यावश्यक सेवा सातै दिन खुला गरेर दुई दिन बिदा गर्नु उपयुक्त हुने बताउँछन् । “दुई दिन बिदा दिँदा अत्यावश्यक कामका लागि सर्वसाधारण प्रभावित हुन सक्छन् । त्यसैले बढी खर्च लागेपछि यस्ता अत्यावश्यक सेवा कार्यालय सातै दिन खुला गरिनुपर्छ,” उनले भने । दुई दिन बिदा दिँदा मध्यम र उच्च वर्गका मान्छेहरुका कारण आन्तरिक पर्यटनमै धेरै सहयोग नभए पनि होटेल, रेस्टुरेन्टमा केही सहयोग पुर्याउन सक्ने उनले बताए । “तर, दुई दिन बिदा दिँदा पनि सातामा ४० घण्टा काम भने भएको हुनुपर्छ,” उनले भने । धेरै देशमा दुई दिन बिदा दिने चलन छ । जर्मनी, फ्रान्सलगायत केही मुलुकका कम्पनीहरुले त तीन दिन पनि बिदा दिने गरेको पनि उनले बताए ।
दुई दिन सार्वजनिक बिदा दिँदा कर्मचारी, कार्यालय तथा संस्थानहरुको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग हुने अध्ययन समितिको निष्कर्ष छ । यस्तै सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने, पारिवारिक सामीप्यता कायम हुने र पर्यावरणीय दृष्टिकोणले समेत सकारात्मक प्रभाव पर्न जाने प्रतिवेदनमा औंल्याइएको छ ।
कोडिभ १९ ले पर्यटन उद्योग शिथिल भएको र तत्काल विदेशी पर्यटक आएर नेपालको पर्यटन क्षेत्रमा योगदान गरिहाल्ने अवस्था नरहेको नभएकाले दुई दिन बिदा उपयुक्त हुने भनाइ मन्त्रालयको छ । दुईदिने सार्वजनिक बिदाले कर्मचारीको उत्पादकत्व पनि बढ्ने र आन्तरिक पर्यटन पनि प्रवर्द्धन हुने दाबी मन्त्रालयको छ ।
-फाइल तस्बिर